Monday, April 28, 2014

बजार हिस्सा बढाउँदै टेलिकम

काठमाडौं- मङ्गलबार १६ बैशाख, २०७१, नागरिक  नेपाल टेलिकमले सेवा र गुणस्तरलाई आक्रमक रुपमा विस्तार र सुधार गर्ने भएको छ। टेलिकमको प्रतिस्पर्धी बजारमा थप सेवा विस्तार गरी गुणस्तरलाई सुधार गर्ने टेलिकमले थि्रजी सेवा दिने भएको छ। टेलिकमले दूरसञ्चार बजारमा आफ्नो हिस्सा बढाउन र सेवाग्राहीलाई नयाँ सेवा सुविधा प्रदान गर्ने योजनाबद्ध तरिकाले काम गरेको जनाएको छ। टेलिकमले आफ्नो सेवा, सुविधा, अवस्था र योजनाका विषयमा जानकारी दिन सोमबार राजधानीमा पत्रकार अन्तर्क्रिया कार्यक्रम गर्दै थप सेवा प्रदान गर्ने र गुणस्तरमा व्यापक सुधार ल्याउने प्रतिबद्धता जनाएको हो।  टेलिकमले उपत्यकाभित्रको मोबाइल सेवाको नेटवर्कलाई थि्रजीमा परिवर्तन गरेको छ। नेटवर्क परिवर्तन गर्न २ वटा लटमा ४ सय १५ वटा बिटिएस टावरहरुमा नयाँ उपकरण जडान गरी सञ्चालन गरेको जनाएको छ। टेलिकमले जेटिइद्वारा निर्माण गरेको पुरानो नेटवर्कलाई हुवाइ कम्पनीको थि्रजी सेवाको जिएसएम नेटवर्कमा प्रतिस्थापन गरेको छ। डाटाको प्रयोगकर्ता बढ्दै गएपछि टेलिकमले उच्च गतिको थि्रजी सेवा सञ्चालन गरेको हो। कम्पनीले नयाँ उपकरणका कारण डाटा र भ्वाइस सेवा दुवैको गुणस्तरमा सुधार आएको जनाएको छ। टेलिकमले चाँडै देशभर थि्रजी र वाइफाइ हटस्पट सेवा विस्तार गर्ने जनाएको छ। टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले काठमाडौं उपत्यकाभित्रका मोबाइलमा नयाँ नेटवर्क परिवर्तन गरेसँगै मोबाइल सेवाका बिटिएसहरुलाई अप्टिकल फाइबरले जोडेको बताए। उपत्यकाभित्रका अधिकाँश टावरलाई अप्टिकल फाइबरले जोडेको र विस्तारै अरु टावरहरुमा पनि जोडिने प्रक्रियामा रहेको छ, उनले भने। टेलिकमले मुलुकभर जिएसएम मोबाइलको एक करोड लाइन विस्तार गर्ने योजना निरन्तर अगाडि बढेको र प्याकेज ए र बी गरेर छुट्टाइएको योजनाअनुसार अधिकाँश टावरमा थि्रजी मोबाइल सेवाका उपकरण जडान भएको उनले बताए।
