Thursday, March 28, 2013

उपत्यकाका ६ ठाउँबाट वाइम्याक्स किन्न सकिने

काठमाडौं, चैत १५ (नागरिक) - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले बुधबारदेखि उपत्यकाभित्र ६ ठाउँबाट सर्वसाधारणलाई उच्च गतिको बेतारे इन्टरनेट सेवा वाइम्याक्स बिक्री सुरु गरेको छ।  टेलिकमले दुइटा आफ्ना काउन्टर र चारवटा निजी क्षेत्रको साझेदारीमा सञ्चालित सेवा केन्द्रबाट वाइम्याक्स बिक्री सुरु गरेको हो। कम्पनीले उपत्यकाभित्र आफ्ना सुन्धारा र जावलाखेल काउन्टरबाट वाइम्याक्स बिक्री सुरु गरेको छ। 
एयरम्याक्स टेक्नोलोजी प्रालिले पुतलीसडक र बानेश्वर एवं युनिटेक नेटवर्कस् प्रालिले दरबारमार्ग र कुपण्डोलमा सञ्चालन गरेका सेवा केन्द्रबाट वाइम्याक्स बिक्री सुरु भएको हो।  कम्पनीले उपत्यकाबाहिर पनि आफ्ना काउन्टरबाट बुधबारदेखि नै वाइम्याक्स बिक्री सुरु गरेको छ। व्यावसायिक र संस्थागत उपभोक्ताका लागि गत मंसिरदेखि वाइम्याक्स वितरण गरेको टेलिकमले बुधबारबाट मात्र सर्वसाधारण ग्राहकलाई बिक्री सुरु गरेको हो।  बुधबारै उपत्यकाका चार ठाउँमा निजी क्षेत्रले टेलिकमका सेवा केन्द्र सञ्चालनमा ल्याएका छन्। अन्य दूरसञ्चार सेवा प्रदायकले यस्ता सेवा केन्द्र पहिलेदेखि नै सञ्चालनमा ल्याए पनि टेलिकमले भने पहिलोपटक निजी क्षेत्रको सहकार्यमा सेवा केन्द्र खोलेको हो।  टेलिकमले सञ्चालन गरेको वाइम्याक्स इन्टरनेट सेवा हालसम्मका इन्टरनेट प्याकेजको तुलनामा सबैभन्दा सस्तो भएको दाबी गरेको छ। कम्पनीले हाल भोलुम बेस (चलाएको आधारमा रकम काटिने) प्याकेजमा वाइम्याक्स सुरु गरेको हो। उपभोक्ताले एक महिना, तीन महिना र एक वर्षको प्याकेज किन्न सक्नेछन्। उपभोक्ताले सबैभन्दा सस्तोमा ५ गिगाबाइट(जिबी) डाटासहित २ सय ५६ किलोबिट्स प्रति सेकेन्ड(केबिपिएस) गतिको इन्टरनेट प्याकेज ६ सय ५० रुपैयाँमा लिन सक्नेछन्। 
वाइम्याक्स इन्टरनेट सेवा चलाउन उपभोक्ताले युएसबी डंगोल, मोडेम वा कस्टमर प्रिमिसेस इक्युपमेन्ट (सिपिई) किन्नुपर्छ। टेलिकमले हाल यी उपकरण बन्डलिङ गरेर वाइम्याक्स बिक्री गरिरहेको छ। ल्यापटप, डेक्सटप लगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन युएसबी डंगोल वा मोडेम उपयुक्त हुन्छ भने धेरैवटा कम्प्युटरमा इन्टरनेट चलाउन भने सिपिई आवश्यक पर्छ।  घरायसी प्रयोगकर्ताका लागि डंगोल र मोडेम नै उपयुक्त हुने टेलिकम अधिकारीहरु बताउँछन्। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोकेमा युएसबीबाट दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ।  युएसबी डंगोलको मूल्य ५ हजार र मोडेमको मूल्य ७ हजार रुपैयाँ पर्छ। सिपिईको मूल्य भने बढी हुन्छ। टेलिकमले इनडोर सिपिइको १२ हजार र आउटडोर सिपिईको २० हजार पर्ने जनाएको छ। टेलिकमले हाल उपत्यकासहित मुलुकका १३ अञ्चलका ४९ जिल्लामा वाइम्याक्स सेवा विस्तार गरिसकेको छ।

No comments:

Post a Comment