Monday, February 24, 2014

दूरसञ्चार र प्रविधिमा ‘कन्भर्जेन्स’ कानुन,


कारोबार संवाददाता, Tuesday,25th February 2014
काठमाडौं, १२ फागुन - सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा सूचना–प्रविधि, प्रसारण तथा दूरसञ्चार क्षेत्रलाई समेटेर ‘कन्भर्जेन्स’को कानुनी व्यवस्था गरिने भएको छ । अहिले दूरसञ्चार क्षेत्रका लागि नेपाल दूरसञ्चार प्राधिरकण र प्रविधिका लागि वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कानुनी काम भइरहेको छ । एउटै सेवाप्रदायकले विभिन्न निकायबाट स्वीकृति लिनुपर्ने र नियमन गर्नुपर्ने हालको व्यवस्थालाई सहज गर्न एउटै निकायमार्फत नियमन गर्ने अवधारणाअनुसार कन्भर्जेन्स कानुनको व्यवस्था गर्न लागिएको हो । प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपानेले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्र्तगत कन्भर्जेन्स प्रणालीलाई कार्यान्वयनमा ल्याउन नीतिगत व्यवस्थाका लागि संस्थागत फ्रेमवर्क तयार गरिने बताए । दोस्रो त्रैमासिकदेखि विज्ञ छनोट गरी अध्ययन प्रतिवेदन प्राप्त गर्ने र चौथो त्रैमाससम्ममा प्रतिवेदन प्राप्त गरी नीतिगत व्यवस्थामा जाने उनले जानकारी दिए । सूचना–प्रविधिका क्षेत्रमा विविध खालका ऐननियमलाई एकीकृत गरी एउटै निकायले नियमन गर्दा हालको भन्दा प्रभावकारी सेवा दिन सकिने प्राधिकरणको दाबी छ । अहिले प्रसारणसम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालय, दूरसञ्चार सेवा, र फ्रिक्वेन्सीसम्बन्धमा दूरसञ्चार प्राधिरकरण र सूचना–प्रविधिसँग सम्बन्तिध ऐननियम विज्ञान प्रविधि मन्त्रालयअन्तर्गत रहेको प्रवक्ता न्यौपानेले बताए । भिन्न सेवा सञ्चालन गर्ने संस्था पनि एकै प्रकृतिका ऐनअनुरुप चल्ने भएकाले रोयल्टी, ग्रामीण दूरसञ्चार कोषलगायत अन्य शुल्क संकलन तथा नियमन गर्न कठिन भएको प्राधिकरणको भनाइ छ ।
प्रविधि कन्भर्जेन्स भइसकेको अवस्थामा ऐनकानुन भिन्न–भिन्न भएकाले समयानुकुल परिमार्जन गर्न आवश्यक भएको प्राधिकरण प्रवक्ता न्यौपानेले बताए । “एउटै कामका लागि पनि २÷३ वटा निकायबाट अनुमती लिनुपर्ने अहिलेको व्यवस्था कन्भर्जेन्स व्यवस्थामा गएपछि सजिलो हुन्छ । एउटै निकायबाट सञ्चालन अनुमति र नियमन गर्न सकिन्छ,” उनले भने । दूरसञ्चार क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पु¥याएको योगदानबारे पनि अध्ययन गर्ने प्राधिकरणले जनाएको छ । बर्सेनि दूरसञ्चार क्षेत्रको दायरा फराकिलो बन्दै गए पनि यो क्षेत्रको योगदान जीडीपीमा कति छ भनेर हालसम्म अध्ययन हुन सकेको छैन । २ ठूला कम्पनी नेपाल टेलिकम र एनसेल ठूला करदाताको सूचीमा छन् । सरकारले ठूलो रकम दूरसञ्चार क्षेत्रबाट राजस्वका रूपमा प्राप्त गर्दै आएको छ । अन्य क्षेत्रको तुलनामा पछिल्लो १ दशकयता दूरसञ्चार क्षेत्रको विकास र विस्तार बढेको छ ।
अन्तर्राष्ट्रिय ह्यान्डबल टिमलाई टेलिकमको सहयोग
 नेपाल टेलिकमले कतारको दोहामा मंगलबारदेखि हुने अन्तर्राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगिताका सहभागीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कम्पनीले प्रतियोगितामा सहभागी हुने १६ खेलाडी र ४ जना अफिसियल गरी २० जनाका लागि खेल पोसाक, जर्सी, स्पोर्टस सुज, झोला, पञ्जा, मोजा, रुमाललगायत सामग्री उपलब्ध गराएको हो । सोमबार टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङलाई ती सामग्री हस्तान्तरण गरे । कम्पनीले खेलकुदको माध्यमबाट मुलुकका युवाको क्षमता र सीप विकास गराउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल संघको अनुरोधमा यो सहयोग उपलब्ध गराएको जनाएको छ । प्रबन्ध निर्देशक भट्टराईले खेलाडीलाई सफलताको शुभकामना दिएका छन् । नेपाल ह्यान्डबल संघका अध्यक्ष गुरुङले टेलिकमजस्तो राष्ट्रिय कम्पनीको सहयोगले नेपालमा ह्यान्डबलको विकासमा सहयोग पुग्ने बताए । गत फागुन १ देखि ५ गतेसम्म कम्पनीको प्रायोजनमा राजधानीको लगनखेलमा नेपाल टेलिकम कप ह्यान्डबल प्रतियोगिता आयोजना भएको थियो ।
 

