Tuesday, November 20, 2012

टेलिकमले प्रिपेड ग्राहकलाई बाँड्यो १६ करोडभन्दा बढीको बोनस

काठमाडौँ, मङ्सिर ५ (नागरिक) - नेपाल टेलिकमले जिएसएम प्रिेपेड मोबाइल सेवामा दशैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा गरेको कल र डाटा वापतको १० प्रतिशत रकम आज बोनसका रुपमा बाँडेको छ। बोनसको कूल रकम १६ करोड ८१ लाख ७१ हजार ३३६ रुपियाँ रहेको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिइन्। असोज ३०देखि मंसिर ४ गतेसम्म उपभोग गरिएको सेवा वापतको कूल रकमको १० प्रतिशत रकम बोनसका रुपमा ग्राहकलाई फिर्ता गरिएको हो। यो रकम टेलिकम कै नेटवर्कमा कल गर्दा लाग्ने रकमबाट कट्टा हुँदै जाने र बोनस वापतको रकम सकिएपछि मात्र मुख्य ब्यालेन्सको रकम काटिने टेलिकमले जनाएको छ। प्राप्त बोनस रकम दुई महिनाभित्र उपभोग गरिसक्नुपर्नेछ। त्यसैगरी जीएसएम पोस्टपेड मोबाइल, ल्यान्डलाइन, सी फोन पोस्टपेडका ग्राहकलाई उपलब्ध गराइएको छुट कात्तिक महिनाको बिलमा समायोजन गरिने टेलिकमले जनाएको छ। कम्पनीले कात्तिक १ गतेदेखि एक्सेस कोड १४२४ मार्फत् पाँच देशमा हुने नयाँ महसूल दरलाई मंसिर ३० सम्म निरन्तरता दिइने जनाएको छ। नयाँ महसूल अन्तर्गत अस्ट्रेलियामा ७/७५, चीन र हङकङमा ३ रुपियाँ, बंगलादेशमा ४ रुपियाँ र कुवेत र बहराइनमा ८ रुपियाँ प्रति मिनेट शुल्क लाग्छ।

एक हप्तामा ६ कम्पनीले लिए वाइम्याक्स इन्टरनेट

काठमाडौँ, मङ्सिर ४ नागरिक - नेपाल टेलिकमले कात्तिक २७ गतेदेखि सुरु गरेको तारविहीन द्रुत गतिको 'वाइम्याक्स' सेवा हिजोसम्ममा छवटा कम्पनीले मात्रै लिएका छन्।कम्पनीका सहप्रवक्ता राजेश जोशीका अनुसार चाडपर्वका कारण र नयाँ प्रविधि भएकाले यसमा ग्राहकमा जानकारी हुन नसकेको बताए। कम्पनीले दिएको जानकारीअनुसार कर्पोरेट ग्राहकका लागि ५० प्रतिशतको प्रवर्द्धनात्मक छुट सुविधासहित पहिलो चरणमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराएको छ। यो सेवा बुटवलमा पनि चाँडै सुरु हुनेछ। रासस

Saturday, November 17, 2012

टेलिकमको वाइम्याक्स सुरु, निजी कम्पनीलाई दिने योजनै अलपत्र

काठमाडौं, कात्तिक २८ (नागरिक) - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले सोमबारदेखि उच्चगतिको बेतारे इन्टरनेट सेवा वाइम्याक्स सुरु गरिसक्दा निजी क्षेत्रका दुई कम्पनीलाई यस्तो सेवा चलाउन दिने योजना अलपत्र परेको छ।  सर्वसाधारणको अपेक्षाविपरीत टेलिकमले वाइम्याक्स इन्टरनेट 'कर्पोरेट हाउस' लाई मात्र दिने भएको छ। निजी क्षेत्रलाई वाइम्याक्स इन्टरनेट सेवा सुरु गर्ने आधार सरकारले डेढ वर्षसम्म नबनाएकाले प्रविधिप्रति चासो राख्ने युवा पुस्ता र इन्टरनेटको विकल्प खोजीमा रहेकाहरुले यसलाई प्रयोग गर्न नपाउने अवस्था आएको छ। राजधानीका व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक तथा वित्तीय संस्था, कूटनीतिक नियोग, सरकारी एवं गैरसरकारी निकायलाई मात्र वाइम्याक्स सोमबारदेखि टेलिकमले वितरण सुरु गरेको छ। २०६८ जेठमा भएको फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले टेलिकमलाई ३० मेगाहर्ज वाइम्याक्स फ्रिक्वेन्सी दिने निर्णय गरेको थियो। त्यतिखेरै प्रतिस्पर्धा गराएर निजी क्षेत्रका टेलिफोन कम्पनीमध्येबाट एउटा र इन्टरनेट सेवा प्रदायकमध्येबाट एउटालाई वाइम्याक्स चलाउन दिने निर्णय भएको थियो। 

