Friday, March 29, 2013

५६ लाखमध्ये ५२ लाख GPRS प्रयोगकर्ता


सरस्वती ढकाल, कारोबार काठमाडौं, १५ चैत - नेपालको २० प्रतिशत जनसंख्यामा इन्टरनेट पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २ करोड ६६ लाख २० हजार ८ सय जनसंख्यालाई आधार मानेर प्रयोगकर्ताको संख्या यकिन गरेको हो । प्राधिरकणको पछिल्लो प्रतिवेदनअनुसार ५६ लाख ९३ हजार ९ सय १३ जनाले इन्टरनेट सेवा लिएका छन् । इन्टरनेट सुविधा लिनेमध्ये सबैभन्दा धेरै मोबाइलमा जनरल प्याकेट रेडियो सर्भिस (जीपीआरएस) प्रयोगकर्ता छन् । मोबाइल सेवाप्रदायक कम्पनीले मोबाइलमा जीपीआरएस सेवा दिन थालेपछि इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेल र सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहक अरुको तुलनामा धेरै छन् । अन्य सेवाप्रदायकसँग ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) प्रविधिको लाइसेन्स छैन । प्राधिकरणका अनुसार हालसम्म एनसेलका २९ लाख १५ हजार, टेलिकमका २६ लाख १४ हजार, युनाइटेड टेलिकम (यूटीएल)का ८५ हजार र इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी)का ७८ हजार ग्राहक छन् ।
एनसेलले जीपीआरएस प्रविधिबाटमात्रै सेवा दिएको छ । त्यस्तै टेलिकमले एडीएसएल, जीपीआरएस र सीडीएमए प्रविधिबाट इन्टरनेट दिइरहेको छ । उसले फागुनदेखि विस्तार सुरु गरेको दु्रत गतिको इन्टरनेट सेवा ‘वाई–म्याक्स’का ग्राहक करिब ५ हजार पुगिसकेको जनाएको छ । यसै सातादेखि सर्वसाधारणलाई लक्षित गरी उसले वाई–म्याक्स दिन थालेको हो । यो सेवाले इन्टरनेट प्रयोगकर्ता अझै बढ्ने टेलिकम प्रवक्ता गुणकेसरी प्रधान बताउँछिन् । इन्टरनेट सेवा सञ्चालनकै लागि अनुमति पाएका कम्पनीको बजार हिस्सा तीन वर्षदेखि बढ्न सकेको छैन । मोबाइल कम्पनीको बढ्दो प्रतिस्पर्धासँगै जीपीआरएसमा ग्राहक तानिएपछि आईएसपीको बजार हिस्सा १ प्रतिशतमै सीमित छ । जीपीआरएसमा आईएसपी शून्य भए पनि ब्रोडब्यान्ड इन्टरनेटमा अगाडि भएको आईएसपीको संगठन आइस्पानका अध्यक्ष विनय बोहोराले बताए । “कर्पाेरेट हाउस, कलेज, होटल, अस्पताललगायतमा हामीले ९० प्रतिशतभन्दा धेरै सेवा दिएका छौं,” उनले भने, “तर, भौतिक पूर्वाधार अभावले सेवाक्षेत्र भने बढाउन सकिएको छैन ।” सरकारले ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच बढाउने उद्देश्यले सय रुपैयाँमै लाइसेन्स दिने व्यवस्थासमेत गरेको छ । तर, आईएसपीहरू ३ लाख रुपैयाँ शुल्क तिरी सहरकेन्द्रित भएका छन् । नेपालको भौगोलिक विविधता र ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको कमीले गर्दा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित राख्न महँगो लाइसेन्स शुल्क तिरेरै भए पनि सहरमा सेवा सञ्चालन गर्न चाहेका हुन् । ग्रामीण क्षेत्रका लागि लाइसेन्स लिन उपत्यका, महानगरपालिका, उपमहानगपालिकासँग सिमाना जोडिएका गाविसबाहेक हुनुपर्ने कानुनी प्रावधान छ । ग्रामीण क्षेत्रको लाइसेन्स हरेक पाँच वर्षमा ९० रुपैयाँ तिरी नवीकरण गर्न सकिने व्यवस्था छ । सहरी क्षेत्रका लागि लाइसेन्स शुल्क ३ लाख रुपैयाँ छ भने हरेक पाँच वर्षमा नवीकरण गर्दा २ लाख ७० हजार रुपैयाँ बुझाउनुपर्छ ।

गुणस्तर सुधार्न टावर थप्दै टेलिकम

काठमाडौं, चैत १६ (नागरिक) - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले जिएसएम मोबाइलको गुणस्तर सुधार गर्न विभिन्न ठाउँका टावर, एन्टेना, ब्याट्री र अप्टिकल फाइबरमा सुधार गरेको जनाएको छ। कम्पनीले गुणस्तर सुधारका क्रममा मोबाइल बिटिएस(टावर)हरुमा पुराना उपकरण हटाइएको जनाएको हो। कम्पनीका प्रवक्ता गुणकेशरी प्रधानका अनुसार गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षको ८ महिनामा २ सय ५० वटा बिटिएस साइटमा उच्च क्षमताको ब्याट्री जडान गरिएको छ। उनले निरन्तर ऊर्जा आवश्यक पर्ने केही ठाउँका उपकरणमा जेनेरेटर र सोलारमार्फत नियमित विद्युत आपूर्ति व्यवस्था मिलाएको जानकारी दिइन्। 
यसैगरी चालु आर्थिक वर्षको फागुनसम्ममा विभिन्न ठाउँमा नयाँ १ सय ५० भन्दा बढी बिटिएस टावर जडान गरिएको छ। यसैगरी कम्पनीले पुराना एन्टेना हटाई नयाँ एन्टेनाहरु जडान गर्ने क्रममा फागुनसम्ममा २ सय ठाउँमा एन्टेना प्रतिस्थापन गरेको छ।  टेलिकमले पुरानो प्रविधिको कपर केबुलको सट्टा तुलनात्मकरुपमा बढी प्रभावकारी अप्टिकल फाइवरको प्रयोगलाई प्राथमिकता दिन थालेको प्रधानले बताइन्। उनका अनुसार आर्थिक वर्षको पहिलो ८ महिनामा कम्पनीले ६० बिटिएसहरुमा पुराना केबुलको सट्टा अप्टिकल फाइबर जडान गरिसकेको छ। कम्पनीले विभिन्न भित्री ठाउँमा मोबाइलको सिग्नल नपुग्दा समस्या भएपछि उपत्याकासहित सहरी क्षेत्रका ८४ स्थानमा उपकरण जडान गरेको छ। कम्पनीले गुणस्तर सुधारलाई प्रथमिकतामा राखेर कार्य गरिरहेको प्रधानले बताइन्।