टेलिकमले डाटाको व्यापारमा केन्द्रित हुन आइटी कम्पनी सञ्चालन गर्नका लागि अध्ययन गरिरहेको जनाएको छ। टेलिकमले सहायक कम्पनीमार्फत निजी कम्पनीसँगको साझेदारीमा आइटी कम्पनी स्थापना गर्ने भएको हो। इन्टरनेटमा आधारित हरेक कुरा निर्माण गर्नका लागि टेलिकमले अध्ययन गरेर चाँडै नै कम्पनी स्थापना गर्ने जनाएको छ। टेलिकमले इन्टरनेट कन्टेन निर्माण गर्नका लागि कम्पनी स्थापना गर्न लागेको हो। त्यस्तै ग्राहक सेवा केन्द्र ६ महिनाभित्र सञ्चालन गर्ने टेलिकमले जनाएको छ।  टेलिकमले काठमाडौंसँगै देशका प्रमुख सहरहरुमा वाइम्याक्स प्रविधिको वाइफाइ सेवा सञ्चालन गरेको जनाएको छ। टेलिकमले पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटा त्यस्तै मध्यमाञ्चलको धनुषा, महोत्तरी, चितवन, पर्सा र वारामा वाइफाइ सञ्चालन गरिसकेको छ। पश्चिमाञ्चलको कास्की, गोर्खा, रुपन्देही, नवलपरासी र पाल्पा र मध्यपश्चिमाञ्चलको बाँके, सुर्खेत, दाङ र जुम्ला, सुदुर पश्चिमाञ्चलको कञ्चनपुर, कैलाली, डोटी र बैतडी जिल्लाको प्रमुख सहरका वाइफाइ सेवा सञ्चालन भएको र अन्य जिल्लाहरुमा उपकरण जडानको काम भैरहेको टेलिकमले जनाएको छ।  टेलिकमले रणनीतिक साझेदारी भित्राउने प्रक्रियालाई तीब्रता दिएको बताउँदै केही कम्पनी इच्छुक देखिएको जनाएको छ। प्रबन्ध निर्देशक भट्टराइले रणनीतिक साझेदारीको काम द्रुत गतिमा भैरहेको र चाँडै नयाँ निर्णय हुने बताए। हामीले हाम्रो सेवा र गुणस्तरमा लगानी गर्दै जलविद्युतमा समेत लगानी गरिहेको उनले बताए। हामीले उपल्लो तामाकोशीमा ६ अर्ब ऋण सहयोग र त्रिशुली त्रि बीमा २० प्रतिशत साझेदारी गरेको उनले बताए। टेलिकमको टेलिफोन सेवाको ग्राहक फागुन मसान्तसम्ममा १ करोड २ लाख ४९ हजार पुगेको छ। जिएसएम मोबाइलको ८४ लाख २९ हजार, सिडिएमए फिक्स्ड तथा मोबाइल सेवाका ग्राहक ११ लाख ७१ ह्जार तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक ६ लाख ४७ हजार रहेका छन्। त्यस्तै डाटा सेवा प्रयोगकर्ता ४२ लाख ४७ हजार पुगेको छ।

