Monday, February 3, 2014

नेपाल टेलिकमका प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराई: बिशेष सम्बाद

खरिदको झन्झटिलो प्रक्रियाले हामीलाई बाँधेको छ
कारोबार दैनिक: कम्पनीको सेवा गुणस्तर, भावी योजना, वर्तमान अवस्था, प्रतिस्पर्धी दूरसञ्चार बजारलगायत विषयमा कारोबारका सम्पादक सञ्जय न्यौपाने र संवाददाता सरस्वती ढकालले गरेको कुराकानी...

आफूले सेवा सुरु गरेको संस्थाको सबैभन्दा उच्च पदमा पुग्न सफल हुनुभएको छ । के गर्दै हुनुहुन्छ ?
प्रबन्ध निर्देशकको पदग्रहणसँगै मेरो कार्यभार पनि थपिएको छ अनुभव मैले गरेको छु । कार्यभार सम्हालेपछि नेटवर्क सुधारलाई एउटा प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको छु । यसैको नतिजा भन्नुपर्छ, अहिले कल सक्सेस रेटमा राम्रो सुधार भएको छ । ग्राहकको कल पहिलेको जस्तो काटिने समस्या छैन । केही पूर्वाधार बिग्रिएकाले यस्तो समस्या आएको थियो । नयाँ पूर्वाधार जडान भएका छन् । अब कल नलाग्ने समस्या छैन । मेरो बुझाइमा प्रतिसय कलमा २ वटाभन्दा धेरै कलमा समस्या छैन । ग्राहकले अनुभव गर्न सक्ने गरी सेवाको गुणस्तरमा सुधार गर्नु मेरो मुख्य दायित्व रहनेछ । राजधानीमा २ सय स्थानमा वाईफाई हटस्पट जडान कार्य हुँदैछ । काठमाडौंको मुख्य–मुख्य स्थान अस्पताल, अन्तर्राष्ट्रिय विमानस्थल, सभागृहलगायत ३० स्थानमा वाईफाई हटस्पट छिट्टै सञ्चालनमा ल्याइनेछ । राजधानीका कतिपय क्षेत्र जहाँ नेटवर्क कमजोर छ, सिग्नल राम्रो देखाउँदैन त्यस्ता ठाउँमा नयाँ बीटीएस राख्ने प्रक्रियासमेत सुरु गरिएको छ । यसले त्यहाँको सेवामा प्रभावकारिता वृद्धि भएको छ । यस्ता ६० वटा स्थान पहिचान गरेर दु्रतगतिमा काम गरिरहेका छौं । आगामी २ महिनाभित्र राजधानीका ग्राहकले भ्वाइस तथा डेटा सेवामा नयाँ अनुभव गर्न सक्नेछन् ।
तुलनात्मक रूपमा टेलिकमको सेवा सस्तो भए पनि गुणस्तरका विषयमा गुनासा धेरै छन्, ग्राहकले कहिले गुणस्तरीय सेवा पाउलान् ?
छनोट भएका नयाँ ठाउँमा बीटीएस राखेपछि काठमाडौंको भ्वाइस र डेटा दुवैमा सुधार हुनेछ । त्यसपछि चक्रपथ बाहिर नेटवर्क स्वाप गर्ने काम हुन्छ । अहिलेसम्म थ्रीजीको नेटवर्क चक्रपथभित्र मात्रै छ । नेटवर्क स्वाप गर्दै गएपछि थ्रीजी चक्रपथ बाहिर पनि चल्छ । काठमाडौं उपत्यकामा ३० लाख मोबाइल चल्ने क्षमता विस्तार हुनेछ । यो भनेको झन्डै उपत्यकाको जनसंख्याबराबर नै हो । यसपछि फोन काटिने, नलाग्ने, न्वाइज हुनेजस्ता समस्या विल्कुल हुनेछैन । उपत्यकापछि नेपालभर पुरानो पूर्वाधार परिवर्तन गर्न करिब १ वर्ष लाग्नेछ । बीटीएस थप्ने, पुराना पूर्वाधार परिवर्तन गर्नेजस्ता काम भएकाले नेटवर्कमा छिट्टै सकारात्मक परिवर्तन देख्न सकिनेछ ।
काठमाडौंमा भ्वाइस सेवा लिने ग्राहक सकिएका हुन् ?
