Friday, October 12, 2012

नेपाल टेलिकमद्वारा दशैँ तथा तिहारका लागि ५० प्रतिशत छुट

काठमाडौँ, असोज २६ - नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवामा ही २९ गते देखि २०६९ मङ्सिर ५ गतेसम्मको लागि विद्यमान महसुल दरमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ। जिएसएम पोष्टपेड मोवाइल सेवाका ग्राहकलाई कात्तिक १ गतेदेखि मङ्सिर ३० गतेसम्मको लागि क्रेडिट सीमा ९० प्रतिशत रहेकोमा सबै रकम बराबर कल गर्न सकिने व्यवस्था गरिएको टेलिकमद्वारा आज जारी प्रेस विज्ञप्तीमा जनाइएको छ।
सोही मोवाइल सेवाका ग्राहकलाई २०६९ कात्तिक महिनाको महसुलमा १० प्रतिशत छुट प्रदान गरिएको छ।
त्यसैगरी, ल्याण्डलाइन (पिएसटिएन) मा सेवाका ग्राहकले हाल न्यूनतम् मासिक महसुल रु.२०० मा १७५ स्थानीय कल छुट पाइरहेकोमा कात्तिक महिनामा थप ५० स्थानीय कल निःशुल्क गरी कूल २२५ स्थानीय कल उपलब्ध गराइने भएको छ।
प्रिपेड मोवाइल सेवाका ग्राहकहरुले असोज ३० गतेदेखि मङ्सीर ४ गतेसम्म कल गर्दा प्रयोग गरिने कूल रकमको १० प्रतिशत बोनस उपलब्ध गराइने र सो बोनस रकमको समयावधि बोनस प्राप्त भएको मितिले दुई महिनासम्म कायम रहनेछ।
कम्पनीका प्रवक्ता गुणकेशरी प्रधानले सिडिएमए इन्टरनेट सेवाका ग्राहकहरुलाई असोज २९ गतेदेखि मंसिर ४ गतेसम्म १०० एमबी डाटा निःशुल्क उपलब्ध गराइनेछ।
त्यसैगरी, अन्तर्राष्ट्रिय कलमा अष्ट्रेलियाका लागि रु. ७.५, चीन र हङ्कङका लागि रु. ३, बङ्गलादेशका लागि रु. ४ तथा कुवेत र बहराइनका लागि रु. ८ नयाँ महसुल दर कायम गरिएको छ। रासस

No comments:

Post a Comment