Sunday, March 30, 2014

सामसङ एस फाइभ प्रिबुकिङ सुरु, ३८ सय बराबरको गिफ्ट, मूल्य ७६ हजार, टेलिकमको डाटा बण्डल

अपार प्रमोद/बिजमाण्डू
काठमाडौं ।  अप्रिल ११ गते काठमाडौंमा सार्वजनिक गर्न लागिएको एस फाइभको प्रि बुकिङ सुरु भएको छ । नेपालका लागि सामसङको आधिकारिक विक्रेता आईएमएसले आइतवारबाट प्रिबुकिङ सुरु गरेको जानकारी दिएको छ । कम्पनीले आइतवारबाट सुरु हुने प्रि बुकिङ अप्रिल ७ सम्म रहने आईएमएसका प्रेसिडेन्ट दिकेश मल्होत्राले जानकारी दिए ।
प्रिबुकिङका लागि आईएमएसको फेसबुक पेजबाट एउटा फर्म डाउनलोड गरी त्यसलाई भर्न सकिने जानकारी दिइएको छ । भरिएको फर्मसहित दश हजार रुपैयाँ सामसङ आउटलेट तथा कम्पनीको स्मार्ट क्याफेमा बुझाउनुपर्ने जानकारी पनि उनले दिए ।
प्रिबुक गर्नेले ३८ सय रुपैयाँ मूल्य पर्ने एस भ्यु निशुल्क प्राप्त गर्ने छन् । त्यसैगरी २५ जना भाग्यशालीले थप पुरष्कार समेत प्राप्त गर्नेछन् । त्यसमध्ये पाँच जनालाई नेपाल टेलिकमको पाँच जिबी डाटा प्याकेज, पाँच जनालाई पाँच महिनाका लागि हेल्थ क्लवमा सदस्यता पनि दिनेछ । त्यसैगरी पाँच जनालाई म्यागजिनका लागि फोटोसुट, पाँच जनालाई सामसङ गियर फिट र पाँच जनालाई ग्यालेक्सी फाइभ सार्वजनिक गर्ने कार्यक्रममा आमन्त्रण गरिने जानकारी पनि आईएमएसले दिएको छ । सामसङ एस फाइभको नेपालमा झण्डै ७६ हजार रुपैयाँ हाराहारीमा मूल्य तय गरिएको छ । प्रेसिडेन्ट मल्होत्राले भने, एस फाइभको मूल्य ७६ हजार रुपैयाँ वरपर रहन्छ । कम्पनीले एस फाइभसँगै डाटा सेवाका लागि नेपाल टेलिकमसँग बण्डलिङ गर्ने भएको छ । यसअघि एनसेलको डाटा बण्डलिङमा उपलब्ध हुने सामसङले पहिलोपटक नेपाल टेलिकमलाई रोजेको हो ।

एस फाइभको मूल्य ७६ हजार रुपैयाँ वरपर रहन्छ । कम्पनीले एस फाइभसँगै डाटा सेवाका लागि नेपाल टेलिकमसँग बण्डलिङ गर्ने भएको छ । यसअघि एनसेलको डाटा बण्डलिङमा उपलब्ध हुने सामसङले पहिलोपटक नेपाल टेलिकमलाई रोजेको हो ।

Wednesday, March 26, 2014

मनाङमा टेलिकमको इभिडिओ

मनाङमा टेलिकमको इभिडिओ
पोखरा– nagariknews.com नेपाल टेलिकमले हिमालपारिको जिल्ला मनाङमा आइपिसिडिएमए प्रविधिको इभिडिओ सेवा विस्तार गरेको छ। उसले सोमबार सदरमुकाम चामे र आसपास क्षेत्रमा यो सेवा सुरु गरेको हो। टेलिकम पोखराका वरिष्ठ इन्जिनियर सन्तोष शर्माका अनुसार पुरानो सिडिएमए सेवालाई ‘अपग्रेड' गर्ने क्रममा मनाङमा यो सेवा विस्तार गरिएको हो। अब गण्डकी र धवलागिरी अञ्चलका सबै जिल्लामा नयाँ थि्रजी सेवा पुगेको शर्माले बताए।  स्थानीय प्रयोगकर्ताले तीव्र गतिको इन्टरनेट चलाउन सक्ने पनि शर्माले बताए। ‘हातहातमा इन्टरनेट पुर्यााउने टेलिकमको तयारीअनुरुप सेवा विस्तार गरिएको हो,' उनले भने।  यो प्रविधिले सिडिएमए मोबाइलबाट भिडियो कल गर्न, टिभी हेर्न र इन्टरनेट चलाउनसमेत सकिने उनले बताए। टेलिकम पोखराका बिक्री प्रमुख राजेश रेग्मीका अनुसार थि्रजी सेवाका प्रयोगकर्ताले डाउनलोड गर्दा ३.१ एमबिपिएस (मेगाबिट्स प्रतिसेकेन्ड) र अपलोड गर्दा १.८ एमबिपिएसका दरले इन्टरनेट चलाउन सक्छन्। मनाङका प्रयोगकर्ताले अहिलेसम्म पिडिएसएन (पकेट डाटा एक्सेस नोट) बाट इन्टरनेट चलाइरहेका थिए। त्यो सुस्त गतिको थियो।  ‘जिपिआरएसभन्दा बढी प्रभावकारी प्रविधि जडान भएको छ,' उनले भने, ‘मोबाइलमा चलाइने इन्टरनेट सेवा पहिलेभन्दा अब झनै सहज हुन्छ। थि्रजी प्रविधिका प्रयोगकर्ताले अबदेखि इन्टरनेटको सहयोगमा भाइबर, स्काइप पनि चलाउन सक्नेछन्। यसलाई कम्प्युटरमा जडान गरेर पनि इन्टरनेट चलाउन सकिने रेग्मीले बताए । टेलिमकमले स्काइ–प्रो ब्रान्डमा बिक्री गरिरहेको इ–भिडिओ डंगोल र सिडिएमए एन्ड्रोइड मोबाइल फोनबाट पनि तीव्र गतिको इन्टरनेट चलाउन सकिने रेग्मीले जानकारी दिए। यसले फोनको गुणस्तरसमेत बढाउँछ।

