Monday, December 10, 2012

उपभोक्ताको कम्प्युटरमा वाइम्याक्स कहिले?


विष्णु पोखरेल, काठमाडौं, मंसिर २५ - मोबाइल बोक्ने धेरैले हिजो नेपाल टेलिकमबाट एउटा म्यासेज पाए। वाइम्याक्स वायरलेस ब्रोडब्यान्ड इन्टरनेट चलाउने एक वर्षे योजना लिनेहरुका लागि सीपीई निःशुल्क दिने अफरको यो म्यासेले दुरसंचार कम्पनीमाथि नै ब्यङ्ग्य गरिरहेको थियो। सीपीई नै अभाव देखाएर सर्वसाधारणलाई वितरण नगरिएको यो सेवाबारे सर्वसाधारणकै मोबाइल इनबक्समा म्यासेज आउनु अनौठो थियो। एक महिनाअघिदेखि व्यवसायिक संस्थालाई उच्चगतिको बेतारे इन्टरनेट सेवा वाइम्याक्स दिन सुरु गरेको नेपाल टेलिकमले सर्वसाधारण ग्राहकलाई भने हालसम्म वितरण गर्न सकेको छैन। व्यवसायिक संस्थालाई वितरण सुरु गरेपछि एक महिनाभित्र सर्वसाधारणलाई पनि वितरण गर्ने घोषणा गरेको कम्पनीले अझै केही समय वितरण नगर्ने भएको छ। वाइम्याक्स सेवा सञ्चालनका लागि आवश्यक पर्ने कस्टमर प्रिमिसेस इक्युपमेन्ट (सिपिई) आउन ढिलो भएकाले सर्वसाधारण ग्राहकलाई वाइम्याक्स सेवा दिने समय पछि सरेको हो।'सर्वसाधारणलाई वितरण गर्न सिपिई ल्याउँदै गरेकाले वाइम्याक्स योजना पछि सरेको छ,' टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्, 'कर्पोरेट ग्राहकका लागि भने पर्याप्त सिपिईको स्टक छ।' उनले कर्पोरेट क्षेत्रबाट माग बढिरहेकाले तत्काल सर्वसाधारणलाई वितरण गर्न कठिनाई भएको जानकारी दिइन्।डेस्कटप, ल्यापटप, स्मार्टफोनमा एकैपटक धेरै प्रयोगकर्ताले इन्टरनेट चलाउन मिल्ने वाइम्याक्सका लागि एडिएसएलको मोडेमजस्तै सिपिई आवश्यक पर्छ। सिपिईबिना वाइम्याक्स चलाउन नमिल्ने भएकाले टेलिकमले आवश्यक मौज्दात जम्मा नगरी सर्वसाधारणलाई वाइम्याक्स सेवा वितरण सुरु नगरेको हो। प्रधानले आवश्यक मात्रामा सिपिई आइपुगेपछि तत्कालै सर्वसाधारणलाई वितरण सुरु गर्ने जानकारी दिइन्।


वाइम्याक्सका लागि तीन प्रकारको सिपिई जडान गर्न सकिन्छ। टावरभन्दा निकै टाढा इन्टरनेट चलाउन आउटडोर सिपिई चाहिन्छ। आउटडोर सिपिईले टावरबाट ५ देखि २० किलोमिटर टाढासम्म पनि इन्टरनेट चलाउन मिल्छ। यसलाई घर बाहिर भित्ता वा छतमा राख्नुपर्छ। सिपिईले टावरबाट फ्याँकिने सिग्नललाई तानेर इन्टरनेट चलाउन सजिलो बनाउँछ।

घरभित्र राख्नेगरी 'इनडोर सिपिई' हुन्छ। टावरबाट चार किलोमिटरसम्म पनि यो सिपिईबाट इन्टरनेटलाई चलाउन सकिन्छ। यसलाई पावर दिएपछि एकैपटकमा तार वा वायरलेस बनाएर धेरैले इन्टरनेट चलाउन सक्छन्। सानो कार्यालयका लागि इनडोर सिपिई उपयुक्त हुन्छ। घरमा एकैपटक डेक्सटप, ल्यापटप, स्मार्टफोन चलाउनेलाई यो सिपिई उपयुक्त हुन्छ।
ल्यापटप, डेक्सटप लगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन युएसबी हुन्छ। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोकेमा युएसबीबाट दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ।
अहिले बजारमा सिपिई सजिलै किन्न पाइँदैन। नेपालमा सेवा सञ्चालन नभइसकेको हुँदा डिभाइस किन्न नपाइएको हो। बजारमा किन्न नपाइने भएकाले टेलिकमले बिक्रेतासँग मिलेर बन्डलिङमा सिपिई ग्राहकलाई दिने व्यवस्था मिलाएको छ।
टेलिकमले आउटडोर सिपिईलाई १६ हजार र इनडोरलाई १२ हजारमा उपलब्ध गराउदै आएको छ। वाइम्याक्समार्फत ग्राहकले न्यूनतम २ सय ५६ किलोबिट प्रति सेकेन्ड गतिको इन्टरनेट चलाउन सक्छन्। प्रधानका अनुसार टेलिकमले हाल राजधानी सहि बनेपा र धुलिखेलमा पनि सेवा सुरु गरिसकेको छ। अन्य मुख्य सहरमा पनि वाइम्याक्स सेवा सुरु गर्न टावर बनाउने काम भइरहेको छ। अहिले टेलिकमले कर्पोरेट ग्राहकका लागि प्रति मिगाबिटको ९ पैसाका दरले वाइम्याक्स इन्टरनेट उपलब्ध गराएको छ। कम्पनीले नेपाल दुरसञ्चार प्राधिकरणबाट भोलम बेस(चलाएको आधार)मा वाइम्याक्सको शुल्क स्वीकृत गराइसकेको छ।
ग्राहकले २ सय ५६ किलोबिट प्रतिसेकेन्ड स्पिडका लागि कम्तीमा ५ जिबी लिनुपर्ने टेलिकमले जनाएको छ। त्यसको मूल्य ६ सय ५० रुपैयाँ पर्छ। यही स्पिडमा १० जिबीलाई एक हजार एक सय छ भने सबैभन्दा बढी ३० जिबीको दुई हजार पाँच सय रुपैयाँ पर्छ।
५ सय १२ केबिपिएस स्पिडका लागि कम्तीमा ८ जिबीको प्याकेज तयार गरिएको छ। ८ जिबीको महसुल ८ सय ५० रुपैयाँ छ। यो स्पिडमा १२, २० र ३० जिबीको प्याकेज बनाइएको छ।

1 comment: