Sunday, July 28, 2013

टेलिकमको आम्दानी ३७ अर्ब ६० करोड, सरकारलाइ २० अर्व ३७ करोड राजस्व बुझायो

काठमाडौ, श्रावण १४ - कान्तिपुर दैनिक  नेपाल टेलिकमले आर्थिक वर्ष २०६९/७० मा ३७ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो अर्थिक वर्ष (२०६८/६९) को तुलनामा २ दशमलव २५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष टेलिकमले ३६ अर्ब ७९ करोड रुपैयाँ आम्दानी गरेको थियो । सबैभन्दा बढी नाफा कमाउने र कर तिर्ने संस्थानका रूपमा रहेको टेलिकमको यो आम्दानीबाट सञ्चालन र प्रशासनिक खर्च घटाएपछि नाफा निस्कने छ । तर गत आर्थिक वर्षको आय बढे पनि करपछिको नाफा भने घट्ने अनुमान गरिएको छ । टेलिकमको प्रक्षेपणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा करपछिको मुनाफा १ अर्ब १ करोड रुपैयाँले घट्ने छ । आर्थिक वर्ष २०६८/६९ मा ११ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा भएको थियो । गएको आर्थिक वर्षमा १० अर्ब ५९ लाख रुपैयाँ मात्र मुनाफा हुने प्रक्षेपण गरिएको छ । लाइसेन्स, फ्रिक्वेन्सीलगायत शुल्कमा ४ अर्ब रुपैयाँ भन्दा बढी रकम सरकारलाई बुझाएकाले टेलिकमको मुनाफा घट्ने भएको हो । नाफा घटेपछि चालू आर्थिक वर्ष कम्पनीले बुझाउने आय कर पनि घट्ने छ । प्रक्षेपित खुद मुनाफाअनुसार चालू आर्थिक वर्ष ४ अर्ब २४ करोड रुपैयाँ मात्र आयकर बुझाउने छ । आयकर घटे पनि धेरै राजस्व बुझाएर पहिलो नम्बरमै रहने सम्भावना भने अझै धेरै छ ।गत आर्थिक वर्षको कारोबारबाट टेलिकमले सरकारलाई २० अर्बभन्दा बढी राजस्व बुझाएको छ । यसमा आयकरसहित लाभांश, मूल्य अभिवृद्धि कर, स्वामित्व शुल्क, दूरसञ्चार सेवा शुल्क, अनुमतिपत्र नवीकरण, पि|mक्वेन्सीलगायत शुल्क समावेश छन् ।
कम्पनीले चालू आर्थिक वर्षमा भने आय र मुनाफा दुवै बढाउने गरी आक्रमक कार्यक्रमहरू ल्याउँदै छ । टेलिकमका अनुसार ७०/७१ मा कम्पनीले १० प्रतिशतले -४१ अर्ब ६५ करोड रुपैयाँ) आम्दानी बढाउने लक्ष्य लिएको छ । करपछिको मुनाफा पनि ११ अर्ब ९६ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । 'चालू आर्थिक वर्षमा हुने लाइन वितरण र डाटा सेवामा हुँदै गएको सुधारका कारण आय बढ्ने अनुमान गरिएको हो,' टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन् । कम्पनीले चालू वर्षमा सञ्चालन गरिरहेको परियोजनाबाट ग्राहक संख्या थपिएर आय बढ्ने अनुमान गरेको हो । कम्पनीले चालू आर्थिक वर्षमा २९ लाख १३ हजार ग्राहक थप्ने योजना बनाएको छ । २० लाख मोबाइल लाइन वितरण गर्ने लक्ष्य छ । टेलिकमको सेवा विस्तार योजनाअन्तर्गत 'प्याकेज बी' मा काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा ४८ लाख लाइन विस्तारको उपकरण जडान गर्ने, प्याकेज एअन्तर्गत पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ५२ लाख लाइन विस्तार गर्न मुख्य उपकरण जडान गर्ने योजना टेलिकमको छ । पुराना बीटीएस टावर परिवर्तन गर्दै सेवा विस्तार र गुणस्तर सुधार गर्ने योजना कम्पनीको छ । सँगै पीएसटीएन (ल्यान्ड लाइन) र सीडीएमए सेवामा विस्तारको योजना बनाइएको छ ।

No comments:

Post a Comment