२०७१ जेठ १८ गते ९:१७ मा प्रकाशित, onlinekhabar.com
अनुपरञ्जन भट्टराई नेपाल टेलिकममा प्रबन्ध निर्देशक भएको ४ महिना बितिसकेको छ । सुरुदेखि नै उनको जोड भ्वाइसभन्दा डाटा सेवातिर बढि देखिएको छ । यो चार महिनाको अबधिमै उनले निःशुल्क वाईफाई सेवा बिस्तार गर्नेदेखि डाटा सेवालाई आक्रामक बनाइरहेका छन् । यसै सन्दर्भमा टेलिकमको डाटा सेवा विस्तार तथा आगामी रणनीतिका बारेमा प्रबन्ध निर्देशक भट्टराईसँग अनलाइनखबरका लागि नविन अर्यालले गरेको कुराकानी:
नेपाल टेलिकममा तपाई प्रबन्ध निर्देशक भएको ४ महिना भइसकेको छ । यस अवधिमा तपाईले विशेष जोड दिएका ग्राहकमुखी योजनाहरु के–के हुन् ?
एक वर्ष अगाडी देखि मैले दूरसञ्चार कम्पनीहरुको फोकस अब इन्टरनेट डाटा बिजनेशमा हुनुपर्छ भन्दै आएको छु । अहिले भ्वाइस सेवाको कभरेज झण्डै देशभर भइसकेको अवस्था छ । अधिकांश नेपालीहरुको हातमा मोबाइल पुगिसकेको छ । त्यसैले हामी अब हामी डाटा सेवाका ग्राहक बढाएर डाटा बिजनेशतर्फ बढी केन्द्रीत हुनुपर्छ । अहिले हाम्रो टिम डाटा सेवालाई प्रभावकारी बनाएर अगाडी बढ्ने कसरतमा लागेको छ । मेरो चार महिनाको उपलब्धी हेर्ने हो भने वाईफाई सेवा ३० जिल्लासम्म पु¥याईसक्यौं । यहि आर्थिक वर्षभित्रमा ७५ वटै जिल्लाका सदरमुकाम र मूख्य मूख्य व्यापारीक केन्द्रहरुमा पु¥याउँछौं । यहि आर्थिक वर्षभित्रमै फाइवर टु होम योजना पनि सुरु गर्छौं । यो चाहीँ काठमाडौंका मूख्यमूख्य स्थानमा पाइलट प्रोजेक्टको रुपमा सुरु गर्दै छौं । हाम्रा ग्राहकहरुको चाहना हाइस्पिड डाटा हो । विकसित मुलुकहरु एउटा वेबसाइट २ सेकेन्डभित्र खुल्नुपर्छ भन्ने स्टान्डर्डमा गइसकेका छन् । हामीले पनि ग्राहकलाई एकदमै द्रुत गतिको डाटा सेवा दिने हो भने फाइवरको विकल्प छैन । हामीले वारलेसबाट त्यति छिटो सेवा दिन सक्दैनौं । हामीले सहरी क्षेत्रमा फाइवरमा जानै पर्छ । तत्काल काठमाडौं उपत्कामा सुरु गरेर आगामी आर्थिक वर्षभित्र देशका मूख्य शहरहरुमा फाइवर सेवा सुरु गर्ने हाम्रो योजना छ ।