Tuesday, December 17, 2013

टेलिकममा तीन महिनादेखि सीआरवीटी बन्द

nepal-telecom२ मंसिर, काठमाडौं ।Onlinekhabar.com नेपाल टेलिकमका मोबाइलमा तीन महिनादेखि नयाँ सीआरवीटी -कलर रिङ ब्याक टोन) अपलोड हुन बन्द भएको छ । नेपाली गीत संगीतको एकमात्र बाँच्ने आधार बनेको सीआरवीटी बन्द हुँदा त्यसको प्रत्यक्ष असर नेपालको संगीत उद्योगमा परेको छ ।
एल्बम बिक्री बन्दप्रायः अवस्थामा रहेको नेपाली संगीत बजारमा अहिले नयाँ गीत संगीत निस्कने भनेकै सीआरवीटीबाट दुई चार पैसा आम्दानी होला भन्ने आशमा हो । तर, नेपालको सीआरवीटी बजारको करिव ४० प्रतिशत हिस्सा ओगटेको नेपाल टेलिकमा तीन महिनायता कुनै पनि नयाँ गीत अपलोड हुन सकेको छैन् ।
नेपाल टेलिकममा सिस्टम एगि्रगेटरका रुपमा काम गरिरहेको हाइलाइट्स नेपालका अध्यक्ष ओम गुरुङले भन्नुभयो-’सिस्टम बिगि्रएको भन्दै तीन महिनादेखि नयाँ गीत लिन बन्द गरेको छ, हामीकहाँ गीत जाम भइसके ।’
नयाँ गीत अपलोड हुन नसक्दा सीआरवीटी डाउनलोड पनि ठप्पप्राय भएको संगीत उद्योगीहरु बताउँछन् । ‘टेलिकमबाट दिनमा करिव १० हजार गीत डाउनलोड हुन्थे’ नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढाले भन्नुभयो-’नयाँ गीत अपलोड नहुँदा डाउनलोड लगभग ठप्पै भएको छ ।’
बुढाका अनुसार नेपालको सीआरवीटी बजारमा नेपाल टेलिकमको हिस्सा करिव ४० प्रतिशत छ । बाँकी करिव ५५ प्रतिशत एनसेल ५ प्रतिशत हिस्सा युटिएल र स्मार्ट टेलिकमको रहेको छ ।
‘सेवा भरपर्दो बनाउन नसक्दा टेलिकमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ’ बुढाले भन्नुभयो-’वर्षमा आधाजसो समय सिस्टम बिगि्रएको भन्दै गीत अपलोड बन्द हुन्छ, यसले नेपाल टेलिकम र संगीत उद्योग दुवैलाई घाटा भइरहेको छ ।’
नेपाल टेलिकमले भने जेडटीईको पुरानो सीआरवीटी सिस्टमलाई हुवाईले प्रतिस्थापन गर्न लागेका कारण केही समय अबरुद्ध भएको बताएका छ ।
सिष्टममा टेक्निकल समस्या देखिएपछि नयाँ गीतहरु अपलोड हुन नसकेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो । ‘पुराना अपलोड भइसकेका गीतहरु सीआरवीटी राख्न सकिन्छ’ उहाँले भन्नुभयो- ‘नयाँ गीतहरु अपलोड सुचारु गर्न प्राविधिकहरु लागिरहेका छन् ।’ उहाँका अनुसार केही दिनमा नै समस्याको समधान हुने छ । टेलिकम, सर्जक, म्यूजीक कम्पनीहरु सबैको राम्रो आयस्रोतको रुपमा रहेको सीआरवीटीका लागी नयाँ गीतहरु अपलोड सुचारु गर्न आफुहरु प्रयासरत रहेको उहाँले दाबी गर्नुभयो ।
गीत अपलोड सुचारु गर्न संगीत उद्यमीहरुले नेपाल टेलिकमलाई ताकेता गरिरहँदा पनि सुरु हुन सकेको छैन् । संगीत उद्यमी संघका बुढा भन्नुहुन्छ-’हामीलाई तीन दिनमा सिस्टम बन्छ भनिएको पनि १५ दिन बितिसक्यो, अझै सुरु हुन सकेको छैन् ।’

No comments:

Post a Comment