Thursday, September 25, 2014

प्राविधिक र अप्राविधिकको विवाद उत्कर्षमा, दसैं अफर घोषणा गर्न समेत कठिन, डर टेक्निकल अडिटको

कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं ।
नेपाल टेलिकमका इन्जिनियरहरु बिहान १० बजे कार्यालय पुग्छन् । आफ्नो कार्यकक्षमा जान्छन् । हाजिर गर्छन् र ११ बजेपछि प्रबन्ध निर्देशक (एमडी) बुद्धिप्रसाद आचार्यको कार्यकक्ष अघि भेला हुन्छन् ।

पाखुरामा कालोपट्टी बाँधेर टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीको दोस्रो तलामा टेलिकम बचाउ अभियान भन्दै हाते माइकमार्फत् आन्दोलनका भाषण गर्छन्, एमडी विरोधी नाराबाजी गर्छन् र एमडीको राजीनामा माग्छन् ।

राजीनामा नदिए टेलिकमका सबै सेवा अवरुद्ध पार्ने चेतावनी दिन्छन् । बेलुकी ५ बजेपछि आन्दोलनलाई निरन्तरता दिने भन्दै आआफ्नो घर फर्कन्छन् ।
...
 
टेलिकममै कार्यरत प्रशासन-लेखातर्फका कर्मचारी पनि १० बजे अफिस आउँछन् । पाखुरामा न कालो पट्टी लगाउँछन् । न त आन्दोलनमा सहभागी हुन्छन् । न त आन्दोलनका बारेमा चासो नै राख्छन् र एमडीको विरोध गर्छन् । बरु हप्तौदेखिको आन्दोलनले संस्थालाई पारेको असर र इन्जिनियरहरुको व्यवहारले कर्मचारीबीचको एकता टुट्ने र संस्थानै डुब्ने डरले भयवित देखिन्छन् ।

उनीहरु आफ्नो काम गर्छन् । काम नभए कार्यकक्षमै कम्प्युटर चलाउँछन् । फेसबुक खोल्छन् । अरु समाचार साइट हेर्छन् र बेलुकी घर फर्कन्छन् । आन्दोलनतिर टाउको फर्काएर समेत हेर्दैनन् ।

अहिले नेपाल टेलिकमका प्राविधिक (इन्जिनियर) र प्रशासनका कर्मचारीको दैनिकी हो यो ।

 
सरकारले गत साउन १९ गते टेलिकमका नायवप्रबन्ध निर्देशकमध्ये वरिष्ठ तहमा रहेका आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्ति गरेपछि कर्मचारीमा आएको विभाजनले टेलिकमको भविष्य कता ? भन्ने प्रश्न उब्जिएको छ ।

टेलिकमको प्रशासन तर्फका एक कर्मचारीका अनुसार अहिले इन्जिनियर र प्रसाशनका कर्मचारीबीच बोलचाल समेत बन्द हुने अवस्था आइसकेको छ । ती कर्मचारी भन्छन्, 'इन्जिनियरहरु प्रशासनका कर्मचारीलाई बुद्धिको मान्छे देख्छन् । हामीले उहाँहरुलाई विरोधी । दुई समूहमा बाँडिए जस्तै भएको छ टेलिकम । जुन कम्पनीको लागि हितकर छैन ।'

गत साउन १९ गते सरकारले टेलिकमका १५ नायवप्रबन्ध निर्देशकमध्ये एघारजना प्राविधिक समूहको हुँदा गैरप्राविधिक व्यक्तिलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको भन्दै इन्जिनियरले विरोध गरिरहेका छन् ।

प्राविधिकले गैरप्राविधिक व्यक्तिलाई प्रमुखको जिम्मेवारी दिएर सरकारले आफूहरूलाई अपमान गरेको ठानेका छन् । यही विरोधले टेलिकम कर्मचारी विभाजित भएका हुन् ।

विरोधमा उत्रिएका इन्जिनियरहरुले एमडी प्राविधिक(इन्जिनियर) क्षेत्रकै हुनुपर्ने माग राख्दै आन्दोलन गरेपनि टेलिकमको विनियमावलीमा एमडी प्राविधिक नै हुनपर्ने कतै उल्लेख छैन ।

विनियामावलीमा नायवप्रबन्ध निर्देशकमध्ये बरिष्ठलाई एमडी बनाउन सकिने उल्लेख छ । यही विनियामावलीमा टेकेर सूचना तथा सञ्‍चारमन्त्री मिनेन्द्र रिजालले आचार्यलाई एमडी बनाएका हुन् ।

