Sunday, November 4, 2012

विश्वका ८६ प्रतिशतको हातमा मोबाइल


काठमाडौ, कार्तिक २० - विश्वका ८६ प्रतिशत जनताको हातमा मोबाइल पुगेको छ । केही वर्षदेखि आधारभूत फोन प्रयोगकर्ताको संख्या घटे पनि मोबाइल सेवामा भएको तीव्र विकासले प्रयोगकर्ता बढेको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन -आईटीयू) को २०१२ को प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सन् २०११ मा विश्वका ६ अर्ब मानिसले मोबाइल प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।आईटीयूको प्रतिवेदनअनुसार विकसित मुलुकमा मोबाइल प्रयोगकर्ताको संख्या उच्च रहेको छ । 'विकसित मुलुकमा प्रति एक सय जनतामा १ सय २२ जनाले मोबाइल प्रयोग गरेका छन्,' प्रतिवेदनमा छ । अमेरिका र क्यानडामा मोबाइल प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि भएकाले विकसित देशमा एक जनाले एकभन्दा बढी मोबाइल लिएको पाइएको हो । प्रतिवेदनअनुसार विकासशील मुलुकमा ७८ प्रतिशत जनताले मोबाइल सेवा प्रयोग गरिरहेका छन् । मोबाइल प्रयोगकर्तामा सबैभन्दा बढी संख्या चीनका छन् । चीनमा मात्र १ अर्ब मोबाइल प्रयोगकर्ता छन् । आईटीयूले सन् २०१२ मा भारतमा पनि मोबाइल प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्ने अनुमान गरेको छ । गत वर्षको तुलनामा ११ प्रतिशत मोबाइल ग्राहक बढेका छन् ।विकसित मुलुकमा सन् २०११ मा ११ प्रतिशतले मोबाइल प्रयोगकर्ता बढेका छन् । मोबाइल क्षेत्रमा बढेको प्रतिस्पर्धाका साथै सस्तो सेवा र उपकरणको कारण ग्राहकको संख्यामा उच्च वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।आईटीयूको प्रतिवेदनअनुसार सन् २००५ देखि आधारभूत फोन घनत्व भने घटेको छ । सन् २००५ मा विश्वका झन्डै २० प्रतिशत जनतामा आधारभूत फोन पुगे पनि अहिले घटेर १७ प्रतिशतमा झरेको छ । सन् २००६ देखि सुरु भएको मानिने मोबाइल ब्रोडब्यान्डका ग्राहक बढेर झन्डै १६ प्रतिशतले यो सेवा लिन थालेका छन् ।नेपाल तीन स्थान तल झर्‍यो मोबाइल क्षेत्रमा उल्लेख्य प्रगति गरिएको मानिए पनि नेपाल सूचना सञ्चार तथा प्रविधि विकास परिसूचकमा तल झरेको छ । सन् २०१० भन्दा तीन स्थान तल झरेर १ सय ५५ मुलुकमा नेपालमा १ सय ३७ औं स्थानमा आएको छ । नेपाल दक्षिण एसियाली राष्ट्रमा पनि सबैभन्दा कम सूचना प्रविधिको विकास गर्ने मुलुकमा परेको छ ।दक्षिण एसियाली मुलुकमा सबैभन्दा अगाडि १ सय ५ औं स्थानमा श्रीलंका रहेको छ । भारत १ सय १९ औं स्थानमा छ । भुटान १ सय १८ स्थान, पाकिस्तान १ सय २७ औं स्थानमा रहेको छ । सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता भएको चीन ७८ औं स्थानमा रहेको छ ।सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा बढी विकास गर्ने मुलुकको पहिलो स्थानमा एसियाली मुलुक दक्षिण कोरिया छ । दोस्रो स्थानमा स्विडेन, तेस्रोमा डेनमार्क, चौथोमा आइसल्यान्ड र पाँचौंमा फिनल्यान्ड छन् ।यी मुलुकहरूको स्थानमा अघिल्लो वर्षको जस्तै छ । नेदरल्यान्ड भने एक स्थानमा माथि उक्लिएर छैटौं स्थानमा छ । लक्जेम्बर्ग एक स्थान तल झरेर सातौं स्थानमा पुगेको छ । जापान आठौं स्थानमा रहेको छ । बेलायत एकै वर्ष ५ स्थानमा माथि उक्लिएर नवौं स्थानमा पुगेको छ ।

No comments:

Post a Comment