किमाथांकामा टेलिकमको सेवा

किमाथांकामा टेलिकमको सेवा
प्रकटकुमार शिशिर, nagariknews.com काठमाडौं-नेपाल टेलिकमले निर्णय गरेको एक वर्षपछि संखुवासभाको किमाथांकामा टावर राखेर सेवा सुचारु गरेको छ। टेलिकमले गत वर्ष चैत ९ गते किमाथांकामा टावर राख्ने निर्णय गरेपनि यही चैत ६ गतेदेखि सेवा सुचारु गरेको हो। टेलिकमले किमाथांकामा भूउपग्रहमा आधारित स्याटलाइट सिडिएमए टावर राखेर सिडिएम सेवा प्रदान गरेको हो। किमाथांकामा टावर राख्न मात्र २३ लाख रुपैयाँभन्दा बढी ढुवानी खर्च भएको नेपाल टेलिकमले जनाएको छ। फागुन २६ गते नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण पुगेपछि टावर सञ्चालनमा आएको हो। गत वर्ष नै टावर निर्माण गर्ने भनेपनि सेनाको हेलिकप्टरको भाडा महँगो भएको र त्यसपछि संविधानसभाको चुनावमा हेलिकप्टर प्रयोग भएका कारण सामान लैजान नसकेको टेलिकमले जनाएको छ।  पूर्वाञ्चलको अति विकट क्षेत्र रहेको किमाथांकामा टावर निर्माण भै सेवा सुरु भएको टेलिकमका इन्जिनियर उमेश आचार्यले बताए। खाँदबारीदेखि ५० कोश टाढा र पैदलमा ७ देखि १० दिन लाग्ने सो क्षेत्रमा अहिले सिडिएमएको सेवा सुचारु भएको उनले बताए। अति विकट भएर पनि सेवा दिन खोज्दा समय लागेको उनले बताए।  चीनको सिमानासँग रहेको किमाथांकामा नेपाल टेलिकमको सेवा सञ्चालन गरेपछि ७५ घरधुरीका ३ सय ५० जना प्रत्यक्ष लाभान्वित भएका छन्। यसअघि किमाथांकाबासीहरुले चिनको नेटवर्क प्रयोग गरी फोन सेवा लिदै आएका थिए। चीनको सेवा प्रदायकको एक हजारको रिम प्रयोग गरेर सेवा लिएका स्थानीले अबदेखि नेपाल टेलिकमकै २ सयको रिममार्फत सेवा लिन सक्ने इन्जिनियर आचार्यले बताए। टेलिकमले सस्तो र थोरै जनसंख्याका लागि पनि सेवा दिएको भन्दै स्थानीय हर्षित भएको उनले बताए।  किमाथांका पारी रहेको चीनको बजारमासम्म नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम गर्ने हुनाले चिनियाँ बजार पनि नेपाल टेलिकमको लक्षित बजार रहेको आचार्यले बताए। ‘चीनको बजारमा १५ सय हाराहारीको जनसंख्या छ। चीनको सेवाप्रदायकको भन्दा सस्तो सेवा भएपछि नेपाल टेलिकमकै सेवा लिनेमा हामी विश्वस्त छौं, उनले भने।  टेलिकमले एकवर्षअघि नै सञ्चालक समितीबाट टावर निर्माण गरेर सेवा दिने निर्णय गरेपनि ढुवानी र ढुवानी खर्चका कारण सेवा सुरु हुन सकेको थिएन। टेलिकमले पटकपटक गरेर ढुवानी खर्च २३ लाख निकासा गरेपछि सेनाले सामान किमाथांका पुर्याकएको हो। ‘सानो गाविस भएपनि सेवा दिनुपर्छ भनेर हामीले पटकपटक पहल गर्यौंल एक वर्षपछि बल्ल किमाथांकामा सेवा सुरु भयो, किमाथांकामा टेलिकमको सेवा लैजान पहल गर्ने अगुवा जीवनाथ खनालले भने, ‘चीनसँग जोडिएको सिमानाका कारण स्थानीयले चीनको महँगो सेवा लिइरहेका थिए। अब टेलिकमको सेवाले स्थानीयलाई सेवासँगै राहत दिने,' उनले बताए।

