Saturday, February 1, 2014

दुर्गम पुग्दै टेलिकमको थ्रीजी, मुस्ताङमा पनि थ्रीजी सेवा सुरु

सरस्वती ढकाल, कारोबार काठमाडौं, १६ माघ - नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले उपत्यका बाहिरका जिल्लाका साथै दुर्गम क्षेत्रमा थ्रीजी सेवा विस्तारलाई प्राथमिकता दिएको छ । कम्पनीले हालैमात्र हिमाल पारीको जिल्ला मुस्ताङमा थ्रीजी सेवा सुरु गरेको छ । कम्पनीले गोर्खाको विकट सामागाउँ, लाङटाङको लामाबगर तथा उपल्लो तामाकोसीमा पनि थ्रीजी सेवा सञ्चालन गरिसकेको छ । त्यस्तै संखुवासभाको किमाथांकामा थ्रीजी जडानको क्रममा छ । १ करोड लाइन जीएसएमको परियोजनाअन्तर्गत कम्पनीले मुस्ताङ सदरमुकाम जोमसोममा थ्रीजी मोबाइल सेवा सञ्चालन गरेको छ । २ साताभित्र मुस्ताङको कागबेनी, मुक्तिनाथ, मार्फा, घाँसा, लेतेलगायत उपल्लो मुस्ताङमा समेत थ्रीजी सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । धार्मिक स्थल मुक्तिनाथमा अहिलेसम्म थ्रीजी सञ्चालन गरिसक्ने लक्ष्य भए पनि बाक्लो हिउँ परेकाले यातायत नचल्दा काम प्रभावित भएको कम्पनीका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए । “२ सातापछि मुक्तिनाथ मन्दिर जाने यात्रुले थ्रीजीमा कुराकानी तथा डेटा प्रयोग गर्न सक्नेछन्,” उनले भने । मुस्ताङमा ग्राहकले थ्रीजीमार्फत ३८४ किलोविट्स प्रतिसेकेन्डको स्पिडमा डेटा सेवा लिन सक्नेछन् ।

“आर्थिक वर्ष ०७१÷७२ को अन्त्यसम्ममा सबै जिल्ला सदरमुकाम तथा जिल्लाका मुख्य स्थानमा थ्रीजी सेवा पु¥याउँछौं,” प्रबन्ध निर्देशक भट्टराईले भने । १ करोड लाइनको परियोजनाले सबै जिल्लामा मोबाइल प्रयोगकर्तालाई नयाँ अनुभव गराउनसक्ने उनको दाबी छ । कम्पनीले यसअघि धौलागिरी अञ्चलका बाग्लुङ, म्याग्दी र पर्वत जिल्लामा थ्रीजी सेवा सञ्चालन गरिसकेको छ । मुस्ताङसँगै धौलागिरी अञ्चलका सबै जिल्लामा थ्रीजी सेवा पुगिसकेको छ । धौलागिरी अञ्चलका ४ जिल्लामा ४६ वटा बीटीएस टावरबाट सेवा पुग्नेछ । पदयात्रा तथा धार्मिक यात्राका लागि धौलागिरी अञ्चलका धेरै ठाउँ प्रसिद्ध छन् । टेलिकमले राजधानीलगायत पोखरा, लुम्बिनी तथा बुटवलमा थ्रीजी सेवा सञ्चालनमा ल्याइसकेको छ । थ्रीजीबाट भिडियो कल गर्न प्रतिमिनेट २ रुपैयाँ र मल्टिमिडिया म्यासेज (एमएमएस) गर्न १ रुपैयाँ ५० पैसा लाग्छ । भिडियो कल र एमएमएस सेवा प्रयोग गर्ने ग्राहक कम रहेको टेलिकमले जनाएको छ । थ्रीजी सेवा सञ्चालन भइसकेको राजधानीका साधारण टेलिफोन ग्राहकमा आधुनिक दूरसञ्चार सेवा प्रदान गर्ने उद्देश्यले फाइबर टु दि होम (एफटीटीएच) सेवा सञ्चालनको तयारी कम्पनीले गरेको छ । परम्परागत तामाको तारको सट्टा ग्राहकको घरसम्म अप्टिकल फाइबर पु¥याइने भएकाले व्यावसायिक प्रयोजनका लागि यो सेवा प्रभावकारी हुने प्रबन्ध निर्देशक भट्टराईले बताए । एनजीएन प्रविधिअन्तर्गत एफटीटीएच सेवामा भ्वाइस सेवाका अतिरिक्त ग्राहकको मागअनुरुप उच्च गतिको इन्टरनेट हुुनुका साथै भ्यालु एडेड सेवासमेत दिन सकिनेछ ।  एफटीटीएच सेवा सञ्चालनमा आएपछि ग्राहकले डेटा सेवामध्ये हालसम्मकै उच्च गतिको इन्टरनेट सेवा लिन सक्नेछन् ।



 रेडक्रस–टेलिकम सम्झौता
आपत्कालीन अवस्थामा सञ्चार सम्पर्क स्थापना गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल रेडक्रस सोसाइटीबीच वाइड एरिया इन्टरनेट नेटवर्कको निःशुल्क प्रयोगसम्बन्धी सम्झौता भएको छ । टेलिकम मर्मतसम्भार तथा सञ्चालन विभागका नायब प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे र नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले बिहीबार सम्झौतामा हस्ताक्षर गरे । आपत्कालीन समयमा अवरुद्ध रहेको मोबाइल, इन्टरनेटजस्ता सञ्चार सेवालाई वाइड एरिया इन्टरनेट नेटवर्कले सुचारु गर्न सहयोग गर्छ । यसबाट विपद्को समयमा प्रभावकारी रूपमा सञ्चार सम्पर्क गरी विपद् प्रभावितलाई सेवा पुग्ने विश्वास गरिएको छ । विशेषगरी काठमाडौं उपत्यकालाई लक्षित गरी आगामी ५ वर्षका लागि सेवासम्बन्धी सम्झौता गरिएको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।
सम्झौताबाट सम्भावित भूकम्पलगायत अन्य आपत्कालीन अवस्थामा उद्धारक तथा दातृ निकायमा सञ्चार स्थापना गरी द्रुत प्रतिकार्य गर्न सहयोग सिद्ध हुने दुवै संस्थाको विश्वास छ । “रेडक्रस जस्तो मानवीय कार्यमा संलग्न संस्थाको सेवालाई थप प्रभावकारी बनाउन र आपत्कालीन अवस्थामा पनि निर्वाध सेवा सञ्चालन र सञ्चार सम्पर्क गर्न यो सम्झौताले महत्वपूर्ण योगदान पुग्नेछ”, सोसाइटीका कार्यकारी निर्देशक ढकालले भने ।
नेपाल टेलिकमको साँगा र नगरकोटमा रहेको टावरमा नेपाल रेडक्रसले आवश्यक उपकरण जडान गरी वाइड एरिया इन्टरनेट नेटवर्क प्रयोग गर्नेछ ।

No comments:

Post a Comment