Tuesday, January 1, 2013

पश्चिममा अप्टिकल फाइबर भारत जोडिएन


श्याम भट्ट, धनगढीपुस १८ -सुदूर र मध्यपश्चिमको तराईका भारतीय सीमासम्म अप्टिकल फाइबर पुगेको तीन वर्ष भइसक्दा पनि भारतसँग जोडिएको छैन। अप्टिकल फाइबर भारत जोडिन नसक्दा राष्ट्रिय सूचनासञ्जालको पूर्वी क्षेत्रमा कुनै समस्या पर्दा मध्य र सुदूरले पनि सञ्चार सम्पर्कबाट बाहिर बस्नुपर्ने अवस्था छ, अप्टिकल फाइबर सुदूरपश्चिमले सात वर्षदेखि राज्यसँग माग्दै आएका २१ मागमध्ये प्रमुख हो। सरकारको प्राथमिकतामा नपरेका कारण जमिनमुनि बिछ्याई सकिएको फाइबर भारत नजोडिएको हो। सञ्चार सञ्जाललाई प्रभावकारी र छरितो बनाउने अप्टिकल फाइबर भारतले आफ्नो पूर्वी सीमा उत्तराखण्ड राज्यको वनबासा हुँदै महाकाली नदीसम्म पुर्‍याएको छ भने नेपाललले पनि आफ्नो पश्चिमी सीमा गड्डा चौकीसम्म पुर्‍याएको छ। नेपालगन्जको रुपैडिया नाकासम्मसमेत अप्टिकल बिछ्याइएको तीन वर्ष भइसक्यो। नेपाल टेलिकम क्षेत्रीय कार्यालय कैलालीका कार्यकारी इन्जिनियर गोविन्दसिंह धामीका अनुसार भारत सरकारसँगको द्विपक्षीय वार्ता र सरकारको योजनामा नपर्दा बिछ्याइसकिएको अप्टिकल फाइबर काममा नआएको हो। सूचना सञ्जाललाई दोहोरो रूपमा राजधानी जोड्ने अप्टिकल फाइबरको जालो बुटवलसम्म मात्रै छ। सुदूर र मध्यमा कुनै समस्या आएमा राज्यको मुल सञ्चारमा जोड्ने वैकल्पिक सूचनामार्ग राज्यसँग छैन। बुटवल पश्चिम अप्टिकल फाइबरमा कुनै समस्या आए मध्य र सुदूरको सञ्चार सम्पर्क बिथोलिन्छ। यस्ता बेलामा रूपैडिया र गड्डाचौकी पुगेको मुलुकको फाइबर भारतसँग जोडिने हो भने सञ्चार सम्पर्कमा कुनै व्यवधान हुने थिएन। नयाँ प्रविधिको जमानामा ठूला तथ्यांक पठाउन गाह्रो भएकोमा अप्टिकल फाइबरको माग बढिरहेका बेला पुरानै प्रविधिले काम चलाउन मध्य र सुदूरको टेलिकम बाध्य छ।

मुलुकमा अहिलेसम्म विराटनगरवीरगन्ज र भैरहवामा मात्रै भारतसँग अप्टिकल फाइबर जोडिएको छ भने नेपालगन्ज र कञ्चनपुर सरकारको प्राथमिकतामा परेका छैनन्। नेपाल टेलिकमकी प्रवक्ता गुण केशरी प्रधानका अनुसार हामीसँग बुटवल पश्चिमका सुदूर र मध्यपश्चिमका लागि अप्टिकल फाइबरको वैकल्पिक रूट नुहँदा समस्या छ। यसपालि मध्य र सुदूरमा अप्टिकल फाइबरको वैकल्पिक रूटका लागि बजेटमा राख्ने प्रयास त भएको हो तर विभिन्न समस्याले त्यहा हुन सकेको छैन। खासगरी पछिल्लो समय विद्युत प्रसारण लाइनमार्फत अप्टिकल फाइबर लग्ने योजना आएपछि जमिनमुनि बिबछ्याइएको फाइबर ओझोलमा परेको हो। 'नेपाल विद्युत प्राधिकरणसँग पछिल्लो समयमा विभिन्न नाका र पहाड तिर अप्टिकल फाइबर पनि विद्युतीय प्रसारण लाइनसँगै लैजाने विषयमा वार्ता र पत्राचार भइरहेको छ,'उनले भनिन्। दक्षिण एसियाली(सार्क) मुलुकबीच एकीकृतरुपमा सञ्चार प्रवाहका लागि बनाउन लागिएको सूचना राजमार्ग(इन्फरमेसन हाइवे) सञ्चालनका लागि पनि पश्चिमी नाकामा अप्टिकल फाइबर जोड्नुपर्ने आवश्यकता छ। तरहालसम्म राज्यको प्राथमिकतामा सुदूर र मध्य पश्चिमको अप्टिकल फाइबर नपर्दा इन्फरमेसन हाइवेको लक्ष्य पूरा हुन सक्दैन।
सुदूर र मध्यमा एक वर्षमा 'थ्रीजी'
मोबाइल फोनमै तीव्र गतिको इन्टरनेट चलाउन र भिडियो कल गर्न मिल्ने प्रविधि प्रयोग गर्न मध्य र सुदूरका बासिन्दाले अझैं एक वर्ष कुर्नुपर्ने भएको छ। नेपाल टेलिकमका अनुसार यस क्षेत्रमा भिडियो कल गर्न मिल्ने र तिव्र गतिको इन्टरनेट चलाउन सकिने तेस्रो पुस्ताको मोबाइल सेवा(थ्रीजी) सञ्चालन हुन अझै एक वर्ष लाग्नेछ।
टेलिकमले हालै चिनियाँ दूरसञ्चार कम्पनी हुवावेसँग ५२ लाख आधारभूत मोबाइल सेवा (जिएसएम) विस्तारका लागि सम्झौता गरेको छ। यो सम्झौताअनुसार आगामी वर्षभित्र मध्य र सुदूरमा पनि थ्रीजी सेवा पुर्‍याउने लक्ष्य छ। टेलिकम प्रवक्ता प्रधान भन्छिन्, 'सबै काम समयमै भए एक वर्ष भित्रै सुदूर र मध्य पश्चिमका उपभोक्ताले तेस्रो पुस्ताको मोबाइल सेवा चलाउन पाउने छन्।'

No comments:

Post a Comment