Thursday, March 28, 2013

उपत्यकाका ६ ठाउँबाट वाइम्याक्स किन्न सकिने

काठमाडौं, चैत १५ (नागरिक) - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले बुधबारदेखि उपत्यकाभित्र ६ ठाउँबाट सर्वसाधारणलाई उच्च गतिको बेतारे इन्टरनेट सेवा वाइम्याक्स बिक्री सुरु गरेको छ।  टेलिकमले दुइटा आफ्ना काउन्टर र चारवटा निजी क्षेत्रको साझेदारीमा सञ्चालित सेवा केन्द्रबाट वाइम्याक्स बिक्री सुरु गरेको हो। कम्पनीले उपत्यकाभित्र आफ्ना सुन्धारा र जावलाखेल काउन्टरबाट वाइम्याक्स बिक्री सुरु गरेको छ। 
एयरम्याक्स टेक्नोलोजी प्रालिले पुतलीसडक र बानेश्वर एवं युनिटेक नेटवर्कस् प्रालिले दरबारमार्ग र कुपण्डोलमा सञ्चालन गरेका सेवा केन्द्रबाट वाइम्याक्स बिक्री सुरु भएको हो।  कम्पनीले उपत्यकाबाहिर पनि आफ्ना काउन्टरबाट बुधबारदेखि नै वाइम्याक्स बिक्री सुरु गरेको छ। व्यावसायिक र संस्थागत उपभोक्ताका लागि गत मंसिरदेखि वाइम्याक्स वितरण गरेको टेलिकमले बुधबारबाट मात्र सर्वसाधारण ग्राहकलाई बिक्री सुरु गरेको हो।  बुधबारै उपत्यकाका चार ठाउँमा निजी क्षेत्रले टेलिकमका सेवा केन्द्र सञ्चालनमा ल्याएका छन्। अन्य दूरसञ्चार सेवा प्रदायकले यस्ता सेवा केन्द्र पहिलेदेखि नै सञ्चालनमा ल्याए पनि टेलिकमले भने पहिलोपटक निजी क्षेत्रको सहकार्यमा सेवा केन्द्र खोलेको हो।  टेलिकमले सञ्चालन गरेको वाइम्याक्स इन्टरनेट सेवा हालसम्मका इन्टरनेट प्याकेजको तुलनामा सबैभन्दा सस्तो भएको दाबी गरेको छ। कम्पनीले हाल भोलुम बेस (चलाएको आधारमा रकम काटिने) प्याकेजमा वाइम्याक्स सुरु गरेको हो। उपभोक्ताले एक महिना, तीन महिना र एक वर्षको प्याकेज किन्न सक्नेछन्। उपभोक्ताले सबैभन्दा सस्तोमा ५ गिगाबाइट(जिबी) डाटासहित २ सय ५६ किलोबिट्स प्रति सेकेन्ड(केबिपिएस) गतिको इन्टरनेट प्याकेज ६ सय ५० रुपैयाँमा लिन सक्नेछन्। 
वाइम्याक्स इन्टरनेट सेवा चलाउन उपभोक्ताले युएसबी डंगोल, मोडेम वा कस्टमर प्रिमिसेस इक्युपमेन्ट (सिपिई) किन्नुपर्छ। टेलिकमले हाल यी उपकरण बन्डलिङ गरेर वाइम्याक्स बिक्री गरिरहेको छ। ल्यापटप, डेक्सटप लगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन युएसबी डंगोल वा मोडेम उपयुक्त हुन्छ भने धेरैवटा कम्प्युटरमा इन्टरनेट चलाउन भने सिपिई आवश्यक पर्छ।  घरायसी प्रयोगकर्ताका लागि डंगोल र मोडेम नै उपयुक्त हुने टेलिकम अधिकारीहरु बताउँछन्। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोकेमा युएसबीबाट दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ।  युएसबी डंगोलको मूल्य ५ हजार र मोडेमको मूल्य ७ हजार रुपैयाँ पर्छ। सिपिईको मूल्य भने बढी हुन्छ। टेलिकमले इनडोर सिपिइको १२ हजार र आउटडोर सिपिईको २० हजार पर्ने जनाएको छ। टेलिकमले हाल उपत्यकासहित मुलुकका १३ अञ्चलका ४९ जिल्लामा वाइम्याक्स सेवा विस्तार गरिसकेको छ।

Monday, March 25, 2013

सर्वसाधारणलाई पनि बेच्ने भयो टेलिकमले फोरजी इन्टरनेट सेवा

काठमाडौं, चैत ११ (नागरिक)- नेपाल टेलिकमले उच्च गतिको फोरजी इन्टरनेट प्रविधि वाइम्याक्स सेवा चैत १४ देखि सर्वसाधारणलाई पनि बिक्री गर्ने भएको छ। उच्च गतिको वाइम्याक्स प्रविधिको इन्टरनेट ४९ जिल्लामा पुगे पनि कर्पोरेटहाउस, सरकारी-गैरसरकारी संस्था एवं विदेशी नियोगहरुलाई मात्र टेलिकमको यो सेवा पाउँदै आएका थिए। 'कम्पनीको यो सेवा खरिद गरी सेवाको पहुँच भएको जुनसुकै क्षेत्रमा प्रयोग गर्न सकिन्छ', नेपाल टेलिकमद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ। टेलिकमले एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्कसँग सहकार्य गरी वाइम्याक्स प्रविधिको इन्टरनेट सेवा सर्वसाधारणलाई प्रदान गर्न लागेको हो। टेलिकमले यी दुई कम्पनीले ल्याएका सीपीइ (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) सँग 'बन्डलिङ' गरी सेवा बिक्री गर्नेछ। यो सेवा हाल सुन्धारा, जउलाखेलस्थित कम्पनी काउन्टर तथा पुतलीसडक, दरबारमार्ग, कुपन्डोल र नयाँ बानेश्वरस्थित निजी कम्पनीका बिक्री केन्द्रमार्फत् वितरण गरिनेछ। राजधानी बाहिरका मुख्य सहरहरु बिराटनगर, पोखरा, चितवन, बुटवल, धनगढी र महेन्द्रनगरमा निजी कम्पनीले सम्पर्क कार्यालयबाट वाइम्याक्स सेवा पुर्‍याइने टेलिकमले जनाएको छ।
गत कात्तिकदेखि टेलिकमले वाइम्याक्स प्रविधिको इन्टरनेट सेवा सञ्चालनमा ल्याएको थियो। पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, बित्तीय संस्था, कुटनीतिक नियोग, सरकारी एवं गैरसरकारी संस्थाहरुलाई मात्र यो सेवा वितरण गरिएको थियो। वाइम्याक्स प्रविधि हाल नेपालमा उपलब्ध इन्टरनेट सेवाहरुमध्ये सबैभन्दा आधुनिक फोजी प्रविधिको सेवा हो। उपभोक्ताले यो प्रविधिमार्फत् इन्टरनेट चलाउनका लागि सीपीइ खरिद गर्नुपर्नेछ। यो उपकरण आउटडोर, इनडोर र युएसबी डङ्ग्ले गरी तीन किसिमका रहने टेलिकमका सहायक प्रवक्ता राजेश जोशीले बताए। आउटडोर डिभाइसले टावरदेखि १५ किलोमिटर, इनडोर डिभाइसले ५ किलोमिटर र युएसबी डङ्ग्लेले २ किलोमिटर टाढासम्मको सिग्नल लिई इन्टरनेट चलाउन सकिने उनले जानकारी दिए। टेलिकमले वाइम्याक्स प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि हाललाई २५६ केबीपीएस, ५१२ केबीपीएस र १ एमबिपीएस वा सो भन्दा बढी क्षमताको आधारमा १ महिना, ३ महिना र एक वर्षको प्याकेजको महसुसल दर निर्धारण गरेको छ। सर्वसाधारणले ३ महिनाको प्याकेज खरिद गर्दा सुरुको ३ महिनाको महसुलमा ५० प्रतिशत छुट प्रदान गरिने छ भने एक वर्षको प्याकेज खरिद गरी एकमुष्ट महसुल भुक्तानी गर्दा १५ प्रतिशत छुटको व्यवस्था गरिएको टेलिकमले जनाएको छ। त्यसैगरी मुलुकका सबै गाविस वा गाविसले सिफारिश गरेको एक स्थानमा २५६ केबिपीएस क्षमताको सेवा खरीद गर्दा ५० प्रतिशत छुट दिने टेलिकमले जनाएको छ।