Saturday, February 22, 2014

पाँच वर्षमा टेलिफोन १ सय ७३ रुपैयाँ सस्तियो

Telephoneकाठमाडौ, फाल्गुन ११ -ekantipur.com नेपाल टेलिकमका ग्राहकले औसत मासिक २२८ रुपैयाँ खर्च गर्ने गरेका छन् । कम्पनीले दिने जीएसएम मोबाइल, सीडीएमए, ल्यान्डलाइन र इन्टरनेटका उपभोक्ताबाट टेलिकमले गर्ने आम्दानी र ग्राहक संख्याको आधारमा उक्त तथ्यांक निस्किएको हो । मासिक रूपमा हेर्दा टेलिकमको सेवा गएको ५ वर्षभित्र १ सय ७३ रुपैयाँले सस्तिएको छ । आर्थिक वर्ष ०६५/६६ मा टेलिकमका विभिन्न सेवा उपभोग गर्दा मासिक औसत ४ सय १ रुपैयाँ खर्च हुन्थ्यो । गत वर्ष उक्त शुल्क २ सय २८ रुपैयाँ छ ।   विश्वव्यापी रूपमा दूरसञ्चार कम्पनीको बजार, नाफा लिन सक्ने क्षमता र विस्तार हेर्नका लागि यस्तो सूचक निकाल्ने गरिन्छ । जसलाई 'एभरेज रेभिन्यु पर युजर' भनेर बुझिन्छ । दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम मुलुकको एक मात्र पब्लिक लिमिटेड कम्पनी हो । जसले आफ्नो आय/व्ययको हिसाब किताब सार्वजनिक गर्छ । अन्य कम्पनीले भने आफ्नो विवरण दूरसञ्चार प्राधिकरण र कर कार्यालयमा मात्रै बुझाउँछन् । 'दूरसञ्चार सेवामा पहुँच बढ्दै गएपछि ग्राहकबाट हुने आम्दानी कम हुँदै जाने विश्वव्यापी प्रवृत्ति हो,' नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्, 'प्रतिस्पर्धा र अन्य कारणले गर्दा भ्वाइस सेवाबाट हुने प्रतिव्यक्ति आय घट्दै गए पनि डाटा सेवामा भने बढेको छ ।' गत आर्थिक वर्षको अन्त्यसम्म नेपाल टेलिकमको कुल ग्राहक संख्या १ करोड २४ लाख छ । जसमध्ये ३२ लाख ७७ हजार इन्टरनेटका ग्राहक छन् । नेपाल टेलिकमले आर्थिक वर्ष ०६९/७० मा ३४ अर्ब १० करोड ८४ लाख रुपैयाँ आय गरेको थियो ।