Thursday, November 8, 2012

काठमाडौंमा कात्तिक २७ देखि वाइम्याक्स इन्टरनेट (रेटसहित)

काठमाडौं, कात्तिक २३ (नागरिक)- नेपाल टेलिकमले द्रूत गतिको ब्रोडब्यान्ड इन्टरनेट (वाइम्याक्स) सेवा काठमाडौंबाट सुरु गर्ने भएको छ। टेलिकमले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै कात्तिक २७ गतेबाट काठमाडौंमा सेवा सञ्चालन गर्न लागेको जनाएको छ। यो सेवा काठमाडौं उपत्यकाका ब्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्थालगायतलाई वितरण गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा जनाइएको छ।
विज्ञप्तीको पूरा पाठ
नेपाल टेलिकमले दु्रत गतिको व्रोडब्याण्ड इन्टरनेट WiMAX (Worldwide Interoperability for Microwave Access) सेवा २०६९ कात्तिक २७ गते देखि काठमाडौ उपत्यकामा सञ्चालन गर्न लागेको छ। वाइम्यक्स ( WiMAX) सेवा प्रथम चरणमा काठमाडौ उपत्यकाका व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कुटनैतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत संघसंस्थाहरुलाई वितरण गर्ने कार्यक्रम रहेको छ।
वाईम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवा मध्ये सवैभन्दा उच्च गतिको इन्टरनेट सेवा हो। यसबाट कम्तिमा २५६ किलोविट प्रतिसेकेण्ड (256 Kbps) को दरले डाटा ट्रान्सफर गर्न सकिन्छ। त्यसैगरी यू.एस.वि. : Modem मार्फत desktop, laptop मा इन्टरनेट चलाउन सकिन्छ।
यो प्रविधिलाई ग्राहकसमक्ष ल्याउनका लागि कम्पनीले नेपाललाई २ वटा क्षेत्रमा वाँडेर काम गरिरहेको छ। पूर्वी क्षेत्र अन्तर्गत काठमाण्डौ उपत्यकालगायत पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्र समावेस गरिएको छ भने, पश्चिम क्षेत्र अन्तर्गत पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र रहेका छन्।
प्रथम चरणमा पूर्वी क्षेत्र अन्तर्गतको काठमाण्डौ उपत्यका भित्र (पूर्वमा साँगा देखि पश्चिममा वलम्वु सम्म तथा उत्तरमा वुढानिलकण्ठ देखि दक्षिणमा दक्षिणकाली क्षेत्र वरिपरि सम्म) सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी दोस्रो चरणमा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि देशका अन्य क्षेत्रमा सेवा वितरण गरी सेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्‍याउने लक्ष्य रहेको छ। यस कार्यक्रम अनुसार देशभर दुई लाख लाइन वितरण गर्ने कार्यक्रम रहेको छ।