वाइम्याक्स इन्टरनेट सबैलाई

काठमाडौं, चैत १२ (नागरिक) -नेपाल टेलिकमले घोषणा गरेको लामो समयपछि आगामी बुधबारबाट सर्वसाधारण ग्राहकलाई उच्च गतिको तारविहीन इन्टरनेट 'वाइम्याक्स' बिक्री गर्ने भएको छ। गत कात्तिकदेखि संस्थागत ग्राहकका लागि सेवा सुरु गरेको टेलिकमले बुधबारबाट भने सर्वसाधारणलाई पनि फोरजी प्रविधिको वाइम्याक्स सेवा दिने भएको हो। कम्पनीले उपत्यकाभित्र सुन्धारा र जावलाखेलस्थित काउन्टर एवं पुतलीसडक, दरबारमार्ग, कुपन्डोल र नयाँवानेश्वरस्थित निजी कम्पनीका बिक्री केन्द्रमार्फत् वितरण सुरु गर्नेछ। उपत्यका बाहिर हाल टेलिकमकै कार्यालयमा बिक्री केन्द्र राखी निजी कम्पनीसँगको सहकार्यमा बेचिने छ।
टेलिकमले एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्क प्रालिको सहकार्यमा वाइम्याक्स सेवा बेच्न लागेको हो। उनीहरूले विराटनगर, पोखरा, चितवन, बुटवल, धनगढी र महेन्द्रनगरमा आफ्ना सम्पर्क कार्यालय स्थापना गरी वाइम्याक्स बिक्री तयारी गरिसकेका छन्।  'फागुन १४ देखि सर्वसाधारण उपभोक्ताले वाइम्याक्स जोड्न सक्नेछन्,' टेलिकमका सहप्रवक्ता राजेश जोशीले भने, 'तीव्र गतिको इन्टरनेट खोज्नेलाई यो उपयुक्त हुनेछ।' टेलिकमले भोलुम बेस (चलाएका आधारमा रकम काटिने) प्याकेजमा यो सेवा सुरु गरेको हो। उपभोक्ताले एक महिना, तीन महिना र एक वर्षको प्याकेज किन्न सक्नेछन्। उपभोक्ताले एक महिने प्याकेज किन्दा २ सय ५६ किलोबिट्स प्रतिसेकेन्ड (केबिपिएस) गतिको ५ गिगाबाइट (जिबी) डाटा किन्नुपर्छ। यो प्याकेजको मूल्य ६ सय ५० रुपैयाँ तोकिएको छ। त्यसै गरी ५ सय १२ केबिपिएस गतिको ८ जिबी डाटामा ८ सय ५० र १ मेगाबिट्स (एमबी) गतिको १२ जिबी डाटा किन्दा १ हजार ३ सय ४० रुपैयाँ तिर्नुपर्छ। एक महिने प्याकेज किन्नेलाई टेलिकमले छुट दिएको छैन। तर, तीन महिने प्याकेजमा ५० प्रतिशत र १ वर्षेमा १५ प्रतिशत छुट दिइएको छ।
टेलिकमका अनुसार तीन महिने प्याकेजमा २ सय ५६ केबिपिएस गतिको सेवा लिनेले ३० जिबी, ५ सय १२ केबिपिएस र १ एमबिपिएस गतिमा ३६ जिबी डाटा प्याकेज पाइन्छ। २ सय ५६ केबिपिएसको तीन महिने प्याकेजलाई महिनामा १ हजार ६ सय ५०, ५ सय १२ केबिपिएसलाई १ हजार ८ सय ५० र १ एमबिपिएसलाई २ हजार १० रुपैयाँ तिर्नुपर्छ। यो छुट मूल्य हो। एक वर्षे प्याकेजमा सेवा लिनेले २ सय ५६ केबिपिएसलाई १ सय २० जिबी, ५ सय १२ केबिपिएस र १ एमबिपिएसलाई १ सय ४४ जिबीको प्याकेज पाउनेछन्। १ वर्षे २ सय ५६ केबिपिएसलाई महिनाको ११ हजार २ सय २०, ५ सय १२ केबिपिएसलाई १२ हजार ७ सय ५० र १ एमबिपिएसलाई १३ हजार ६ सय ६८ रुपैयाँ तिर्नुपर्छ। टेलिकमले यो सेवा चलाउन आवश्यक 'कस्टमर प्रिमिसेस इक्युपमेन्ट' (सिपिइ) बन्डलिङ गरेर बिक्री गर्नेछ। डेस्कटप, ल्यापटप, स्मार्टफोनमा एकैपटक धेरै प्रयोगकर्ताले इन्टरनेट चलाउन मिल्ने वाइम्याक्सलाई एडिएसएल मोडेमजस्तै सिपिइ चाहिन्छ।
वाइम्याक्सलाई तीन प्रकारको सिपिइ जडान गर्न सकिन्छ। टावरभन्दा निकै टाढा इन्टरनेट चलाउन आउटडोर सिपिइ चाहिन्छ। यसले टावरबाट पाँचदेखि २० किलोमिटर टाढासम्म पनि इन्टरनेट चलाउन मिल्छ। यसलाई घरबाहिर भित्ता वा छतमा राख्नुपर्छ। सिपिइले टावरबाट फ्याँकिने सिग्नल तानेर इन्टरनेट चलाउन सजिलो बनाउँछ। घरभित्र राख्न 'इनडोर सिपिइ' हुन्छ। टावरबाट चार किलोमिटरसम्म पनि यो सिपिइबाट इन्टरनेट चलाउन सकिन्छ। यसलाई पावर दिएपछि एकैपटक तार वा वायरलेस बनाएर धेरैले इन्टरनेट चलाउन सक्छन्। सानो कार्यालयलाई इनडोर सिपिइ उपयुक्त हुन्छ। घरमा एकैपटक डेस्कटप, ल्यापटप वा स्मार्टफोन चलाउन यो उपयुक्त हुन्छ। ल्यापटप, डेस्कटपलगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन भने युएसबी डंगोल वा मोडेम आवश्यक पर्छ। घरायसीलाई यस्ता डंगोल र मोडेम नै उपयुक्त हुने टेलिकम अधिकारी बताउँछन्। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोके युएसबीबाट दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ। युएसबी डंगोलको मूल्य ५ हजार र मोडेमको ७ हजार पर्छ। सिपिइको मूल्य भने बढी हुन्छ। टेलिकमले इनडोर सिपिइको १२ हजार र आउटडोर सिपिइको २० हजार पर्ने जनाएको छ। टेलिकमले हाल उपत्यका सहित १३ अञ्चलका ४९ जिल्लामा सेवा विस्तार गरिसकेको छ।
टेलिकमले तयार पारेको छुटसहितको वाइम्याक्सको प्याकेज 
स्पिड भोलुम अवधि मासिक शुल्क
२५६ केबिपिएस ५ जिबी १ महिना ६५० रुपैयाँ
५१२ केबिपिएस ८ जिबी १ महिना ८५० रुपैयाँ
१ एमबिपिएस १२ जिबी १ महिना १,३४० रुपैयाँ
२५६ केबिपिएस ३० जिबी ३ महिना १,६५० रुपैयाँ
५१२ केबिपिएस ३६ जिबी ३ महिना १,८७५ रुपैयाँ
१ एमबिपिएस ३६ जिबी ३ महिना २,०१० रुपैयाँ
२५६ केबिपिएस १२० जिबी १ वर्ष ११,२२० रुपैयाँ
५१२ केबिपिएस १४४ जिबी १ वर्ष १२,७५० रुपैयाँ
१ एमबिपिएस १४४ जिबी १ वर्ष १३,६६८ रुपैयाँ

Sunday, February 24, 2013

गुणस्तर खस्किँदा दुरसंचार कम्पनीलाई फाइदा

 – तीन/चार महिनापछि सुधार देखिनेछ : टेलिकम
– डिजेल नपाइँदा ब्याकअपमा झनै समस्या : एनसेल

Nameकाठमाडौं, ८ माघ -सरस्वती ढकाल फोनको गुणस्तर सुधार नगर्दा कम्पनीकै नाफा बढ्ने भएकाले नेपालका अधिकांश दूरसञ्चार सेवाप्रदायक कम्पनीले सुधारलाई न्यून प्राथमिकता दिने गरेका छन् । नेटवर्कमा देखिएको समस्याले एकपटकमा हुने कुराकानीका लागि तीन–चार पटकसम्म कल गर्दा उपभोक्ता ठगिए पनि टेलिकम कम्पनीहरूलाई भने दोब्बर फाइदा हुने गर्छ । “बारम्बार फोन काटिँदा कम्पनीको आम्दानी बढ्ने भएकाले सेवाप्रदायकले यसमा ध्यान दिँदैनन्,” निमामक निकाय दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्छन्, “एउटा कुरा गर्न ग्राहकले कैयांैपटक कल गर्नुपर्छ । ग्राहक दुब्लाउने, कम्पनी मोटाउने खेल भयो ।” अहिलेको गुणस्तर सुधार संरचनाले नपुग्ने भएकाले नयाँ ढंगबाटै जानुपर्ने आवश्यकता उनले औंल्याए । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)को प्राविधिक सहयोगमा नयाँ मापदण्ड कायम गर्ने, नियमन गर्ने र गुणस्तर कामय गराउन दबाब दिने तयारी भइरहेको जानकारी उनले दिए । गुणस्तरीय सेवा नदिनेलाई ५ लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था भएकाले प्राधिकरण कारबाही बढाउने तयारीमा छ । कारबाहीलाई चरणगत रूपमा अगाडि बढाइने खनालले बताए । लोडसेडिङ बढेसँगै बेस ट्रान्सिभर स्टेसन (बीटीएस)मा ब्याट्री ब्याकअपको वैकल्पिक व्यवस्था नहुँदा टेलिफोन नेटवर्कमा समस्या आएको महिनौं बित्दा पनि कम्पनीहरूले सुधारमा ध्यान दिएका छैनन् । यो अहिलेमात्रै नभएर हरेक वर्षको समस्या हो ।

टेलिकमको पल्स रेटमा मनपरी

काठमाडौं, ९ पुस - सरस्वती ढकाल दूरसञ्चार सेवाप्रदायक कम्पनीले मनपरी ‘पल्स रेट’ राख्दा उपभोक्ताले अनाहकमा बढी पैसा तिरिरहेका छन् । नेपालका सेवाप्रदायकले न्यूनतम २० सेकेन्डदेखि एक मिनेटसम्मको पल्स रेट राखेका छन् । अहिले २/३ सकेन्ड कुरा गरेर फोन काटिँदा पनि २० सेकेन्डदेखि एक मिनेटसम्मको शुल्क तिर्नुपर्छ । नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट र एसटीएम टेलिकमले छुट्टाछुट्टै सेवामा फरक–फरक पल्स रेट राखेका छन् । ६० सेकेन्डबराबर एक पल्स निर्धारण गरेका कम्पनीले २ सेकेन्डमै फोन विच्छेद भए पनि ६० सेकेन्डकै बिलिङ गर्छन् । उपभोक्ता संरक्षण ऐन २०५४ का दफा ७ र १८ तथा कालोबजार तथा सामाजिक अपराध २०३२ का दफा ३, ४ र ५ ले आफूखुसी पल्स अवधि निर्धारण र बिलिङलाई गैरकानुनी मानेका छन् । “प्रतिस्पर्धा ऐन २०६३ र अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ बमोजिम पनि यस्तो बिलिङ गैरकानुनी हो,” उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिम्खडाले भने । अहिले यूटीएले अधिकांश अन्तरदेशीय सेवामा ६० सकेन्ड बराबर एक पल्स कायम गरेको छ । उसले ०० कोड डायल गर्नुपर्नेबाहेक सबै अन्तर्राष्ट्रिय कलमा पनि ६० सकेन्डकै पल्स राखेको छ । यूटीएलले आफ्नो नेटवर्कमा कल गर्दा ९९ सय पैसा (करबाहेक) र अन्य नेटवर्कमा १ रुपैयाँ ५० पैसा (करबाहेक) निर्धारण गरेको छ । यस्तो अवस्थामा २ सकेन्डमा फोन काटिए पनि ग्राहकले ५८ सकेन्डको थप पैसा तिर्छन् ।