Tuesday, March 25, 2014

टेलिकमले आइटी कम्पनी चलाउने

नागरिक, प्रकट कुमार शिशिर मंगलबार चैत्र ११, २०७० 
काठमाडौँ टेलिकमले आइटी कम्पनी चलाउनेकाठमाडौं-भ्वाइस र डाटापछि नेपाल टेलिकमले इन्टरनेट सामग्रीमा लगानी गर्ने भएको छ। टेलिकमले इन्टरनेट सामग्री (कन्टेन्ट) बनाउन आइटी कम्पनीसमेत स्थापना गर्ने तयारी गरेको छ। टेलिकमले सहायक कम्पनीमार्फत निजीसँग साझेदारी गरी आइटी कम्पनी खोल्ने तयारी गरेको हो। इन्टरनेटमा आधारित हरेक कुरा निर्माण गर्न एक महिनाभित्र नयाँ कम्पनी स्थापना गर्ने प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए। टेलिकमको सहायक कम्पनी स्थापना खोलेर सूचना प्रविधिसम्बन्धी आवश्यक सेवा दिने गरी काम हुने उनले बताए। ‘सुरुमा इन्टरनेट कन्टेन्ट र विस्तारै अन्य सफ्टवेयर र हार्डवेयर निर्माण गर्ने गरी कम्पनी स्थापना गर्ने योजना बनाएका छौं,' भट्टराईले भने, ‘नेपालमा इन्टरनेट कन्टेन्ट धेरै खोजिन्छ, ती सबै खोजिने सामग्रीको सर्भर बाहिरकै हुन्छ। हामीले त्यसका लागि व्यान्डविथ खर्च गरिरहेका छौं।'  नेपालमा नै सर्भर रहने गरी इन्टरनेट कन्टेन्ट उत्पादन र प्रयोग गर्ने गरी कम्पनी स्थापना हुन लागेको उनले बताए। एक महिनाभित्र सहायक कम्पनी दर्ता गरी निजी कम्पनीलाई साझेदारीमा आउन सार्वजनिक आह्वान गर्ने भट्टराईले जानकारी दिए। ‘अहिले हामी यसैको अध्ययनमा छौं, एक महिनाभित्र नयाँ कम्पनी खोलेर निजी कम्पनी बोलाउँछौं। त्यसपछि जनशक्ति राख्ने र सेवा सुरु गर्ने लगायत काम हुन्छ।' टेलिकमले सुरुमा ४० करोड लगानी गरेर कम्पनी खोल्ने योजना बनाएको छ। उक्त कम्पनीमा टेलिकमको र निजीको आधा–आधा सेयर हुने छ।  टेलिकमका सहप्रवक्ता राजेश जोशीले नयाँ अवधारणा बनाउँदै सहायक कम्पनीमार्फत आइटी कम्पनी स्थापना गर्न लागेको बताए। टेलिकमले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल एप्सदेखि हार्डवेयरका काम र सेवा आफ्नै लगानीको कम्पनीबाट लिने योजना छ। ‘टेलिकमले अहिले जति सेवा तथा वस्तु लिएको छ, सबै बाहिरबाट किन्छ। अब नेपालबाट सम्भव हुने यहीँको कम्पनीसँग लिने र उसैसँग साझेदारी गर्ने रणनीति हो,' उनले भने। टेलिकमले एक समिति बनाएर यसको सम्भाव्यता अध्ययन गरिरहेको छ। ‘हामी कुनकुन काम लिन सक्छौं, कुनकुन काम गर्न सक्छौं त्यसैको अध्ययन भएको हो,' उनले भने।  नेपालमा सर्च इन्जिनबाट धेरै कुरा खोज्दा त्यो सर्भरमार्फत ब्यान्डविथ खर्च बढेकोले टेलिकमले क्यासे सर्भर राखेर नेपालमै सूचना बस्ने गरी कम्पनीमार्फत काम थाल्ने जनाएको छ। सहप्रवक्ता जोशीका अनुसार वार्षिक रुपमा नेपालबाट ठूलो रकम ब्यान्डविथमा खर्च भइरहेको छ। ‘एकचोटि लिइएको सूचना नेपालमै बस्ने र पुनः खोज्दा नेपालकै सूचना आउने गरी काम हुन्छ,' उनले भने।  अहिले नेपालको मौसम, युट्युबमा हेरेको भिडियोदेखि हरेक इन्टरनेट कन्टेन्ट बाहिरको सर्भरमा रहेकोले नेपाललाई कुनै फाइदा नभएको टेलिकमले जनाएको छ।  टेलिकमले डाटाको ग्राहक बढ्दै गएको र डाटा प्रयोगकर्ताका लागि पनि इन्टरनेट कन्टेन्ट तयार गर्ने योजना बनाएको जनाएको छ। ‘इन्टरनेट कन्टेन्ट उपभोक्ताले प्रयोग गर्दा टेलिकमलाई पनि फाइदा पुग्छ, त्यसैले हामीले त्यहीअनुसार काम गर्दै छौं,' प्रबन्ध निर्देशक भट्टराईले भने।

Monday, March 24, 2014

पोखरामा टेलिकमको ‘हटस्पट इन्टरनेट'

पोखरा– नागरिक न्युज नेपाल टेलिकमले पोखरामा ‘वाइफाई हटस्पट इन्टरनेट' सेवा सुरु गरेको छ। रानीपौवास्थित टेलिकम कार्यालय आसपासका बासिन्दालाई लक्षित गरी आइतबार राति यो सुरु गरेको हो।
पोखरामा टेलिकमको ‘हटस्पट इन्टरनेट'
अब त्यस क्षेत्रका बासिन्दाले तार वा डिभाइसबिना इन्टरनेट चलाउने सक्छन्।
परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क दिइने यो सेवा पोखराका अन्य क्षेत्रमा पनि विस्तार गरिने टेलिकमले जनाएको छ। टेलिमकले सोमबार दिउँसो पोखरा विमानस्थल र महेन्द्रपुलमा पनि यसलाई विस्तार गरिसकेको छ। टेलिकम पोखराका प्रमुख प्रकाशमान प्रधानका अनुसार अहिलेका लागि वाइम्याक्स प्रविधिबाट सेवा दिन थालिएको छ। 
‘यो सेवा उपलब्ध भएको ठाउँका बासिन्दाले कम्प्युटर वा मोबाइलमा निःशुल्क वाइफाई चलाउन सक्ने छन्,' उनले भने, ‘यसलाई पोखरा र आसपासका अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ।' टेलिकमले काठमाडौंका विभिन्न ठाउँलाई हटस्पट बनाएर यसअघि नै सेवा दिन थालेको छ। पोखरा दोस्रो हटस्पट सहर बनेको छ।  गण्डकी र धवलागिरीका विभिन्न जिल्लामा यो सेवा बिस्तार गरिने उनले बताए। ‘मान्छेको बढी भीड हुने क्षेत्र, विमानस्थल, अस्पताल, कलेज, सपिङ मललाई आधार बनाएर यो सेवा विस्तार गर्ने हो,' उनले भने। केही समयपपछि सेवा शुल्क लाग्ने तर तोक्न बाँकी रहेको उनले बताए। टेलिकम पोखराका आइटी प्रमुख नरकाजी गुरुङका अनुसार उसले यो वर्ष देशभरका ५ सय स्थानमा इन्टरनेटको हटस्पट राख्ने तयारी गरेको छ। 