मुलुकभर Broadband Internet सेवा पुर्‍याउने सरकारी नीति तथा सेवा वितरण गर्दा ग्रामीण क्षेत्रलाई समेत महत्व दिने नेपाल टेलिकमको लक्ष्य वमोजिम यो सेवालाई कम्पनीले प्राथमिकता साथ अघि वढाएको हो। Wireless प्रविधिमा आधारित यो प्रविधिलाई इन्टरनेटको चौथो पुस्ताको प्रविधिको रुपमा लिइन्छ। यो सेवाबाट ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्तालगायत पदयात्रामा जाने पर्यटकहरुसमेत लाभान्वित हुनेछन्। यो प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा प्रदान हुने भएकोले वैकिङ्ग तथा वित्तीय क्षेत्र, विश्वविद्यालय, कुटनैतिक नियोग तथा प्राविधिक क्षेत्रमा काम गर्ने संस्थाहरुले बढी फाइदा लिन सक्ने देखिन्छ।
त्यसैगरी नेपाल टेलिकमले उपभोक्ताहरुको बढी भिड हुने क्षेत्रहरु जस्तो : विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा WiFi Hotspot निर्माण गर्ने कार्यक्रम पनि तय गरेको छ। यी स्थानहरुमा सस्तो तथा सरल रुपमा WiFi बाट इन्टरनेट चलाउन सकिन्छ।
नेपाल टेलिकम र अमेरिकन कम्पनी एयरस्पान नेटवर्क वीच गत फागुनमा भएको सम्झौता वमोजिम यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो।
यो प्रविधि मार्फत इन्टरनेट चलाउनको लागि ३ किसिमको क्षमताको आधारमा Volume Based प्याकेजको महसुल दर निर्धारण गरिएको छ भने, हाल केहि महिनाको लागि 1 Mbps क्षमताको 30 MB वा सो भन्दा माथिको प्याकेज ब्यवसायिक संस्थाहरुलाई मात्र उपलब्ध गराइने छ। Volume Based अनुसारको महसुल दर निम्न बमोजिम कायम भएको छ :
1. Volume Based Package को महसुल दर (Monthly)
For data rate of 256 kbps, For data rate of 512 kbps, For data rate of 1Mbps or above
Volume (GB) Tariff (Rs.),   Volume (GB)   Tariff (Rs.),   Volume (GB)   Tariff (Rs.)
5                 650.00             8               8,50.00           12               1,340.00
10                 1,100.00        12              1,250.00         20                2,200.00
15                1,500.00         20              2,000.00         32                2,900.00
20                1,800.00         30              2,700.00         48                4,300.00
30                2,500.00        40               3,400.00         60                5,190.00
2. WiFi Hotspot सेवाको महसुल दर
Voucher (Rs.)     Data Volume (MB)     Validity Period (Days)
5‍0.00                         200                       10
100.00                       500                       30
200.00                      1500                      60

