Monday, March 25, 2013

सर्वसाधारणलाई पनि बेच्ने भयो टेलिकमले फोरजी इन्टरनेट सेवा

काठमाडौं, चैत ११ (नागरिक)- नेपाल टेलिकमले उच्च गतिको फोरजी इन्टरनेट प्रविधि वाइम्याक्स सेवा चैत १४ देखि सर्वसाधारणलाई पनि बिक्री गर्ने भएको छ। उच्च गतिको वाइम्याक्स प्रविधिको इन्टरनेट ४९ जिल्लामा पुगे पनि कर्पोरेटहाउस, सरकारी-गैरसरकारी संस्था एवं विदेशी नियोगहरुलाई मात्र टेलिकमको यो सेवा पाउँदै आएका थिए। 'कम्पनीको यो सेवा खरिद गरी सेवाको पहुँच भएको जुनसुकै क्षेत्रमा प्रयोग गर्न सकिन्छ', नेपाल टेलिकमद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ। टेलिकमले एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्कसँग सहकार्य गरी वाइम्याक्स प्रविधिको इन्टरनेट सेवा सर्वसाधारणलाई प्रदान गर्न लागेको हो। टेलिकमले यी दुई कम्पनीले ल्याएका सीपीइ (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) सँग 'बन्डलिङ' गरी सेवा बिक्री गर्नेछ। यो सेवा हाल सुन्धारा, जउलाखेलस्थित कम्पनी काउन्टर तथा पुतलीसडक, दरबारमार्ग, कुपन्डोल र नयाँ बानेश्वरस्थित निजी कम्पनीका बिक्री केन्द्रमार्फत् वितरण गरिनेछ। राजधानी बाहिरका मुख्य सहरहरु बिराटनगर, पोखरा, चितवन, बुटवल, धनगढी र महेन्द्रनगरमा निजी कम्पनीले सम्पर्क कार्यालयबाट वाइम्याक्स सेवा पुर्‍याइने टेलिकमले जनाएको छ।
गत कात्तिकदेखि टेलिकमले वाइम्याक्स प्रविधिको इन्टरनेट सेवा सञ्चालनमा ल्याएको थियो। पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, बित्तीय संस्था, कुटनीतिक नियोग, सरकारी एवं गैरसरकारी संस्थाहरुलाई मात्र यो सेवा वितरण गरिएको थियो। वाइम्याक्स प्रविधि हाल नेपालमा उपलब्ध इन्टरनेट सेवाहरुमध्ये सबैभन्दा आधुनिक फोजी प्रविधिको सेवा हो। उपभोक्ताले यो प्रविधिमार्फत् इन्टरनेट चलाउनका लागि सीपीइ खरिद गर्नुपर्नेछ। यो उपकरण आउटडोर, इनडोर र युएसबी डङ्ग्ले गरी तीन किसिमका रहने टेलिकमका सहायक प्रवक्ता राजेश जोशीले बताए। आउटडोर डिभाइसले टावरदेखि १५ किलोमिटर, इनडोर डिभाइसले ५ किलोमिटर र युएसबी डङ्ग्लेले २ किलोमिटर टाढासम्मको सिग्नल लिई इन्टरनेट चलाउन सकिने उनले जानकारी दिए। टेलिकमले वाइम्याक्स प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि हाललाई २५६ केबीपीएस, ५१२ केबीपीएस र १ एमबिपीएस वा सो भन्दा बढी क्षमताको आधारमा १ महिना, ३ महिना र एक वर्षको प्याकेजको महसुसल दर निर्धारण गरेको छ। सर्वसाधारणले ३ महिनाको प्याकेज खरिद गर्दा सुरुको ३ महिनाको महसुलमा ५० प्रतिशत छुट प्रदान गरिने छ भने एक वर्षको प्याकेज खरिद गरी एकमुष्ट महसुल भुक्तानी गर्दा १५ प्रतिशत छुटको व्यवस्था गरिएको टेलिकमले जनाएको छ। त्यसैगरी मुलुकका सबै गाविस वा गाविसले सिफारिश गरेको एक स्थानमा २५६ केबिपीएस क्षमताको सेवा खरीद गर्दा ५० प्रतिशत छुट दिने टेलिकमले जनाएको छ।

No comments:

Post a Comment