Wednesday, February 12, 2014

टेलिकमको निःशुल्क वाईफाई इन्टरनेट सुविधा

१ फागुन, काठमाडौं । Onlinekhabar.com राजधानीबासीलाई खुशीको खबर छ । नेपाल टेलिकमले राजधानीका सार्वजनिक स्थानलाई वाईफाई हटस्पट जोन बनाएको छ । जुन स्थानमा २२ दिनसम्म निःशुल्क वाईफाई इन्टरनेट चलाउन सकिनेछ । टेलिकमले आफ्नो १०औं वाषिर्कोत्सवको अवसर पारी २२ दिनसम्म निःशुल्क वाईफाई सेवा उपलब्ध गराएको हो । पछिल्लो समय टेलिकमले ५ सय भन्दा बढी सार्वजनिक स्थानहरुमा वाईफाई हटस्पट जोन बनाउन लागिरहेको छ । टेलिकमले राजधानीका धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक -उत्तरढोका), नयाँ बानेश्वर चोक, कोपुण्डोल गुसिंगाल एडभान्स ईन्जिनियरिङ कलेज वरपर, सितापाइला चोक, एक्मी इन्जिनियरिङ कलेज वरपरको स्थानलाई वाईफाई हटस्पट जोन बनाएको हो । त्यसैगरि, हेल्पिङ हृयाण्ड कम्युनिटी हस्पिटल चाबहिल, बयोधा हस्पिटल बल्खु, स्टार हस्पिटल सानेपा, नेको नेपाल मनमोहन स्मृति हस्पिटल, भृकुटीमण्डप, नरसिङ चोक ठमेल, वीर हस्पिटल, गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं इन्जिनियरिङ कलेज वरपर, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल, केशर महल चोक, पाटन हस्पिटल, मंगल बजार ललितपुर चेम्बर अफ कमर्शको सचिवालय वरपर निःशुल्क वाईफाई इन्टरनेट चलाउन पाइने बताईएको छ । वाईफाई हटस्पट चलाउनका लागि टेलिकमको पोष्टपेड तथा पि्रपेड मोबाइलका ग्राहकहरुले वाईफाई टाईप गरी १४१४ मा म्यासेज पठाउनुपर्ने छ । म्यासेज पठाएपछि टेलिकमले पासवर्ड उपलब्ध गराउने छ । टेलिकमका अनुसार मोबाइल वा ल्यापटपको वाईफाई मेनुमा गएर एनटी वाईफाई लाई कनेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि आउने वेब पेजमा युजर नेम बक्समा आफ्नो मोबाइल नम्बर टाइप गर्ने र पासवर्ड बक्समा म्यासेजबाट प्राप्त पासवर्ड टाइप गरी इन्टरनेट चलाउन सकिने छ ।

नेपाल टेलिकमले कमायो साढे पाँच अर्ब

nepal-telecom
२९ माघ काठमाडौं ।Onlinekhabar.com नेपाल टेलिकमले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा पाँच अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको भन्दा चार करोड रुपैयाँले मात्रै बढी हो । टेलिकमको नाफा बढे पनि गत वर्षकोभन्दा आम्दानी खर्च बढेपछि खुद नाफा बढ्न नसकेको हो । गत वर्ष १८ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, गत वर्ष १० अर्ब ८१ करोड ककुल खर्च भएकोमा यस वर्ष १२ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ ।
आम्दनीभन्दा खर्च धेरै भएपछि कम्पनीको नाफ नबढेको हो । यसअवधिमा कम्पनीको आम्दानी एक अर्ब २६ करोड ५१ रुपैयाँले आम्दानी बढेको छ भने खर्च एक अर्ब ३९ करोड पाँच लाख रुपैयाँले बढेको छ । त्यसैगरी कम्पनीको व्यक्तिगत खर्च तथा पुनःनिर्माण खर्च धेरै बढेको छ । गत वर्ष दुई अर्ब २१ करोड रुपैयाँ रहेको व्यक्तिगत खर्च बढेर यस पुस मसान्तमा दुई अर्ब ५० करोड रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन खर्च पनि तीन अर्ब १० करोडबाट बढेर तीन अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । कम्पनीकको प्रति सेयर आम्दानीमा खासै सुधार भएको छैन । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ७४.८ रुपैयाँ रहेकोमा यो वर्ष ७४.५७ रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्ति १२ अर्ब रुपैयँले बढेको छ । गत पुस मसान्तमा एक खर्ब १० अर्ब रुपैयाँ कुल सम्पत्ति रहेकोमा यस पुसमा एक खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । गुणस्तरमा पर्याप्त गुनासो रहे पनि नेपाल टेलिकमको सेवाप्रति सर्वसाधारणको रुची भने बदिरहेको छ । गत आवको पुसमा सेवा वापतको आय १६ अर्ब ८१ करोड रहेकोमा यस वर्ष १७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

Tuesday, February 11, 2014

२० अर्ब बुझाउन टेलिकमलाई ताकेता

कारोबर सम्बाददाता, सरस्वती ढकाल, काठमाडौं, २६ माघ- दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको लाइसेन्स नवीकरण शुल्कबापत २० अर्ब रुपैयाँ मंगलबारभित्र बुझाउन नेपाल टेलिकमलाई पत्राचार गरेको छ । ०७१ वैशाख २८ सम्म बहाल रहने लाइसेन्स नवीकरणका लागि मंगलबार अन्तिम दिन हो । समयभित्र शुल्क र आवेदन नबुझाए १५ प्रतिशत जरिवाना लाग्ने प्राधिकरणले जनाएको छ ।  सोमबार बसेको प्राधिकरण बोर्ड बैठकले टेलिकमलाई पत्र लेखेको हो । नवीकरणको समयावधि सकिन ३ महिनाअघि नवीकरणका लागि आवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । टेलिकमले ०५६ वैशाखमा मोबाइल सेवाको लाइसेन्स लिँदा पछि आउने कम्पनीले कबुल गरेबमोजिम नवीकरण शुल्क बुझाउने सर्त मानेको थियो । ०६१ भदौमा निजी क्षेत्रबाट एनसेल (तत्कालीन मेरो मोबाइल)ले २० अर्ब रुपैयाँ तिर्ने सर्तमा लाइसेन्स लिएपछि टेलिकमले पनि त्यहीबराबर तिर्नुपर्ने भएको हो । प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपानेले टेलिकमलाई २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्न पत्राचार गरिएको बताए । पहिलोपटकको लाइसेन्स नवीकरण सम्बन्धमा मन्त्रिपरिषद्ले ८ किस्तामा २० अर्ब बुझाउन सक्ने निर्णय गरे पनि दोस्रो पटकको हकमा थप व्यवस्था छैन । शुल्कमा विवाद भएपछि ०६८ असोजमा मन्त्रिपरिषद्ले ८ किस्ताको व्यवस्था गरिदिएको थियो । त्यसअनुसार टेलिकमले पहिलो किस्ताबापत साढे २ अर्ब बुझाएको छ भने अझै ७ किस्ता बाँकी छ । ०५६ वैशाख २८ मा टेलिकमले पहिलोपटक जीएसएम मोबाइलको लाइसेन्स लिएको थियो । ०६६ वैशाखमा १८ करोड ९० लाख रुपैयाँ राजस्व तिरेर नवीकरण गरेको थियो । दोस्रो कम्पनीले बुझाएको ३ महिनाभित्र बुझाउने सर्तमा टेलिकमले पहिलोपटक नवीकरण शुल्क बुझाएको थियो । मोबाइल लाइसेन्स लिएको समयदेखि पहिलो पटक १० वर्षमा र त्यसपछि हरेक ५–५ वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Monday, February 10, 2014

नेपाल टेलिकमले ल्यायो एन्ड्रोइड एप, के–के छन सुबिधा ?

ntc-android-app1Onlinekhabar.com मुलुककै पुरानो टेलिफोन सेवा प्रदायक नेपाल टेलिकमले एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि एप सार्वजनिक गरेको छ । नेपाल टेलिकमको १० औं बार्षिक उत्सवको अबसर पारेर ल्याइएको यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । टेलिकमको मोबाइलमा एपमा तपाईका लागि आबश्यक सूचनाहरु राखिएका छन् । जीएसएम मोबाइल फोनका प्रयोगकर्ताका लागि लक्षित गरि ल्याइएको यो एपमा तत्कालै धेरै सुबिधाहरु नभए पनि आगामी दिनमा सुबिधाहरु थप्दै जाने टेलिकमले जनाएको छ । यदि तपाई जीएसएम मोबाइल फोन प्रयोगकर्ता हुनुहुन्छ भने यसमा तपाईलाई काम लाग्ने नयाँ सेवा भनेको ‘ब्यालेन्स ट्रान्सफर’ हो । एपमा रहेको ब्यालेन्स ट्रान्सफर बटन क्लिक गरी तपाई सजिलैसित आफुले चाहेको ब्यक्तिलाई पैसा पठाइदिन सक्नुहुन्छ ।
ntc-android-app2यसको सवैभन्दा राम्रो पक्ष भनेको तपाईले कुनै पनि सर्ट कोडहरु सम्झिराख्नु पर्दैन् । यसले प्रयोगकर्ताका लागि सजिलो बनाइदिएको छ । यदि तपाई दुईवटा सिम लाग्ने जीएसएम मोबाइल चलाइराख्नु भएको छ भने तपाईले टेलिकमको जीएसएम सीमलाई प्राथमिक सिमका रुपमा सेट गर्नुपर्ने हुन्छ । तर, एपको प्रयोगबाट तपाईले रिचार्ज कार्ड किन्ने र ल्याण्डलाइन फोनको बिल तिर्ने लगायतका सुबिधा पाउन सक्नुहुन्न । प्रारम्भिक प्रयोगकर्ताहरुले टेलिकमको एपमा फिचरहरु कम भएको गुनासो गर्दै धेरै सुबिधाहरु राख्न आग्रह गरेका छन् । आशा गरौं, टेलिकमले आगामी दिनमा उपभोक्तालाई सहज हुने यस्ता फिचरहरु थप्दै जाने छ ।

Saturday, February 8, 2014

टेलिकमद्वारा छुटैछुटको घोषणा

टेलिकमद्वारा छुटैछुटको घोषणाकाठमाडौं - नागरिक न्युज नेपाल टेलिकमले आफ्नो दसौं वार्षिकोत्सवका अवसरमा कम्पनीले प्रदान गर्दै आइरहेको सेवाहरुको महसुल दरमा छुटलगायत विभिन्न 'अफर' ल्याएको छ। कम्पनीले जिएसएम तथा सिडिएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा माघ २१, २२ र २३ गतेका लागि महशुल दरमा ५० प्रतिशत छुट दिएको छ। साथै कम्पनीले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त संघ संस्थाबाट जारी बहिरा र अपांगताको प्रमाणपत्रको आधारमा रु. १००  मा रु. १०० बराबरकै टक टाइम रहने गरी सीम तथा रीम कार्ड बिक्री गर्ने  गर्ने तथा सो सीम तथा रीम कम्पनीकै नेटवर्कमा कल गर्दा बुधवार देखि ३ महिनाको लागि प्रति कल २० पैसा कायम गर्ने जनाएको छ। त्यस्तै राती १० बजे देखि विहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड नेसनल भ्वाइस कल गर्न सक्ने गरी सिडिएमए प्रिपेड सेवामा  प्रति महिना रु २० मा नाइट कल प्याकेज बुधबारदेखि तीन महिनासम्मका लागि वितरण गर्ने घोषणा गरेको छ। त्यस्तै साथी र परिवार सेवा सिडिएमए पोष्टपेडको लागि ५५ पैसा प्रति मिनेट तथा सिडिएमए प्रिपेडको लागि ७५ पैसा प्रति मिनेट कायम गरी मिति बुधबार देखि तीन महिना सम्म सेवा दिने जनाएको छ।

Monday, February 3, 2014

नेपाल टेलिकमका प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराई: बिशेष सम्बाद

खरिदको झन्झटिलो प्रक्रियाले हामीलाई बाँधेको छ
कारोबार दैनिक: कम्पनीको सेवा गुणस्तर, भावी योजना, वर्तमान अवस्था, प्रतिस्पर्धी दूरसञ्चार बजारलगायत विषयमा कारोबारका सम्पादक सञ्जय न्यौपाने र संवाददाता सरस्वती ढकालले गरेको कुराकानी...