घटेन कल बाइपास

काठमाडौं, १२ फागुन - सरस्वती ढकाल विदेशबाट नेपालमा भित्रिने कलको अन्तरआबद्धता शुल्क महँगो भएकाले अवैध कल बाइपास घट्न नसकेको सम्बन्धित क्षेत्रको नियामक र अनुसन्धानरत संस्थाहरूले बताएका छन् । उनीहरूले उच्च अन्तरआबद्धता शुल्ककै कारण कल बाइपास बढिरहेको दाबी गरेका छन् । विदेशी कल नेपाल भित्र्याउँदा प्रतिकल ५ रुपैयाँसम्म कमाउन सकिने भएपछि भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) मा संलग्न गिरोह ठाउँ परिवर्तन गर्दै अवैध काममा संलग्न हुने गरेका हुन् । उच्च अन्तरआबद्धता शुल्ककै कारण कल बाइपास घट्न नसकेको निरन्तर अनुसन्धानमा क्रियाशील नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सीआईबीका एसपी ईश्वर कार्कीले छोटो समयमा धेरै आर्थिक लाभ लिन आपराधिक गिरोह कल बाइपासमा सक्रिय भएको बताए । उनले स्थानीयस्तरमा चोरीको काम गर्नेले विदेशमा पनि गैरकानुनी काम गर्ने गिरोहसँग नै मिलेर कारोबार गर्ने गरेको बताए । आधिकारिक कम्पनीले अवैध काम गर्न नमान्ने भएकाले यहाँको आपराधिक समूहले विदेशका अवैध काममा संलग्न व्यक्ति वा संस्थासँगको सहकार्यमा कल बाइपास हुुने गरेको उनको अनुभव छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले अन्तरआबद्धता शुल्कबापत ४ देखि ५ रुपैयाँ ५० पैसासम्म प्रतिमिनेट प्राप्त गर्छन् । नेपालबाट विदेश कल पठाउँदा वा विदेशको कल भित्र्याउँदा पठाउने कम्पनीले भित्र्याउने कम्पनीलाई निश्चत शुल्क बुझाउनुपर्छ । नेपालमा अन्तर्राष्ट्रिय ‘गेट वे’को अनुमति (लाइसेन्स) नेपाल टेलिकम, एनसेल, यूटीएल र एसटीएमले पाएका छन् । यीबाहेकका माध्यमबाट भित्रिने कल अवैध मानिन्छन् । 

Wednesday, February 20, 2013

टेलिकमले थप १० वटा बीटीएस भ्यान सञ्चालन गर्ने

काठमाडौं, ९ फागुन - नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताको बढी जमघट हुने स्थानलाई लक्षित गरी थप १० वटा बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) भ्यान प्रयोगमा ल्याउने भएको छ । कम्पनीले फागुनदेखि तीनवटा बीटीएस भ्यानमार्फत सेवा दिँदै आएको थियो ।
सबै भ्यान राजधानी आइसकेको भन्दै टेलिकमले उपकरण जडान कार्य भइरहेको र फागुनभित्रै राजधानीलगायत मुख्य सहरमा सेवा दिइने जनाएको छ । टेलिकमले सेवाको गुणस्तर खस्कन नदिन थप भ्यान सञ्चालनमा ल्याउन लागेको हो । राजधानीमा गत वर्ष प्रयोगमा ल्याइएका बीटीएस भ्यान कम्पनीले मुख्य–मुख्य पर्व, मेला, उद्घाटन र सभा–समारोहमा राख्दै आएको थियो । ‘ओभर ट्राफिक’ हुँदा मर्मतसम्भार तथा सेवाको स्तरोन्नति गर्दा गुणस्तर खस्किन नदिन थप भ्यान सञ्चालनमा ल्याउन लागेको प्रवक्ता गुणकेशरी प्रधानले बताइन् । “राजधानीमा सञ्चालित तीन बीटीएस भ्यानबाट ग्राहकको सुझाव र प्रतिक्रिया राम्रो आएकाले थप्न लागिएको हो,” उनले भनिन् । टेलिकमले बीटीएस भ्यानका लागि थाइल्यान्डको एएलटी इन्टर कर्पाेरेसनसँग सम्झौता गरेको छ । कर्पोरेसनबाट खरिद गरिएका बीटीएस भ्यानमध्ये चारवटा उच्च क्षमता र ६ वटा कम क्षमताका छन् । टेलिकमले बीटीएस भ्यान सञ्चालन सम्बन्धमा उपत्यका र बाहिर गरी ३४ प्राविधिकलाई तालिम दिइसकेको छ । राजधानीबाहिर विराटनगर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा बीटीएस भ्यान सञ्चालन ल्याइनेछ । टेलिकमले शिवरात्रि, हरितालिका तीज, स्वस्थानी व्रतको अवसरमा साँखुस्थित सालीनदीमा, संविधानसभा भवन, दशरथ रंगशाला, भृकुटीमण्डपमा हुने मेला, टुँडिखेलका कार्यक्रमलगायतका स्थान गरी ४० ठाउँबाट बीटीएस भ्यानमार्फत सेवा दिएको छ । भीडभाड हुने क्षेत्रमा मोबाइल नलाग्ने समस्या भएका ठाउँमा बीटीएस भ्यानबाट सेवा दिन थालेपछि फोन नलाग्ने, लागिहाले पनि काटिने तथा एकोहोरो कुरामात्र सुनिनेलगायतका गुनासा आउन छाडेको टेलिकमले जनाएको छ ।
अवैध कलबाइपासमा संलग्न दुई पक्राउ
काठमाडौं, ९ फागुन : भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) मार्फत कल बाइपासमा संलग्न दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मंगलबार मध्यपुर थिमी १६ का बच्चु बुढाथोकीको घरमा अवैध भीओआईपी प्रविधि सञ्चालन गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक महेन्द्रज्योतिका २३ वर्षीय लेलिन विष्ट र गुल्मी परालमी घर भई थापागाउँ बस्ने २५ वर्षीय कमल गौतम छन् । भीओआईपी प्रविधि सञ्चालन गर्न आवश्यक पर्ने विद्युतीय उपकरणसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यकाभित्र अवैध भीओआईपी प्रविधि सञ्चालन गरी अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको गोप्य सूचनाका आधारमा प्रहरीले निगरानी तथा चेकजाँच बढाएको थियो । उनीहरूबाट प्रहरीले जीएसएम एन्टेना १८ थान, फिक्स वायरलेस टर्मिनल २० थान, कभरबिनाको फिक्स वायरलेस टर्मिनल ६ थान र यू–सिम बरामद गरेको छ । अन्तराष्ट्रिय ‘गेट वे’ को लाइसेन्स नेपाल टेलिकम, एनसेल, यूटीएल र एसटीएम टेलिकमले पाएका छन् । यसबाहेक अन्य कसैले कलवाइपास गरेमा गैरकानुनी हुने नियामक निकाय दूरसञ्चार प्राधिरकणले जनाएको छ । दूरसञ्चार ऐन २०५३ अनुसार भीओआईपीमा संलग्न व्यक्तिलाई बिगो दाबीअनुसार जरिवाना र पाँच वर्ष कैद सजायको व्यवस्था छ

