Monday, July 8, 2013

इन्टरनेट सेवा फैलाउँदै टेलिकम, सेवा सन्तोषजनक नभएको सर्वसाधारणबाट गुनासो !!


काठमाडौं -नागरिक दैनिक  टेलिफोन, मोबाइल, इन्टरनेट लगायत सेवा प्रदान गर्दै आइरहेको नेपाल टेलिकमले आफ्नो नेटवर्कमा इन्टरनेट (डाटा) सेवा विस्तार गर्ने भएको छ। टेलिकमले इन्टरनेट सेवालाई अबका दिनमा झनै प्रतिस्पर्धी बनाउन लागिपरेको सोमाबार अयोजित एक कार्यक्रममा जानकारी दिइयो। टेलिकमले हाल उपलब्ध गराइरहेको डाटा सेवाबारे छलफल गर्न आयोजित एक कार्यक्रममा टेलिकमका अधिकारीले यस्तो बताएका हुन्।टेलिकमको इन्टरनेट लगायत अन्य सेवा शुल्क प्रतिस्पर्धी भए पनि सेवा भने सन्तोषजनक नभएको सर्वसाधारणबाट गुनासो आइरहँदा उसले थप सेवा विस्तार र गुणस्तर ग्यारेन्टीको दाबी गरेको हो।  एडिएसएल, इभिडिओ, थि्रजी डाटा, वाइम्याक्स, फाइबर इन्टरनेट, डिएसएल इन्टरनेट, स्काइडाटा, जिपिआरएस, डाइअफ इन्टरनेट लगायत सेवा उपलब्ध गराउँदै आएको टेलिकमले आगामी दिनमा यी सबै सेवालाई थप गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्ने बताएको छ।  टेलिकमले आगामी दसैंसम्ममा सिडिएमएको संकेत उपभोग गरी इन्टरनेट चलाउन मिल्ने इभिडिओ सेवा देशभर विस्तार गर्ने बताएको छ। टेलिकमले देशभरमा पाँच सयभन्दा धेरै ठाउँमा बेस स्टेसन जडान गरी ताररहित इन्टरनेट सेवा वाइम्याक्स विस्तार गर्ने भएको छ। हाल त्रिभुवन विमानस्थल, शिक्षण अस्पताल महाराजगन्ज लगायत ठाउँमा यसको निशुल्क परीक्षण सेवा सुचारु गरिसकिएको टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले जानकारी दिए। 
उनका अनुसार अबको केही दिनमै सहिद गंगालाल राष्ट्रिय हृदयरोग प्रतिष्ठानसहित राजधानीका केही महŒवपूर्ण ठाउँमा यो सेवा विस्तार हुँदैछ। टेलिकमले अबको केही महिनाभित्रै देशभरको सबै जिल्ला सदरमुकाममा थि्रजी सेवा विस्तार गर्ने बताएको छ।  ग्राहक सेवा प्रभावकारी नभएको गुनासो व्यापक हुन थालेपछि यसको समाधान स्वरुप टेलिकमले एकीकृत ग्राहक सेवा केन्द्र छिट्टै सञ्चालन गर्न लागेको पनि कार्यक्रममा टेलिकममा अधिकारीले जनाकारी दिए। टेलिकमले ग्राहक सेवाका लागि हाल प्रयोग भइरहेका आधा दर्जनभन्दा धेरै निशुल्क टेलिफोन सेवाहरुलाई एकीकृत प्रणालीबाट सुचारु गर्ने गरी सेवा सञ्चालनको तयारी गरिरहको छ। नयाँ सेवा सुचारु भएपछि ग्राहकले १९८ मा फोन सम्पर्क गरी आफूले प्रयोग गरेका इन्टरनेट र टेलिफोनका समस्या टिपाउन सक्ने बताइएको छ।  कार्यक्रममा हाल देशभर करिब ७० लाख इन्टरनेट प्रयोगकर्ता रहेका पनि जानकारी दिइयो। हरेक एक सयजनामा करिब २५ जना इन्टरनेट प्रयोगकर्ता भएको नेपाल दूरसञ्चार प्राधिकरणको पछिलो तथ्यांकले देखाएको छ। तर यो संख्या मोबाइलमा जिपिआरएसमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या पनि जोडिएको छ। जिपिआरएस प्रयोगकर्ताको संख्या हटाउने हो भने इन्टरनेटका प्रयोगकर्ताको संख्या धेरै कम हुन्छ।

No comments:

Post a Comment