Thursday, December 19, 2013

सिंहले टेलिकमबाट अवकाश पाउने


सिंहले टेलिकमबाट अवकाश पाउने
कारोबार संवाददाता काठमाडौं, ३ पुस - नेपाल टेलिकममा चौथो कार्यकालका लागि प्रबन्ध निर्देशक हुने लबिङमा जुटेका अमरनाथ सिंहले अवकाश प्राउने भएका छन् । दोहोरो उमेर पेस गरेका कर्मचारीको प्रमाणपत्रमा छिटो अवकाश हुने मितिलाई मान्यता दिने टेलिकम सञ्चालक समितिको निर्णयसँगै सिंह प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।  उमेर हदबन्दीका कारण विवादमा परेका निमित्त प्रबन्ध निर्देशक सिंहको विषय लम्बिएपछि सूचना तथा सञ्चार मन्त्रालयले जवाफ दिन लेखेको पत्रमाथि छलफल गर्दै सञ्चालक समितिले यस्तो निर्णय लिएको हो ।नेपाल दूरसञ्चार कम्पनी विनियमावलीको दफा १०७ को उपदफा १ मा ‘सेवा सुरु गर्दा पेस गरिएका एसएसलसी वा सोसरहको योग्यता प्रमाणपत्रका आधारमा उमेर गणना हुने’ उल्लेख छ । दफा २ मा ‘नागरिकता प्रमाणपत्र वा सेवा सुरु गर्दा भरिएको सिटरोल फर्मका आधारमा उमेर गणना हुने’ छ । पेस गरिएका कागजातको जन्ममिति फरक परेको भेटिए जुन कागजातका आधारमा पहिले ५८ वर्ष पूरा हुन्छ, त्यसैलाई आधार मान्ने उल्लेख छ ।विनिमावलीमा यस्तो व्यवस्था हुँदाहुँदै पनि शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै सिंह कार्यकाल लम्ब्याउने प्रतिस्पर्धामा थिए । नागरिकताअनुसार उनले असार २३ मा ५८ वर्ष उमेर पूरा गरिसकेका छन् । तर, शैक्षिक प्रमाणपत्रका आधारमा उनको उमेर पुस १४ मा मात्रै ५८ वर्ष पुग्छ । सञ्चालक समितिले बुधबार गरेको निर्णय र विनियमावलीको दफा २ अनुसार सिंहले उमेरको हदबन्दीभन्दा ३ महिना बढी प्रबन्ध निर्देशक खाइसकेका छन् ।आइतबार सूचना तथा सञ्चार मन्त्रालयले कानुन मन्त्रालयको रायमा सिंहको पदावधिको विषयलाई लिएर पत्र पठाएको थियो । सो पत्रपछि टेलिकम सञ्चालक समितिले बुधबार बैठक बोलाएको हो । सरकारले ०६८ असोज २८ मा २ वर्षका लागि सिंहलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो । पदावधि र उमेर हदको विवाद बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा छानबिन गरेको थियो ।