आफूले सेवा सुरु गरेको संस्थाको सबैभन्दा उच्च पदमा पुग्न सफल हुनुभएको छ । के गर्दै हुनुहुन्छ ?
प्रबन्ध निर्देशकको पदग्रहणसँगै मेरो कार्यभार पनि थपिएको छ अनुभव मैले गरेको छु । कार्यभार सम्हालेपछि नेटवर्क सुधारलाई एउटा प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको छु । यसैको नतिजा भन्नुपर्छ, अहिले कल सक्सेस रेटमा राम्रो सुधार भएको छ । ग्राहकको कल पहिलेको जस्तो काटिने समस्या छैन । केही पूर्वाधार बिग्रिएकाले यस्तो समस्या आएको थियो । नयाँ पूर्वाधार जडान भएका छन् । अब कल नलाग्ने समस्या छैन । मेरो बुझाइमा प्रतिसय कलमा २ वटाभन्दा धेरै कलमा समस्या छैन । ग्राहकले अनुभव गर्न सक्ने गरी सेवाको गुणस्तरमा सुधार गर्नु मेरो मुख्य दायित्व रहनेछ । राजधानीमा २ सय स्थानमा वाईफाई हटस्पट जडान कार्य हुँदैछ । काठमाडौंको मुख्य–मुख्य स्थान अस्पताल, अन्तर्राष्ट्रिय विमानस्थल, सभागृहलगायत ३० स्थानमा वाईफाई हटस्पट छिट्टै सञ्चालनमा ल्याइनेछ । राजधानीका कतिपय क्षेत्र जहाँ नेटवर्क कमजोर छ, सिग्नल राम्रो देखाउँदैन त्यस्ता ठाउँमा नयाँ बीटीएस राख्ने प्रक्रियासमेत सुरु गरिएको छ । यसले त्यहाँको सेवामा प्रभावकारिता वृद्धि भएको छ । यस्ता ६० वटा स्थान पहिचान गरेर दु्रतगतिमा काम गरिरहेका छौं । आगामी २ महिनाभित्र राजधानीका ग्राहकले भ्वाइस तथा डेटा सेवामा नयाँ अनुभव गर्न सक्नेछन् ।
तुलनात्मक रूपमा टेलिकमको सेवा सस्तो भए पनि गुणस्तरका विषयमा गुनासा धेरै छन्, ग्राहकले कहिले गुणस्तरीय सेवा पाउलान् ?
छनोट भएका नयाँ ठाउँमा बीटीएस राखेपछि काठमाडौंको भ्वाइस र डेटा दुवैमा सुधार हुनेछ । त्यसपछि चक्रपथ बाहिर नेटवर्क स्वाप गर्ने काम हुन्छ । अहिलेसम्म थ्रीजीको नेटवर्क चक्रपथभित्र मात्रै छ । नेटवर्क स्वाप गर्दै गएपछि थ्रीजी चक्रपथ बाहिर पनि चल्छ । काठमाडौं उपत्यकामा ३० लाख मोबाइल चल्ने क्षमता विस्तार हुनेछ । यो भनेको झन्डै उपत्यकाको जनसंख्याबराबर नै हो । यसपछि फोन काटिने, नलाग्ने, न्वाइज हुनेजस्ता समस्या विल्कुल हुनेछैन । उपत्यकापछि नेपालभर पुरानो पूर्वाधार परिवर्तन गर्न करिब १ वर्ष लाग्नेछ । बीटीएस थप्ने, पुराना पूर्वाधार परिवर्तन गर्नेजस्ता काम भएकाले नेटवर्कमा छिट्टै सकारात्मक परिवर्तन देख्न सकिनेछ ।

