Wednesday, May 15, 2013

टेलिकमको नाफा १ अर्ब ५८ करोडले घट्यो


काठमाडौं, १ जेठ- कारोबार,  नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८ अर्ब ४९ करोड ७७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा आव ०६८/६९ को सोही अवधि तुलनामा १५.७ प्रतिशतले थोरै हो । ०६८/६९ को चैत मसान्तसम्म कम्पनीले १० अर्ब ८ करोड १० लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । टेलिकमले प्रकाशित गरेको तीन महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा सेवा प्रदानबाट हुने आम्दानी बढे पनि अन्य क्षेत्रबाट हुने अम्दानी घटेको देखिएको छ । कम्पनीका सहायक प्रवक्ता राजेश जोशीले अनुमतिपत्र नवीकरणबापत ठूलो रकम भुक्तानी तिरेकाले खुद नाफामा असर गरेको बताए । यो वर्ष चैत मसान्तसम्ममा टेलिकमले २५ अर्ब २७ करोड ३६ लाख रुपैयाँ सेवाबापत आम्दानी गरेको छ । गत आवको सोही अवधिमा यो रकम २२ अर्ब ३९ करोड ७७ लाख रुपैयाँमात्र थियो । यसबाहेक तेस्रो त्रैमाससम्ममा टेलिकमका अन्य आम्दानी शीर्षकमा भने १ अर्ब ७० करोड २७ लाख रुपैयाँ कमी आएको छ । अन्य क्षेत्रबाट कम्पनीले चैतसम्म २२ अर्ब ९४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा टेलिकमले अन्य क्षेत्रबाट २४ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन तथा मर्मत सम्भार खर्च ४ अर्ब ८ करोड १९ लाख रुपैयाँ छ । यो खर्च गत आवको सोही अवधिमा ३ अर्ब ३९ करोड १५ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीको प्रशासनिक खर्चसमेत बढेको छ । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब २५ करोड ५८ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ । यो खर्च गत आवको सोही अवधिमा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ थियो ।

कम्पनीको ग्रामीण दूरसञ्चार विकास कोष भने बढेको प्रतिवेदनले देखाएको छ । कोषमा टेलिकमले ५० करोड ५४ लाख रुपैयाँ जम्मा गरेको छ । गत वर्ष यो रकम ४४ करोड ७९ लाखमात्र थियो । चालू आवको पुस मसान्तसम्ममा यो कोषमा ३ अर्ब ३६ करोड रुपैयाँ थियो । टेलिकमले पुस मसान्तसम्ममा मात्र आयकरबापत ३ अर्ब ४ करोड ६३ लाख रुपैयाँ छुट्ट्याएको छ । गत आवको सोही अवधिमा कम्पनीले आयकरका लागि ३ अर्ब ४० करोड १५ लाख रुपैयाँ छुट्ट्याएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी भने घट्दो क्रममा छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ९६.८३ रुपैयाँ थियो । पुस मसान्तसम्ममा घटेर ७४.०८ रुपैयाँमा झरेको थियो । तेस्रो त्रैमासमा पनि कम्पनीको प्रतिसेयर आम्दानी घटेर ७४.५४ रुपैयाँमा पुगेको छ । गत आवको चैत मसान्तसम्ममा ९९.६१ रुपैयाँ थियो । टेलिकमको मूल्य आम्दानी अनुपात भने ७.७४ प्रतिशत छ । जबकि, गत आवको सोही अवधिमा यो अनुपात ४.६२ प्रतिशत थियो । असोज मसान्तसम्म ४२९.९५ रुपैयाँ प्रतिसेयर किताबी मूल्य रहे पनि पुस मसान्तसम्म ३६६.८७ मा झरेको छ । चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ३३८.४८ मा पुगेको छ । टेलिकमले ०६५/६६ मा सेयरधनीलाई ३५ प्रतिशत, ०६६/६७ मा ४० र ०६७/६८ मा ४५ प्रतिशत लाभांश दिएको थियो । ०६८/६९ को नाफाबाट उसले सेयरधनीलाई ४८ प्रतिशत नगद लाभांश दिएको छ 

No comments:

Post a Comment