टेलिकम नेतृत्वबिहीन हुँदा ठूला निर्णय प्रभावित

प्रकटकुमार शिशिर, नागरिक काठमाडौं—प्रबन्ध निर्देशक नहुँदा नेपाल टेलिकमको नीतिगत तथा पूर्वाधारको काम प्रभावित हुन थालेको छ। टेलिकम दुई महिनाभन्दा बढी समयदेखि उच्च नेतृत्वबिहीन अवस्थामा छ। प्रबन्ध निर्देशक अमरनाथ सिंहको पदावधि गत असोजमा सकिए पनि नयाँ नियुक्ति नहुँदा कम्पनीको नयाँ निर्णय, नीतिगत विषय र पूर्वाधारमा समस्या देखिन थालेको हो । दूरसञ्चार क्षेत्रमा उच्च प्रतिस्पर्धाबीच टेलिकमले बनाएका नयाँ योजना कार्यान्वयन गर्न नेतृत्व आवश्यक पर्छ ।सिंह निमित्तको रुपमा अझै टेलिकममा भए पनि उमेरमा विवाद उठेपछि कार्यालय जान छाडेका छन् । निमित्त प्रबन्ध निर्देशक सिंहलाई सञ्चार मन्त्रालयले गत आइतबार पदावधि सकिएको पत्र पठाएको थियो । नागरिकताअनुसार गत असारमा उनको अनिवार्य अवकाशको उमेर ५८ वर्ष पुगेको छ । नेतृत्व नहुँदा टेलिकममा नीतिगत निर्णय हुन सक्दैन,' पूर्व महानिर्देशक चेतप्रसाद भट्टराईले भने, 'टेलिकम क्षेत्रमा चर्को प्रतिस्पर्धा छ, दिनहुँ नयाँ प्रविधि र सेवा प्रदान गर्ने बेला नेतृत्व नै नहुँदा ठूलो घाटा लाग्छ।' उच्च प्रतिस्पर्धा चलिरहेको बेला नयाँनयाँ योजना ल्याएर आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने बेला लामो समय नेतृत्वबिहीन राख्दा बजार हिस्सा गुमाउँदै गएको टेलिकमलाई झन् समस्या हुने उनले बताए। टेलिकम सहप्रवक्ता राजेश जोशीले ठूला निर्णय बोर्डबाट र दैनिक काम निमित्त र सिनियर कर्मचारीबाट हुँदै आएको बताए । 'अहिले त्यस्तो ठूलो समस्या त देखिएको छैन, तर नेतृत्व चाँडै चाहिन्छ,' उनले भने। अहिले नेपाल टेलिकम १० अर्बको परियोजनामार्फत नेटवर्क विस्तारमा लागेको छ । उसले जिएसएम मोबाइलको लागि नेटवर्क विस्तार गर्न लागेको हो। काठमाडौंभित्र नेटवर्क विस्तार गरी गुणस्तर सुधारको काम भर्खर सकेको टेलिकमले उपत्यकाबाहिर पनि सोहीअनुरुप काम गरिरहेको छ। डाटाका लागि इभिडिओ, वाइम्याक्स लगायतलाई प्रभावकारी बनाउन नयाँ योजना बनाएको टेलिकम जिएसएम सेवामा एनसेलभन्दा पछि छ।

