Thursday, September 25, 2014

टेलिकम कर्मचारीबीच झडप, कार्यालयका कुर्सी र सिसा तोडफोड, दसैंतिहार योजना अनिश्चित बन्यो

काठमाडौं। नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तीको विवादले कर्मचारीबीच नै झडप भएको छ। अप्राविधिकलाई प्रबन्ध निर्देशक बनाएको विरोधमा आन्दोलन गरिरहेका इन्जिनियर र आन्दोलनको विपक्षमा रहेका अप्राविधिक कर्मचारीबीच बुधबार झडप भएको हो। आन्दोलनका कारण दसै पेश्की र उपभोक्तालाई सेवामा छुट दिन समेत नसकेको भन्दै अप्राविधिक कर्मचारीले आन्दोलनको विरोध गरेपछि दुई पक्षबीच झडप भएको हो। सुरुमा कर्मचारीहरु भनाभनमा उत्रिए र त्यसपछि हात हालाहालसम्मको अवस्था सिर्जना भयो। कर्मचारीहरुले प्रबन्ध निर्देशकको कार्यकक्ष बाहिरको सिसा फुटाएका थिए भने केही कुर्सी पनि भाँचेका छन्। बुधबारको घटनाले प्राविधिक र अप्राविधिकबीचको दुरी थप बढाएको छ। टेलिकिममा सात सयको हाराहारीमा प्रावधिक र २१ सयको हाराहारीमा अप्राविधिक कर्मचारी छन्। गत साउन १९ गते सरकारले टेलिकमका १५ नायवप्रबन्ध निर्देशकमध्ये एघारजना प्राविधिक समूहको हुँदा गैरप्राविधिक व्यक्तिलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको भन्दै इन्जिनियरले विरोध गरिरहेका छन् । प्राविधिकले गैरप्राविधिक व्यक्तिलाई प्रमुखको जिम्मेवारी दिएर सरकारले आफूहरूलाई अपमान गरेको ठानेका छन् । यही विरोधले टेलिकम कर्मचारी विभाजित भएका हुन् । विरोधमा उत्रिएका इन्जिनियरहरुले एमडी प्राविधिक९इन्जिनियर० क्षेत्रकै हुनुपर्ने माग राख्दै आन्दोलन गरेपनि टेलिकमको विनियमावलीमा एमडी प्राविधिक नै हुनपर्ने कतै उल्लेख छैन ।

प्राविधिक र अप्राविधिकको विवाद उत्कर्षमा, दसैं अफर घोषणा गर्न समेत कठिन, डर टेक्निकल अडिटको

कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं ।
नेपाल टेलिकमका इन्जिनियरहरु बिहान १० बजे कार्यालय पुग्छन् । आफ्नो कार्यकक्षमा जान्छन् । हाजिर गर्छन् र ११ बजेपछि प्रबन्ध निर्देशक (एमडी) बुद्धिप्रसाद आचार्यको कार्यकक्ष अघि भेला हुन्छन् ।

पाखुरामा कालोपट्टी बाँधेर टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीको दोस्रो तलामा टेलिकम बचाउ अभियान भन्दै हाते माइकमार्फत् आन्दोलनका भाषण गर्छन्, एमडी विरोधी नाराबाजी गर्छन् र एमडीको राजीनामा माग्छन् ।

राजीनामा नदिए टेलिकमका सबै सेवा अवरुद्ध पार्ने चेतावनी दिन्छन् । बेलुकी ५ बजेपछि आन्दोलनलाई निरन्तरता दिने भन्दै आआफ्नो घर फर्कन्छन् ।
...
 
टेलिकममै कार्यरत प्रशासन-लेखातर्फका कर्मचारी पनि १० बजे अफिस आउँछन् । पाखुरामा न कालो पट्टी लगाउँछन् । न त आन्दोलनमा सहभागी हुन्छन् । न त आन्दोलनका बारेमा चासो नै राख्छन् र एमडीको विरोध गर्छन् । बरु हप्तौदेखिको आन्दोलनले संस्थालाई पारेको असर र इन्जिनियरहरुको व्यवहारले कर्मचारीबीचको एकता टुट्ने र संस्थानै डुब्ने डरले भयवित देखिन्छन् ।

उनीहरु आफ्नो काम गर्छन् । काम नभए कार्यकक्षमै कम्प्युटर चलाउँछन् । फेसबुक खोल्छन् । अरु समाचार साइट हेर्छन् र बेलुकी घर फर्कन्छन् । आन्दोलनतिर टाउको फर्काएर समेत हेर्दैनन् ।

अहिले नेपाल टेलिकमका प्राविधिक (इन्जिनियर) र प्रशासनका कर्मचारीको दैनिकी हो यो ।

 
सरकारले गत साउन १९ गते टेलिकमका नायवप्रबन्ध निर्देशकमध्ये वरिष्ठ तहमा रहेका आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्ति गरेपछि कर्मचारीमा आएको विभाजनले टेलिकमको भविष्य कता ? भन्ने प्रश्न उब्जिएको छ ।

टेलिकमको प्रशासन तर्फका एक कर्मचारीका अनुसार अहिले इन्जिनियर र प्रसाशनका कर्मचारीबीच बोलचाल समेत बन्द हुने अवस्था आइसकेको छ । ती कर्मचारी भन्छन्, 'इन्जिनियरहरु प्रशासनका कर्मचारीलाई बुद्धिको मान्छे देख्छन् । हामीले उहाँहरुलाई विरोधी । दुई समूहमा बाँडिए जस्तै भएको छ टेलिकम । जुन कम्पनीको लागि हितकर छैन ।'