काठमाडौं, १७ जेठ सरस्वती ढकाल
नेपाल टेलिकमले छिट्टैनै इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटिभी) सञ्चालन गर्ने भएको छ । सरकारले चालू आर्थिक वर्षको कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिको विकासलाई राष्ट्रिय विकाससँग आबद्ध गर्ने उद्देश्य बमोजिम आईपी टिभी सञ्चालन अनुमति दिने व्यवस्था गरेपछि टेलिकमले काम अगाडि बढाएको हो ।
नेपालमा आईपीटिभी सञ्चालन गर्न अनिवार्य रूपमा टेलिकम सेवा प्रदायकको अनुमतिपत्र हुनुपर्ने व्यवस्था छ । एजिमिस्ट्रिक डिजिटल सस्क्राबर लाइन (एडीएसएल) को भ्यालु एडेड सेवा अन्र्तगत आईपीटिभी पर्ने भएकाले टेलिकम सेवा प्रदायकको अनुमतिपत्र अनिवार्य गरिएको हो । नेपालको भौगोलिकतामा आईपी टिभीको सम्भाव्यता सम्बन्धमा टेलिकमको एक टोलीले हालै श्रीलंकाबाट अध्ययन गरी फर्किएको छ । कम्पनीले प्राविधिक तथा सम्भाव्यता अध्ययन कार्य गरिसकेको जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा पनि दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएका कम्पनीले मात्र आईपीटिभी सञ्चालन गर्न दिने व्यवस्था छ ।
ग्राहकले आईपीटिभी प्रयोग गर्न आधारभूत टेलिफोन लाइन र इन्टरनेट सेवा लिएको हुनुपर्छ । इन्टरनेट जडान भएको कम्युटरमा सेट–टप बक्स प्रयोग गरी टेलिभिजन हेर्न सकिनेछ । आईपीटिभी यो सञ्चालनमा आएपछि केबल र डीटीएचबिना टेलिभिजन हेर्न सकिनेछ । एउटै लाइनबाट ग्राहकले टेलिभिजन, इन्टरनेट र टेलिफोन प्रयोग गर्न सक्ने टेलिकमका सहप्रवक्ता दिनेशदेव पन्तले बताए । “ग्राहकले फोन, इन्टरनेट, टेलिभिजनको महसुल एउटै विलबाट भुक्तानी गर्न सक्ने व्यवस्था आईपीटिभीमा हुनेछ,” सहप्रवक्ता पन्तले भने । टेलिकमले विश्वव्यापी टेन्डर आह्वान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ । कम्पनीले नेक्स जेनेरेसन नेटवर्क (एनजिएन) को एक अंशका रूपमा आईपीटिभीलाई लिइएको छ । प्रविधिको विकासँगै भ्यालु एडेड सेवाको विकासलाई जोड दिँदै आईपीटिभीलाई अगाडि बढाउन लागिएको सह प्रवक्ता पन्तले बताए । दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले पहिले नै इन्टरनेट सेवा सुरु गरिसकेकाले आईपीटिभी सञ्चालन गर्न सहज हुने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले बताए । “टेलिकम सेवा सञ्चालनको अनुमति नलिएका कम्पनीले आईपीटिभी सेवा दिन नपाउने व्यवस्था छ,” प्रवक्ता न्यौपानेले भने । आईपीटिभीमा प्रतिच्यानल २५ हजार रुपैयाँ दरले लाइसेन्स दिने व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले गरेको छ । नवीकरणका लागि वार्षिक लाइसेन्स दस्तुरको १० प्रतिशत रकम वुझाउनुपर्छ । दूरसञ्चार प्राधिकरणबाट ब्यान्डविथ र प्रसारणको हकमा सूचना तथा सञ्चार मन्त्रालयबाट लाइसेन्स लिनुपर्ने कानुनी व्यवस्था छ
आईपीटिभीमा टेलिभिजनबाट बजिसकेका कार्यक्रम र समाचारहरू पुन दोहो¥याएर हेर्न सकिनेछ । हालसम्म टेलिभिजनबाट बजिसकेका कार्यक्रम पुनः हेर्न सकिँदैन । नेपालजस्तो धेरै लोडसेडिङको मार खेपिरहेका टेलिभिजन प्रयोगकर्ता आईपीटिभीबाट थप लाभान्वित हुने टेलिकमले अनुमान छ । यसमा माग अनुसारका भिडियोसमेत हेर्न सकिने व्यवस्था हुनेछ । आईपीटिभीका लागि ५ सय १२ किलोविट्स प्रतिसेकेन्ड भन्दा हाइ व्याण्डविथ चाहिने टेलिकमले जनाएको छ । धेरै सेवा एउटै सेवा प्रदायकले एउटै माध्यमबाट दिएमा कसरी मूल्य निर्धारण गर्ने भन्ने सम्बन्धमा मन्त्रालयले चासो देखाएको छ ।
No comments:
Post a Comment