Tuesday, December 17, 2013

टेलिकममा तीन महिनादेखि सीआरवीटी बन्द

nepal-telecom२ मंसिर, काठमाडौं ।Onlinekhabar.com नेपाल टेलिकमका मोबाइलमा तीन महिनादेखि नयाँ सीआरवीटी -कलर रिङ ब्याक टोन) अपलोड हुन बन्द भएको छ । नेपाली गीत संगीतको एकमात्र बाँच्ने आधार बनेको सीआरवीटी बन्द हुँदा त्यसको प्रत्यक्ष असर नेपालको संगीत उद्योगमा परेको छ ।
एल्बम बिक्री बन्दप्रायः अवस्थामा रहेको नेपाली संगीत बजारमा अहिले नयाँ गीत संगीत निस्कने भनेकै सीआरवीटीबाट दुई चार पैसा आम्दानी होला भन्ने आशमा हो । तर, नेपालको सीआरवीटी बजारको करिव ४० प्रतिशत हिस्सा ओगटेको नेपाल टेलिकमा तीन महिनायता कुनै पनि नयाँ गीत अपलोड हुन सकेको छैन् ।
नेपाल टेलिकममा सिस्टम एगि्रगेटरका रुपमा काम गरिरहेको हाइलाइट्स नेपालका अध्यक्ष ओम गुरुङले भन्नुभयो-’सिस्टम बिगि्रएको भन्दै तीन महिनादेखि नयाँ गीत लिन बन्द गरेको छ, हामीकहाँ गीत जाम भइसके ।’
नयाँ गीत अपलोड हुन नसक्दा सीआरवीटी डाउनलोड पनि ठप्पप्राय भएको संगीत उद्योगीहरु बताउँछन् । ‘टेलिकमबाट दिनमा करिव १० हजार गीत डाउनलोड हुन्थे’ नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढाले भन्नुभयो-’नयाँ गीत अपलोड नहुँदा डाउनलोड लगभग ठप्पै भएको छ ।’
बुढाका अनुसार नेपालको सीआरवीटी बजारमा नेपाल टेलिकमको हिस्सा करिव ४० प्रतिशत छ । बाँकी करिव ५५ प्रतिशत एनसेल ५ प्रतिशत हिस्सा युटिएल र स्मार्ट टेलिकमको रहेको छ ।
‘सेवा भरपर्दो बनाउन नसक्दा टेलिकमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ’ बुढाले भन्नुभयो-’वर्षमा आधाजसो समय सिस्टम बिगि्रएको भन्दै गीत अपलोड बन्द हुन्छ, यसले नेपाल टेलिकम र संगीत उद्योग दुवैलाई घाटा भइरहेको छ ।’
नेपाल टेलिकमले भने जेडटीईको पुरानो सीआरवीटी सिस्टमलाई हुवाईले प्रतिस्थापन गर्न लागेका कारण केही समय अबरुद्ध भएको बताएका छ ।
सिष्टममा टेक्निकल समस्या देखिएपछि नयाँ गीतहरु अपलोड हुन नसकेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो । ‘पुराना अपलोड भइसकेका गीतहरु सीआरवीटी राख्न सकिन्छ’ उहाँले भन्नुभयो- ‘नयाँ गीतहरु अपलोड सुचारु गर्न प्राविधिकहरु लागिरहेका छन् ।’ उहाँका अनुसार केही दिनमा नै समस्याको समधान हुने छ । टेलिकम, सर्जक, म्यूजीक कम्पनीहरु सबैको राम्रो आयस्रोतको रुपमा रहेको सीआरवीटीका लागी नयाँ गीतहरु अपलोड सुचारु गर्न आफुहरु प्रयासरत रहेको उहाँले दाबी गर्नुभयो ।
गीत अपलोड सुचारु गर्न संगीत उद्यमीहरुले नेपाल टेलिकमलाई ताकेता गरिरहँदा पनि सुरु हुन सकेको छैन् । संगीत उद्यमी संघका बुढा भन्नुहुन्छ-’हामीलाई तीन दिनमा सिस्टम बन्छ भनिएको पनि १५ दिन बितिसक्यो, अझै सुरु हुन सकेको छैन् ।’

Sunday, December 15, 2013

अब रुकुममा पनि वाइम्याक्स

मेगराज खड्का-रुकुम २४ मंसिर । नेपाल टेलिकमको वाईम्याक्स ईन्टरनेट सेवा सोमबार देखी राप्ती अञ्चलको रुकुममा समेत शुरु भएको छ । वाईम्याक्सको लागि आवश्यक प्राविधिक कार्य सकिए पछि सेवा शुरु भएको नेपाल टेलिकमका ईन्जिनियर विदुर गौतमले जानकारी दिए ।
राप्ती अञ्चलको दाङ, रोल्पा, प्यूठान र सल्यानमा गत बैशाख देखी शुरु भएको वाईक्याक्स सेवाका लागि सदरमुकाम खलंगामा विटिस जडान गरिएको छ । सेवा शुरु भएपछि अव रुकुममा पनि अत्याधुनिक प्रविधीको ईन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ ।
वाईम्याक्स ईन्टरनेट चलाउनको लागि आवश्यक उपकरण विभिन्न मोडलमा उपलब्ध भएको र जिल्लाको लागि आधिकारीक व्यक्ति नियुक्त गर्ने कार्य भैरहेको वाईम्याक्सको आधिकारीक विक्रेता यूनिटेक नेटवर्क प्रा.लि.का राप्ती अञ्चल प्रतिनिधी रोशनमान श्रेष्ठले जानकारी दिए ।