Sunday, March 23, 2014

१ वर्षभित्रै फोरजी


१ वर्षभित्रै फोरजीसरस्वती ढकाल, Onlinekhabar.com
काठमाडौं, ८ चैत - नेपालमा १ वर्षभित्रै लङ टर्म इभोलुसन (एलटीई) प्रविधि (फोरजी) सुरु हुने भएको छ । दूरसञ्चार सेवामा सबैभन्दा कान्छो र उच्च गतिको एलटीईसम्बन्धी अध्ययन गरिरहेको दूरसञ्चार प्राधिकरणले १ वर्षभित्रै लाइसेन्स खोल्ने बताएको छ । उसले टुंगो लगाउनेबित्तिकै नेपालका २ ठूला सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले फोरजी सुरु गर्ने अन्तिम तयारी गरिरहेका छन् । डेटालाई लक्षित गर्दै टेलिकमले पहिलो वर्ष कम्तीमा राजधानीका उपभोक्तालाई फोरजी सेवा दिने लक्ष्य राखेको छ । डेटामा थ्रीजीसँगै वाईम्याक्स र वाईफाई सेवा विस्तारलाई प्राथमिकता दिएको टेलिकमले यसै साता एलटीईको पराशर्मदाता नियुक्तिका लागि बोलपत्रसमेत आह्वान गर्दैछ । परामर्शदाता छनोटपछि उसकै ‘गाइडलाइन’अनुसार कम्तीमा सहरका उपभोक्तालाई एलटीई सेवा दिइने टेलिकम प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए । “एलटीई उच्च गतिको इन्टरनेट भएकाले महँगो पनि पर्छ, आवश्यक पर्ने ग्राहकका लागि यो अवसरसमेत हो,” उनले भने, “सार्कका धेरै राष्ट्रले फोरजी सेवा सुरु गरिसकेकाले नेपालमा ढिलो भइसकेको छ ।” सन् २०११ को सुरुवातदेखि नै एलटीई परीक्षण गर्ने तयारी गरेको एनसेलले फ्रिक्वेन्सीको अन्योलका कारण प्राधिकरणबाट अनुमति पाएको छैन । “अब प्राधिकरणले स्वीकृत गर्नेबित्तिकै एलटीई ल्याउँछौं,” एनसेलका कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माले भने, “हामीले ३ वर्षदेखि त्यही दिन पर्खेर बसेका छौं ।” टेलिकम र एनसेल दुवै छिटो एलटीई सुरु गरी बजार कब्जा गर्ने प्रतिस्पर्धामा छन् । उनीहरू दुवै डेटामा फड्को मार्ने तयारी गर्दैछन् । आफूहरूको भविष्य डेटामा भएको घोषणा पनि उनीहरूले गरिसकेका छन् । तर, नियामक निकाय प्राधिकरण लामो समयदेखि नेतृत्वविहीन रहँदा उनीहरूलगायत अन्य सेवाप्रदायकले नयाँ सेवा सञ्चालन गर्न सकेका छैनन् । एलटीईलाई वर्तमान पुस्ताको युनिभर्सल मोबाइल टेलिकम्युनिकेसन सिस्टम (यूएमटीएस) वा थ्रीजी प्रविधिको उत्तराधिकारीका रूपमा लिइन्छ । एलटीई नेटवर्कले मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउँछ । नियामक निकाय दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले नयाँ प्रविधिको प्रयोगबारे आवश्यक आन्तरिक छलफल सुरु भइरहेकाले १ वर्षभित्र फ्रिक्वेन्सी लाइसेन्स खुला गरिने बताए । दूरसञ्चार ऐन, नीतिमा भएको कानुनी व्यवस्थाबमोजिम एलटीई अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । नेपालमा एलटीईलाई स्वीकृति दिन उपयुक्त हुने÷नहुने, दिए कसरी र कुन सर्तमा दिने भन्ने विषयमा कार्यदलले अध्ययन गरिरहेको छ । एलटीईको फ्रिक्वेन्सी ‘आइडल’ राख्दा सरकारले प्राप्त गर्ने राजस्व गुमेको बताउँदै न्यौपानेले छिट्टै निर्णय लिइने जानकारी दिए । “एलटीईका लागि फ्रिक्वेन्सी उपलब्ध गराउने व्यवस्था भए पनि बोलकबोल वा छुट्टै लाइसेन्स व्यवस्थाबाट दिने भन्नेमा अन्योल छ,” उनले भने, “प्रविधि जसरी पनि आउँछ, रोक्न मिल्दैन ।”

Tuesday, March 18, 2014

नेपाल टेलिकमले नि:शुल्क WiiFi Hot Spot (NT WiFi) सेवाको अवधि बढायो

नेपाल टेलिकमले नि:शुल्क WiiFi Hot Spot (NT WiFi) सेवाको अवधि बढाएको छ, कम्पनिले जनाए अनुसार २०७०, चैत्र मसान्त सम्मको लागि यो सुविधा थप गरेको हो...