उपभोक्ताले WiMAX बाट इन्टरनेट चलाउनका लागि सर्वप्रथम CPE (Customer Premises Equipment) खरिद गर्नुपर्छ। यो उपकरण Outdoor, Indoor र USB Dongle गरी तीन किसिमको हुन्छ। Outdoor Device ले १५ किलोमिटर दुरीसम्म Signal लिई इन्टरनेट चलाउन मिल्दछ भने, Indoor Device ले ५ किलोमिटर भित्र इन्टरनेट चलाउन सकिन्छ। हाल नेपालको बजारमा WiMAX मार्फत इन्टरनेट चलाउन मिल्ने CPE उपकरणको सहज उपलब्धता नभएकोले कम्पनीलेनै WiMAX सेवाको शुरुवातसँगै उपकरण पनि बिक्री वितरण गर्ने भएको छ। कम्पनीले सुन्धारास्थित नेपाल टेलिकमको नवनिर्मित भवनबाट ग्राहकहरुलाई यो सेवा प्रदान गर्न लागेको छ।
गुणकेशरी प्रधान
मिति : २०६९।०७।२३ प्रवक्ता
नेपाल टेलिकम

Sunday, November 4, 2012

विश्वका ८६ प्रतिशतको हातमा मोबाइल


काठमाडौ, कार्तिक २० - विश्वका ८६ प्रतिशत जनताको हातमा मोबाइल पुगेको छ । केही वर्षदेखि आधारभूत फोन प्रयोगकर्ताको संख्या घटे पनि मोबाइल सेवामा भएको तीव्र विकासले प्रयोगकर्ता बढेको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन -आईटीयू) को २०१२ को प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सन् २०११ मा विश्वका ६ अर्ब मानिसले मोबाइल प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।आईटीयूको प्रतिवेदनअनुसार विकसित मुलुकमा मोबाइल प्रयोगकर्ताको संख्या उच्च रहेको छ । 'विकसित मुलुकमा प्रति एक सय जनतामा १ सय २२ जनाले मोबाइल प्रयोग गरेका छन्,' प्रतिवेदनमा छ । अमेरिका र क्यानडामा मोबाइल प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि भएकाले विकसित देशमा एक जनाले एकभन्दा बढी मोबाइल लिएको पाइएको हो । प्रतिवेदनअनुसार विकासशील मुलुकमा ७८ प्रतिशत जनताले मोबाइल सेवा प्रयोग गरिरहेका छन् । मोबाइल प्रयोगकर्तामा सबैभन्दा बढी संख्या चीनका छन् । चीनमा मात्र १ अर्ब मोबाइल प्रयोगकर्ता छन् । आईटीयूले सन् २०१२ मा भारतमा पनि मोबाइल प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्ने अनुमान गरेको छ । गत वर्षको तुलनामा ११ प्रतिशत मोबाइल ग्राहक बढेका छन् ।विकसित मुलुकमा सन् २०११ मा ११ प्रतिशतले मोबाइल प्रयोगकर्ता बढेका छन् । मोबाइल क्षेत्रमा बढेको प्रतिस्पर्धाका साथै सस्तो सेवा र उपकरणको कारण ग्राहकको संख्यामा उच्च वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।आईटीयूको प्रतिवेदनअनुसार सन् २००५ देखि आधारभूत फोन घनत्व भने घटेको छ । सन् २००५ मा विश्वका झन्डै २० प्रतिशत जनतामा आधारभूत फोन पुगे पनि अहिले घटेर १७ प्रतिशतमा झरेको छ । सन् २००६ देखि सुरु भएको मानिने मोबाइल ब्रोडब्यान्डका ग्राहक बढेर झन्डै १६ प्रतिशतले यो सेवा लिन थालेका छन् ।नेपाल तीन स्थान तल झर्‍यो मोबाइल क्षेत्रमा उल्लेख्य प्रगति गरिएको मानिए पनि नेपाल सूचना सञ्चार तथा प्रविधि विकास परिसूचकमा तल झरेको छ । सन् २०१० भन्दा तीन स्थान तल झरेर १ सय ५५ मुलुकमा नेपालमा १ सय ३७ औं स्थानमा आएको छ । नेपाल दक्षिण एसियाली राष्ट्रमा पनि सबैभन्दा कम सूचना प्रविधिको विकास गर्ने मुलुकमा परेको छ ।दक्षिण एसियाली मुलुकमा सबैभन्दा अगाडि १ सय ५ औं स्थानमा श्रीलंका रहेको छ । भारत १ सय १९ औं स्थानमा छ । भुटान १ सय १८ स्थान, पाकिस्तान १ सय २७ औं स्थानमा रहेको छ । सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता भएको चीन ७८ औं स्थानमा रहेको छ ।सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा बढी विकास गर्ने मुलुकको पहिलो स्थानमा एसियाली मुलुक दक्षिण कोरिया छ । दोस्रो स्थानमा स्विडेन, तेस्रोमा डेनमार्क, चौथोमा आइसल्यान्ड र पाँचौंमा फिनल्यान्ड छन् ।यी मुलुकहरूको स्थानमा अघिल्लो वर्षको जस्तै छ । नेदरल्यान्ड भने एक स्थानमा माथि उक्लिएर छैटौं स्थानमा छ । लक्जेम्बर्ग एक स्थान तल झरेर सातौं स्थानमा पुगेको छ । जापान आठौं स्थानमा रहेको छ । बेलायत एकै वर्ष ५ स्थानमा माथि उक्लिएर नवौं स्थानमा पुगेको छ ।