Sunday, February 17, 2013

टेलिकम र हुवावेको सम्झौता

काठमाडौ, फाल्गुन ६ - कान्तिपुर संवाददाता  नेपाल टेलिकमले चिनियाँ कम्पनी हुवावेसँग ५२ लाख जीएसएम मोबाइल विस्तारका लागि सम्झौता गरेको छ । जुन विस्तारअन्तर्गत मध्यमाञ्चलको काठमाडौं उपत्यकाबाहिर, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चलमा दुई वर्षभित्र नयाँ जीएसएमको सेवा थपिनेछन् ।
टेलिकमले १ करोड जीएसएम मोबाइल विस्तारको टेन्डर हुवावेले पाएपछि पहिलो चरणको विस्तार हुन लागेको छ । जसमा हुवावेले उपकरण जडान, सेवा सुरु गर्ने र ५ वर्षसम्म मर्मत सेवा दिनेछ । टेलिकमले सार्वजनिक खरिद ऐनका प्रावधान कार्यान्वयन गर्दा सम्झौता समयमै हुन नसकेको उल्लेख गरेको छ । यो दुवै चरणमा हुने यो विस्तार टेलिकमले सञ्चालन गरेको हालसम्मकै ठूलो हो । कम्पनीले दुई महिना हुवावेसँग छलफल गरेपछि सम्झौतामा बिहीबार हस्ताक्षर गरेको हो । टेलिकमले पहिलो चरण विस्तारको लागत १० अर्ब बढी हुने उल्लेख गरेको छ । कम्पनीले पछिल्लो सम्झौता र त्यसबाट हुने विस्तारका कारण प्रतिस्पर्धात्मक क्षमता बढ्ने उल्लेख गरेको छ । जीएसएम सेवामा टेलिकम दोस्रो स्थानमा छ । कम्पनीले विकट स्थानमा पनि सेवा विस्तार गरेर सामाजिक दायित्व निर्वाह गर्न आयोजना महत्त्वपूर्ण हुने उल्लेख गरेको छ । कम्पनीले १ करोड जीएसएम मोबाइल खरिदका लागि खुला गरेको टेन्डरमा चिनियाँ कम्पनी जेटीई, स्विडिस कम्पनी इरिक्सन र हुवावेले प्रतिस्पर्धा गरेका थिए । जसमा सबैभन्दा कम रकममा हुवावेले काम गर्ने प्रस्ताव गरेको थियो ।

Sunday, February 10, 2013

टेलिकमको नाफा १२२ करोडले घट्यो

गत आवका ६ महिनाभन्दा १८ प्रतिशत कम

Nameभुवन पौडेल काठमाडौं, २७ माघ - अधिकांश आर्थिक वर्षमा   नाफा कमाउने कम्पनीमध्ये एक नम्बरमा पर्दै आएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम)को नाफा यो आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब २२ करोडले घटेको छ । टेलिकमले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार उसले चालू आवको पुससम्ममा ५ अर्ब ५५ करोड ५७ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव (०६८/६९)को पहिलो ६ महिना तुलनामा १ अर्ब २२ करोड (१८ प्रतिशत)ले कम हो । कम्पनीले गत वर्ष पुससम्म ६ अर्ब ७७ करोड ६१ लख ७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । टेलिकमले चालू आवको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा भने ३ अर्ब ६३ करोड ९ लाख रुपैयाँमात्र खुद नाफा गरेको थियो । नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई जीएसएम मोबाइलको अनुमतिपत्र नवीकरण शुल्कस्वरूप पहिलो किस्तामा २ अर्बभन्दा धेरै र थ्रीजी फ्रिक्वेन्सीबापत ४८ करोड ८७ लाख तिरेपछि त्यसको असर खुद नाफामा परेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले बताइन् । “नाफा घटेको भने होइन,” उनले भनिन्, “आम्दानीको ठूलो हिस्सा अनुमति नवीकरण तथा रोयल्टीबापत बुझाउनु पर्दा नाफा कम देखिएको मात्र हो ।” गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय भइसके पनि कार्यान्वयन गर्न ढिला भएको प्रधानले बताइन् ।

Thursday, February 7, 2013

नयाँ-नयाँ प्रविधि ताक्दै टेलिफोन सेवा प्रदायक

विष्णु पोखरेल- करिब ६५ वर्षअघि जुद्ध आकाशवाणी स्थापना भएपछि सुरु भएको नेपालको दूरसञ्चार सेवाले अहिलेसम्म आउदा निकै फड्को मारिसकेको छ। दूरसञ्चारको इतिहास केलाउँदा विसं १९७० सालतिरै सुरु भएको बताइए पनि २००५ सालमा जुद्ध आकाशवाणी स्थापनालाई आधार मानिन्छ।  त्यसबेलाको सबैभन्दा द्रुत सेवा भनेकै आकशवाणी थियो। नेपालबाट आकाशवाणीको औपचारिकरुपमा अस्तित्व समाप्त भएको पनि आधा दशक भइसक्यो। यसबीचमा विश्वभर सूचना प्रविधिको विकासमा धेरै प्रगति भइसकेको छ। आकाशवाणीबाट सुरु भएको नेपालको दूरसञ्चार सेवा ल्यान्डलाइन(पिएसटिएन) फोन सेवा, मोबाइल, इन्टरनेट हुँदै अहिले आवाज, डाटा र भिडियोजस्ता कुरा एकैपटक पठाउन मिल्ने अत्याधुनिक सेवा उन्मुख हँुदै गइरहेको छ।  यो सेवामा पहिले सरकारी क्षेत्रको नेपाल दूरसञ्चार संस्थान मात्र रहेकोमा अहिले टेलिफोन सेवा दिने संस्थाको संख्या नै आधा दर्जन पुगिसकेको छ। तत्कालीन दूरसञ्चार संस्थानसमेत पब्लिक कम्पनीमा परिणत भइसकेको छ। टेलिकम क्षेत्रको विकासक्रममा अब यस्ता सेवा प्रदायक विस्तारै आवाजको खेतीबाट डाटाको खेतीतर्फ लाग्न थालेका छन्।
नयाँ-नयाँ सुविधा नभिœयाए अस्तित्वसमेत संकटमा पर्ने भएपछि नेपाली टेलिकम कम्पनीहरु पनि विश्वमा भइरहेको सूचना प्रविधिको विकासलाई पछ्याउँदै पछ्याउँदै छन्। प्रविधिमा लगानी गर्दैछन् अनि उपभोक्तालाई नयाँ-नयाँ प्रविधिमा अभ्यस्त बनाउँदै छन्।  प्रविधि पछ्याउने क्रममा नेपाली टेलिकम कम्पनीहरु अब डाटा सेवामा केन्द्रित हुन थालेका छन्। 'अब भ्वाइस र डाटासँगै लाने सेवा नै हाम्रो प्राथमिकतामा पर्छन्,' नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई भन्छन्, 'यसरी जानुपर्ने बाध्यता भइसकेको छ।' यसका साथै टेलिकमले विभिन्नखाले भ्यालु एडेड सर्भिसलाई थप गर्ने योजना पनि बनाएको छ।  पछिल्लो पुस्ताको मानिने वाइम्याक्स इन्टरनेट सेवा भर्खरै सुरु गरेको टेलिकमले ९ करोड लाइन विस्तारसहित बनाएको योजनामा भने फोरजी सेवा सञ्चालनलाई पनि समेटेको छ। पछिल्लो पुस्ताका थि्रजी, वाइम्याक्स र इभिडियोलागयत सेवा सुरु गरिरहेको कम्पनीले सुपथ मूल्यमा नयाँ सेवाहरु सञ्चालनको कसरत गरेको हो। टेलिकमले इन्टरनेटकै माध्यमबाट टेलिभिजन प्रसारण गर्ने कसरत पनि गरिसरहेको छ। 'ग्राहकको चाहनालाई मध्यनजर गरेर सबैखाले सेवा विस्तारमा टेलिकम लाग्नेछ,' उनले भने।

Wednesday, February 6, 2013

टेलिकमले सर्वसाधारणलाई पनि वाइम्याक्स दिने

Nameकाठमाडौं, २२ माघ - नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट वाइम्याक्स सर्वसाधारणका लागि छिट्टै ल्याउने भएको छ । हालसम्म कर्पोरेट अफिसका लागि मात्रै वाइम्याक्स सेवा दिँदै आएको कम्पनीले एक/दुई साताभित्रै सर्वसाधारणलाई पनि यो सेवा दिने भएको हो । कम्पनीको नवौं वार्षिक उत्सवका अवसरमा कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले छिट्टै सर्वसाधारणलाई वाइम्याक्स सेवा वितरण गर्ने तयारीमा टेलिकम रहेको बताए । वाइम्याक्स ब्रोडब्यान्ड सेवा सर्वसाधारणका लागि वितरण गर्न सीपीई ब्रन्डलिङ गरी मुलुकभरि सहजरूपमा बिक्री वितरण गर्ने प्रबन्ध निर्देशक सिंहले बताएका छन् ।
वायरलेस प्रविधिमा आधारित वाइम्याक्स सेवा हाल काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, चौतारा, दोलखा, चितवन, पोखरा, भैरहवा, र पाल्पामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले सोमबारदेखि विराटनगर क्षेत्रीय निर्देशनालयअन्तर्गत विराटनगर, इटरहरी, धरान, बिर्तामोड, धुलाबारी, भद्रपुर र काँकडभित्ता र वीरगन्ज क्षेत्रीय निर्देशनालयअन्तर्गत हेटौंडामा पनि सेवा सुरु गरेको छ । प्रथम चरणमा सरकारको लक्ष्यअनुरूप ३८ जिल्लाका १ हजार ८ सय गाविसमा पु¥याउने लक्ष्यअनुरूप चालू आवको अत्यसम्म ५० हजार लाइन वितरण गर्ने र विस्तारै ७५ जिल्ला र सबै गाविसमा सेवा पु¥याउने प्रबन्ध निर्देशक सिंहले बताए ।
कम्पनीका ग्राहक ८४ लाखभन्दा धेरै भएको जानकारी कम्पनीले गराएको छ । कम्पनीले आर्थिक वर्ष ०६८/६९ कुल आम्दानी ३६ अर्ब ७९ करोडमध्ये ११ अर्ब ६० कारोड नाफा गरेको छ । कम्पनीले गत वर्ष १८ अर्ब ६ करोड रुपैयाँ राजस्व तिरेको हो । चालू आर्थिक वर्षमा पनि १९ अर्ब राजस्व तिर्ने लक्ष्य कम्पनीको छ ।