टेलिकम ध्वस्त बनाउने खेल
इन्जिनियरहरु भने टेलिकमको इतिहासमा अप्राविधिकलाई एमडी बनाएको इतिहास नै छैन भन्दै इन्जिनियरलाई नै एमडीको कार्यभार दिइनु पर्ने नत्र टेलिकम 'ध्वस्त' हुने बताउँदै आएका छन् । ४१ वर्षसम्म इन्जिनियरले नै टेलिकमको नेतृत्व गर्दै आएका थिए।

इन्जिनियरहरुले 'अप्राविधिकले प्रविधि जानेका हुँदैनन् र उनीहरुले काम गर्न सक्दैनन्, दक्ष हुँदैनन्' भन्ने आरोप लगाउँदै आएका छन् । टेलिकमका एक वरिष्ठ कर्मचारी भन्छन्, 'इन्जिनियरहरुको यो आन्दोलन भनेको श्राद्धमा विरालो बाँध्ने परम्परालाई निरन्तरता दिनुपर्छ भन्ने हो । आन्दोलनले कुनै अर्थ राख्दैन ।' टेलिकममा रहेकामध्ये वरिष्ठलाई नै प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको र कम्पनीले स्थायी एमडी पाएको भन्दै इन्जिनियर बाहेक अन्य प्राविधिक, प्रशासन तथा लेखा समूहले भने स्वागत गरेका छन् । उनी भन्छन्, 'को मान्छे दक्ष र को अदक्ष भन्ने उसको काम नहेरी भन्न सकिन्न । आचार्यलाई कम्तिमा छ महिना काम गर्न दिएर विरोध वा समर्थन गरेको भए हुन्थ्यो। '

टेलिकमका पूर्व एमडीहरुले भने टेलिकममा इन्जिनियर नै बनाइनु पर्ने बताएका छन् । पूर्व एमडी सुगतरत्न कंसाकारले आन्दोलनलाई साथ दिँदै इन्जिनियर प्रमुख नभए टेलिकम डुब्ने बताएका थिए ।

केही वरिष्ठ नायवप्रबन्ध निर्देशकहरु पनि आचार्यको पक्षमा उभिएका छन् । उनीहरुको तर्क छ, 'सरकारले आचार्यको क्षमता देखेर नै एमडी बनाएको हो। यो आन्दोलनले प्रशासन र इन्जिनियरबीच पछिसम्म इख साँध्ने वातावरण बनाएको छ ।'

दसैं अफर ल्याउन कठिनाइ
यसरी पक्ष र विपक्षमा टेलिकमका कर्मचारी उत्रिएपछि त्यहाँको कामसमेत प्रभावित हुन पुगेको छ । दसैंमा उपभोक्ताको लागि ल्याइन लागेको विशेष अफरहरु अनिश्चित बनेको छ भने कतिपय कामहरु ठप्प भएका छन् ।

कामै ठप्प पार्ने चेतावनी
त्यसो त इन्जिनियरहरुले अहिलेसम्म सेवामा कुनै अवरोध नगरिएको बताउँदै आएका छन् । नेपालभरी रहेका टेलिकमको कार्यालयमा रहेका इन्जिनियरहरु आन्दोलनमा सहभागी हुन राजधानी आएका छन् ।

टेलिकम सुन्धाराका एक इन्जिनियर भन्छन्, 'काम नगर्ने इन्जिनियरहरुलाई आन्दोलनले फाइदा पुगेको छ । तर हामीलाई भने आन्दोलनमा आउन नपरे हुन्थ्यो जस्तो लागेको छ ।'

यदि एमडीले पद नछाड्ने हो भने टेलिकमको सबै सेवा ठप्प पारेर इन्जिनियरहरु आन्दोलनमा उत्रिने चेतावनी दिँदै आएका छन् । नेपाल टेलिकम प्राविधिक समूह संघर्ष समितिका सह-संयोजक शालिकराम पराजुली भन्छन्, 'हाम्रो माग नसुन्ने हो भने हामी सेवा नै ठप्प पार्छौं । यसको जिम्मेवारी सरकार र एमडीले लिनुपर्छ ।'

यसरी सेवा नै ठप्प पार्छु भन्ने इन्जिनयरहरुको भनाइलाई गैरजिम्मेवारी कदम भन्न रुचाउँछन् टेलिकमका अर्का इन्जिनियर । 'सेवा नै ठप्प भएको जिम्मेवारी एमडीले नै लिनुपर्ने इन्जिनियरहरुले बताएपनि यसको असर पछि इन्जिनियसरहरु नै व्यहोर्नु पर्नेछ,' ती इन्जिनियर भन्छन् ।

