Monday, May 13, 2013

प्रतिस्पर्धा बढ्दा सस्तियो इन्टरनेट

प्रकटकुमार शिशिर, Karobar
काठमाडौं, ३० वैशाख- इन्टरनेट सेवाप्रदायक (आईएसपी) बीच प्रतिस्पर्धा बढेपछि सेवाग्राहीहरूले सस्तो र गुणस्तरीय सेवा पाउन थालेका छन् । करिब एक चौथाइ जनसंख्यामा इन्टरनेट पहुँच पुगेपछि मुलुकमा आईएसपीको संख्या थपिएको छ भने उपभोक्ताले पनि रोजीरोजी सेवा छान्न पाएका छन् । सामान्य गतिदेखि द्रुत गतिको इन्टरनेटमा दैनिकी भुलाउने उपभोक्तालाई केन्द्रित गरी आईएसपीहरूले पनि नयाँ–नयाँ प्याकेजमा अफर ल्याइरहेका छन् । नेपाल टेलिकम, एनसेल, यूटीएलजस्ता दूरसञ्चार कम्पनीको इन्टरनेट सेवासँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले आईएसपीहरूले आकर्षक अफर ल्याउन थालेका हुन् । डाटा सेवासम्बन्धी एप्लिकेसन र विश्वबजारमा ब्यान्डविथको मूल्य घट्दा त्यसको सकारात्मक प्रभाव नेपालमा पनि परेको हो । अहिले अधिकांश कम्पनीले सस्तो र डबल अफर प्रदान गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा २१ वटा आईएसपी छन् । तीमध्ये एक दर्जन आईएसपीले आफ्नो सेवा स्तरोन्नति गर्नुका साथै मूल्यमा पनि भारी छुट दिन थालेका छन् ।
सुबिसु इन्टरनेटले १ सय २८ केबीपीएसको १ हजार मूल्य भए पनि अहिले त्यही मूल्यमा २ सय ५६ केबीपीएस प्रदान गरिरहेको छ । केबल इन्टरनेट, वाईफाई, अप्टिकल फाइबरमार्फत सेवा दिइरहेको सुबिसुले कर्पाेरेट, विद्यार्थी र घरका लागि छुट्टाछुट्टै प्याकेज दिइरहेको छ । सुबिसुका रजत कायस्थ बढ्दो प्रतिस्पर्धाका कारण उपभोक्तालाई गुणस्तरीय र बढी सुविधा दिनुपरेको बताउँछन् । सुबिसुले अहिले सिंगल ब्यान्डविथको मूल्यमा डबल ब्यान्डविथको सुविधा दिए पनि आगामी दिनमा अझ धेरै र नयाँ सुविधा थप्ने उनले बताए । क्लासिक टेक प्रालिले पनि मूल्य घटाएको छ । उसले १ सय २८ केबीपीएसको न्यूनतम ५ सय रुपैयाँ बनाएको छ । कम्पनीका अपरेसन म्यानेजर सागरनाथ उपाध्यायले आईएसपीहरूबीच प्रतिस्पर्धा चुलिएको बताउँदै नयाँ ग्राहकलाई आकर्षित गर्न र पुराना ग्राहकलाई थप सेवा दिन आफूहरूले गुणस्तरीय सेवामा ध्यान दिएको बताए । “छुट र अफर सबै कम्पनीले दिइरहेका छन्,” उनले भने, “हामीले पनि ५ हजारभन्दा बढी ग्राहकलाई सन्तुष्ट पार्न काम गरिरहेका छौं ।” अप्टिकल फाइबर, ब्रोडब्यान्ड र वाईफाईबाट क्लासिकले सेवा दिइरहेको छ । “हामी अहिले चौबीसै घण्टा सेवा दिन तयार छौं,” उनले भने, “कर्मचारी र शाखा पनि त्यहीअनुसारका छन् ।”
वेबसर्फरले ३ हजार रुपैयाँको वायरलेस प्याकेजलाई २ हजार ७० मै प्रदान गरिरहेको छ । १३ वटा जिल्लामा सेवा पु¥याएको वेबसर्फरले अब नयाँ ‘टार्गेट गु्रप’का लागि नयाँ प्याकेज ल्याउन लागेको सेल्स म्यानेजर सन्दीप शर्माले बताए ।
वल्र्डलिंकले पनि डबल जुम अफर दिएको छ । २० जीबीको मूल्यमा ४० जीबी, ५ सय १२ केबीपीएसको मूल्यमा १ एमबीपीएस प्रदान गरिरहेको छ । जडान खर्च पनि ३ हजारबाट घटाएर १ हजार पु¥याएको छ । ब्रोडलिंकले वैशाखदेखि नयाँ अफर ल्याएको छ । इन्टरनेट र बुस्टरमा उसले मूल्य घटाएको छ । भायानेटले पनि छुट र अफर दिइरहेको छ ।
कतिपयले इन्टरनेटमार्फत नै टेलिभिजन हेर्ने प्रविधिसमेत भिœयाइसकेका छन् । वल्र्डलिंकले १० एमबीपीएस स्पिडको केबल जुम इन्टरनेट ल्याएको छ । यो द्रुत गतिको भएको कम्पनीले जनाएको छ । त्यस्तै, मेगा ब्रोडकास्ट प्रालिले मल्टिपल भिडियो र डाटा प्रणाली प्रविधि भिœयाउन लागेको छ । १ जीबी गतिको इन्टरनेट प्रदान गर्ने कम्पनीले जनाएको छ । नेपाल टेलिकमको वाईम्यास पनि दु्रत गतिको इन्टरनेट हो ।
जीएसएम र सीडीएमए मोबाइलमार्फत सेवा दिइरहेका टेलिकम, एनसेल र यूटीएलले पनि डेटा (इन्टरनेट) सेवालाई भ्वाइस (टेलिफोन) जत्तिकै आक्रामक प्रचार गरी उपभोक्तालाई आकर्षित गरिरहेका छन् । एनसेलले ६ रुपैयाँमा २४ घण्टाका लागि ३ एमबीदेखि २९ सय ९९ रुपैयाँमा ३० दिनको १० जीबीसम्म प्रदान गरिरहेको छ । एनसेलका कर्पाेरेट कम्युनिकेसन एक्सपर्ट मिलन शर्मा भन्छन्, “हामीले विभिन्न सेवाग्राहीलाई लक्षित गरी सस्तोमा मोबाइल र यूएसबीमार्फत इन्टरनेट सेवा दिइरहेका छौं । छुट र अफर त एनसेलले सार्वजनिक गरिरहन्छ ।” एनसेलको १० जीबीको प्याकेजमा प्रतिएमबी ३० पैसा लिन्छ जबकि खुद्रामा चलाउँदा प्रतिएमबी ३ रुपैयाँ पर्छ । एनसेलले ब्ल्याकबेरी र ग्यालेक्सी सिरिजका स्मार्टफोनमा पनि डाटाको सुविधा दिएको छ । एनसेलले अहिले १ सय एमबीको मूल्यमा २ सय एमबी दिएको छ । डाटामा राम्रो आम्दानी हुन थालेपछि मोबाइल कम्पनीहरू इन्टरनेटमा आकर्षित हुन थालेका हुन् । टेलिकमले वाईम्याक्स, आईपी सीडीएमए, स्माई प्रो, स्याटेलाइट इन्टरनेट प्रविधि विस्तार गरेको छ । उसले जीएसएम थ्रीजीमार्फत सेवा दिइरहेको छ भने एनजीएन सेवाका लागि पूर्वाधार विस्तार गरेको छ । सबै वर्ग र सबै क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी विभिन्न इन्टरनेट सेवा प्रदान गरिएको टेलिकमका सिनियर इन्जिनियर नीरज बज्राचार्यले बताए । यी सेवामा विद्यमान शुल्क सस्तो भए पनि सोमबारबाट झनै घटाइएको जानकारी उनले दिए । “नयाँ दररेटलाई दूरसञ्चार प्राधिकरणले स्वीकृति दिइसकेको छ,” उनले भने । यूटीएलले पनि नयाँ मूल्य र योजना चाँडै सार्वजनिक गर्न लागेको जनाएको छ । सस्तो शुल्क र बढ्दो प्रविधिका कारण इन्टरनेट चलाउनेको संख्या बढिरहेको छ । प्राधिकरणका अनुसार हाल ६२ लाख ७९ हजार १ सय २९ जनामा इन्टरनेट पहुँच छ ।

No comments:

Post a Comment