Monday, October 6, 2014

नेपाल टेलिकममा इन्जिनियरको अान्दोलन फिर्ता, व्यवस्थापनसँग नाै बुँदे सहमति


कञ्चन अधिकारी/बिजमाण्डू

काठमाडौं ।  अबदेखि प्रबन्ध निर्देशक आन्तरिक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने लगायतका नौ बुँदामा व्यवस्थापन र आन्दोलनरत कर्मचारीहरुबीच सहमति भएपछि तीन सातादेखि नेपाल टेलिकममा चलिरहेको आन्दोलन सकिएको छ। 
गैर प्राविधिक कर्मचारीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएको विरोधमा आन्दोलनरत इन्जिनियरहरु र सञ्चार सचिव तथा कम्पनी अध्यक्ष सुनिलबहादुर मल्लबीच नौ बुँदामा सहमति गरिएको संघर्ष समितिका संयोजक दिनेशचन्द्र पन्थीले पहिलोपोस्टलाई बताए। सहमति भएका बुँदा छ महिनाभित्र कार्यान्वयन नभए फेरि आन्दोलन थाल्ने चेतावनी पन्थीले दिए।  
गैर इन्जिनियरलाई कम्पनीको प्रमुख बनाएको भन्दै कम्पनीका इन्जिनियर समूहले आन्दोलन गर्दै प्रबन्ध निर्देशकको कार्यकक्षअगाडि धर्ना दिँदै आएका थिए। सरकारले गत भदौ १९ गते कम्पनीको प्रबन्ध निर्देशकका कम्पनीकै सचिवालयमा नायब प्रबन्ध निर्देशक रहेका आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो। 


के- के भयो सहमति ?
पन्थीका अनुसार 'अबदेखि प्रबन्ध निर्देशक हुँदा खुला प्रतिस्पर्धाबाट गराउने सहमति भएको छ।'  टेलिकममा अहिलेसम्म खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्त भएका छैनन्। 

आन्तरिक संस्थागत सुधारका विषय पनि सहमतिमा समेटिएको उनले जानकारी दिए।

सहमतिमा एकचोटी प्रबन्ध निर्देशक भइसकेका कर्मचारी पुनः नायब प्रबन्ध निर्देशकमा काम गर्न नपाइने पनि उल्लेख छ।

यसैगरी आन्तरिक रुपमा नै टेक्निकल अडिट हुनुपर्ने माग राखिएको विषयमा पनि सहमति भएको छ। पन्थीका अनुसार अब नेपाल टेलिकमले अब कुनै सामान खरिद गर्दा टेक्निकल अडिट गर्नैपर्ने सहमति पत्रमा उल्लेख  छ।

आन्तरिक लेखापरीक्षणले पटक-पटक टेक्निकल अडिट गर्नैपर्ने सुझाव दिए पनि पूर्व एमडी तथा व्यवस्थापकहरुले यसलाई बेवास्ता गर्दै आएका थिए। टेक्निकल अडिट नगरिने हुँदा पूर्व एमडीहरुले आफ्नै सिस्टम राख्ने, आफैं सञ्चालन गर्ने र आफैं अप्रुभ गर्ने गर्थे। 



दशैँ अफर भोलिदेखि
यसैबीच, आन्दोलनका कारण घोषणा हुन नसकेको  दशैँ छुट भोलि सार्वजनिक हुने भएको छ। घटस्थापनादेखि नै लागू हुने गरी टेलिकमले विभिन्न अफर तथा स्किम बनाएर राखे पनि इन्जिनियरहरुको आन्दोलनले रोकिएको थियो।



के छन् सहमतिका नाै बुँदा


सञ्चालक समिति अध्यक्ष, प्रबन्ध निर्देशक, संघर्ष समितिका संयोजक र पाँच कर्मचारी युनियनको अध्यक्षहरुबीच नौ बुँदाहमा सहमित भएको छ । जसमा पहिलो बुँदामा प्रबन्ध निर्देशक छनौट तथा नियुक्तिको विषयलाई समेटिएको छ । सहमति भएका बुँदाहरु