आफू हुन नपाएपछि आन्दोलन उक्साइयो
टेलिकमका एक कर्मचारीका अनुसार कतिपय नायवप्रबन्ध निर्देशकले आफू एमडी हुन नपाएपछि आन्दोलन गर्न उक्साएका हुन् । 'हिजोसम्म आफू कसरी एमडी हुने भनेर शक्ति केन्द्र धाउनेहरु आज आफूले कुर्सि नपाएको रिस इन्जिनियरहरु मार्फत संस्थामा पोख्दैछन,' ती कर्मचारी भन्छन् ।

उनका अनुसार कतिपयको आउँदो मंसिरमा कार्यकाल सकिने र कति नायवप्रबन्ध निर्देशकको दुई वर्ष पनि कार्यकाल बाँकी छैन । दुई वर्ष कार्यकाल बाँकी रहेका नायवप्रबन्ध निर्देशक आचार्यलाई हटाएर आफू बन्ने दाउमा छन् ।

तर सरकारले आचार्यलाई दुई वर्षको लागि एमडी बनाएको छ । आचार्यले दुई वर्ष नै एमडी खाने भएपछि आफ्नो पालो नआउने भन्दै कतिपय वरिष्ठ इन्जिनियरहरु आचार्यको राजीनामा मागिरहेका छन् ।

टेक्निकल अडिटको डर
यो भन्दाअघि टेलिकममा टेक्निकल अडिट नहुने तर आचार्य आएपछि त्यो अडिट सुरु हुनसक्ने र फ्याक्ट्री इन्स्पेक्सन्, मर्मत तथा संहार तथा सिस्टममा हुने अपारदर्शीता बाहिर आई कमाई खाने बाटो बन्द हुन सक्ने भएपछि पूर्व एमडीहरु समेत डराएका हुन् । आफूले गरेका आर्थिक कारोबारमा तानिन सक्ने आशंका भएपछि आन्दोलन गर्ने र गराउने कार्य भएको टेलिकम कर्मचारी बताउँछन् ।

नेपालमा अहिलेसम्म टेक्निकल अडिट नगरिने हुँदा पूर्व एमडीहरुले आफ्नै सिस्टम राख्ने, आफैं सञ्चालन गर्ने र आफैं अप्रुभ गर्ने भएकोले आफ्ना कमीकमजोरी बाहिर आउँछ कि भनेर झस्का पसेकोले पनि आन्दोलन गरिएको ती कर्मचारी बताउँछन् । आचार्यले संस्थागत कमजोरी बाहिर ल्याउन सक्ने आशंका देखेर डराएको उनको दाबी छ ।

आन्तरिक लेखपरीक्षणले पटक-पटक टेक्निकल अडिट गर्नैपर्ने सुझाब दिएको भए पनि यो कुरालाई पूर्व एमडी तथा व्यवस्थापकहरुले वेवास्ता गर्दै आएका छन् ।

टेलिकममा इन्जिनियर मात्र प्रमुख छैनन्
विश्वका नाम चलेका टेलिकम सेवा प्रदायक कम्पनीमा इन्जिनियर नै प्रमुख कहिँ पनि छैनन् । तर ती सेवा प्रदायक कम्पनीहरु नाफामूलक बनिरहेका छन् । स्तरीय सेवा उपभोक्तालाई दिइरहेका छन् ।

चाहे त्यो नेपालको एनसेल नै होस् या त अमेरिकाको एटिएन्टी वा भारतको रिलायन्स वा एयरटेल वा चीनको चाइना मोबाइल नै किन नहोस् यी सबै कम्पनीका प्रमुख इन्जिनियर छैनन् ।

एमविएस्कुलडटकमको तथ्याङ्क अनुसार विश्वकै सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी चाइना मोबाइलका सिइओ तथा निर्देशक वाङ सिवाउचु पनि इन्जिनियर होइनन् । उनले व्यापार व्यवस्थापनमा पिएचडी छन् ।

अमेरिकाको चर्चित र विश्वको दोस्रो टेलिकम सेवा प्रदायक एटिएन्टिमा अहिले भएका अध्यक्ष तथा सिइओ र्‍यान्डेल एल इस्टेभेन्सन गैरप्राविधिक हुन् । उनले युनिभर्सटी अफ अक्लोहामाबाट एमबिए गरेका छन् ।

अमेरिकाकै टि-मोबाइलका सिइओले तथा अध्यक्ष जोन लेगिरे पनि वाणिज्य शास्त्रमा नै स्नातकोत्तर छन् । यो अमेरिकाको ठूलो टेलिकम सेवा प्रदायक कम्पनी मध्ये एक हो ।  