नेपाल टेलिकमको(नमस्ते)सिमकार्ड अब किराना पसलमा पनि पाइने

काठमाडौँ ४ चैत्र, onlinesuchana.com सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले निजी क्षेत्रका रिचार्ज कार्ड विक्रेतालाई सिमकार्ड र रिमकार्ड बेच्न दिने भएको छ । निजी क्षेत्रका दूरसञ्चार सेवाप्रदायकले रिचार्ज कार्ड विक्रेतालाई सिमकार्ड बेच्न दिने गरेको भए पनि टेलिकमले हालसम्म यस्तो सुविधा दिएको थिएन । नयाँ प्रबन्धनिर्देशन नियुक्त भएर व्यवस्थापन परिवर्तन भएपछि टेलिकमले सिमकार्ड बिक्रीमा ‘आउट सोर्सिङ’ गर्न लागेको हो । टेलिकमले एक महिनाभित्र निजी क्षेत्रका रिचार्ज कार्ड विक्रेतालाई सिमकार्ड र रिमकार्ड बेच्न दिने प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिइन् । ‘हामीले ग्राहकलाई सजिलो होस् भनेर यस्तो व्यवस्था गर्न लागेका हौं’, प्रधानले भनिन्, ‘एक महिनाभित्र हाम्रा रिचार्ज कार्ड बिक्री गर्ने थोक विक्रेतालाई यस्तो सुविधा दिनेछौं ।’ उनले त्यसपछि क्रमश: अन्य विक्रेतालाई पनि सिमकार्ड बेच्न दिने जानकारी दिइन् । टेलिकमले जीएसएम र सीडीएमए दुवैखाले सेवाका पोस्टपेड र प्रिपेड सिमकार्ड एवं रिमकार्ड निजी क्षेत्रका विक्रेतालाई दिन लागेको हो । निजी क्षेत्रका विक्रेताले सिमकार्ड बेच्न थालेपछि नयाँ सेवा लिन ग्राहकले टेलिकमका काउन्टरमा पुग्नुपर्ने बाध्यता हट्नेछ । ‘हामीले मात्र बिक्री गर्दा सिमकार्ड र रिमकार्डका लागि समय र जनशक्ति धेरै खर्च भइरहेको छ, त्यसलाई व्यवस्थापन गर्न आउटसोर्सिङको अवधारणा ल्याइएको हो’, उनले भनिन्, ‘सञ्चालक समितिले निर्णय गरिसकेको छ, त्यसैअनुसार हामी आन्तरिक तयारीमा जुटेका छौं।’