इन्टरनेट डाटा व्यापारमा जोड दिँदै टेलिकम

Nepal-Telecom१५ बैशाख, काठमाडौं, onlinekhabar.com । इन्टरनेट डाटा प्याकेजमा ग्राहकहरुको आकर्षण देखिएको बताउँदै नेपाल टेलिकममा प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले आगामी दिनमा डेटाको व्यापारतर्फ केन्द्रीत हुने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले डाटाको व्यापारमा केन्द्रीत हुनुपर्ने बताएका हुन् । पछिल्लो समय इन्टरनेटका ग्राहकहरु डाटा प्याकेजमा आकषिर्त हुँदै गइरहेका छन् ।राजधानीका विभिन्न १२० स्थानमा हटस्पट वाईफाई सेवा सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै प्रबन्ध निर्देशक भट्टराईले छिट्टै देशका मूख्य-मूख्य शहरमा सेवा विस्तार गर्ने बताए । उनले उपत्यकाभित्रको मोबाइल सेवा नेटवर्कलाई थ्रीजीमा परिवर्तन गरिसकेको बताउँदै गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकम प्रतिवद्ध रहेको दाबी गरे । ‘लगानीलाई विविधिकरण गर्ने क्रममा टेलिकमले जलविद्युत परियोजनाहरुमा लगानी गरिसकेको छ’ भट्टराईले भने- ‘छिट्टै आइटी कम्पनी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’ आगामी दिनमा नयाँ सेवा ग्राहकसामु ल्याउँदै जाने उनले कार्यक्रममा प्रतिवद्धता जाहेर गरे । अहिले नेपाल टेलिकम इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्ये नम्बर वानमा रहेको छ । पाँच प्रकारका इन्टरनेट सेवा प्रदान गर्दै आएको टेलिकमका फागुन मसान्तसम्म ४० लाख ९२ हजार ११३ ग्राहक पुगिसकेका छन् । दोस्रो स्थानमा रहेको एनसेलका इन्टरनेट प्रयोगकर्ता ३८ लाख ५७ हजार ३ सय १९ जना ग्राहकहरु रहेका छन् ।
टेलिकमका अनुसार डायलअप सेवा लिने ४ हजार ७ सय ३६, एडीएसएल सेवा लिने १ लाख १९ हजार २ सय ८५, जीपीआरएस, इडीजीई, डब्लुसीडीएमए सेवा लिने ३८ लाख २४ हजार ७३, सीडीएमए आईएक्स र इभिडीयो सेवा लिने १ लाख ३६ हजार ५ सय ७३ र वाइम्याक्स सेवा लिने ७ हजार ४ सय ४६ जना रहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको म्ााघ मसान्तसम्मको तथ्यांक हेर्दा भ्वाइस सेवा प्रदान गर्ने कम्पनीमा नेपाल टेलिकम दोस्रो नम्बरमा परेको छ । यस अवधिसम्म टेलिकमका ग्राहकहरु १ करोड ६० हजार ५७ जना पुगेका छन् । पहिलो नम्बरमा रहेको एनसेलका ग्राहक संख्या १ करोड १० लाख ५९ हजार ८२ जना पुगेका छन् । तथ्यांकअनुसार युटिएलका ग्राहकहरु ७ लाख ३२ हजार ३ सय ३७  जना पुगेका छन् । टेलिकमको जिएसएम मोबाइल सेवाका प्रयोगकर्ता ८४ लाख २९ हजार ४०, सीडीएमए प्रयोगकर्ता ११ लाख ७१ हजार १३, फिक्स्ड लाइनका ६ लाख ४७ हजार ८ सय २ र मार्ट्स, भिएचएफ, भी-एसटी, एनटी स्याटका प्रयोगकर्ता १ हजार १ सय १८ जना रहेका छन् । वि.सं. १९७० को दशकमा मुलुकमा दूरसञ्चार सेवा सुभारम्भ गरेको टेलिकम २०३२ सालमा नेपाल दूरसञ्चार संस्थानमा परिणत भएको थियो । त्यसपछि वि.सं. २०६१ बैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा परिणत भएको अन्तरक्रिया कार्यक्रममा सह-प्रवक्ता राजेश जोशीले बताए । सह-प्रवक्ता जोशीका अनुसार कम्पनी स्थापना हुनु अगाडी टेलिकमका ग्राहकहरु ४ लाख २२ हजार रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा १ करोड २ लाख नाघिसकेका छन् । कम्पनी स्थापना हुनु अगाडी ७ अर्ब ६६ करोड राजश्व बुझाउने कम्पनीले गत आर्थिक वर्षमा ३८ अर्ब ८५ करोड रुपैयाँ राजश्व सरकारलाई बुझाउन सफल भएको जोशीले बताए । टेलिकमले विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ । अन्तरक्रियामा दिइएको जानकारीअनुसार कम्पनीले खेल क्षेत्रमा, वातावरण संरक्षणमा, सांस्कृतिक क्रियाकलापमा, अशक्त नागरिकहरुका लागि, विपद व्यवस्थापनका लागि विभिन्न संघ संस्थालाई, ग्रामिण स्वास्थ्य सेवा सुधारमा सहयोग गरेको छ ।