Saturday, February 1, 2014

दुर्गम पुग्दै टेलिकमको थ्रीजी, मुस्ताङमा पनि थ्रीजी सेवा सुरु

सरस्वती ढकाल, कारोबार काठमाडौं, १६ माघ - नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले उपत्यका बाहिरका जिल्लाका साथै दुर्गम क्षेत्रमा थ्रीजी सेवा विस्तारलाई प्राथमिकता दिएको छ । कम्पनीले हालैमात्र हिमाल पारीको जिल्ला मुस्ताङमा थ्रीजी सेवा सुरु गरेको छ । कम्पनीले गोर्खाको विकट सामागाउँ, लाङटाङको लामाबगर तथा उपल्लो तामाकोसीमा पनि थ्रीजी सेवा सञ्चालन गरिसकेको छ । त्यस्तै संखुवासभाको किमाथांकामा थ्रीजी जडानको क्रममा छ । १ करोड लाइन जीएसएमको परियोजनाअन्तर्गत कम्पनीले मुस्ताङ सदरमुकाम जोमसोममा थ्रीजी मोबाइल सेवा सञ्चालन गरेको छ । २ साताभित्र मुस्ताङको कागबेनी, मुक्तिनाथ, मार्फा, घाँसा, लेतेलगायत उपल्लो मुस्ताङमा समेत थ्रीजी सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । धार्मिक स्थल मुक्तिनाथमा अहिलेसम्म थ्रीजी सञ्चालन गरिसक्ने लक्ष्य भए पनि बाक्लो हिउँ परेकाले यातायत नचल्दा काम प्रभावित भएको कम्पनीका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए । “२ सातापछि मुक्तिनाथ मन्दिर जाने यात्रुले थ्रीजीमा कुराकानी तथा डेटा प्रयोग गर्न सक्नेछन्,” उनले भने । मुस्ताङमा ग्राहकले थ्रीजीमार्फत ३८४ किलोविट्स प्रतिसेकेन्डको स्पिडमा डेटा सेवा लिन सक्नेछन् ।

टेलिकमले एमएसए गेटवे विस्तार गर्ने

नागरिक, काठमाडौं- नेपाल टेलिकमले एउटै उपकरणबाट भ्वाइस र डाटा सेवा दिने मल्टी सर्भिस एक्सिस गेटवेलाई विस्तार गर्ने भएको छ। यसअघि १ सय ८८ स्थानबाट सेवा दिएको कम्पनीले २ महिनाभित्र ५० स्थानमा सेवा विस्तार गर्ने लागेको हो। आधारभुत टेलिफोन सेवा नपुगेको क्षेत्रमा ल्यान्डलाइनमार्फत भ्वाइस र एडिएसएल इन्टरनेट डाटा सेवा दिने उद्देश्यले आइपी एनजिएन प्रविधिमा आधारित उपकरणहरु जडान गरी सेवा विस्तार गर्ने लागेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिइन्। ५० स्थानमा नयाँ प्रविधीको उपकरण जडान गरी साना क्षमताका मल्टी सर्भिस एक्सिस गेटवे एक्सचेन्जहरुमार्फत सेवा सञ्चालनमा ल्याउने काम तीव्र रुपमा अघि बढेको उनले बताईन्। काठमाडौं, भैरहवा, बुटवल, पोखरा, दाङलगायत देशका प्रमुख सहरका साथै दुर्गम क्षेत्रमा पनि सेवा विस्तार भएको र अहिले आधारभूत टेलिफोन सेवा नपुगेको क्षेत्रमा गेटवे सेवालाई सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। नयाँ सेवाको एक्सचेन्जहरु मध्ये ५ सय लाइन क्षमताका ३३ वटा तथा एक हजार लाइन क्षमताका १७ वटा उपकरणहरु विभिन्न स्थानमा जडानको क्रममा रहेको कम्पनीले जनाएको छ। ग्राहकले कार्ड प्रयोग गरेर सेवा सञ्चालन गर्ने सकिने गेटवे सेवामा एउटै उपकरण (बक्समा) डाटा, भ्वाइससहित विटिएस नेटवर्क पनि रहन्छ।