Monday, April 28, 2014

बजार हिस्सा बढाउँदै टेलिकम

काठमाडौं- मङ्गलबार १६ बैशाख, २०७१, नागरिक  नेपाल टेलिकमले सेवा र गुणस्तरलाई आक्रमक रुपमा विस्तार र सुधार गर्ने भएको छ। टेलिकमको प्रतिस्पर्धी बजारमा थप सेवा विस्तार गरी गुणस्तरलाई सुधार गर्ने टेलिकमले थि्रजी सेवा दिने भएको छ। टेलिकमले दूरसञ्चार बजारमा आफ्नो हिस्सा बढाउन र सेवाग्राहीलाई नयाँ सेवा सुविधा प्रदान गर्ने योजनाबद्ध तरिकाले काम गरेको जनाएको छ। टेलिकमले आफ्नो सेवा, सुविधा, अवस्था र योजनाका विषयमा जानकारी दिन सोमबार राजधानीमा पत्रकार अन्तर्क्रिया कार्यक्रम गर्दै थप सेवा प्रदान गर्ने र गुणस्तरमा व्यापक सुधार ल्याउने प्रतिबद्धता जनाएको हो।  टेलिकमले उपत्यकाभित्रको मोबाइल सेवाको नेटवर्कलाई थि्रजीमा परिवर्तन गरेको छ। नेटवर्क परिवर्तन गर्न २ वटा लटमा ४ सय १५ वटा बिटिएस टावरहरुमा नयाँ उपकरण जडान गरी सञ्चालन गरेको जनाएको छ। टेलिकमले जेटिइद्वारा निर्माण गरेको पुरानो नेटवर्कलाई हुवाइ कम्पनीको थि्रजी सेवाको जिएसएम नेटवर्कमा प्रतिस्थापन गरेको छ। डाटाको प्रयोगकर्ता बढ्दै गएपछि टेलिकमले उच्च गतिको थि्रजी सेवा सञ्चालन गरेको हो। कम्पनीले नयाँ उपकरणका कारण डाटा र भ्वाइस सेवा दुवैको गुणस्तरमा सुधार आएको जनाएको छ। टेलिकमले चाँडै देशभर थि्रजी र वाइफाइ हटस्पट सेवा विस्तार गर्ने जनाएको छ। टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले काठमाडौं उपत्यकाभित्रका मोबाइलमा नयाँ नेटवर्क परिवर्तन गरेसँगै मोबाइल सेवाका बिटिएसहरुलाई अप्टिकल फाइबरले जोडेको बताए। उपत्यकाभित्रका अधिकाँश टावरलाई अप्टिकल फाइबरले जोडेको र विस्तारै अरु टावरहरुमा पनि जोडिने प्रक्रियामा रहेको छ, उनले भने। टेलिकमले मुलुकभर जिएसएम मोबाइलको एक करोड लाइन विस्तार गर्ने योजना निरन्तर अगाडि बढेको र प्याकेज ए र बी गरेर छुट्टाइएको योजनाअनुसार अधिकाँश टावरमा थि्रजी मोबाइल सेवाका उपकरण जडान भएको उनले बताए।
टेलिकमले डाटाको व्यापारमा केन्द्रित हुन आइटी कम्पनी सञ्चालन गर्नका लागि अध्ययन गरिरहेको जनाएको छ। टेलिकमले सहायक कम्पनीमार्फत निजी कम्पनीसँगको साझेदारीमा आइटी कम्पनी स्थापना गर्ने भएको हो। इन्टरनेटमा आधारित हरेक कुरा निर्माण गर्नका लागि टेलिकमले अध्ययन गरेर चाँडै नै कम्पनी स्थापना गर्ने जनाएको छ। टेलिकमले इन्टरनेट कन्टेन निर्माण गर्नका लागि कम्पनी स्थापना गर्न लागेको हो। त्यस्तै ग्राहक सेवा केन्द्र ६ महिनाभित्र सञ्चालन गर्ने टेलिकमले जनाएको छ।  टेलिकमले काठमाडौंसँगै देशका प्रमुख सहरहरुमा वाइम्याक्स प्रविधिको वाइफाइ सेवा सञ्चालन गरेको जनाएको छ। टेलिकमले पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटा त्यस्तै मध्यमाञ्चलको धनुषा, महोत्तरी, चितवन, पर्सा र वारामा वाइफाइ सञ्चालन गरिसकेको छ। पश्चिमाञ्चलको कास्की, गोर्खा, रुपन्देही, नवलपरासी र पाल्पा र मध्यपश्चिमाञ्चलको बाँके, सुर्खेत, दाङ र जुम्ला, सुदुर पश्चिमाञ्चलको कञ्चनपुर, कैलाली, डोटी र बैतडी जिल्लाको प्रमुख सहरका वाइफाइ सेवा सञ्चालन भएको र अन्य जिल्लाहरुमा उपकरण जडानको काम भैरहेको टेलिकमले जनाएको छ।  टेलिकमले रणनीतिक साझेदारी भित्राउने प्रक्रियालाई तीब्रता दिएको बताउँदै केही कम्पनी इच्छुक देखिएको जनाएको छ। प्रबन्ध निर्देशक भट्टराइले रणनीतिक साझेदारीको काम द्रुत गतिमा भैरहेको र चाँडै नयाँ निर्णय हुने बताए। हामीले हाम्रो सेवा र गुणस्तरमा लगानी गर्दै जलविद्युतमा समेत लगानी गरिहेको उनले बताए। हामीले उपल्लो तामाकोशीमा ६ अर्ब ऋण सहयोग र त्रिशुली त्रि बीमा २० प्रतिशत साझेदारी गरेको उनले बताए। टेलिकमको टेलिफोन सेवाको ग्राहक फागुन मसान्तसम्ममा १ करोड २ लाख ४९ हजार पुगेको छ। जिएसएम मोबाइलको ८४ लाख २९ हजार, सिडिएमए फिक्स्ड तथा मोबाइल सेवाका ग्राहक ११ लाख ७१ ह्जार तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक ६ लाख ४७ हजार रहेका छन्। त्यस्तै डाटा सेवा प्रयोगकर्ता ४२ लाख ४७ हजार पुगेको छ।

No comments:

Post a Comment