के हो युसिएस ?
विभिन्न रेञ्जका प्रविधि र एप्लिकेसनलाई एउटै सिंगल कम्युनिकेसन प्लेटफर्मका रुपमा डिजाइन गरेर बिक्री गर्ने र तिनको सपोर्ट समेत गर्ने सिस्टम नै युसिएस हो । एकीकृत डाटा, भिडियो र भ्वाइसलाई एकै स्थानबाट सपोर्ट गर्न सकिने किसिमले यो बनाइएको छ । प्रयोगकर्ताले इमेल, एसएमएस, भिडियो, फ्याक्स, भ्वाइस र अन्य सेवालाई एउटै प्लेटफर्ममा प्रयोग गर्न सक्नेछन् । 'यो एउटा अनलाइन सर्भिस, प्लेटफर्म तथा साइट पनि हो,' प्रवक्ता प्रधान भन्छिन्, 'जसले विभिन्न व्यक्तिबीच सोसल नेटवर्क तथा सोसल रिलेसन कायम गराउँछ ।' यसले प्रयोगकर्ताबीच इमेल तथा इन्स्ट्यान्ट म्यासेजिङको सहयोगले इन्टरनेटमा अन्तरक्रिया गर्न मद्दत गर्छ । विभिन्न सेवालाई डेस्कटप पिसीमा प्रयोग गरिरहेको भए त्यही सेवालाई स्मार्टफोन, पिडिए, ल्यापटप र अन्य वायरलेस डिभाइसमा समेत प्रयोग गर्न यसले सघाउँछ ।
नेपाल टेलिकममा युसिएस
यो सेवा प्रारम्भमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्तालाई उपलब्ध गराइनेछ । प्रवक्ता प्रधानका अनुसार नेपाल टेलिकमको कुनै कुनै सेवा प्रयोग गरेको व्यक्तिले युसिएसमा लगइन गर्न सक्छन् । सुरुमा 'बेसिक' र 'प्रिमियम' गरि दुई प्रकारको सेवा वितरण गरिने कम्पनीको योजना छ । बेसिक सर्भिस अन्तर्गत अहिले फेसबुक वा ट्वीटर जस्ता सामाजिक सञ्जालमा प्रयोग गर्न सकिने स्ट्याटस अपडेट, सेयरिङ, लाइक, अनलाइक, कमेन्ट, च्याट आदि गर्न सकिन्छ । यसैगरी फ्रेन्ड र फ्रेन्ड ग्रुप बनाउन, ग्रुप डिस्कसन गर्न र ग्रुप च्याट गर्न, फोटो तथा भिडियो अपलोड/डाउनलोड गर्न तथा सेयरिङ गर्न, वेब एसएमएस तथा टेक्स्ट म्यासेज पठाउन, विभिन्न प्रकारका एप्लिकेसन डाउनलोड गर्न र भ्वाइस मेल सेवा समेत लिन सकिन्छ । प्रिमियम प्याकेज भने ग्राहकको अनुरोधमा मात्रै दिन सकिने कम्पनीको भनाइ छ । यो प्याकेजमा एकैपटक धेरै जनालाई एसएमएस पठाउनका लागि बल्क एसएमएस सेवा तथा आइपी कलको सुविधा समेत उपलब्ध हुन्छ ।