काठमाडौं । bizmandu.com नेपाल टेलिकमले १० औं वार्षिकोत्सवको अवसरमा गत माघदेखि तीन महिनाको लागि दिएको छुट थप एक महिनाका लागि दिने भएको छ । कम्पनीकै नेटवर्क भित्र हुने कल छुटलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । सिडिएमए नाइट प्याकेज र जिएसएम, सिडिएमए पोष्टपेडको नयाँ सिम खरिदको छुटलाई निरन्तरता दिइएको छ । टेलिकम प्रवक्ता गुणकेशरी प्रधानका अनुसार वार्षिकोत्सवको अवसर पारेर तीन महिनाको लागि सिडिएमए मोबाइलबाट राति कल गर्दा दिइएको छुट आगामी जेठ २३ गतेसम्मलाई निरन्तरता दिइएको हो । उनले भनिन्, ‘सिडिएमएबाट नेपाल टेलिकमको नेटवर्क भित्र कल गर्दा जम्मा २० रुपैयाँमा लिइने गरेकोमा अब एक महिनाका लागि यो सुविधा थप गरिएको छ ।’ टेलिकमले राति १० बजेदेखि बिहान ६ बजेसम्म नाइट प्याकेज दिँदै आएको छ । यसैगरी टेलिकमले सिडिएम र जिएसएम पोष्टपेड किन्दा लिँदै आएको १४ सय ३० रुपैयाँलाई बढाएर पन्ध्र सय १० रुपैयाँ बनाइएको छ । टेलिकमले छुट दिनु भन्दा अघि सिडिएएम र जिएसएम पोष्पेडको नयाँ सिम किन्दा २१ सय पर्थ्यो । प्रवक्ता प्रधानले भनिन् , ‘हामीले उपभोक्ताको मागलाई ध्यान राखेर पोष्टपेडको नयाँ सिम लिँदा पुरानै मूल्यमा फर्केनौँ । डिस्काउन्टलाई निरन्तरता दिँदै १५ सय १० रुपैयाँ बनाएका छौं ।’ टेलिकमले अन्य छुटलाई सोमबारदेखि नै लागु हुनेगरी निरन्तरता दिएको जनाएको छ ।
कम्पनीकै नेटवर्क भित्र हुने कल छुटलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । छुटमा
- फ्रेन्डस् एन्ड फेमिली सेवा वापत सिडिएमए पोष्टपेड मोबाइलको लागि प्रतिमिनेट ५५ पैसा
- सिडिएमए प्रिपेडका लागि प्रतिमिनेट ७५ पैसा
- बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि विक्री वितरण गरिएको सिम र रिमबाट कम्पनीकै नेटवर्कमा एसएमएस गर्दा प्रति एसएमएस वापत २० पैसा
- महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि ल्याइएको विशेष प्याकेज अन्तर्गत वितरण गरिने सिम र रिमबाट कम्पनीकै नेटवर्कभित्र हुने प्रत्येक १० मिनेट कलको १ रुपैयाँको दरले आगामी १ वर्षसम्म बोनस वितरण गरिने
- इभिडियो सेवाको समयावधी समेत थप गरेको छ । २५ एमबी तथा ३ सय एमबी डाटा प्याकेज क्रमश: २ दिन र १५ दिन भित्र चलाइक्नुपर्ने, ३ सय एमबीको १५ दिनको लागि १ सय ३०, ५ सय एमबीको १ महिनाको लागि दुई सय, दुई जिबीको २ महिनाको लागि ७ सय ६० र ५ जिबीको २ महिनको लागि १ हजार सात सय र १० जिबीको २ महिनाको लागि २४ सय शुल्क तोकिएको टेलिकमले जनाएको छ ।

