Saturday, February 22, 2014

पाँच वर्षमा टेलिफोन १ सय ७३ रुपैयाँ सस्तियो

Telephoneकाठमाडौ, फाल्गुन ११ -ekantipur.com नेपाल टेलिकमका ग्राहकले औसत मासिक २२८ रुपैयाँ खर्च गर्ने गरेका छन् । कम्पनीले दिने जीएसएम मोबाइल, सीडीएमए, ल्यान्डलाइन र इन्टरनेटका उपभोक्ताबाट टेलिकमले गर्ने आम्दानी र ग्राहक संख्याको आधारमा उक्त तथ्यांक निस्किएको हो । मासिक रूपमा हेर्दा टेलिकमको सेवा गएको ५ वर्षभित्र १ सय ७३ रुपैयाँले सस्तिएको छ । आर्थिक वर्ष ०६५/६६ मा टेलिकमका विभिन्न सेवा उपभोग गर्दा मासिक औसत ४ सय १ रुपैयाँ खर्च हुन्थ्यो । गत वर्ष उक्त शुल्क २ सय २८ रुपैयाँ छ ।   विश्वव्यापी रूपमा दूरसञ्चार कम्पनीको बजार, नाफा लिन सक्ने क्षमता र विस्तार हेर्नका लागि यस्तो सूचक निकाल्ने गरिन्छ । जसलाई 'एभरेज रेभिन्यु पर युजर' भनेर बुझिन्छ । दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम मुलुकको एक मात्र पब्लिक लिमिटेड कम्पनी हो । जसले आफ्नो आय/व्ययको हिसाब किताब सार्वजनिक गर्छ । अन्य कम्पनीले भने आफ्नो विवरण दूरसञ्चार प्राधिकरण र कर कार्यालयमा मात्रै बुझाउँछन् । 'दूरसञ्चार सेवामा पहुँच बढ्दै गएपछि ग्राहकबाट हुने आम्दानी कम हुँदै जाने विश्वव्यापी प्रवृत्ति हो,' नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्, 'प्रतिस्पर्धा र अन्य कारणले गर्दा भ्वाइस सेवाबाट हुने प्रतिव्यक्ति आय घट्दै गए पनि डाटा सेवामा भने बढेको छ ।' गत आर्थिक वर्षको अन्त्यसम्म नेपाल टेलिकमको कुल ग्राहक संख्या १ करोड २४ लाख छ । जसमध्ये ३२ लाख ७७ हजार इन्टरनेटका ग्राहक छन् । नेपाल टेलिकमले आर्थिक वर्ष ०६९/७० मा ३४ अर्ब १० करोड ८४ लाख रुपैयाँ आय गरेको थियो ।

No comments:

Post a Comment