Friday, April 5, 2013

टेलिकमका ८५ लाख ग्राहकले खर्चे ३३ अर्ब

सरस्वती ढकाल, कारोबार
काठमाडौं, २२ चैत- नेपाल टेलिकमका ८५ लाख ग्राहकले आर्थिक वर्ष ०६८/६९ मा टेलिफोन सेवाबापत ३२ अर्ब ८० करोड ७५ लाख रुपैयाँ खर्च गरेका छन् । टेलिकमको यो मुख्य आम्दानी हो । टेलिकमको प्रमुख सेवा ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) र साधारण टेलिफोनको आम्दानी बढेपछि अघिल्लो वर्षको तुलनामा ४ अर्ब रुपैयाँ वृद्धि भएको छ । अघिल्लो आव ०६७/६८ मा कम्पनीले साढे २८ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आव ०६८/६९ मा कुल आम्दानी ३६ अर्ब ७९ करोडमध्ये ११ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको थियो भने १८ अर्ब ६ करोड रुपैयाँ राजस्व तिरेको थियो । चालू आव ०६९÷७० मा पनि १९ अर्ब राजस्व तिर्ने लक्ष्यसहित काम अगाडि बढाइएको कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले बताए । “प्रतिस्पर्धी बजारमा टेलिकमको आर्थिक स्वास्थ्य राम्रो छ,” उनले भने, “झन् १ करोड जीएसएम मोबाइलको परियोजना अगाडि बढेकोले अवस्था अझ राम्रो हुनेछ ।” टेलिकमको सम्पत्ति १ खर्ब ५ अर्ब रुपैयाँ छ । कम्पनीले ०६८/६९ मा सबैभन्दा धेरै जीएसएम मोबाइलमा १५ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । आव ०६७÷६८ मा यो सेवाबाट १३ अर्ब ३० करोड रुपैयाँ कमाएको थियो । जीएसएमअन्तर्गत कम्पनीले स्थानीय कल, अन्तरदेशीय÷अन्तर्राष्ट्रिय टं«ककल, रोमिङ, प्रिपेड कार्ड, रिचार्ज कार्ड, जीपीआरएस सेवा दिएको छ । जीएसएम सेवामा सबैभन्दा धेरै रिचार्ज कार्डमा १३ अर्ब ३३ करोड र स्थानीय कलमा १ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ । साधारण टेलिफोनमा ४ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको टेलिकमको स्थानीय कल नै मुख्य आम्दानी हो । साधारण टेलिफोनअन्तर्गतको स्थानीय टेलिफोनमा उसले ३ अर्ब रुपैयाँ कमाएको छ ।
घर, कार्यालयमा जडित साधारण टेलिफोनमा उपभोक्ताको खर्च अघिल्लो वर्षको तुलनामा ५ करोड रुपैयाँ बढेको छ । साधारण टेलिफोनअन्तर्गत लिज्ड सर्किट, एडीएसएल, अन्तर्राष्ट्रिय/अन्तरदेशीय टं«ककल, आई इन सर्भिसलगायतका सेवा दिएको छ ।
सीडीएमएतर्फ कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष २ अर्ब ४३ करोड रुपैयाँ आम्दानी भएकोमा ०६८/६९ मा २ अर्ब ४ करोड रुपैयाँ छ । पछिल्ला पाँचमा गाउँगाउँमा मोबाइलको पहुँच बढेपछि साधारण टेलिफोन र सीडीएमए सेवा लिने ग्राहक बढ्न सकेका छैनन् । पुरानो प्रविधिलाई इन्टरनेट प्रोटोकल (आईपी)मा रुपान्तरण गर्ने र नयाँ २० लाख आईपी सीडीएमए टेलिफोन तथा मोबाइल वितरणपछि आम्दानी बढ्ने सीडीएमए निर्देशनालयका निर्देशक अनुपरञ्जन भट्टराईले बताए । उनले हाल प्रविधि रुपान्तरणको काम भइरहेको जानकारी दिए । कम्पनीले अन्तरप्रशासनिक आयअन्तर्गत १० अर्ब रुपैयाँ आम्दानी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेलिकममा ग्राहक ८५ लाखभन्दा धेरै छन् । जीएसएम तथा सीडीएमए मोबाइलका ७७ लाख र अरु साधारण टेलिफोनका ८ लाख प्रयोगकर्ता छन् ।

No comments:

Post a Comment