Monday, March 25, 2013

वाइम्याक्स इन्टरनेट सबैलाई

काठमाडौं, चैत १२ (नागरिक) -नेपाल टेलिकमले घोषणा गरेको लामो समयपछि आगामी बुधबारबाट सर्वसाधारण ग्राहकलाई उच्च गतिको तारविहीन इन्टरनेट 'वाइम्याक्स' बिक्री गर्ने भएको छ। गत कात्तिकदेखि संस्थागत ग्राहकका लागि सेवा सुरु गरेको टेलिकमले बुधबारबाट भने सर्वसाधारणलाई पनि फोरजी प्रविधिको वाइम्याक्स सेवा दिने भएको हो। कम्पनीले उपत्यकाभित्र सुन्धारा र जावलाखेलस्थित काउन्टर एवं पुतलीसडक, दरबारमार्ग, कुपन्डोल र नयाँवानेश्वरस्थित निजी कम्पनीका बिक्री केन्द्रमार्फत् वितरण सुरु गर्नेछ। उपत्यका बाहिर हाल टेलिकमकै कार्यालयमा बिक्री केन्द्र राखी निजी कम्पनीसँगको सहकार्यमा बेचिने छ।
टेलिकमले एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्क प्रालिको सहकार्यमा वाइम्याक्स सेवा बेच्न लागेको हो। उनीहरूले विराटनगर, पोखरा, चितवन, बुटवल, धनगढी र महेन्द्रनगरमा आफ्ना सम्पर्क कार्यालय स्थापना गरी वाइम्याक्स बिक्री तयारी गरिसकेका छन्।  'फागुन १४ देखि सर्वसाधारण उपभोक्ताले वाइम्याक्स जोड्न सक्नेछन्,' टेलिकमका सहप्रवक्ता राजेश जोशीले भने, 'तीव्र गतिको इन्टरनेट खोज्नेलाई यो उपयुक्त हुनेछ।' टेलिकमले भोलुम बेस (चलाएका आधारमा रकम काटिने) प्याकेजमा यो सेवा सुरु गरेको हो। उपभोक्ताले एक महिना, तीन महिना र एक वर्षको प्याकेज किन्न सक्नेछन्। उपभोक्ताले एक महिने प्याकेज किन्दा २ सय ५६ किलोबिट्स प्रतिसेकेन्ड (केबिपिएस) गतिको ५ गिगाबाइट (जिबी) डाटा किन्नुपर्छ। यो प्याकेजको मूल्य ६ सय ५० रुपैयाँ तोकिएको छ। त्यसै गरी ५ सय १२ केबिपिएस गतिको ८ जिबी डाटामा ८ सय ५० र १ मेगाबिट्स (एमबी) गतिको १२ जिबी डाटा किन्दा १ हजार ३ सय ४० रुपैयाँ तिर्नुपर्छ। एक महिने प्याकेज किन्नेलाई टेलिकमले छुट दिएको छैन। तर, तीन महिने प्याकेजमा ५० प्रतिशत र १ वर्षेमा १५ प्रतिशत छुट दिइएको छ।
टेलिकमका अनुसार तीन महिने प्याकेजमा २ सय ५६ केबिपिएस गतिको सेवा लिनेले ३० जिबी, ५ सय १२ केबिपिएस र १ एमबिपिएस गतिमा ३६ जिबी डाटा प्याकेज पाइन्छ। २ सय ५६ केबिपिएसको तीन महिने प्याकेजलाई महिनामा १ हजार ६ सय ५०, ५ सय १२ केबिपिएसलाई १ हजार ८ सय ५० र १ एमबिपिएसलाई २ हजार १० रुपैयाँ तिर्नुपर्छ। यो छुट मूल्य हो। एक वर्षे प्याकेजमा सेवा लिनेले २ सय ५६ केबिपिएसलाई १ सय २० जिबी, ५ सय १२ केबिपिएस र १ एमबिपिएसलाई १ सय ४४ जिबीको प्याकेज पाउनेछन्। १ वर्षे २ सय ५६ केबिपिएसलाई महिनाको ११ हजार २ सय २०, ५ सय १२ केबिपिएसलाई १२ हजार ७ सय ५० र १ एमबिपिएसलाई १३ हजार ६ सय ६८ रुपैयाँ तिर्नुपर्छ। टेलिकमले यो सेवा चलाउन आवश्यक 'कस्टमर प्रिमिसेस इक्युपमेन्ट' (सिपिइ) बन्डलिङ गरेर बिक्री गर्नेछ। डेस्कटप, ल्यापटप, स्मार्टफोनमा एकैपटक धेरै प्रयोगकर्ताले इन्टरनेट चलाउन मिल्ने वाइम्याक्सलाई एडिएसएल मोडेमजस्तै सिपिइ चाहिन्छ।
वाइम्याक्सलाई तीन प्रकारको सिपिइ जडान गर्न सकिन्छ। टावरभन्दा निकै टाढा इन्टरनेट चलाउन आउटडोर सिपिइ चाहिन्छ। यसले टावरबाट पाँचदेखि २० किलोमिटर टाढासम्म पनि इन्टरनेट चलाउन मिल्छ। यसलाई घरबाहिर भित्ता वा छतमा राख्नुपर्छ। सिपिइले टावरबाट फ्याँकिने सिग्नल तानेर इन्टरनेट चलाउन सजिलो बनाउँछ। घरभित्र राख्न 'इनडोर सिपिइ' हुन्छ। टावरबाट चार किलोमिटरसम्म पनि यो सिपिइबाट इन्टरनेट चलाउन सकिन्छ। यसलाई पावर दिएपछि एकैपटक तार वा वायरलेस बनाएर धेरैले इन्टरनेट चलाउन सक्छन्। सानो कार्यालयलाई इनडोर सिपिइ उपयुक्त हुन्छ। घरमा एकैपटक डेस्कटप, ल्यापटप वा स्मार्टफोन चलाउन यो उपयुक्त हुन्छ। ल्यापटप, डेस्कटपलगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन भने युएसबी डंगोल वा मोडेम आवश्यक पर्छ। घरायसीलाई यस्ता डंगोल र मोडेम नै उपयुक्त हुने टेलिकम अधिकारी बताउँछन्। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोके युएसबीबाट दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ। युएसबी डंगोलको मूल्य ५ हजार र मोडेमको ७ हजार पर्छ। सिपिइको मूल्य भने बढी हुन्छ। टेलिकमले इनडोर सिपिइको १२ हजार र आउटडोर सिपिइको २० हजार पर्ने जनाएको छ। टेलिकमले हाल उपत्यका सहित १३ अञ्चलका ४९ जिल्लामा सेवा विस्तार गरिसकेको छ।
टेलिकमले तयार पारेको छुटसहितको वाइम्याक्सको प्याकेज 
स्पिड भोलुम अवधि मासिक शुल्क
२५६ केबिपिएस ५ जिबी १ महिना ६५० रुपैयाँ
५१२ केबिपिएस ८ जिबी १ महिना ८५० रुपैयाँ
१ एमबिपिएस १२ जिबी १ महिना १,३४० रुपैयाँ
२५६ केबिपिएस ३० जिबी ३ महिना १,६५० रुपैयाँ
५१२ केबिपिएस ३६ जिबी ३ महिना १,८७५ रुपैयाँ
१ एमबिपिएस ३६ जिबी ३ महिना २,०१० रुपैयाँ
२५६ केबिपिएस १२० जिबी १ वर्ष ११,२२० रुपैयाँ
५१२ केबिपिएस १४४ जिबी १ वर्ष १२,७५० रुपैयाँ
१ एमबिपिएस १४४ जिबी १ वर्ष १३,६६८ रुपैयाँ

No comments:

Post a Comment