Sunday, April 27, 2014

घन्टाको १० रुपैयाँमा टेलिकमको वाइफाई

Wi-Fi१४ बैशाख, काठमाडौं Onlinekhabar.com । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा हटस्पोटमार्फत् निःशुल्क बाँड्दै आएको वाइफाई सेवालाई सःशुल्क बनाएको छ । टेलिकमले बनाएको नयाँ योजना अन्तर्गत अब वाइफाई चलाउन ग्राहकले १ घन्टाको १० रुपैयाँ तिर्नुपर्ने भएको छ । म्यासेजमार्फत् प्राप्त गरेको पासवर्ड प्रयोग गरि एकैपटक वा पटक-पटक गरि १ घण्टासम्म इन्टरनेट चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ । यो सेवा युजर नेम तथा पासवर्ड प्राप्त भएपछि २४ घन्टाभित्र प्रयोग गरिसक्नुपर्ने छ ।
नेपाल टेलिकमले हटस्पटबाट राजधानीका विभिन्न स्थानमा उपलब्ध गराएको इन्टरनेटको समयावधि गत चैत मसान्तबाट सकिएपछि सःशुल्क सेवा ल्याएको हो । ग्राहकको चाहनालाई ध्यानमा राखि टेलिकमले फागुन मसान्तबाट एक महिना निःशुल्क वाइफाई सेवाको अवधि थप गरेको थियो ।
कसरी प्रयोग गर्ने ?
सबैभन्दा पहिले नेपाल टेलिकमको जीएसएम पोस्टपेड तथा पि्रपेडबाट वाइफाई (WiFi)  टाईप गरी १४१६ मा म्यासेज पठाउनुपर्नेछ । त्यसबाट प्रयोगकर्ताको मोवाइलमा पासवर्ड आउनेछ । पासवर्ड प्राप्त गरिसकेपछि मोवाईल, ट्याव तथा ल्यापटपको वाइफाई मेनुमा गएर नेपाल टेलिकमको वाइफाईलाई कनेक्ट गरी कुनै वेभ पेज खोल्नुपर्नेछ ।
उक्त पेजमा आउने युजर नेम बक्समा आफ्नो मोवाइल नम्बर टाइप गर्ने र पासवर्डमा अघि म्यासेज बक्समा आएको पासवर्ड टाइप गरी इन्टरनेट चलाउन सकिने छ ।
हटस्पट उपलब्ध स्थानहरु 
काठमाडौंको धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक उत्तरढोका, नयाँ बानेश्वर चोक, एडभान्स इन्जिनियरिङ कलेज वरपर कुपण्डोल, सितापाइला चोक एक्मी इन्जिनियरिङ कलेज वरपर, हेल्पिङ ह्याण्ड कम्युनिटी हस्पिटल चावहिल, बयोधा हस्पिटल बल्खु, स्टार हस्पिटल बल्खु, नेको नेपाल मनमोहन स्मृति हस्पिटल, भृकुटिमण्डव, नर्सिङचोक ठमेल, वीर हस्पिटल, गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं इन्जिनियरिङ कलेज वरपर, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल, राष्ट्रिय वाणिज्य बैंक केशर महल चोक नारायणहिटी, पाटन हस्पिटल, मंगलबजार ललितपुर चेम्बर अफ कमर्श वरपर, ख्वप कलेज वरपर भक्तपुर, दत्तात्रय वरपर भक्तपुर, नेपाल टेलिकम वरपर भक्तपुर, दरबार स्क्वायर वरपर भक्तपुर, नगरकोट भक्तपुर, त्रिवि पुस्तकालय कीर्तिपुर, विपि कोइराला लायन सेन्टर वरपर महाराजगन्ज, कान्तिपु इन्जिनियरिङ कलेज वरपर धापाखेल, नेपाली कांग्रेस पार्टी कार्यालय वरपर सानेपा, एमाले पार्टी कार्यालय वरपर बल्खु, नेपाल मेडिकल कलेज वरपर अत्तरखेल, त्रिभुवनपार्क वरपर थानकोट, त्रिभुवन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल ।