Friday, March 29, 2013

५६ लाखमध्ये ५२ लाख GPRS प्रयोगकर्ता


सरस्वती ढकाल, कारोबार काठमाडौं, १५ चैत - नेपालको २० प्रतिशत जनसंख्यामा इन्टरनेट पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २ करोड ६६ लाख २० हजार ८ सय जनसंख्यालाई आधार मानेर प्रयोगकर्ताको संख्या यकिन गरेको हो । प्राधिरकणको पछिल्लो प्रतिवेदनअनुसार ५६ लाख ९३ हजार ९ सय १३ जनाले इन्टरनेट सेवा लिएका छन् । इन्टरनेट सुविधा लिनेमध्ये सबैभन्दा धेरै मोबाइलमा जनरल प्याकेट रेडियो सर्भिस (जीपीआरएस) प्रयोगकर्ता छन् । मोबाइल सेवाप्रदायक कम्पनीले मोबाइलमा जीपीआरएस सेवा दिन थालेपछि इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेल र सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहक अरुको तुलनामा धेरै छन् । अन्य सेवाप्रदायकसँग ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) प्रविधिको लाइसेन्स छैन । प्राधिकरणका अनुसार हालसम्म एनसेलका २९ लाख १५ हजार, टेलिकमका २६ लाख १४ हजार, युनाइटेड टेलिकम (यूटीएल)का ८५ हजार र इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी)का ७८ हजार ग्राहक छन् ।
एनसेलले जीपीआरएस प्रविधिबाटमात्रै सेवा दिएको छ । त्यस्तै टेलिकमले एडीएसएल, जीपीआरएस र सीडीएमए प्रविधिबाट इन्टरनेट दिइरहेको छ । उसले फागुनदेखि विस्तार सुरु गरेको दु्रत गतिको इन्टरनेट सेवा ‘वाई–म्याक्स’का ग्राहक करिब ५ हजार पुगिसकेको जनाएको छ । यसै सातादेखि सर्वसाधारणलाई लक्षित गरी उसले वाई–म्याक्स दिन थालेको हो । यो सेवाले इन्टरनेट प्रयोगकर्ता अझै बढ्ने टेलिकम प्रवक्ता गुणकेसरी प्रधान बताउँछिन् । इन्टरनेट सेवा सञ्चालनकै लागि अनुमति पाएका कम्पनीको बजार हिस्सा तीन वर्षदेखि बढ्न सकेको छैन । मोबाइल कम्पनीको बढ्दो प्रतिस्पर्धासँगै जीपीआरएसमा ग्राहक तानिएपछि आईएसपीको बजार हिस्सा १ प्रतिशतमै सीमित छ । जीपीआरएसमा आईएसपी शून्य भए पनि ब्रोडब्यान्ड इन्टरनेटमा अगाडि भएको आईएसपीको संगठन आइस्पानका अध्यक्ष विनय बोहोराले बताए । “कर्पाेरेट हाउस, कलेज, होटल, अस्पताललगायतमा हामीले ९० प्रतिशतभन्दा धेरै सेवा दिएका छौं,” उनले भने, “तर, भौतिक पूर्वाधार अभावले सेवाक्षेत्र भने बढाउन सकिएको छैन ।” सरकारले ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच बढाउने उद्देश्यले सय रुपैयाँमै लाइसेन्स दिने व्यवस्थासमेत गरेको छ । तर, आईएसपीहरू ३ लाख रुपैयाँ शुल्क तिरी सहरकेन्द्रित भएका छन् । नेपालको भौगोलिक विविधता र ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको कमीले गर्दा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित राख्न महँगो लाइसेन्स शुल्क तिरेरै भए पनि सहरमा सेवा सञ्चालन गर्न चाहेका हुन् । ग्रामीण क्षेत्रका लागि लाइसेन्स लिन उपत्यका, महानगरपालिका, उपमहानगपालिकासँग सिमाना जोडिएका गाविसबाहेक हुनुपर्ने कानुनी प्रावधान छ । ग्रामीण क्षेत्रको लाइसेन्स हरेक पाँच वर्षमा ९० रुपैयाँ तिरी नवीकरण गर्न सकिने व्यवस्था छ । सहरी क्षेत्रका लागि लाइसेन्स शुल्क ३ लाख रुपैयाँ छ भने हरेक पाँच वर्षमा नवीकरण गर्दा २ लाख ७० हजार रुपैयाँ बुझाउनुपर्छ ।

गुणस्तर सुधार्न टावर थप्दै टेलिकम

काठमाडौं, चैत १६ (नागरिक) - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले जिएसएम मोबाइलको गुणस्तर सुधार गर्न विभिन्न ठाउँका टावर, एन्टेना, ब्याट्री र अप्टिकल फाइबरमा सुधार गरेको जनाएको छ। कम्पनीले गुणस्तर सुधारका क्रममा मोबाइल बिटिएस(टावर)हरुमा पुराना उपकरण हटाइएको जनाएको हो। कम्पनीका प्रवक्ता गुणकेशरी प्रधानका अनुसार गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षको ८ महिनामा २ सय ५० वटा बिटिएस साइटमा उच्च क्षमताको ब्याट्री जडान गरिएको छ। उनले निरन्तर ऊर्जा आवश्यक पर्ने केही ठाउँका उपकरणमा जेनेरेटर र सोलारमार्फत नियमित विद्युत आपूर्ति व्यवस्था मिलाएको जानकारी दिइन्। 
यसैगरी चालु आर्थिक वर्षको फागुनसम्ममा विभिन्न ठाउँमा नयाँ १ सय ५० भन्दा बढी बिटिएस टावर जडान गरिएको छ। यसैगरी कम्पनीले पुराना एन्टेना हटाई नयाँ एन्टेनाहरु जडान गर्ने क्रममा फागुनसम्ममा २ सय ठाउँमा एन्टेना प्रतिस्थापन गरेको छ।  टेलिकमले पुरानो प्रविधिको कपर केबुलको सट्टा तुलनात्मकरुपमा बढी प्रभावकारी अप्टिकल फाइवरको प्रयोगलाई प्राथमिकता दिन थालेको प्रधानले बताइन्। उनका अनुसार आर्थिक वर्षको पहिलो ८ महिनामा कम्पनीले ६० बिटिएसहरुमा पुराना केबुलको सट्टा अप्टिकल फाइबर जडान गरिसकेको छ। कम्पनीले विभिन्न भित्री ठाउँमा मोबाइलको सिग्नल नपुग्दा समस्या भएपछि उपत्याकासहित सहरी क्षेत्रका ८४ स्थानमा उपकरण जडान गरेको छ। कम्पनीले गुणस्तर सुधारलाई प्रथमिकतामा राखेर कार्य गरिरहेको प्रधानले बताइन्।

Thursday, March 28, 2013

उपत्यकाका ६ ठाउँबाट वाइम्याक्स किन्न सकिने

काठमाडौं, चैत १५ (नागरिक) - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले बुधबारदेखि उपत्यकाभित्र ६ ठाउँबाट सर्वसाधारणलाई उच्च गतिको बेतारे इन्टरनेट सेवा वाइम्याक्स बिक्री सुरु गरेको छ।  टेलिकमले दुइटा आफ्ना काउन्टर र चारवटा निजी क्षेत्रको साझेदारीमा सञ्चालित सेवा केन्द्रबाट वाइम्याक्स बिक्री सुरु गरेको हो। कम्पनीले उपत्यकाभित्र आफ्ना सुन्धारा र जावलाखेल काउन्टरबाट वाइम्याक्स बिक्री सुरु गरेको छ। 
एयरम्याक्स टेक्नोलोजी प्रालिले पुतलीसडक र बानेश्वर एवं युनिटेक नेटवर्कस् प्रालिले दरबारमार्ग र कुपण्डोलमा सञ्चालन गरेका सेवा केन्द्रबाट वाइम्याक्स बिक्री सुरु भएको हो।  कम्पनीले उपत्यकाबाहिर पनि आफ्ना काउन्टरबाट बुधबारदेखि नै वाइम्याक्स बिक्री सुरु गरेको छ। व्यावसायिक र संस्थागत उपभोक्ताका लागि गत मंसिरदेखि वाइम्याक्स वितरण गरेको टेलिकमले बुधबारबाट मात्र सर्वसाधारण ग्राहकलाई बिक्री सुरु गरेको हो।  बुधबारै उपत्यकाका चार ठाउँमा निजी क्षेत्रले टेलिकमका सेवा केन्द्र सञ्चालनमा ल्याएका छन्। अन्य दूरसञ्चार सेवा प्रदायकले यस्ता सेवा केन्द्र पहिलेदेखि नै सञ्चालनमा ल्याए पनि टेलिकमले भने पहिलोपटक निजी क्षेत्रको सहकार्यमा सेवा केन्द्र खोलेको हो।  टेलिकमले सञ्चालन गरेको वाइम्याक्स इन्टरनेट सेवा हालसम्मका इन्टरनेट प्याकेजको तुलनामा सबैभन्दा सस्तो भएको दाबी गरेको छ। कम्पनीले हाल भोलुम बेस (चलाएको आधारमा रकम काटिने) प्याकेजमा वाइम्याक्स सुरु गरेको हो। उपभोक्ताले एक महिना, तीन महिना र एक वर्षको प्याकेज किन्न सक्नेछन्। उपभोक्ताले सबैभन्दा सस्तोमा ५ गिगाबाइट(जिबी) डाटासहित २ सय ५६ किलोबिट्स प्रति सेकेन्ड(केबिपिएस) गतिको इन्टरनेट प्याकेज ६ सय ५० रुपैयाँमा लिन सक्नेछन्। 
वाइम्याक्स इन्टरनेट सेवा चलाउन उपभोक्ताले युएसबी डंगोल, मोडेम वा कस्टमर प्रिमिसेस इक्युपमेन्ट (सिपिई) किन्नुपर्छ। टेलिकमले हाल यी उपकरण बन्डलिङ गरेर वाइम्याक्स बिक्री गरिरहेको छ। ल्यापटप, डेक्सटप लगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन युएसबी डंगोल वा मोडेम उपयुक्त हुन्छ भने धेरैवटा कम्प्युटरमा इन्टरनेट चलाउन भने सिपिई आवश्यक पर्छ।  घरायसी प्रयोगकर्ताका लागि डंगोल र मोडेम नै उपयुक्त हुने टेलिकम अधिकारीहरु बताउँछन्। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोकेमा युएसबीबाट दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ।  युएसबी डंगोलको मूल्य ५ हजार र मोडेमको मूल्य ७ हजार रुपैयाँ पर्छ। सिपिईको मूल्य भने बढी हुन्छ। टेलिकमले इनडोर सिपिइको १२ हजार र आउटडोर सिपिईको २० हजार पर्ने जनाएको छ। टेलिकमले हाल उपत्यकासहित मुलुकका १३ अञ्चलका ४९ जिल्लामा वाइम्याक्स सेवा विस्तार गरिसकेको छ।

Monday, March 25, 2013

सर्वसाधारणलाई पनि बेच्ने भयो टेलिकमले फोरजी इन्टरनेट सेवा

काठमाडौं, चैत ११ (नागरिक)- नेपाल टेलिकमले उच्च गतिको फोरजी इन्टरनेट प्रविधि वाइम्याक्स सेवा चैत १४ देखि सर्वसाधारणलाई पनि बिक्री गर्ने भएको छ। उच्च गतिको वाइम्याक्स प्रविधिको इन्टरनेट ४९ जिल्लामा पुगे पनि कर्पोरेटहाउस, सरकारी-गैरसरकारी संस्था एवं विदेशी नियोगहरुलाई मात्र टेलिकमको यो सेवा पाउँदै आएका थिए। 'कम्पनीको यो सेवा खरिद गरी सेवाको पहुँच भएको जुनसुकै क्षेत्रमा प्रयोग गर्न सकिन्छ', नेपाल टेलिकमद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ। टेलिकमले एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्कसँग सहकार्य गरी वाइम्याक्स प्रविधिको इन्टरनेट सेवा सर्वसाधारणलाई प्रदान गर्न लागेको हो। टेलिकमले यी दुई कम्पनीले ल्याएका सीपीइ (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) सँग 'बन्डलिङ' गरी सेवा बिक्री गर्नेछ। यो सेवा हाल सुन्धारा, जउलाखेलस्थित कम्पनी काउन्टर तथा पुतलीसडक, दरबारमार्ग, कुपन्डोल र नयाँ बानेश्वरस्थित निजी कम्पनीका बिक्री केन्द्रमार्फत् वितरण गरिनेछ। राजधानी बाहिरका मुख्य सहरहरु बिराटनगर, पोखरा, चितवन, बुटवल, धनगढी र महेन्द्रनगरमा निजी कम्पनीले सम्पर्क कार्यालयबाट वाइम्याक्स सेवा पुर्‍याइने टेलिकमले जनाएको छ।
गत कात्तिकदेखि टेलिकमले वाइम्याक्स प्रविधिको इन्टरनेट सेवा सञ्चालनमा ल्याएको थियो। पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, बित्तीय संस्था, कुटनीतिक नियोग, सरकारी एवं गैरसरकारी संस्थाहरुलाई मात्र यो सेवा वितरण गरिएको थियो। वाइम्याक्स प्रविधि हाल नेपालमा उपलब्ध इन्टरनेट सेवाहरुमध्ये सबैभन्दा आधुनिक फोजी प्रविधिको सेवा हो। उपभोक्ताले यो प्रविधिमार्फत् इन्टरनेट चलाउनका लागि सीपीइ खरिद गर्नुपर्नेछ। यो उपकरण आउटडोर, इनडोर र युएसबी डङ्ग्ले गरी तीन किसिमका रहने टेलिकमका सहायक प्रवक्ता राजेश जोशीले बताए। आउटडोर डिभाइसले टावरदेखि १५ किलोमिटर, इनडोर डिभाइसले ५ किलोमिटर र युएसबी डङ्ग्लेले २ किलोमिटर टाढासम्मको सिग्नल लिई इन्टरनेट चलाउन सकिने उनले जानकारी दिए। टेलिकमले वाइम्याक्स प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि हाललाई २५६ केबीपीएस, ५१२ केबीपीएस र १ एमबिपीएस वा सो भन्दा बढी क्षमताको आधारमा १ महिना, ३ महिना र एक वर्षको प्याकेजको महसुसल दर निर्धारण गरेको छ। सर्वसाधारणले ३ महिनाको प्याकेज खरिद गर्दा सुरुको ३ महिनाको महसुलमा ५० प्रतिशत छुट प्रदान गरिने छ भने एक वर्षको प्याकेज खरिद गरी एकमुष्ट महसुल भुक्तानी गर्दा १५ प्रतिशत छुटको व्यवस्था गरिएको टेलिकमले जनाएको छ। त्यसैगरी मुलुकका सबै गाविस वा गाविसले सिफारिश गरेको एक स्थानमा २५६ केबिपीएस क्षमताको सेवा खरीद गर्दा ५० प्रतिशत छुट दिने टेलिकमले जनाएको छ।

वाइम्याक्स इन्टरनेट सबैलाई

काठमाडौं, चैत १२ (नागरिक) -नेपाल टेलिकमले घोषणा गरेको लामो समयपछि आगामी बुधबारबाट सर्वसाधारण ग्राहकलाई उच्च गतिको तारविहीन इन्टरनेट 'वाइम्याक्स' बिक्री गर्ने भएको छ। गत कात्तिकदेखि संस्थागत ग्राहकका लागि सेवा सुरु गरेको टेलिकमले बुधबारबाट भने सर्वसाधारणलाई पनि फोरजी प्रविधिको वाइम्याक्स सेवा दिने भएको हो। कम्पनीले उपत्यकाभित्र सुन्धारा र जावलाखेलस्थित काउन्टर एवं पुतलीसडक, दरबारमार्ग, कुपन्डोल र नयाँवानेश्वरस्थित निजी कम्पनीका बिक्री केन्द्रमार्फत् वितरण सुरु गर्नेछ। उपत्यका बाहिर हाल टेलिकमकै कार्यालयमा बिक्री केन्द्र राखी निजी कम्पनीसँगको सहकार्यमा बेचिने छ।
टेलिकमले एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्क प्रालिको सहकार्यमा वाइम्याक्स सेवा बेच्न लागेको हो। उनीहरूले विराटनगर, पोखरा, चितवन, बुटवल, धनगढी र महेन्द्रनगरमा आफ्ना सम्पर्क कार्यालय स्थापना गरी वाइम्याक्स बिक्री तयारी गरिसकेका छन्।  'फागुन १४ देखि सर्वसाधारण उपभोक्ताले वाइम्याक्स जोड्न सक्नेछन्,' टेलिकमका सहप्रवक्ता राजेश जोशीले भने, 'तीव्र गतिको इन्टरनेट खोज्नेलाई यो उपयुक्त हुनेछ।' टेलिकमले भोलुम बेस (चलाएका आधारमा रकम काटिने) प्याकेजमा यो सेवा सुरु गरेको हो। उपभोक्ताले एक महिना, तीन महिना र एक वर्षको प्याकेज किन्न सक्नेछन्। उपभोक्ताले एक महिने प्याकेज किन्दा २ सय ५६ किलोबिट्स प्रतिसेकेन्ड (केबिपिएस) गतिको ५ गिगाबाइट (जिबी) डाटा किन्नुपर्छ। यो प्याकेजको मूल्य ६ सय ५० रुपैयाँ तोकिएको छ। त्यसै गरी ५ सय १२ केबिपिएस गतिको ८ जिबी डाटामा ८ सय ५० र १ मेगाबिट्स (एमबी) गतिको १२ जिबी डाटा किन्दा १ हजार ३ सय ४० रुपैयाँ तिर्नुपर्छ। एक महिने प्याकेज किन्नेलाई टेलिकमले छुट दिएको छैन। तर, तीन महिने प्याकेजमा ५० प्रतिशत र १ वर्षेमा १५ प्रतिशत छुट दिइएको छ।
टेलिकमका अनुसार तीन महिने प्याकेजमा २ सय ५६ केबिपिएस गतिको सेवा लिनेले ३० जिबी, ५ सय १२ केबिपिएस र १ एमबिपिएस गतिमा ३६ जिबी डाटा प्याकेज पाइन्छ। २ सय ५६ केबिपिएसको तीन महिने प्याकेजलाई महिनामा १ हजार ६ सय ५०, ५ सय १२ केबिपिएसलाई १ हजार ८ सय ५० र १ एमबिपिएसलाई २ हजार १० रुपैयाँ तिर्नुपर्छ। यो छुट मूल्य हो। एक वर्षे प्याकेजमा सेवा लिनेले २ सय ५६ केबिपिएसलाई १ सय २० जिबी, ५ सय १२ केबिपिएस र १ एमबिपिएसलाई १ सय ४४ जिबीको प्याकेज पाउनेछन्। १ वर्षे २ सय ५६ केबिपिएसलाई महिनाको ११ हजार २ सय २०, ५ सय १२ केबिपिएसलाई १२ हजार ७ सय ५० र १ एमबिपिएसलाई १३ हजार ६ सय ६८ रुपैयाँ तिर्नुपर्छ। टेलिकमले यो सेवा चलाउन आवश्यक 'कस्टमर प्रिमिसेस इक्युपमेन्ट' (सिपिइ) बन्डलिङ गरेर बिक्री गर्नेछ। डेस्कटप, ल्यापटप, स्मार्टफोनमा एकैपटक धेरै प्रयोगकर्ताले इन्टरनेट चलाउन मिल्ने वाइम्याक्सलाई एडिएसएल मोडेमजस्तै सिपिइ चाहिन्छ।
वाइम्याक्सलाई तीन प्रकारको सिपिइ जडान गर्न सकिन्छ। टावरभन्दा निकै टाढा इन्टरनेट चलाउन आउटडोर सिपिइ चाहिन्छ। यसले टावरबाट पाँचदेखि २० किलोमिटर टाढासम्म पनि इन्टरनेट चलाउन मिल्छ। यसलाई घरबाहिर भित्ता वा छतमा राख्नुपर्छ। सिपिइले टावरबाट फ्याँकिने सिग्नल तानेर इन्टरनेट चलाउन सजिलो बनाउँछ। घरभित्र राख्न 'इनडोर सिपिइ' हुन्छ। टावरबाट चार किलोमिटरसम्म पनि यो सिपिइबाट इन्टरनेट चलाउन सकिन्छ। यसलाई पावर दिएपछि एकैपटक तार वा वायरलेस बनाएर धेरैले इन्टरनेट चलाउन सक्छन्। सानो कार्यालयलाई इनडोर सिपिइ उपयुक्त हुन्छ। घरमा एकैपटक डेस्कटप, ल्यापटप वा स्मार्टफोन चलाउन यो उपयुक्त हुन्छ। ल्यापटप, डेस्कटपलगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन भने युएसबी डंगोल वा मोडेम आवश्यक पर्छ। घरायसीलाई यस्ता डंगोल र मोडेम नै उपयुक्त हुने टेलिकम अधिकारी बताउँछन्। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोके युएसबीबाट दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ। युएसबी डंगोलको मूल्य ५ हजार र मोडेमको ७ हजार पर्छ। सिपिइको मूल्य भने बढी हुन्छ। टेलिकमले इनडोर सिपिइको १२ हजार र आउटडोर सिपिइको २० हजार पर्ने जनाएको छ। टेलिकमले हाल उपत्यका सहित १३ अञ्चलका ४९ जिल्लामा सेवा विस्तार गरिसकेको छ।
टेलिकमले तयार पारेको छुटसहितको वाइम्याक्सको प्याकेज 
स्पिड भोलुम अवधि मासिक शुल्क
२५६ केबिपिएस ५ जिबी १ महिना ६५० रुपैयाँ
५१२ केबिपिएस ८ जिबी १ महिना ८५० रुपैयाँ
१ एमबिपिएस १२ जिबी १ महिना १,३४० रुपैयाँ
२५६ केबिपिएस ३० जिबी ३ महिना १,६५० रुपैयाँ
५१२ केबिपिएस ३६ जिबी ३ महिना १,८७५ रुपैयाँ
१ एमबिपिएस ३६ जिबी ३ महिना २,०१० रुपैयाँ
२५६ केबिपिएस १२० जिबी १ वर्ष ११,२२० रुपैयाँ
५१२ केबिपिएस १४४ जिबी १ वर्ष १२,७५० रुपैयाँ
१ एमबिपिएस १४४ जिबी १ वर्ष १३,६६८ रुपैयाँ