यस्तै भारती एयरटेल कम्पनीका सिइओ क्रिस्टियन एमडिफारिया पनि इन्जिनियर हैनन् । यस्तै एनसेलका इरिम टाइलानलर पनि इन्जिनियर हैनन् । उनले इन्टरनेसनल विजनेशमा एमबिए गरेका छन् ।

को को छन् एमडीकाे अाकां‌क्षी ?
टेलिकमको प्रबन्ध निर्देशकको दौडमा पूर्वप्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई, नायवप्रबन्ध निर्देशक मधुसुदन कर्माचार्य, विष्णुप्रसाद कसजु, शिवभूषणलाल यादव, श्यामसुन्दरप्रसाद यादव, राजेन्द्र नकर्मी र सुरेन्द्र थिके थिए । 

यसैगरी जुनियर नायवप्रबन्ध निर्देशकहरु नीरजकुमार अधिकारी,  सूर्यभक्त पोखरेल, पद्मा केसी, कामीनीराज भण्डारी, देवनारायण यादव र वीरेन्द्रबहादुर शाक्य  थिए । तर यी जुनियर प्राविधिक भने एमडीको दौडमा छैनन् । यीमध्ये निरजकुमार अधिकारी, सूर्यभक्त पोखरेल र पद्मा केसी गैरइन्जिनियर हुन् । अरु सबै सबै इन्जिनियर हुन् ।

तर, टेलिकमको व्यवस्थापनले भने प्राविधिक समूह बनाएर गरिएको आन्दोलनको कुनै अर्थ नभएको जनाएको छ । सरकारले उपयुक्त व्यक्ति छानेर नै जिम्मेवारी दिएको बताउँदै प्रशासनका ती कर्मचारी भन्छन्, 'मन्त्रीले सबैको पर्फरमेन्स हेरेर नै आचार्यलाई नियुक्ति सिफारिश गर्नु भएको हो । आफू प्रबन्ध निर्देशक हुन नपाउँदाको रिस आन्दोलनबाट पोखेर हुँदैन ।'

उनका अनुसार सरकारले कानुन सम्मत नै नियुक्ति गरेकोले इन्जिनियरहरुले गरेको आन्दोलनले कुनै असर पार्दैन । उनले भने, 'कानुनी हिसाबले पनि आचार्य नै बलियो देखिनुहुन्छ । सर्वोच्चमा गएर पनि केही हुँदैन ।'

आचार्य दशौँ तहबाट नेपाल टेलिकम प्रवेश गरेका हुन् । उनी विगत १५ वर्षदेखि टेलिकममा कार्यरत छन् । आचार्यले भारतको दि इन्ष्टिच्युट अफ चार्टड एकाउन्टेण्टस अफ इण्डियाबाट चार्टड एकाउन्टेण्सी उत्तीर्ण गरेका छन् ।

यता टेलिकमका प्रबन्ध निर्देशक आचार्य भने परम्परा भन्दा पनि नियम कानुन र नेपाल सरकारको निर्णयलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । उनले केही साथीहरुलाई चित्त नबुझेको भए वार्ताबाट समस्या समाधान गर्न आफू तयार रहेको बताए । उनले भने, 'सरकारले सक्षमलाई नियुक्त गरेको होला । असन्तुष्टसाथीहरुसँग छलफल गरेर अघि बढ्छु ।'

टेलिकम प्रवक्ता सहित केही प्राविधिक नायवप्रबन्ध निर्देशक बिदामा बसेको छन् । तर विदा स्वीकृत भने भएसकेको छैन । टेलिकमका इन्जिनयरहरुको प्राविधिक समूहको विरोध भने पनि २८ सयको हाराहारीमा रहेका अप्राविधिक(गैर इन्जिनियर) हरुको आन्दोलनमा कुनै समर्थन छैन । उनीहरुले बेग्लै समूह गठन गरी आन्दोलन छोडेर बार्ताबाट समस्या समाधान गर्न अपिल गरिसकेका छन् ।

हप्तौ देखिको आन्दोलन बाट कम्पनीको अन्तरिक प्रसासनिक तथा अन्य कार्य समेतमा असर पुगेपछि प्रसाशन-लेखा तर्फका कर्मचारीले समेत सदभाब समिति गठन गरी व्यक्ति केन्द्रित अन्दोलनले निकास नदिने भएकोले बार्ताबाट समस्या समाधान गर्न अपिल गरेको छ ।
- See more at: http://www.bizmandu.com/content/-8889.html#sthash.dflsOG2z.dpuf

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete