Thursday, December 19, 2013

टेलिकम नेतृत्वबिहीन हुँदा ठूला निर्णय प्रभावित

प्रकटकुमार शिशिर, नागरिक काठमाडौं—प्रबन्ध निर्देशक नहुँदा नेपाल टेलिकमको नीतिगत तथा पूर्वाधारको काम प्रभावित हुन थालेको छ। टेलिकम दुई महिनाभन्दा बढी समयदेखि उच्च नेतृत्वबिहीन अवस्थामा छ। प्रबन्ध निर्देशक अमरनाथ सिंहको पदावधि गत असोजमा सकिए पनि नयाँ नियुक्ति नहुँदा कम्पनीको नयाँ निर्णय, नीतिगत विषय र पूर्वाधारमा समस्या देखिन थालेको हो । दूरसञ्चार क्षेत्रमा उच्च प्रतिस्पर्धाबीच टेलिकमले बनाएका नयाँ योजना कार्यान्वयन गर्न नेतृत्व आवश्यक पर्छ ।सिंह निमित्तको रुपमा अझै टेलिकममा भए पनि उमेरमा विवाद उठेपछि कार्यालय जान छाडेका छन् । निमित्त प्रबन्ध निर्देशक सिंहलाई सञ्चार मन्त्रालयले गत आइतबार पदावधि सकिएको पत्र पठाएको थियो । नागरिकताअनुसार गत असारमा उनको अनिवार्य अवकाशको उमेर ५८ वर्ष पुगेको छ । नेतृत्व नहुँदा टेलिकममा नीतिगत निर्णय हुन सक्दैन,' पूर्व महानिर्देशक चेतप्रसाद भट्टराईले भने, 'टेलिकम क्षेत्रमा चर्को प्रतिस्पर्धा छ, दिनहुँ नयाँ प्रविधि र सेवा प्रदान गर्ने बेला नेतृत्व नै नहुँदा ठूलो घाटा लाग्छ।' उच्च प्रतिस्पर्धा चलिरहेको बेला नयाँनयाँ योजना ल्याएर आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने बेला लामो समय नेतृत्वबिहीन राख्दा बजार हिस्सा गुमाउँदै गएको टेलिकमलाई झन् समस्या हुने उनले बताए। टेलिकम सहप्रवक्ता राजेश जोशीले ठूला निर्णय बोर्डबाट र दैनिक काम निमित्त र सिनियर कर्मचारीबाट हुँदै आएको बताए । 'अहिले त्यस्तो ठूलो समस्या त देखिएको छैन, तर नेतृत्व चाँडै चाहिन्छ,' उनले भने। अहिले नेपाल टेलिकम १० अर्बको परियोजनामार्फत नेटवर्क विस्तारमा लागेको छ । उसले जिएसएम मोबाइलको लागि नेटवर्क विस्तार गर्न लागेको हो। काठमाडौंभित्र नेटवर्क विस्तार गरी गुणस्तर सुधारको काम भर्खर सकेको टेलिकमले उपत्यकाबाहिर पनि सोहीअनुरुप काम गरिरहेको छ। डाटाका लागि इभिडिओ, वाइम्याक्स लगायतलाई प्रभावकारी बनाउन नयाँ योजना बनाएको टेलिकम जिएसएम सेवामा एनसेलभन्दा पछि छ।
सञ्चार मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले नयाँ प्रबन्ध निर्देशक केही समयपछि नियुक्त हुने बताए । 'अहिले नयाँ प्रबन्ध निर्देशकको विषयमा छलफल चलिरहेको छ, केही दिनभित्र नयाँ निर्णय हुन्छ,' उनले भने । पूर्वाधारमा जोड दिएको टेलिकममा नयाँ निर्णय गर्न सञ्चालक समितिको बैठक बस्नुपर्ने हुन्छ । निर्णयलाई योजनाबद्ध रुपमा अगाडि बढाउन प्रबन्ध निर्देशक आवश्यक पर्ने भएकाले तत्काल नयाँ नियुक्ति आवश्यक रहेको कर्मचारी बताउँछन् । टेलिकमले गत वर्ष ५ अर्ब १८ करोडको उपकरण आयातका लागि सिफारिस लिएको थियो । गत वर्ष यसले १ करोड जिएसएम मोबाइल लाइन विस्तारको महत्वाकांक्षी योजना ल्याएको थियो । यो वर्ष पनि पूर्वाधार र सेवा विस्तारमा टेलिकमले जोड दिएको छ । 
'पहिलो प्रमाणित उमेरमै अवकाश'
नेपाल टेलिकम सञ्चालक समितिले उमेर हदबन्दीको विषयमा पहिला जुन प्रमाणपत्रका आधारमा ५८ वर्ष पुग्छ त्यसैअनुसार अवकाश दिने निर्णय गरेको छ । न्याय तथा कानुन मन्त्रालयको रायमा सञ्चार मन्त्रालयले गत आइतबार पहिला जुन प्रमाणपत्रको उमेर ५८ वर्ष पुग्छ त्यसैलाई आधार बनाउनुपर्ने राय दिएको थियो । सोही पत्रको आधारमा बुधबार बसेको बोर्ड बैठकले निर्णय लिएको हो। 'बैठकले जुन प्रमाणपत्रको आधारमा पहिले ५८ वर्ष पुग्छ त्यही मान्य हुने निर्णय गरेको छ,' सञ्चालक समिति सदस्य सुशील ओझाले नागरिकसँग भने, 'यो निर्णय टेलिकमका सबै कर्मचारीमा लागू हुन्छ ।' टेलिकमलाई सञ्चार मन्त्रालयले गत आइतबार नेपाल दूरसञ्चार कम्पनी विनियमावलीले 'जुन प्रमाणपत्रका आधारमा पहिले ५८ वर्ष पुग्छ, त्यसैका आधारमा पदावधि सकिने' व्यवस्था रहेको उल्लेख गर्दै पत्र पठाएको थियो। सञ्चार सचिव ध्रवप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले टेलिकमको केही पुराना सामग्रीलाई लिलामी गर्ने निर्णय गर्दै निर्देशनसमेत दिएको छ ।

No comments:

Post a Comment