Friday, March 14, 2014

मोबाइल फोनमा सेवाप्रदायकको मनपरी, पैसा तिरे पनि काटिन्छ सेवा

काठमाडौं :मिति : २०७० फागुन ३०, शुक्रबार, अन्नपूर्ण पोस्ट दैनिक 'पैसा सकिन लागेको एसएमएस आएपछि पैसा बुझाएँ, दिउँसो पैसा बुझेको एसएमएस पाएँ, साँझ पैसा नतिरेको भन्दै सबै सेवा काटियो', वाणिज्य विभागका महानिर्देशकले यस्तो भन्दै गर्दा टेलिकमका प्रबन्धनिर्देशक लाजले रातो भए।राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उपभोक्ता संरक्षण एेन पालना गराउने विभागका प्रमुखले नै आफैं ठगिएको प्रमाण देखाउँदा सेवाप्रदायक टेलिकमका प्रमुखलाई मञ्चमा बस्नै असजिलो भयो। विश्व उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय उपभोक्ता मञ्चले राजधानीमा गरेको कार्यक्रमको दृश्य हो यो । यस वर्षको विश्व उपभोक्ता अधिकार दिवस (मार्च १५) को नारा 'फोनमाथि हाम्रो अधिकार स्थापित गर' भन्ने छ । यही नारालाई आत्मसात गरियोस् भनेर राखिएको छलफलमा टेलिकममात्र होइन, नेपालमा सेवा दिइरहेका सबै दूरसञ्चार सेवाप्रदायकले उपभोक्तालाई ठगेको विषयले प्राथमिकता पायो। कार्यक्रममा सर्वसाधारणभन्दा नियामक निकायका अधिकारीहरू नै रहेकाले उनीहरूले दूरसञ्चार सेवाप्रदायकले ठगेको गुनासो गरे। उनीहरूले तथ्यसहितका विवरणसमेत प्रस्तुत गरे। 'पैसा लिएर पनि सेवा काट्ने, अघिल्लो महिनामा तिर्दा बढी भएको रकम फिर्ता नदिएर पेस्की भनी राखी पछिल्लो महिनामा नजोड्ने विवरणमात्र होइन, प्रमाण नै मसँग छ', वाणिज्यका महानिर्देशक नारायणप्रसाद बिडारीले भने, 'म आफैं उपभोक्ता कानुन चलाउनेको त यो हालत छ भने अरूको के होला?' बिडारीले मंसिर महिनामा आफूले पोस्टपेड मोबाइलको बिल तिर्दा खुद्रा पैसा छैन भन्दै टेलिकमले ५१ रुपैयाँ ४० पैसा अग्रिम भुक्तानी जनाएर बिल दिएको जानकारी दिए। 'पुस महिनाको बिल तिर्दा त्यो ५१ रुपैयाँ ४० पैसाको हिसाब नै छैन', उनले भने, 'यसरी उपभोक्ताको पैसा खान पाइन्छ? म यसविरुद्ध मुद्दा हाल्ने तयारीमा छु।' सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीले समेत सेवाप्रदायकले उपभोक्ता ठगिरहेको आरोप लगाए। 'वाणिज्यका हाकिमलाई त यसरी ठगिएको छ, उहाँले आफैं केही गर्न सकिरहनुभएको छैन', उनले भने, 'सर्वसाधारण र अझ दूरदराजका जनतालाई कति ठगिएको होला?' पराजुलीले सेवा उपलब्ध गराउनेले गुणस्तर कायम गर्नुपर्ने बताए। 'एकातिर गुणस्तरीय सेवा दिन नसक्ने र अर्कोतिर ठगी गर्ने प्रवृत्ति बढेको छ', पराजुलीले भने, 'यसलाई बदल्न सकिएन भने उपभोक्ताले सधैं दु:ख पाउनेछन्।'
दूरसञ्चार एेन र उपभोक्ता संरक्षण एेनअनुसार 'प्रि एक्टिभेटेड सर्भिस (पूर्व क्रियाशील सेवा)' दिने, ग्राहकलाई जानकारी नदिई सेवा काट्ने, कल ड्रप रेसियो (फोन काटिने) धेरै बनाउनेलगायतका गतिविधि गर्न पाइँदैन। यस्ता कार्य कानुनी रूपमा दण्डनीय भए पनि नेपाली दूरसञ्चार सेवाप्रदायकले यस्ता कार्यलाई बढावा दिइरहेका छन्। सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको सबैभन्दा ठूलो सेवाप्रदायक एनसेलका ग्राहक धेरै भएकाले यिनै दुई सेवाप्रदायकसँग सम्बन्धित यस्ता गुनासा धेरै आउने गरेका छन्। 'हाम्रामा उजुरी गर्ने सेवा भए पनि एकदमै कम उजुरी पर्छन्, परेका उजुरीमा भने ठगीसम्बन्धी नै बढी हुने गर्छन्', दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक कुमारप्रसाद शर्माले भने। उनले प्राधिकरणले यस्ता गुनासो सम्बोधन गरेको दाबी गरे। कार्यक्रममा उपभोक्तावादीले सेवाप्रदायकले उपभोक्तालाई गुणस्तरहीन सेवा प्रवाह गरेर ठगेको बताए। 'नेपालका दूरसञ्चार सेवा दिने कम्पनीले उपभोक्ताको गोजीबाट पैसा लुट्ने काममात्र गरेका छन्', उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'टेलिफोन सेवामा जस्तो लुट अन्य क्षेत्रमा सायदै होला।' राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले रिचार्ज कार्डमा सेवाप्रदायकले ठगी गरिरहेको बताए। उनले एउटै मूल्यको रिचार्ज कार्ड किन्दा सेवाप्रदायकबीच फरक रकम पाउने गरेको बताए। 'टेलिकमको एक सयको रिचार्जमा ९७ रुपैयाँ आउने, एनसेलको ९५ रुपैयाँ आउने किन हुन्छ?' उनले भने, 'सरकारले किन नियमन गर्दैन?' 
कार्यक्रममा एनसेलका प्रनितिधि आएका थिएनन्। महर्जनले एनसेलका प्रतिनिधिले उपभोक्तासँग जुध्नुपर्छ भनेर आउनै नचाहेको आरोप लगाए। कार्यक्रममा सेवाप्रदायकले भने गुणस्तर सुधार गरिरहेको दाबी गरे। उनीहरूले उपभोक्ताको गुनासो आए समयमै सम्बोधन गर्ने दाबी गरे। 'हामीले सेवाको गुणस्तर सुधार गरिरहेका छौं', टेलिकमका प्रबन्धनिर्देशक अनुपरञ्जन भट्टराईले भने, 'पहिलेदेखि देखिएका कमजोरी र ग्राहकका गुनासालाई हामीले गम्भीरताका साथ लिएर समाधान गर्छौं।' युनाइटेड टेलिकमका उपप्रबन्धक केशव ज्ञवालीले ग्राहक सचेत भए सेवाप्रदायकलाई पनि दबाब पर्ने बताए।

Thursday, March 13, 2014

स्रष्टाले टेलिकमबाट १५ प्रतिशत रोयल्टी पाउने

बिहीबार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिके र रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी ।
Onlinekhabar.com नेपाल टेलिकमका प्रयोगकर्ताले कलर रिङ ब्याक टोन(सीआरवीटी) डाउनलोड गरेबापत प्राप्त हुने आम्दानीबाट स्रष्टाले १५ प्रतिशत रोयल्टी पाउने भएका छन् । रोयल्टी संकलन समाज र नेपाल टलिकमवीच बिहीवार भएको सम्झौताअनुसार गत कार्तिकयता डाउनलोड भएका गीतका स्रष्टाले यस्तो रोयल्टी पाउने छन् । सीआरबीटी डाउनलोड गर्दा उभोक्ताले १२ रुपैयाँ तिर्छन् । सो रकमको १५ प्रतिशत अर्थात १ रुपैयाँ ५० पैसा रोयल्टी स्रष्टाले पाउनेगरि सम्झौता भएको छ । यसअघि नेपाल टेलिकमले आफ्ना एग्रिगेटर कम्पनीमार्फत् यस्तो रोयल्टी दिँदै आएको थियो । एग्रिगेटरले प्राप्त गर्ने ५ रुपैयाँमध्येबाट कर र सेवाशुल्क कट्टा गरि ३ रुपैयाँ ७६ पैसा उत्पादक कम्पनीले पाउँथे । त्यही रकमबाट उत्पादक कम्पनीले स्रष्टालाई रोयल्टी दिने गरेका थिए । बिहीबार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिके र रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी ।   बिहीबार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिके र रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी । तर, कम्पनीहरुले रोयल्टी नदिएको भन्दै स्रष्टाले लामो समयदेखि पारदर्शीरुपमा रोयल्टी सुनिश्चित गर्न माग गरेका थिए । सोही मागअनुसार टेलिकमले १५ प्रतिशत रोयल्टी सुनिश्चीत गर्दै त्यस्तो रकम सिधै रोयल्टी संकलन समाजलाई पठाउनेगरि संगीत उद्यमी र रोयल्टी संकलन समाजसँग सम्झौता गरेको हो । ‘नेपाली संगीत उद्योगका लागि यो सुनौलो दिन हो’ हस्ताक्षरपछि रोयल्टी संकलन समाजका अध्यक्ष एवं संगीतकार सुरेश अधिकारीले भने । संगीत उद्यमीले पनि पारदर्शीरुपमा रोयल्टी किटान गरि बितरण गरिनु राम्रो भएको भन्दै प्रसंसा गरेका छन् । नेपाल संगीत उद्योग संघका पूर्व अध्यक्ष पदम बुढामगरले अनलाइनखबरसँग भने–‘ब्यबस्थितरुपमा रोयल्टी बितरण हुनु निकै राम्रो कुरा हो, यसले संगीत उद्योगको बिकाशमा सहयोग पुर्याउँछ ।’

