Monday, April 8, 2013

उपत्यकाका पुराना सबै मोबाइल टावर हटाउँदै टेलिकम

विष्णु पोखरेल, काठमाडौं, चैत २६ -नागरिक  नेपाल टेलिकमले गुणस्तर सुधार र क्षमता विस्तार गर्न आगामी पाँच महिनाभित्र उपत्यकाका पुराना सबै मोबाइल टावर(बिटिएस) हटाउने भएको छ l मोबाइल सेवाको गुणस्तरमा बारम्बार गुनासो आएपछि सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायकले पुराना टावर हटाएर नयाँ जडान गर्न लागेको हो। कम्पनीले आगामी जेठ पहिलो साताबाट उपत्यकाका टावरहरु हटाउन थाल्नेछ। 'यो योजनामा पुराना सबै बिटिएस हटाएर गरेर नयाँ राख्छांै,' टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले नागरिकसँग भने, 'पुरानाको ठाँउमा नयाँ प्रविधियुक्त उच्च क्षमताका बिटिएस जडान हुनेछन्।' टेलिकमले ६ वर्षअघि चिनियाँ दूरसञ्चार उपकरण निर्माता जेडटिईसँग खरिद गरेका ६ सयभन्दा बढी टावर आगामी पाँच महिनाभित्र हट्नेछन्। यी टावरको सट्टा टेलिकमले अर्को चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेका टावरहरु प्रयोग गर्नेछ। 
टेलिकमले उपत्यका र पोखरा क्षेत्रमा ४८ लाख जिएसएम मोबाइल वितरणका लागि हुवावेसँग सम्झौता गरिसकेको छ। यही सम्झौताअनुरुप सेवा विस्तार र गुणस्तर सुधार गर्न कम्पनीले पुराना टावर हटाउने अभियान चलाउन लागेको सिंहले जानकारी दिए। उनका अनुसार आगामी भदौसम्ममा उपत्यकाका सबै टावर परिवर्तन भइसक्नेछन्।  टेलिकमको मोबाइल सेवा निर्देशनालयका अनुसार हाल उपत्यकाभित्र दोस्रो पुस्ता(टुजी) जिएसएम मोबाइल प्रविधिका ६ सय १२ वटा बिटिएस सञ्चालनमा छन्। यसैगरी तेस्रो पुस्ता(थि्रजी) जिएसएमका ७८ वटा बिटिएस छन्। निर्देशनालयका प्रमुख सुरेन्द्र थिकेका अनुसार उपत्यकाभित्र रहेका ६ सय १२ टुजी प्रविधिका टावर सबै हटाएर नयाँ राख्ने योजना छ।  हुवावेसँगको सम्झौताअनुसार पुराना टावर हटाएर नयाँ राखिएका ठाउँमा ४५ प्रतिशत बिटिएस थि्रजी प्रविधि चलाउन मिल्नेखालका हुनेछन्। 'अहिले भोइससँगै डाटा सेवाको माग बढिरहेको छ,' थिकेले भने, 'त्यसलाई पूर्ति गर्न थि्रजी सेवा चलाउन मिल्ने बिटिएस बढी हुनेछन्।' 
टेलिकमले पुराना टावर हटाएर नयाँ जडानसँगै उपत्यकाभित्र घना बस्ती बढेका ठाँउमा थप बिटिएस राख्ने भएको छ। 'पहिले घर नभएका स्थानमा अहिले घर धेरै भइसकेका छन्,' प्रबन्ध निर्देशक सिंहले भने, 'त्यस्ता ठाउँमा हामीले थप बिटिएस जडान गर्दैछौं।' टेलिकमका अनुसार उपत्यकाभित्र यस्ता बिटिएस संख्या थपेर १ हजारभन्दा बढी बनाउने योजना छ।  पुरानाको तुलनामा नयाँ टावरको नेटवर्क कभरेज क्षेत्रफल बढी हुनेछ। यसैगरी ब्याट्रीको ब्याकअप क्षमता पनि धेरै हुने टेलिकमले जनाएको छ। अहिलेका टावरको ब्याट्री ब्याकअप क्षमता ४ देखि ६ घन्टा भएकाले लामो लोडसेडिङ हुदा मोबाइल गुणस्तरमा समस्या हुने गरेको छ। 
'नयाँ बिटिएस जडान भएपछि कभरेज, क्वालिटी र क्यापासिटी बढ्नेछ,' थिकेले भने, 'यसले उपभोक्ताबाट आउने गुणस्तर समस्या पनि हल हुनेछ।' टेलिकमले नयाँ टावर जडान गरेपछि उपत्यकाभित्र जिएसएम मोबाइल क्षमता ४० लाखभन्दा बढी हुनेछ। हाल उपत्यकाभित्रबाट करिब २० लाख जिएसएम मोबाइल वितरण भएको छ। टेलिमले आगामी कात्तिकभित्र करिब १२ लाख जिएसएम मोबाइल उपत्याकाभित्र वितरण गर्ने लक्ष्य राखेको छ।  नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत माघसम्ममा टेलिकमका कुल टेलिफोन ग्राहक संख्या ८५ लाख ३ हजार पुगेका छन्। टेलिकमले आगामी असारभित्र यो संख्यालाई बढाएर ९१ लाख ६६ हजार पुर्यादउने तयारी गरिरहेको छ। चालु आर्थिक वर्षभित्र टेलिकमले पिएसटिएनतर्फ ३४ हजार ४ सय ६९, जिएसमएमतर्फ ७ लाख ८८ हजार, सिडिएमएतर्फ ७ लाख २९ हजार लाइन वितरण लक्ष्य राखेको छ।  गत माघसम्ममा टेलिकमले ६९ लाख १७ हजार जिएसएम, ८ लाख ३३ हजार सिडिएमए र ६ लाख ३४ हजार पिएसटिएन लाइन वितरण गरिसको छ। कम्पनीले पछिल्लो समय भोइसभन्दा डाटातर्फ उपभोक्ता आकर्षण बढेको भन्दै ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गरिरहेको छ। नयाँ टावरमा आधुनिक प्रविधि जडान गरिने भएकाले इन्टरनेट सेवा विस्तारमा पनि सजिलो हुने कम्पनीले जनाएको छ।

No comments:

Post a Comment