वार्षिकोत्सवमा छुटैछुट
कम्पनीले नवौं वार्षिक उत्सवको अवसरमा साधारण टेलिफोनमा ग्राहकलाई फागुन १ गतेदेखि ०७० वैशाख ३१ सम्म न्यूनतम मासिक महसुल २ सयमा २ सय २५ लोकल कल गर्न पाउने व्यवस्था गरेको छ । जीएसएम तथा सीडीएमए सेवाबाट कम्पनीकै नेटवर्कमा एसएमएस गर्दा फागुन ३० सम्मका लागि ५० प्रतिशत छुट दिएको छ । जीएसएम तथा सीडीएमए सेवामा रात्री कलमा प्रति मिनेट ३० पैसा मात्रै कामय गरेको छ ।
वार्षिक उत्सवकै अवसरमा कम्पनीले अस्ट्रलिया र बेलायतमा एक्सेस कोड १४२४ मार्फत हने अन्तर्राष्ट्रिय कल सेवामा १२ रुपैयाँ रहेकामा सोमबारदेखि फागुन ३० सम्म ७ रपैयाँ ७५ पैसा कायम गरेको छ । त्यस्तै बेलायतका लागि ४ रुपैयाँ प्रतिमिनेट कायम गरिएको छ । वाइम्याक्स प्रविधिबाट व्यावसायिक संघ÷संस्थालाई प्रदान गरिँदै डाटा प्याकेज ३२÷४८÷६० जीबीमा फागुन ३० सम्मका लागि १० जीबी बोनस उपलब्ध गराएको छ ।

कन्टिनेन्टलले बेच्यो ३ अर्बका रिचार्ज कार्ड
आर्थिक वर्ष ०६८/६९ मा सबैभन्दा धेरै रिचार्ज कार्ड राजधानीको कन्टिनेन्टल मार्केटिङ प्रालिले बेचेको छ । प्रालिले २ अर्ब ९९ करोड ५४ लाख रुपैयाँबराबरका रिचार्ज कार्ड एक आर्थिक वर्ष बेचेको हो । टेलिकमले विराटनगर, वीरगन्ज, काठमाडौ, पोखरा, भैरहवा, नेपागन्ज र धनगढी क्षेत्रबाट सबैभन्दा धेरै रिचार्ज कार्ड बन्नेलाई सोमबार सम्मान गरेको हो । विराटनगर क्षेत्रबाट जयवबाबा सप्लायर्सले १ अर्ब २५ करोड ६४ लाख रुपैयाँ, वीरगन्ज क्षेत्रबाट चितवन टेलिफोन मर्मत केन्द्रले ६१  करोड ३४ लाख रुपैयाँको रिचार्ज कार्ड बेचेको हो ।
पोखरा क्षेत्रबाट सबैभन्दा धेरै बेच्ने एक्टिभ इन्रटप्राइजेज २७ करोड, ५१ लाख र भैरहवा क्षेत्रबाट भैरव फोटो एन्ड मल्टि सप्लायर्स बुटवलले ९२ करोड ७२ लाख र नेपालगन्ज क्षेत्रबाट एमपी इन्टरप्राइज ८१  करोड ७३ लाख र धनगढी क्षेत्रबाट रोदन टे«डर्सले सबैभन्दा धेरै ३७ करोड रुपैयाँ बेचेको हो ।

Monday, February 4, 2013

सरकारी भएकैले प्रतिस्पर्धामा टेलिकम पछाडी


टेलिकमको मोबाइलमा राती कल गर्दा तीस पैसा

काठमाडौं, माघ २३ (नागरिक) - नेपाल टेलिकमले राती मोबाइलमा कल गर्दा लाग्ने महसुल तीस पैसामा झारेको छ। टेलिकमको नवौ वार्षिकोत्सवको अवसरमा यो योजना ल्याएको हो। जिएसएम मोबाइल र सिडिएमए मोबाइलमा(राती १० देखि विहान ६ बजेसम्म) कल गर्दा यो शुल्क तिर्नुपर्नेछ। यसमा उपभोक्ताले कर भने तिर्नुपर्नेछ। सोमबारदेखि कार्यान्वयनमा ल्याएको यो योजना फागुन मसान्तसम्म लागु हुनेछ। उपभोक्ताले फागुन मसान्तसम्म यो शुल्कमा कल गर्न पाउने कम्पनीले जनाएको छ।  'हामीले वार्षिकोत्सवको अवसर पारेर यो योजना ल्याएको हौ,' कम्पनीका प्रवन्ध निर्देशक अमरनाथ सिंहले भने, 'यो योजनाले उपभोक्तालाई केही भएपनि राहत हुनेछ।' उनले दूरसञ्चार सेवा सम्वन्धी प्रविधि र उपकरणको मूल्यमा आएको कमको लाभ उपभोक्तालाई दिएको बताए। कम्पनीले एसएमएसको महसुल दरमा समेत ५० प्रतिशत छुट दिएको छ। टेलिकमका उपभोक्ताले पचास पैसामा टेलिकमको नेटवर्कभित्र एसएमएस गर्न पाउनेछन्। यो छुट पनि सोमबारदेखि फागुन मसान्तसम्म कार्यान्वयनमा आउनेछ। टेलिकमले साधारण (ल्यान्डलाइन) टेलिफोनमा समेत अतिरिक्त कलको सुविधा दिएको छ। दुई सय रुपैयाँ न्यूनतम महसुल तिरेर २ सय २५ कल लोकल कल गर्न पाउने सुविधा टेलिकमले दिएको छ। यो योजना फागुन १ देखि वैशाख ३१ गतेसम्म लागु हुनेछ। अहिले दुई सय रुपैयाँ न्यूनतम महसुल तिरेर १ सय ७५ कल मात्रै गर्न पाउने सुविधा छ। टेलिकमले वार्षिकोत्सवकै अवसर पारेर अन्तर्राष्ट्रिय कलको शुल्क समेत घटाएको छ। टेलिकमले बेलायत र अष्ट्रेलियामा कल गर्दा लाग्ने शुल्क घटाएको हो। अब अष्ट्रेलियाको लागि कर वाहेक ७ रुपैयाँ ७५ पैसामा कल गर्न पाइने भएको छ। यसअघि यो मुलुक कल गर्दा १२ रुपैयाँ थियो। बेलायतमा प्रतिमिनेट कर वाहेक ४ रुपैयाँ कायम गरेको छ। यसअघि बेलायत कल गर्दा १२ रुपैयाँनै रहेको थियो। विकसित मुलुकमध्ये अष्टे्रलिया र बेलायतमा धेरै नेपाली गएका छन्। अध्ययनका लागि गएका नेपाली धेरै भएकोले टेलिकमले शुल्क घटाएको हो। यसअघि अमेरिका र क्यानडामा प्रतिमिनेट कल गरेको कर वाहेक १ रुपैयाँ ७५ पैसा तोकेको छ। टेलिकमले वाईम्याक्सको प्रविधिको इन्टरनेटमा समेत विशेष आर्कषक प्याकेज योजना ल्याएको छ। व्यवसायिक संघ/संस्थाहरुलाई प्रदान गरिदै आएको डाटा प्याकेज(३२/४८/६० जिबी)मा फागुन ३० गतेसम्म १० जिबी बोनस उपलब्ध गराउने योजना ल्याएको छ

Monday, January 14, 2013

फ्रिक्वेन्सी नीति कार्यान्वयन हुन नपाउँदै संशोधन गर्न लबिङ

काठमाडौं, १ माघ - दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सीसम्बन्धी नीति २०६९ कार्यान्वयनमा आउन नपाउँदै संशोधनका लागि प्रस्ताव आउन थालेका छन् । ‘रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति’ ले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी समितिबाट स्वीकृत भई  गत कात्तिक १९ गतेदेखि लागू हुने निर्णय गरे पनि हालसम्म लागू हुन सकेको छैन । नीति कार्यान्वयन हुन नपाउँदै सेवा प्रदायक कम्पनीहरूले असन्तुष्टि जनाउँदै मन्त्रालय धाउन सुरु गरिसकेका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा सेवा प्रदायक कम्पनीहरू नीति संशोधन गरिनुपर्ने भन्दै आफ्ना माग लिएर आएको मन्त्रालय स्रोतले जानकारी दियो । फ्रिक्वेन्सी नीतिमा थर्ड जेनेरेसन (थ्रीजी) मोबाइलको फ्रिक्वेन्सी दस्तुर सेवा लिएकै दिनदेखि गणना गरी दस्तुर बुझाउनुपर्ने व्यवस्था नीतिमा छ । सेवा प्रदायक कम्पनीहरूले सुरुकै दिनदेखि गणना गर्दा धेरै दस्तुर रकम हुने हुनाले मिति परिवर्तन गराउन लबिङ गरेको मन्त्रालय स्रोतले जानकारी दियो । नीतिले आवश्यकताभन्दा धेरै फ्रिक्वेन्सी होल्ड गर्नेलाई तेब्बर दस्तुर लाग्ने व्यवस्था गरेको छ । आवश्यकताभन्दा धेरै फ्रिक्वेन्सी होल्ड भएका कम्पनीले यो व्यवस्था खारेज गर्नसमेत लबिङ गरिरहेको स्रोतले जनाकारी दियो । राजनीतिक दबाबले फ्रिक्वेन्सी नीति कार्यान्वयनमा जान कठिन भएको मन्त्रालय स्रोत बताउँछ ।
मन्त्रालयका सचिव सूर्यप्रसाद  सिलवालले सेवा प्रदायकहरूले आफ्ना समस्या राख्ने पाउने बताए । उनले सेवा प्रदायकहरूले राखेका समस्या समितिको बैठकमा छलफल गरी जायज भए मात्र प्रक्रिया अगाडि बढ्ने बताए । युनिफाइड लाइसेन्सको प्रक्रिया हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फ्रिक्वेन्सी बाँडफाँडको काम अगाडि बढ्न सकेको छैन । फ्रिक्वेन्सी नीति संशोधनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमार्फत प्रस्ताव जानुपर्छ । यतिबेला प्राधिकरण अध्यक्षविहीन भएकाले चरणगत रूपमा काम हुन नसक्ने सचिव सिलवालले बताए । रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा सूचना तथा सञ्चारमन्त्रीको अध्यक्षतामा ७ सदस्य रहन्छन् । समितिको सदस्यमा सूचना तथा सञ्चार, रक्षा, गृह तथा पर्यटनका मन्त्रालयका सचिव पदेन सदस्य रहन्छन् । त्यसैगरी दूरसञ्चार प्राधिकरणका अध्यक्ष र नेपाल सरकारले तोकेको एक जना सदस्य सचिव रहने व्यवस्था छ ।

Tuesday, January 1, 2013

पश्चिममा अप्टिकल फाइबर भारत जोडिएन


श्याम भट्ट, धनगढीपुस १८ -सुदूर र मध्यपश्चिमको तराईका भारतीय सीमासम्म अप्टिकल फाइबर पुगेको तीन वर्ष भइसक्दा पनि भारतसँग जोडिएको छैन। अप्टिकल फाइबर भारत जोडिन नसक्दा राष्ट्रिय सूचनासञ्जालको पूर्वी क्षेत्रमा कुनै समस्या पर्दा मध्य र सुदूरले पनि सञ्चार सम्पर्कबाट बाहिर बस्नुपर्ने अवस्था छ, अप्टिकल फाइबर सुदूरपश्चिमले सात वर्षदेखि राज्यसँग माग्दै आएका २१ मागमध्ये प्रमुख हो। सरकारको प्राथमिकतामा नपरेका कारण जमिनमुनि बिछ्याई सकिएको फाइबर भारत नजोडिएको हो। सञ्चार सञ्जाललाई प्रभावकारी र छरितो बनाउने अप्टिकल फाइबर भारतले आफ्नो पूर्वी सीमा उत्तराखण्ड राज्यको वनबासा हुँदै महाकाली नदीसम्म पुर्‍याएको छ भने नेपाललले पनि आफ्नो पश्चिमी सीमा गड्डा चौकीसम्म पुर्‍याएको छ। नेपालगन्जको रुपैडिया नाकासम्मसमेत अप्टिकल बिछ्याइएको तीन वर्ष भइसक्यो। नेपाल टेलिकम क्षेत्रीय कार्यालय कैलालीका कार्यकारी इन्जिनियर गोविन्दसिंह धामीका अनुसार भारत सरकारसँगको द्विपक्षीय वार्ता र सरकारको योजनामा नपर्दा बिछ्याइसकिएको अप्टिकल फाइबर काममा नआएको हो। सूचना सञ्जाललाई दोहोरो रूपमा राजधानी जोड्ने अप्टिकल फाइबरको जालो बुटवलसम्म मात्रै छ। सुदूर र मध्यमा कुनै समस्या आएमा राज्यको मुल सञ्चारमा जोड्ने वैकल्पिक सूचनामार्ग राज्यसँग छैन। बुटवल पश्चिम अप्टिकल फाइबरमा कुनै समस्या आए मध्य र सुदूरको सञ्चार सम्पर्क बिथोलिन्छ। यस्ता बेलामा रूपैडिया र गड्डाचौकी पुगेको मुलुकको फाइबर भारतसँग जोडिने हो भने सञ्चार सम्पर्कमा कुनै व्यवधान हुने थिएन। नयाँ प्रविधिको जमानामा ठूला तथ्यांक पठाउन गाह्रो भएकोमा अप्टिकल फाइबरको माग बढिरहेका बेला पुरानै प्रविधिले काम चलाउन मध्य र सुदूरको टेलिकम बाध्य छ।

Sunday, December 30, 2012

मोबाइलको गुणस्तर नसुधार्नेलाई कारबाही तयारी


काठमाडौं, पुस १६ (नागरिक)-तोकिएको मापदण्ड अनुसारको गुणस्तर कायम नगर्ने मोबाइल सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने तयारी गरेको छ।  मोबाइलको गुणस्तर राम्रो नभएको गुनासो आएपछि प्राधिकरणले कारबाहीको तयारी गरेको हो। प्राधिकरणका अध्यक्ष दिगम्बर झाले गुणस्तर कायम नगर्ने सेवा प्रदायकलाई कारबाही गरिने बताए।  'अहिले ग्राहकको राय संकलन गरिरहेका छौं,' उनले नागरिकसँग भने, 'ग्राहकको रायका आधारमा गुणस्तर कायम नगर्ने सेवा प्रदायकलाई कडा कारबाही गर्छौं।' प्राधिकरणले ग्राहकको राय संकलन गर्न गत सातादेखि नै सार्वजनिक सूचना जारी गर्दै आएको छ। सार्वजनिक सूचनामा मोबाइल सेवाको गुणस्तर मापदण्डबारे जानकारी दिइएको छ।  गुणस्तर मापदण्डको जानकारीसँगै प्राधिकरणले ग्राहकलाई गुनासो गर्ने व्यवस्था मिलाएको छ। प्राधिकरणले निकालेको सार्वजनिक सूचनामा मोबाइलको गुणस्तरबारे ग्राहकले फोन, फ्याक्स, इमेल, एसएमएसबाट गुनासो गर्नसक्ने उल्लेख छ। अध्यक्ष झाले केही समय ग्राहकको गुनासो संकलन गरेर त्यसका आधारमा सेवाप्रदायकलाई चेतावनी दिने बताए।  'ग्राहकको गुनासोका आधारमा हामी पहिलो चरणमा सेवा प्रदायकलाई गुणस्तर सुधार गर्न निर्देशन दिन्छांै,' झाले भने, 'गुणस्तर सुधार गर्न निर्देशन दिँदा पनि सेवा नसुधारे कडा कारबाहीमा जान्छांै।' झाले प्राधिकरणले मोबाइलको गुणस्तर कमजोर बनाएर ग्राहकलाई ठगी गर्ने सेवा प्रदायकलाई जरिवाना र ग्राहकको रकम फिर्ता गराउने लगायत कारबाही गर्ने जानकारी दिए। 
'ग्राहकको पैसा त्यत्तिकै लुटेर कुनै पनि सेवा प्रदायकले लान पाउँदैनन्,' उनले भने, 'कसैले लगेको छ भने त्यसलाई फिर्ता गराउनु र उपभोक्ताको हक संरक्षण गर्नु नियामक निकायको काम हो।' प्राधिकरणलाई गलत गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने अधिकार भएकाले त्यसैअनुरुपम कारबाही अघि बढाउने जानकारी दिए।  प्राधिकरणका अनुसार सेवा प्रदायकको गुणस्तरको मूल्यांकन मुख्य ५ वटा सूचकका आधारमा गरिने छ। सर्भिस एक्सेस डिले(डायल गरेपछि रिङ टोन आउन लाग्ने समय), कल सेटअप सक्सेस रेट(एक सय कल गर्दा कति कल सफल हुन्छ भन्ने औशत), कल ड्रप रेसियो(कुरा गर्दागर्दै बिचैमा टुट्ने कलको अनुपात), प्वाइन्ट अफ इन्टरकनेक्सन कन्जेसन(एक सेवा प्रदायकको नम्बरबाट अर्कोमा कल गर्दा सामना गर्नुपर्ने सर्किट अभाव) र कनेक्सन विथ गुड भ्वाइस क्वालिटी(कुराकानीका दौरान हुने व्यवधानहरु)लाई प्राधिकरणले मुख्य सूचक मानेको छ।  प्राधिकरणका अनुसार मोबाइलमा सर्भिस एक्सेस डिले समय १५ सेकेन्डभन्दा कम हुनुपर्नेछ। यसैगरी कल सेटअप सक्सेस रेट ९० प्रतिशतभन्दा बढी, कल ड्रप रेसिया ३ प्रतिशतभन्दा कम, प्वाइन्ट अफ इन्टरकनेक्सन कन्जेसन १ प्रतिशतभन्दा कम र कनेक्सन विथ गुड भ्वाइस क्वालिटी ९० प्रतिशतभन्दा बढी हुनुपर्छ।  झाले तोकिएको मापदण्ड पूरा नगर्ने जुनसुकै सेवा प्रदायकलाई प्राधिकरणले आवश्यक कारबाही अघि बढाउने बताए। 'नेपालको मोबाइल सेवाको गुाणस्तरबारे जहिले पनि गुनासो आउने गरेको छ,' उनले भने, 'यसलाई सुधार गर्न सेवा प्रदायकलाई जिम्मेवार बनाउनु पर्ने आवश्यक परेर हामीले ग्राहकको सुझाव संकलन गर्न थालेका हौं।