Tuesday, March 11, 2014

टेलिकममा रणनीतिक साझेदार ल्याउन प्रक्रिया सुरु

सरस्वती ढकाल, Karobar काठमाडौं, २७ फागुन - नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन परामर्शदाता नियुक्ति प्रक्रिया अगाडि बढेको छ । कम्पनीले मंगलबार बोलपत्र आह्वान गरी रणनीतिक साझेदार भित्र्याउन सहयोगी बन्नसक्ने पराशर्मदाताको खोजी गरेको हो ।  सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने कम्पनीमा रणनीतिक साझेदारका रूपमा आउन भारतीय तथा युरोपेली राष्ट्रका कम्पनीले चासो देखाइसकेका छन् । परामर्शदाताका लागि १ महिनासम्म प्रस्ताव पेस गर्नसक्ने कम्पनीद्धारा जारी सूचनामा उल्लेख छ । रणनीतिक साझेदारका सम्बन्धमा ५ वर्षभन्दा धेरै काम गरेको एजेन्सी र विषेशज्ञ स्वदेशी वा विदेशी बोलपत्रका लागि दाबेदार बन्न सक्नेछन् । छनोटमा पर्ने पराशर्मदाताले रणनीतिक साझेदार भित्र्याउन कम्पनीलाई सहयोग गर्नेछन् । टेलिकममा सरकारको ९१ प्रतिशत सेयर हिस्सा, ०.०३ प्रतिशत नागरिक लगानी कोष, ३.९७ प्रतिशत सर्वसाधारण र टेलिकम कर्मचारीको ४.५ प्रतिशत सेयर छ भने १५ अर्ब रुपैयाँ चुक्ता पुँजी छ । सरकारले आफ्नो स्वामित्वमा रहेकोमध्ये २५ देखि ३० प्रतिशत सेयरका दिनेगरी रणनीतिक साझेदार भित्र्याउन लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले सूचना प्रविधिका क्षेत्रमा लामो अनुभव भएको र रणनीतिक साझेदारका विषयमा काम गरिसकेको कम्पनी पराशर्मदाताका रूपमा आउन सक्ने जानकारी दिए । “रणनीतिक साझेदार आएपछि खरिद कार्य प्रतिस्पर्धी कम्पनीसहर हुने र निर्णय पनि तुरुन्तै गर्न सकिने भएकाले सेवा विस्तार र गुणस्तर हालको भन्दा राम्रो हुन्छ,” भट्टराईले भने ।

टेलिकमको ६ महिनाको आम्दानी १९ अर्ब ६९ करोड


सरस्वती ढकाल, Karobar काठमाडौं, २७ फागुन - नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले चालू आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्ष (०६९÷७०)को सोही अवधिमा कम्पनीले १८ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालू आवको आम्दानी गत आवको भन्दा १ अर्ब २६ करोड रुपैयाँले बढी हो । ६ महिनाको कुल आम्दानीमध्ये खुद नाफा ५ अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले साधारण टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए, एडीएसएल, वाइम्याक्स, ईभीडीओ तथा अन्तर्राष्ट्रिय र अन्तर्देशीय गरी दर्जनभन्दा धेरै सेवा दिइरहेको छ । चालू आवमा कम्पनीले २२ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ, जुन लक्ष्यको ३३ प्रतिशत हो । कम्पनीले चालू आर्थिक वर्षका लागि ६९ अर्ब ९५ करोड ६३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालू आवमा सरकारलाई २१ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ राजस्व बुझाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले सरकारलाई राजस्व तिर्ने कम्पनीमध्ये चालू आवमा पनि नेपाल टेलिकम पहिलो नै हुने दाबी गरे । “पहिलो ६ महिनामा भन्दा पछिल्लो ६ महिनामा कम्पनीको आम्दानी बढी हुन्छ । सुरुमा योजना निर्माण चरण हुन्छ भने पछिल्लो समय कार्यान्वयनको चरण हुन्छ,” उनले भने । गुणस्तर सुधार गर्दै मोबाइल तथा डेटा सेवाको विस्तारमा जोड दिइने उनले बताए । आव ०६८÷६९ मा कम्पनीको करपछिको मुनाफा ११ अर्ब ६० करोड ५२ लाख रुपैयाँ थियो । त्यस्तै ०६९÷७० मा १० अर्ब ५९ करोड मुनाफा कमाएको थियो । चालू आवमा करपछिको मुनाफा ११ अर्ब ९६ करोड २५ लाख रुपैयाँ हुने प्रक्षेपण कम्पनीले गरेको छ । चालू आवमा २९ लाख थप टेलिफोन वितरण गर्ने उसको योजना छ । जीएसएमतर्फ २० लाख लाइन, सीडीएमए ८ लाख र साधारण टेलिफोन २७ हजार वितरण गर्ने लक्ष्य कम्पनीको छ ।

Monday, March 10, 2014

उपत्यकाको मोबाइल नेटवर्क हुवावेमा प्रतिस्थापन

सरस्वती ढकाल, कारोबार दैनिक  काठमाडौं, २६ फागुन- नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले जेडटीई कर्पाेरेसनको मोबाइल नेटवर्कलाई हुवावेको नेटवर्कमा प्रतिस्थापन गरेको छ । थर्ड जेनेरेसन (थ्रीजी) तथा  सेकेन्ड जेनेरेसन (टुजी) मोबाइलको गुणस्तर तथा डेटा सेवाको क्षमता विस्तारका लागि कम्पनीले पुरानो जेडटीई मोबाइल नटेवर्कलाई प्रतिस्थापन गरेको हो । उपत्यकामा नेटवर्क प्रतिस्थापन गरिसकेको कम्पनीले २ वर्षभित्र देशभरको मोबाइल तथा डेटा सेवाको गुणस्तरमा ग्राहकको अपेक्षाकृत सुधार ल्याउने जनाएको छ । उपत्यकाका ३ सय ७७ वटा बेस्ड स्टेसन टावर (बीटीएस) नयाँ नेटवर्कमा प्रतिस्थापन गरिएको प्रवक्ता गुणकेशरी प्रधानले बताइन् । हुवावे नेटवर्कमा प्रतिस्थापन भएपछि पहिलेको तुलनामा सेवाको गुणस्तरमा सुधार भएको दाबी उनको छ । उनका अनुसार उपत्यकाभित्रको मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गर्दै डेटा सेवाको क्षमता विस्तारका लागि कम्पनीले पहिलो चरणमा ‘लट थ्रि’अन्र्तगत १ सय ५० वटा बीटीएस टावर प्रतिस्थापन गरेको थियो । यसमध्ये १ सय ३७ वटा बीटीएस टावरमा टुजी तथा थ्रीजी र १३ वटामा थ्रीजी सेवाका उपकरण जडान गरिएका छन् । दोस्रो चरणमा अन्य बीटीएस टावर जडान गरिएको टेलिकमले जनाएको छ । कम्पनीले १ करोड जीएसएम लाइन विस्तार कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाका चक्रपथबाहिरका क्षेत्रहरु, भक्तपुर जिल्लाको सहरी क्षेत्र तथा अरनिको राजमार्गको दुवैतर्फका जिल्लामा उपकरण जडानको काम गरिरहेको छ । गत फागुन २ गतेदेखि सुरु भएको बीटीएस प्रतिस्थापन अभियानले २ वर्षभित्र पूर्णता पाउने टेलिकमको दाबी छ । बीटीएस प्रतिस्थापन भएका क्षेत्रमा जीएसएम मोबाइल सेवाको गुणस्तर, क्षमता विस्तार र पुहँचमा वृद्धि हुनेछ ।

बल्ल सुरु भयो नेपाल टेलिकममा रणनीतिक साझेदारको खोजी, सरकारको सेयर पनि विनिवेश गरिने

काठमाडौं । bizmandu.com नेपाल टेलिकममा रहेको सरकारी स्वामित्व विनिवेश गरेर रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया सुरु भएको छ । देशको सबैभन्दा मुनाफादायी कम्पनी नेपाल टेलिकममा लामो समयदेखि रणनीतिक साझेदार भित्र्याउने छलफल चले पनि ठोस प्रक्रिया भने सुरु हुन सकेको थिएन् ।टेलिकमले सेयर विनिवेश गरेर रणनीतिक साझेदार छान्न परामर्शदाताको खोजी गरेको हो ।
मंगलवार सार्वजनिक सूचना आव्हान गरेर टेलिकमले राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाताको आव्हान गरेको छ । टेलिकमले एक महिना भित्र प्रस्ताव पेश गर्न परामर्शदातालाई समय दिएको छ ।
नेपाल स्टकमा सूचिकृत देशकै सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकममा अहिले पनि सरकारको हिस्सामा साढे ९१ प्रतिशत सेयर स्वामित्व छ । टेलिकममा नागरिक लगानी कोषको ०.०३ प्रतिशत, सर्वसाधरण लगानीकर्ताको ३.९७ प्रतिशत र कर्मचारीको साढे चार प्रतिशत सेयर स्वामित्व छ । नेपाल टेलिकम अहिलेको बजार पुँजीकरणमा झण्डै एक खर्ब रुपैयाँको कम्पनी हो । सोमवार प्रतिकित्ता ६६० रुपैयाँमा कारोवार बन्द भएको थियो । सरकारले आफ्नो स्वामित्वमा भएको २५ देखि ३० प्रतिशत सेयर प्रतिष्ठित विदेशी साझेदारलाई विक्री गरेर रणनीतिक साझेदारका रुपमा भित्र्याउन खोजिरहेको छ । टेलिकममा भारत लगायत केही युरोपेली कम्पनीले रणनीतिक साझेदारका रुपमा भित्र्न चाहेका छन् । अहिलेको बजार मूल्यमा सेयर विक्री गरे सरकारले टेलिकमको विनिवेशबाट २५ देखि ३० अर्ब रुपैयाँ प्राप्त गर्न सक्छ । विदेशी रणनीतिक साझेदार भित्र्याए टेलिकमको निर्णय प्रक्रियामा चुस्तता आउने, गुणस्तरीय प्रविधि भित्र्याउन सहज हुने र कम लागतमा उच्च प्रतिफल प्राप्त गर्न सकिने सम्भावनामा सरकार र साझेदारहरु छन् ।