Sunday, December 30, 2012

मोबाइलको गुणस्तर नसुधार्नेलाई कारबाही तयारी


काठमाडौं, पुस १६ (नागरिक)-तोकिएको मापदण्ड अनुसारको गुणस्तर कायम नगर्ने मोबाइल सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने तयारी गरेको छ।  मोबाइलको गुणस्तर राम्रो नभएको गुनासो आएपछि प्राधिकरणले कारबाहीको तयारी गरेको हो। प्राधिकरणका अध्यक्ष दिगम्बर झाले गुणस्तर कायम नगर्ने सेवा प्रदायकलाई कारबाही गरिने बताए।  'अहिले ग्राहकको राय संकलन गरिरहेका छौं,' उनले नागरिकसँग भने, 'ग्राहकको रायका आधारमा गुणस्तर कायम नगर्ने सेवा प्रदायकलाई कडा कारबाही गर्छौं।' प्राधिकरणले ग्राहकको राय संकलन गर्न गत सातादेखि नै सार्वजनिक सूचना जारी गर्दै आएको छ। सार्वजनिक सूचनामा मोबाइल सेवाको गुणस्तर मापदण्डबारे जानकारी दिइएको छ।  गुणस्तर मापदण्डको जानकारीसँगै प्राधिकरणले ग्राहकलाई गुनासो गर्ने व्यवस्था मिलाएको छ। प्राधिकरणले निकालेको सार्वजनिक सूचनामा मोबाइलको गुणस्तरबारे ग्राहकले फोन, फ्याक्स, इमेल, एसएमएसबाट गुनासो गर्नसक्ने उल्लेख छ। अध्यक्ष झाले केही समय ग्राहकको गुनासो संकलन गरेर त्यसका आधारमा सेवाप्रदायकलाई चेतावनी दिने बताए।  'ग्राहकको गुनासोका आधारमा हामी पहिलो चरणमा सेवा प्रदायकलाई गुणस्तर सुधार गर्न निर्देशन दिन्छांै,' झाले भने, 'गुणस्तर सुधार गर्न निर्देशन दिँदा पनि सेवा नसुधारे कडा कारबाहीमा जान्छांै।' झाले प्राधिकरणले मोबाइलको गुणस्तर कमजोर बनाएर ग्राहकलाई ठगी गर्ने सेवा प्रदायकलाई जरिवाना र ग्राहकको रकम फिर्ता गराउने लगायत कारबाही गर्ने जानकारी दिए। 
'ग्राहकको पैसा त्यत्तिकै लुटेर कुनै पनि सेवा प्रदायकले लान पाउँदैनन्,' उनले भने, 'कसैले लगेको छ भने त्यसलाई फिर्ता गराउनु र उपभोक्ताको हक संरक्षण गर्नु नियामक निकायको काम हो।' प्राधिकरणलाई गलत गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने अधिकार भएकाले त्यसैअनुरुपम कारबाही अघि बढाउने जानकारी दिए।  प्राधिकरणका अनुसार सेवा प्रदायकको गुणस्तरको मूल्यांकन मुख्य ५ वटा सूचकका आधारमा गरिने छ। सर्भिस एक्सेस डिले(डायल गरेपछि रिङ टोन आउन लाग्ने समय), कल सेटअप सक्सेस रेट(एक सय कल गर्दा कति कल सफल हुन्छ भन्ने औशत), कल ड्रप रेसियो(कुरा गर्दागर्दै बिचैमा टुट्ने कलको अनुपात), प्वाइन्ट अफ इन्टरकनेक्सन कन्जेसन(एक सेवा प्रदायकको नम्बरबाट अर्कोमा कल गर्दा सामना गर्नुपर्ने सर्किट अभाव) र कनेक्सन विथ गुड भ्वाइस क्वालिटी(कुराकानीका दौरान हुने व्यवधानहरु)लाई प्राधिकरणले मुख्य सूचक मानेको छ।  प्राधिकरणका अनुसार मोबाइलमा सर्भिस एक्सेस डिले समय १५ सेकेन्डभन्दा कम हुनुपर्नेछ। यसैगरी कल सेटअप सक्सेस रेट ९० प्रतिशतभन्दा बढी, कल ड्रप रेसिया ३ प्रतिशतभन्दा कम, प्वाइन्ट अफ इन्टरकनेक्सन कन्जेसन १ प्रतिशतभन्दा कम र कनेक्सन विथ गुड भ्वाइस क्वालिटी ९० प्रतिशतभन्दा बढी हुनुपर्छ।  झाले तोकिएको मापदण्ड पूरा नगर्ने जुनसुकै सेवा प्रदायकलाई प्राधिकरणले आवश्यक कारबाही अघि बढाउने बताए। 'नेपालको मोबाइल सेवाको गुाणस्तरबारे जहिले पनि गुनासो आउने गरेको छ,' उनले भने, 'यसलाई सुधार गर्न सेवा प्रदायकलाई जिम्मेवार बनाउनु पर्ने आवश्यक परेर हामीले ग्राहकको सुझाव संकलन गर्न थालेका हौं।

1 comment:

  1. Vanepaxi aba NTC ko GPRS chai 22nd century ma maatrai sudhrine pakkaa vo...........

    ReplyDelete