सेवा लिने ग्राहक सकिएका छैनन्, भर्खरै सम्पन्न ‘सुविसु क्यान इन्फोटेक–२०१४’ मेलामा राखिएको कम्पनीको स्टलमा सिमकार्ड लिनेको भीडभाड हेर्दा नै त्यो थाहा हुन्छ । मलाई लाग्छ सेवा लिने टे«न्डमा परिवर्तन भएको छ, पहिले भ्वाइसमा धेरै ग्राहक थपिन्थे तर अहिले डेटामा ठूलो जमात आइरहेको छ । पछिल्लो तथ्यांक हेर्दा ४० प्रतिशत भ्वाइस र ६० प्रतिशतले डेटाका ग्राहक थपिएका छन् । केही समययता थ्रीजी डेटाको गुणस्तर राम्रो भएको र प्रतिस्पर्धीको तुलनामा सस्तो भएकाले बढी लोकप्रिय भएको छ । वास्तवमा भन्नुपर्दा ‘प्रपर थ्रीजी’ अहिले मात्र आयो । पहिला सबै ठाउँमा कभर हुन सकेको थिएन । त्यस्तो बेला गुणस्तर हुने कुरा पनि भएन । अवको भविष्य डेटाको नै भएकाले यसको सेवामा सुधार हुनेमा कुनै शंका छैन ।
डेटामै भविष्य देख्नुभएको हो भने फोरजीमा जाने के तयारी कहाँ पुग्यो ?  
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराए केही महिनाभित्र हामी फोरजी सेवा सुरु गर्न सक्ने अवस्थामा छांै । फोरजीका लागि सम्झौता पनि गरिसकेका छौं । अहिले फ्रिक्वेन्सी मात्र पर्खिरहेको अवस्था हो । फ्रिक्वेन्सी निश्चित भएपछि मात्रै उपकरण ल्याउनुपर्छ । प्राधिकरणले अहिलेसम्म फोरजीको फ्रिक्वेन्सी वितरण गरेको छैन । बाइम्याक्स पनि फोरजी प्रविधि हो । कुनै ग्राहकले थ्रीजीभन्दा उच्च गतिको इन्टरनेट चाहेमा वाइम्याक्सबाट सम्भव छ । प्राधिकरण लामो समयदेखि अध्यक्षविहीन छ । यसले गर्दा समग्र दूरसञ्चार क्षेत्र प्रभावित भएको छ । त्यो समस्या छिट्टै समाधान हुने आशा मैले गरेको छु ।
यस वर्षका लागि नेपाल टेलिकमका मुख्य योजनाहरू के हुन सक्छन् ?    
हाम्रो मुख्य प्राथमिकता भनेको डेटा सेवा नै हो । भारतमा एयरटेल कम्पनीले पनि डेटा सेवा बढाएपछि उसको नाफा बढेको थियो । हाम्रो पनि सहरी क्षेत्रमा उच्च गतिको र गाउँमा भिडियो च्याटसम्म चल्ने इन्टरनेट पु¥याउने लक्ष्य छ । इभीडीओमार्फत ६२ जिल्लामा इन्टरनेट सेवा दिइसकेका छौं । चालू आर्थिक वर्षभित्र सबै जिल्लामा इभीडीओ सेवा पुग्छ । जीएसएम प्रविधिमा धेरै ग्राहक भएकाले केही समस्या भए पनि सीडीएमएको गुणस्तर एकदमै राम्रो छ । त्यस्तै वाइम्याक्स पनि देशभर विस्तारको क्रममा छ भने गाउँ लक्षित गरी वाईफाई सेवा दिने तयारी पनि छ । ग्राहकले एसएमएसबाट आवश्यक समयका लागि वाईफाई सेवा लिन सक्नेछन् । सामाजिक सञ्जाल, क्यालाउट कम्प्युटिङ पनि छिट्टै ल्याउँदैछौं । सारमा भन्नुपर्दा भएका सेवाको गुणस्तर सुधार गर्ने र प्रविधिमा आधुनिकता ल्याउँदै सेवालाई देशभर विस्तार गर्ने लक्ष्यअनुसार काम गरिरहेका छांै ।
टेलिकमका अधिकांश परियोजना घोषणा हुन्छन्, तर कार्यान्वयन किन ढिलाइ हुने गरेको हो ?
