Monday, April 28, 2014

इन्टरनेट डाटा व्यापारमा जोड दिँदै टेलिकम

Nepal-Telecom१५ बैशाख, काठमाडौं, onlinekhabar.com । इन्टरनेट डाटा प्याकेजमा ग्राहकहरुको आकर्षण देखिएको बताउँदै नेपाल टेलिकममा प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले आगामी दिनमा डेटाको व्यापारतर्फ केन्द्रीत हुने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले डाटाको व्यापारमा केन्द्रीत हुनुपर्ने बताएका हुन् । पछिल्लो समय इन्टरनेटका ग्राहकहरु डाटा प्याकेजमा आकषिर्त हुँदै गइरहेका छन् ।राजधानीका विभिन्न १२० स्थानमा हटस्पट वाईफाई सेवा सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै प्रबन्ध निर्देशक भट्टराईले छिट्टै देशका मूख्य-मूख्य शहरमा सेवा विस्तार गर्ने बताए । उनले उपत्यकाभित्रको मोबाइल सेवा नेटवर्कलाई थ्रीजीमा परिवर्तन गरिसकेको बताउँदै गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकम प्रतिवद्ध रहेको दाबी गरे । ‘लगानीलाई विविधिकरण गर्ने क्रममा टेलिकमले जलविद्युत परियोजनाहरुमा लगानी गरिसकेको छ’ भट्टराईले भने- ‘छिट्टै आइटी कम्पनी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’ आगामी दिनमा नयाँ सेवा ग्राहकसामु ल्याउँदै जाने उनले कार्यक्रममा प्रतिवद्धता जाहेर गरे । अहिले नेपाल टेलिकम इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्ये नम्बर वानमा रहेको छ । पाँच प्रकारका इन्टरनेट सेवा प्रदान गर्दै आएको टेलिकमका फागुन मसान्तसम्म ४० लाख ९२ हजार ११३ ग्राहक पुगिसकेका छन् । दोस्रो स्थानमा रहेको एनसेलका इन्टरनेट प्रयोगकर्ता ३८ लाख ५७ हजार ३ सय १९ जना ग्राहकहरु रहेका छन् ।
टेलिकमका अनुसार डायलअप सेवा लिने ४ हजार ७ सय ३६, एडीएसएल सेवा लिने १ लाख १९ हजार २ सय ८५, जीपीआरएस, इडीजीई, डब्लुसीडीएमए सेवा लिने ३८ लाख २४ हजार ७३, सीडीएमए आईएक्स र इभिडीयो सेवा लिने १ लाख ३६ हजार ५ सय ७३ र वाइम्याक्स सेवा लिने ७ हजार ४ सय ४६ जना रहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको म्ााघ मसान्तसम्मको तथ्यांक हेर्दा भ्वाइस सेवा प्रदान गर्ने कम्पनीमा नेपाल टेलिकम दोस्रो नम्बरमा परेको छ । यस अवधिसम्म टेलिकमका ग्राहकहरु १ करोड ६० हजार ५७ जना पुगेका छन् । पहिलो नम्बरमा रहेको एनसेलका ग्राहक संख्या १ करोड १० लाख ५९ हजार ८२ जना पुगेका छन् । तथ्यांकअनुसार युटिएलका ग्राहकहरु ७ लाख ३२ हजार ३ सय ३७  जना पुगेका छन् । टेलिकमको जिएसएम मोबाइल सेवाका प्रयोगकर्ता ८४ लाख २९ हजार ४०, सीडीएमए प्रयोगकर्ता ११ लाख ७१ हजार १३, फिक्स्ड लाइनका ६ लाख ४७ हजार ८ सय २ र मार्ट्स, भिएचएफ, भी-एसटी, एनटी स्याटका प्रयोगकर्ता १ हजार १ सय १८ जना रहेका छन् । वि.सं. १९७० को दशकमा मुलुकमा दूरसञ्चार सेवा सुभारम्भ गरेको टेलिकम २०३२ सालमा नेपाल दूरसञ्चार संस्थानमा परिणत भएको थियो । त्यसपछि वि.सं. २०६१ बैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा परिणत भएको अन्तरक्रिया कार्यक्रममा सह-प्रवक्ता राजेश जोशीले बताए । सह-प्रवक्ता जोशीका अनुसार कम्पनी स्थापना हुनु अगाडी टेलिकमका ग्राहकहरु ४ लाख २२ हजार रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा १ करोड २ लाख नाघिसकेका छन् । कम्पनी स्थापना हुनु अगाडी ७ अर्ब ६६ करोड राजश्व बुझाउने कम्पनीले गत आर्थिक वर्षमा ३८ अर्ब ८५ करोड रुपैयाँ राजश्व सरकारलाई बुझाउन सफल भएको जोशीले बताए । टेलिकमले विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ । अन्तरक्रियामा दिइएको जानकारीअनुसार कम्पनीले खेल क्षेत्रमा, वातावरण संरक्षणमा, सांस्कृतिक क्रियाकलापमा, अशक्त नागरिकहरुका लागि, विपद व्यवस्थापनका लागि विभिन्न संघ संस्थालाई, ग्रामिण स्वास्थ्य सेवा सुधारमा सहयोग गरेको छ ।

No comments:

Post a Comment