कारोबर सम्बाददाता, काठमाडौं, ६ भदौ- मुलुकको एकचौथाइ जनसंख्या (२५ प्रतिशत)मा इन्टरनेट पहुँच पुगेपछि दूरसञ्चार सेवाप्रदायकको ध्यान डेटातिर मोडिएको छ । बढ्दो प्रतिस्पर्धासँगै उनीहरूले उपभोक्तालाई सस्तोमा इन्टरनेट ‘अफर’ गरिरहेका छन् । दूरसञ्चार प्राधिकरणका अनुसार आव ०६८÷६९ सम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या ८० प्रतिशतसम्मले बढेको छ । इन्टरनेट चलाउनेहरू अधिकांश मोबाइलमै निर्भर छन् । त्यसमाथि स्मार्टफोनको बढ्दो प्रयोगसँगै हातहातमा इन्टरनेट पुगेपछि सेवाप्रदायकहरू भ्वाइसभन्दा डेटामै केन्द्रित भएका छन् । १ वर्षअघिसम्म मात्रै आम्दानीको मुख्य क्षेत्र मानिने भ्वाइसमा शुल्क घटाउने प्रतिस्पर्धा थियो । देशभर ६ वटा दूरसञ्चार सेवाप्रदायक छन् । तर, नेपाल टेलिकम, एनसेल र युनाइटेड टेलिकममात्र डेटा प्रतिस्पर्धाको अग्रपंक्तिमा छन् । त्यसमा पनि मुख्य प्रतिस्पर्धा निजी क्षेत्रको पहिलो मोबाइल कम्पनी एनसेल र सरकारी नियन्त्रणको नेपाल टेलिकमबीच नै छ । दुबै कम्पनी टुजी नेटवर्क र थ्रीजी इन्टरनेट सेवा रहेको जीपीआरएस प्रवद्र्धनमा केन्द्रित भएका छन् । उनीहरूले विभिन्न परिमाणका मोबाइल इन्टरनेट प्याकेज ल्याएका छन् । जीएमएमअन्तर्गत टेलिकमको प्याकेज भने कार्यान्वयनमा छैन । एनसेलका ३४ लाख ९४ हजार, टेलिकमका ३१ लाख ६८ हजार, यूटीएलका ९२ हजारले इन्टरनेट चलाउँछन् ।
टेलिकमले जीपीआरएस र थ्रीजी इन्टरनेटमा करबाहेक प्रतिएमबी १ रुपैयाँ शुल्क लिइरहेको छ भने आईपी सीडीएमए प्रविधिमा आधारित स्काई–प्रो सेवामा प्रतिएमबी ५० पैसा निर्धारण गरेको छ । उसले तीन महिनाअघि जीएसएम नेटवर्कअन्तर्गत मोबाइल डेटा सर्भिसमा विभिन्न प्याकेज सार्वजनिक गरे पनि अझैसम्म लागू गरेको छैन । उसले देशका विभिन्न भागमा थ्रीजी सेवा विस्तार अभियानसमेत थालेको छ । त्यसैगरी भ्वाइसमा १ नम्बरमा रहेको एनसेलले २४ घण्टासम्म म्याद रहने ३ एमबीदेखि ३० दिनसम्म म्याद रहने १० जीबीसम्मका डेटा प्याकेज उपलब्ध गराउँदै आएको छ । उसको प्याकेज कम्तीमा प्रतिएमबी २९ पैसा छ । तर, प्याकेजबिना चलाउँदा भने प्रतिएमबी ६ रुपैयाँ लाग्छ । त्यसैले, एनसेलले प्याकेजमै जोड दिने गरेको छ । प्याकेज लिए प्रतिएमबी २९ पैसासम्ममा इन्टरनेट चलाउन सकिने हुँदा सस्तो पर्छ । थ्रीजी नेटवर्क धेरै ठाउँमा भएको र ग्राहक सेवामा विशेष ध्यान दिएका कारण एनसेल डेटामा अग्रणी छ ।
उसले न्यूनतम ६ रुपैयाँमा एकदिनका लागि ३ मेगाबाइटदेखि २ हजार ९ सय ९९ मा उच्चतम १० गिगाबाइटको एक महिने प्याकेज दिइरहेको छ । दिन, महिना र वर्षमा बनाइएका प्याकेजले विद्यार्थी, घरेलु ग्राहक र पर्यटकसमेत लाभान्वित हुनेछन् । निर्धारित सयमभन्दा अगाडि नै प्याकेज सकिए अर्काे नकिनेरै पनि ग्राहकले न्यून मूल्यमा प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ । तर, समयअवधि (भ्यालिडिटी) सकिएपछि भने पूरा शुल्क लाग्छ ।
दूरसञ्चार सेवाप्रदायकबाहेक सुबिसु केबल नेट, वल्र्डलिंक कम्युनिकेसन, क्लासिक टेक, वेबसर्फर र भायानेटले पनि एनसेल र नेपाल टेलिकमसँग प्रतिस्पर्धा गर्दै विभिन्न स्किम ल्याएका छन् । तर, यी इन्टरनेट सेवाप्रदायकको बजारहिस्सा १ प्रतिशतमा मात्र सीमित छ । बजारमा एनसेलको हिस्सा ५१ प्रतिशत र टेलिकमको ४६ प्रतिशत छ ।
No comments:
Post a Comment