टेलकमको रिचार्ज कार्ड टेन्डरमा १० करोड घाटा

Name
काठमाडौं, १५ पुस - कारोबार  नेपाल टेलिकमका अधिकारीहरूले आफ्नो अधिकार दुरुपयोग गर्दै मोबाइल रिचार्ज कार्ड अर्डरका क्रममा टेलिकमलाई करिब १० करोड रुपैयाँं घाटा पु¥याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आयोगको विश्वस्त स्रोतका अनुसार हालै दर्ता भएको उजुरीमा टेकिलमका अधिकारीले स्थापित मूल्य मान्यतालाई पाखा लगाउँदै कम्पनीलाई आर्थिक रूपमा घाटामात्र नपु¥याएर नेपाल टेलिकमका ग्राहकमाथि विभिन्न समस्या थोपरेको भन्दै धेरै तथ्यहरू पनि प्रस्तुत गरिएको छ । स्रोतका अनुसार नेपाल टेकिलमद्वारा मंसिर ३ गते पछिल्लोपटक मोबाइल रिचार्ज कार्डका लागि आह्वान गरिएको बोलपत्रमा पनि पुरानै शैली अपनाएकाले आयोगमा उजुरी गर्न बाध्य भएको उल्लेख छ । उजुरीमा उल्लेख भएअनुसार नेपाल टेलिकमको ०६७ चैत ११ गते आह्वान गरिएको बोलपत्रअनुसार टेन्डर प्रदान गरिएको भारतीय कम्पनीले बोलपत्रमा उल्लेख भएको मापदण्डकै उल्लंघन गरी रिचार्ज कार्डमा कमसल पेपर प्रयोग गर्दा टेलिकमलाई करिब अढाई लाख अमेरिकी डलर घाटा भएको दाबी पनि गरिएको छ । रिचार्ज कार्डमा ३०० जीएसएम तौलको कागज प्रयोग गर्नुपर्नेमा भारतीय कम्पनीले २७० जीएसएम तौलको कागजमात्र प्रयोग गरेको उजुरीमा उल्लेख छ । कम तौलको कागज प्रयोग गरेपछि टेलिकमले कागजकै मूल्यमा करिब १० प्रतिशतको नोक्सानी बेहोर्नुपरेको उजुरीमा दाबी गरिएको छ । करिब १७ लाख अमेरिकी डलरको उक्त टेन्डर ३० करोड रिचार्ज कार्ड प्रिन्टका लागि उक्त कम्पनीलाई प्रदान गरिएको थियो । उक्त टेन्डरको करिब ५० प्रतिशत रकम रिचार्ज कार्डको कच्च पदार्थका लागि तोकिएका कारण कम तौलको पेपर प्रयोग गरिँदा नेपाल टेलिकमले ८५ हजार अमेरिकी डलर नोक्सानी बेहोरेको तथ्य पनि उजुरीमा प्रस्तुत गरिएको छ ।
उजुरीमा विश्वका टेलिकम कम्पनीले रिचार्ज कार्डका लागि आर्ट बोर्ड पेपर वा टेलिकार्ड पेपर प्रयोग गर्ने स्थापित मान्यतालाई समेत नेपाल टेलिकमले ध्यान नदिएको आरोप लगाइएको छ । अहिले नेपाल टेलिकमले बजारमा उपलब्ध गराएको रिचार्ज कार्ड कमसलखालको डुप्लेक्स पेपरबाट बनेको र यो पेपर भारतमा आर्ट बोर्ड पेपरभन्दा ३० प्रतिशत र टेलिकार्ड पेपरभन्दा ४० प्रतिशत कम मूल्यमा पाइन्छ । कमसल कागज प्रयोग गरेको सम्बन्धमा धेरै उजुरी पर्दा पनि टेलिकमले यसप्रति कुनै चासो नदेखाएको उजुरीमा उल्लेख छ । नेपाल टेलिकमले कागजको गुणस्तरमा ध्यान नदिएर केही भारतीय रिचार्ज कार्ड निर्माता कम्पनीका पक्षमा प्राविधिक मापदण्ड तयार गरिदिएको पुष्टि हुन्छ । यसले टेलिकम र यसका ग्राहकलाई घाटामात्रै पु¥याएको छ । “कागजमा ३० प्रतिशत रकम जोगाउनु भनेको करिब २ लाख ५५ हजार अमेरिकी डलर घाटा थोपर्नु हो, जुन रकम कागजको करिब आधा मूल्य नै हुन जान्छ,” उजुरीमा उल्लेख छ । स्क््रयार्च कार्ड प्रयोगकर्ता ग्राहकले कार्ड स्क््रयार्च गर्दा पिन नम्बर गायब हुने गरेकासम्बन्धी विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई पनि उजुरीमा समावेश गरिएको छ । राजधानीकै नक्साल क्षेत्रमा विभिन्न पसलबाट खरिद गरिएका रिचार्ज कार्ड प्राविधिक मादण्ड पूरा नगरिएका कमसल गुणस्तरका रहेको पाइएको उजुरीमा टेलिकमले यस्ता जनगुनासा नसुन्ने गरेको आरोप पनि लगाइएको छ । भारत सरकारले नेपालमा सरसामान बिक्री गर्दा भारतीय रुपैयाँको प्रयोगलाई स्वीकृति दिए पनि नेपाल टेलिकमले अझै अमेरिकी डलरमा भारतीय कम्पनीलाई टेन्डर प्रतिस्पर्धा गर्न अनुमति दिइरहेको उजुरीमा उल्लेख छ । ०६७ चैत ११ गते आह्वान गरिएको बोलपत्र ०६८ वैशाख २६ गते खोलिएको थियो  । सो समयमा विनिमय दर प्रति अमेरिकी डलर ७१ रुपैयाँ ९५ पैसा थियो । अमेरिकी डलरको मूल्य बढेपछि टेलिकममाथि पनि २० प्रतिशतभन्दा बढी आर्थिक भार बढेको थियो । पछिल्लो समयमा विनिमय दर प्रति अमेरिकी डलर ८७ रुपैयाँ मान्दा पनि यसबाट टेलिकमले २ करोड ६५ लाख ५० हजार रुपैयाँ नोक्सानी बेहोर्नुपरेको छ । यो तथ्य हुँदाहुँदै पनि फेरि टेलिकमले मंसिर ३ मा पछिल्लोपटक भारतीय सप्लायर्सबाट अमेरिकी डलरमै मोबाइल रिचार्ज कार्डको नयाँं टेन्डर आह्वान गरेको उजुरीमा स्पष्ट गरिएको छ