यसको मुख्य कारण हामीले सरकारको खरिद प्रक्रिया पालना गरेर त्यसैमार्फत अगाडि बढ्नुपर्छ । एक त यो प्रक्रिया लामो छ । प्रतिस्पर्धी कम्पनीले एक सातामै निर्णय गर्न सक्छन् भने हामीलाई निर्णय गर्न ३ देखि ६ महिना लाग्छ । अर्काेतर्फ निर्णय भइसकेपछि सामान अडर गर्ने बेलामा टेन्डर नपाउनेले उजुरी गरेर अर्काे ६ महिना लम्बिन पनि सक्छ । कहिलेकाहीँ टेन्डर नै रद्दसमेत हुन्छ । तर प्रतिस्पर्धी कम्पनीलाई यस्तो कुनै बाध्यता छैन, सिधै जान सक्छन् ।
‘फास्ट ट्रयाक’बाट पनि त जान सकिन्छ नि !
‘फास्ट ट्रयाक’ मा हामी जान सरकारको नियमले दिँदैन । हामी सरकारको नियमभन्दा बाहिर रहेर काम गर्न पनि सक्दैनौ । सार्वजनिक खरिद अनुगमन कार्यालयसँग छलफल भएको छ । दूरसञ्चारका क्षेत्रमा कसरी सार्वजनिक खरिद कार्यलाई सरलीकरण गर्ने भन्ने विषयमा कुराकानी गरेका छौं । ऐनमा केही परिवर्तन भयो भने हामी छिटो निर्णय गर्न सक्छौं । जस्तो हामीले सन् २०१० मा सम्झौता गरेको आईपी सीडीएमए प्रविधि सन् २०१३ मा मात्र आउन सक्यो । यस्तो भयो भने त प्रविधि फेज आउट भइसकेको हुन्छ । ऐनमा केही सरलीकरण भइदिए धेरै काम गर्न सकिन्छ ।  
कुनै बेला निकै राम्रो मानिने नेपाल वायुसेवा निगम अहिले जीर्ण अवस्थामा पुगेको छ । निजी क्षेत्रको प्रभाव बढिरहेका बेला अबको अर्को ‘क्याजोल्टी’ नेपाल टेलिकम भनिन्छ । के लाग्छ तपाईंलाई ?
सरकारले अहिले जत्तिकै मात्र काम गर्न दिए पनि टेलिकम ‘क्याजोल्टी’ हुन सक्दैन । हामीसँग जति पूर्वाधार, सस्तो सेवा र सबै क्षेत्रमा पहुँच अरूको छैन । हाम्रो सेवामा ‘हिँड्न चार्ज’ नभएकाले ग्राहकले विश्वास गरेका छन् । हामीले ग्राहकले मागअनुसारको सेवा दिन सक्नुपर्छ । यति मात्र गर्ने हो भने पनि सरकारलाई राजस्व बुझाउने पहिलो कम्पनी टेलिकम नै हुनेछ ।
पछिल्लो तथ्यांक हेर्दा ग्राहक संख्यामा प्रतिस्पर्धी कम्पनी अगाडि गएको छ र तपाईंको नाफाको वृद्धिदर पनि घटेको देखिन्छ, यसले कमजोरी इंगित गर्दैन ?
थ्रीजी लाइसेन्स शुल्क बुझाएका कारण गत वर्षको नाफा केही घटेको जस्तो देखिएको हो । ग्राहक संख्यामा अंकको खेल पनि छ । हाम्रा सक्रिय ग्राहक धेरै छन् । गणनाका लागि मात्रभन्दा सक्रिय ग्राहक हुनु आवश्यक हो । विश्वासकै कारण ग्राहकले लामो समयसम्म टेलिकमको सेवा लिएका हुन् । त्यसैले सक्रिय ग्राहकका आधारमा हामी पछि छैनौं ।
टेलिकमको खरिद प्रक्रियामा केही समूहको कब्जामा छ भन्ने आरोप पनि लाग्ने गरेको छ नि !
मलाई त्यस्तो लाग्दैन, सबै टेन्डर एउटै कम्पनीले पाएको छैन । टेन्डर पाउने धेरै कम्पनी छन् । सबै प्रक्रिया पारदर्शी नै छन् । त्यसैले एउटैको कब्जामा छ भन्न मिल्दैन ।
टेलिकमका केही सेवाहरू आउट सोर्सिङपछि प्रभावकारी भएको देखियो, अब अरू सेवा पनि ‘आउटसोर्सिङ’ गर्ने तयारी छ कि ?
नयाँ नेटवर्क तथा जडान सबै सेवा आउटसोर्सिङमार्फत नै भइरहेका छन् । आउट सोर्सिङ भइसकेको १९७ र १९८ मा पनि नयाँ प्रविधिका सेवा दिने तयारी गरिरहेका छौं । ग्राहकले एकपटक कल गर्दा प्रोफाइल राखेपछि सम्बन्धित भाषा, समस्या बुझेर सम्बन्धित अपरेटरमा जाने व्यवस्था गरिनेछ । यो जीएसएम तथा सीडीएमए सबै प्रविधिमा सञ्चालन हुनेछ । अब १ महिनाभित्र ग्राहक सेवा केन्द्र सञ्चालन हुनेछ । अहिले परीक्षणको क्रममा छ ।
‘कलवाइपास’ टेलिकम कम्पनीहरूको मुख्य चुनौती बनेको छ न्यूनीकरणका लागि के तयारी छ ?
नेपाल प्रहरीसँग मिलेर कलवाइपास न्यूनीकरणका लागि काम भएको छ । यो समस्या विस्तारै कम हुँदै जान्छ । अब भाइवर, स्काइपमा फ्रि–कल गर्न सकेपछि कल वाइपासमा जानुपर्दैन । हामीले पनि ग्राहकको संख्या हेरेर यसबारे पुनर्विचार गर्ने तयारीमा हामी छांै । नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा यस्ता सेवा घोषणा गरिनेछ । अहिले नै नाइट कलमा आधा मात्रै महसुल लाग्दै आएको छ ।
टेलिकममा युनियनहरू धेरै भएनन् ?
अहिले टेलिकममा ५ वटा युनियन छन् । मेरो कार्यकालमा सबै युनियनबाट सहयोग हुनेछ भन्ने मैले अपेक्षा राखेको छु । युनियनहरूलाई पनि थाहा छ कम्पनी कुन अवस्थामा छ भन्ने कुरा । प्रतिस्पर्धाको जमनामा संस्थापछि प¥यो भने त्यसले कर्मचारीमात्र होइन कसैको पनि हित गर्दैन । त्यसैले अवरोध नहोला भन्ने मेरो बुझाइ हो । अहिलेसम्म मैले सबैको सहयोग पाएको छु ।
टेलिकम प्रमुख छनोटमा राजनीतिक चलखेल धेरै हुन्छ भन्छन्, तपाईंले कस्तो अनुभव गर्नुभयो ?
यसपटक कर्मचारीको सरकार भएकाले राजनीतिक चलखेल भएजस्तो मलाई लागेन । मलाई राजनीतिक चलखेल आवश्यक पनि परेन । राजनीतिक पार्टीहरूले आफूहरूको क्षेत्रमा टेलिफोन सेवा नपुगेका ठाउँमा पु¥याउन दबाब आउँछ । यसरी सेवा विस्तार गर्ने, सेवाको गुणस्तरका बारेमा जानकारी दिनु हाम्रा लागि बजार सर्वेक्षण जस्तो हो । राजनीतिक दलका नेताहरूबाट आउने यस्ता माग त हाम्रा लागि सहयोगी हुन्छ नै । दलकै सरकार बनेपछि पनि सरकारको निर्देशनअनुसार नै  मिलेर अगाडि बढ्नेछौं । किनभने यो संस्थाको अधिकांश स्वामित्व सरकारकै हो ।
स्काइप र भाइवरजस्ता फ्रि–कल गर्न सकिने सुविधा आइसकेका छन् के टेलिकमले फ्रि–कल सेवा दिन सक्दैन ?
सबै देशमा इनकमिङ कल फ्रि हुँदैन । हामीकहाँ यस्तो सुविधा छ । अहिले पनि रात्रिकालीन सेवामा ५० प्रतिशत सस्तो सुविधा छ । भ्वाइस सेवा निःशुल्क दिने विषयमा तयारी भएको छ तर कहिलेदेखि र कुन समय भन्ने निर्णय भएको छैन । टेलिकम क्षेत्रको अन्तर्राष्ट्रिय विकाशक्रम हेर्ने हो भने पनि भविष्यमा भ्वाइस सेवा निःशुल्क हुनसक्छ ।
आफ्ना ग्राहकलाई के सन्देश दिन चाहनुहुन्छ ?
नेपाल टेलिकम जुन स्थानमा छ, त्यो सबै ग्राहकको विश्वासले सम्भव भएको हो । अबको केही दिनमै सेवाको गुणस्तर महसुस गर्ने गरी सुधार गर्ने छौं । त्यसैगरी नयाँ प्रविधिसहितका योजना लिएर हामी आउँदैछौं । तपाईंहरूको यस्तो माया र विश्वास जित्न हामी हरसम्भव प्रयास गर्नेछांै ।

No comments:

Post a Comment