१ कम्पनीको प्रबन्ध निर्देशक सम्बन्धमा देहाय अनुसार गर्ने


क)  नेपाल टेलिकम व्यवसायिक प्रकृति अनुसार उपयुक्त प्रबन्ध निर्देशक नियुक्त गर्नका लागि प्रबन्ध निर्देशकको योग्यता, छनौट तथा नियुक्ति प्रक्रियाका प्रारुप तयार गर्ने सम्बन्धमा प्रतिवेदन पेश गर्ने दूरसञ्चार क्षेत्रका विज्ञहरुसमेत तीन सदस्यीय कार्यदल गठन गर्ने ।


 ख) सञ्चालक समितिले उक्त प्रतिवेदनलाई छ महिनाभित्र कार्यान्वयन योग्य बनाउने र स्पष्ट विधि स्थापित गर्ने गरि आफ्नो राय नेपार सरकारसमक्ष पेश गर्ने ।


ग) सञ्चालक समितिले नेपाल सरकारबाट भएका निर्णयको आधारमा तयार पारिएको प्रबन्ध निर्देशकको योग्यता, छनौट तथा नियुक्ति प्रक्रियाको प्रारुप वमोजिम विधि स्थापित भएपछि कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्ति गर्न आवश्यक व्यवस्था गर्ने ।


घ) उल्लेखित बुँदाहरु कार्यान्वयनको लागि प्रबन्ध निर्देशकले आवश्यक भूमिका निर्बाह गर्ने ।


२. प्रबन्ध निर्देशकको तल्लो तहको पदाधिकारी नरहने तथा कुनै खास तहका कर्मचारीको पदावधिको सिलिङ तोक्ने, कर्मचारी वृत्ति विकासमा रहेको बटल नेक हटाइ समान वृत्ति विकासको अवसर प्रदान गर्ने लगायतका विषयमा शीघ्र उपयुक्त व्यवस्था गर्ने ।


३. कम्पनीको पुनर्संरचना, स्वेच्छिक अवकास लगायतको विषयहरु कार्यान्वयन गर्न आवश्यक सुझाव प्रस्तुत गर्न युनियनका प्रतिनिधिहरु समेत रहेको एक कार्यदल गठन गरि कार्यदलको प्रतिवेदन तीन महिनाभित्र कार्यान्वयन गर्ने ।


४. टेलिकममा कार्यान्वयन भएका र सञ्चालनमा रहेका आयोजनाहरुकबा टेक्निकल अडिट कार्य सुरु गर्ने ।


५. कमर्चारीको वेत्ति विकास तथा आर्थिक सुविधा सम्बन्धमा युनियनहरुले मागको रुपमा उठाउँदै आएका विषयहरु (सापटी सिलिङ विमा जस्ता) को समग्रविश्लेषण गरि कार्यान्वयन योग्य प्रतिवेदन पेश गर्न कर्मचारी प्रतिनिधि समेत रहेको एक कार्यदल गठन गरि प्रतिवेदनको आधारमा शीघ्र कार्यान्वयन गर्ने ।


६. सञ्चालक समितिमा कर्मचारीबाट प्रतिनिधित्व हुने व्यवस्थाको लागि सञ्चालक समितिले कम्पनीको ट्रेड युनियनहरुसँग समेत छलफल एवं समन्वय गरि आवश्यक प्रक्रिया अगाडि बढाउने । साथै सञ्चालक समितिको बैठकमा प्राविधिक कर्मचारीहरु मध्येबाट एक जनालाई आमन्त्रित व्यवस्था गर्ने ।


७. कर्मचारीलाई उच्च शिक्षा हासिल गर्न निश्चित मापदण्ड अनुसार अध्ययन गर्ने अवसरको उचित व्यवस्था गर्ने ।


८. नेपाल टेलिकमको बृहत्तर विकास र कम्पनीमा कार्यरत कर्मचारीहरुको वृत्ति विकासका लागि गरिएको यो सहमित सबै पक्षबाट इमान्दारीका साथ पूरा गर्ने गराउने ।


९. नेपाल टेलिकम प्राविधिक समूहबाट हाल भइ रहेका विरोधका सबै कार्यक्रमहरु फिर्ता गर्ने ।

No comments:

Post a Comment