Sunday, February 24, 2013

टेलिकमको पल्स रेटमा मनपरी

काठमाडौं, ९ पुस - सरस्वती ढकाल दूरसञ्चार सेवाप्रदायक कम्पनीले मनपरी ‘पल्स रेट’ राख्दा उपभोक्ताले अनाहकमा बढी पैसा तिरिरहेका छन् । नेपालका सेवाप्रदायकले न्यूनतम २० सेकेन्डदेखि एक मिनेटसम्मको पल्स रेट राखेका छन् । अहिले २/३ सकेन्ड कुरा गरेर फोन काटिँदा पनि २० सेकेन्डदेखि एक मिनेटसम्मको शुल्क तिर्नुपर्छ । नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट र एसटीएम टेलिकमले छुट्टाछुट्टै सेवामा फरक–फरक पल्स रेट राखेका छन् । ६० सेकेन्डबराबर एक पल्स निर्धारण गरेका कम्पनीले २ सेकेन्डमै फोन विच्छेद भए पनि ६० सेकेन्डकै बिलिङ गर्छन् । उपभोक्ता संरक्षण ऐन २०५४ का दफा ७ र १८ तथा कालोबजार तथा सामाजिक अपराध २०३२ का दफा ३, ४ र ५ ले आफूखुसी पल्स अवधि निर्धारण र बिलिङलाई गैरकानुनी मानेका छन् । “प्रतिस्पर्धा ऐन २०६३ र अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ बमोजिम पनि यस्तो बिलिङ गैरकानुनी हो,” उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिम्खडाले भने । अहिले यूटीएले अधिकांश अन्तरदेशीय सेवामा ६० सकेन्ड बराबर एक पल्स कायम गरेको छ । उसले ०० कोड डायल गर्नुपर्नेबाहेक सबै अन्तर्राष्ट्रिय कलमा पनि ६० सकेन्डकै पल्स राखेको छ । यूटीएलले आफ्नो नेटवर्कमा कल गर्दा ९९ सय पैसा (करबाहेक) र अन्य नेटवर्कमा १ रुपैयाँ ५० पैसा (करबाहेक) निर्धारण गरेको छ । यस्तो अवस्थामा २ सकेन्डमा फोन काटिए पनि ग्राहकले ५८ सकेन्डको थप पैसा तिर्छन् ।
सरकारी स्वामित्वको टेलिकमले ‘पिक आवर’मा ३० सेकेन्ड बराबर एक पल्स मानेको छ । यसबाहेक अरु समयमा भने प्रतिमिनेट पल्स कायम गरिएको कम्पनीले जनाएको छ । करिब एक वर्षअघि १५ सेकेन्डबराबर एक पल्स मान्दै आएको टेलिकमले अहिले ३० सेकेन्ड र एक मिनेट पल्स कायम गरेको छ । टेलिकमले पल्स अवधि दोब्बर बनाएपछि सेवाग्राही झनै मारमा परेका छन् । उसले पोस्टपेड प्रतिमिनेट एक रुपैयाँ र राति १० देखि बिहान ६ बजेसम्म करबाहेक ५५ पैसा शुल्क कामय गरेको छ । जीएसएम प्रिपेडमा प्रतिमिनेट १ रुपयाँ ५० पैसा तिर्नुपर्छ । निजीक्षेत्रको एनसेलले २० सेकेन्डको पल्स निर्धारण गरेको छ । कम्पनीको नेटवर्कबाट ग्राहकले फोन गर्दा ३–४ मिनेटमै काटिए पनि २० सेकेन्ड बराबरको शुल्क तिर्नुपर्छ । अन्तर्राष्ट्रिय कलमा भने प्रतिमिनेट पल्स छ । बाह्य कलका बेला फोन बीचमै काटिँदा ग्राहक मर्कामा पर्छन् । एनसेलले कम्पनी अन्य नेटवर्कमा कल गर्दा १ रुपैयाँ ९९ पैसा (करबाहेक), आफ्नै नेटवर्कमा (माई फाइभ योजना) ९९ पैसा, रात्रि कल (राति १० देखि बिहान ६ सम्म) ६९ पैसा प्रतिमिनेट कामय गरेको छ ।
यद्यपि नियामक निकाय दूरसञ्चार प्राधिकरणले अहिलेसम्म पल्स रेटसम्बन्धी निश्चित मापदण्ड भने बनाएको छैन । छिट्टै १ देखि ५ सेकेन्डसम्मको पल्स रेट कायम गर्ने तयारी गरिएको उसले बताएको छ । “२ सेकेन्डमा फोन काटिँदा पनि २० सेकेन्ड, ३० सेकेन्ड र पूरै एक मिनेटको पैसा तिर्नुपर्ने बाध्यता हटाउँदैछौं,” प्राधिकरण निर्देशक आनन्दराज खनालले भने, “अब ५ सेकेन्डसम्मलाई एक पल्स बनाउनुपर्ने व्यवस्थासहित नयाँ मापदण्ड आउँदैछ ।” यूटीएल, टेलिकम र एनसेलबाहेक अरु तीन सेवाप्रदायकले पनि २०, ३० र ६० सेकेन्डलाई पल्स निर्धारण गरेका छन् । पल्स रेट निर्धारणका तर्क पनि सबै कम्पनीका आ–आफ्नै छन् । “हाम्रो नेटवर्कको फोन काटिँदैन, त्यही भएर पल्स रेट १ मिनेट कायम गरेका हौं,” नाम नबताउने यूटीएलका एक अधिकारीले भने, “राम्रो सेवा भएपछि उपभोक्ता कसरी ठगिने ?” टेलिकम प्रवक्ता गुणकेसरी प्रधानले भने पल्स रेट र त्यसको शुल्क मिलानका लागि ३० सेकेन्ड कायम गरिएको बताइन् । “हिसाब गर्दा जोर अंक मिलाउनुपर्ने भएकाले ३० सेकेन्डको पल्स बनाएका हौं,” उनले भनिन्, “नत्र पहिले धेरै समस्या खेप्नुपथ्र्यो, अंक मिलाएपछि शुल्कको हिसाब सजिलो भएको छ ।” प्राधिकरणबाट स्वीकृति लिएरै पल्स रेट कायम गरिएको दाबी पनि प्रधानले गरिन् ।

No comments:

Post a Comment