Monday, July 8, 2013

डेटामा केन्द्रित हुँदै दूरसञ्चार कम्पनी


सरस्वती ढकाल, कारोबार दैनिक 
काठमाडौं, २३ असार-भ्वाइस सेवामा राम्रो पकड बनाएका दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेल आउँदो वर्ष डेटामा केन्द्रित हुने भएका छन् । दूरसञ्चारमा अघिकांश हिस्सा ओगट्ने यी कम्पनीले डेटा सेवा विस्तारको विकल्प नभएको भन्दै प्रतिस्पर्धी योजना अगाडि बढाएका छन् । यसले उपभोक्तालाई मूल्य र सेवाको गुणस्तरमा छनोटको अवसर दिनेछ । झन्डै एक शताब्दीदेखि भ्वाइस सेवा दिँदै आएको टेलिकमले अबको वर्ष डेटालाई केन्द्रमा राख्नेछ । “हालसम्म सबै ध्यान भ्वाइसमा थियो,” टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक अनुपरञ्जन भट्टराईले भने, “अब डेटामा केन्द्रित हुन्छौं ।” पेजर, साधारण टेलिफोन, पोस्टपेड, जीएसएम मोबाइल हुँदै अबको माग डेटा सेवा भएकाले कम्पनीको भविष्य पनि यसमै जोडिएको उनले बताए । टेलिकमले एडीएसएल, सीडीएमए, ईभीडीओ, वाईम्याक्स र थ्रीजीमार्फत डेटा सेवा दिँदै आएको छ । कम्पनीको मुख्य आम्दानी बाटो नै डेटालाई बनाउने तयारीका साथ कम्पनी लागेको भट्टराईले सुनाए । अहिलेसम्म जीएसएम नै आम्दानीको मुख्य क्षेत्र हो ।
निजी क्षेत्रको कम्पनी एनसेलले पनि थ्रीजी र जीपीआरएसमा आकर्षक योजना ल्याउनुका साथै कम आयस्रोत भएका ग्राहकलाई समेट्ने गरी कार्यक्रम तय गर्ने भएको छ । कम्पनीका सञ्चार विशेषज्ञ मिलनमणि शर्माले पछिल्लो प्रविधि फोरजीका लागि नियामक निकाय दूरसञ्चार प्राधिकरणमा आवेदन दिइसकेको बताउँदै डेटामै केन्द्रित रहेर नयाँ योजना ल्याइने बताए । “अबको बजार डेटाकै हो,” उनी भन्छन्, “हामीले अहिले पनि डेटालाई प्राथमिकतामा राखेकै छौं, अब झनै आकर्षक योजना ल्याउँदैछौं ।” एनसेलका ३४ लाख ४१ हजार डेटा सेवा प्रयोगकर्ता छन् । उसले मोबाइल इन्टरनेट र एनसेल कनेक्ट गरी दुई छुट्टाछुट्टै सेवा दिइरहेको छ । भर्खरैमात्र उसले डेटा उपभोक्तालाई लक्षित गरी ‘एक किन्दा एक सित्तैमा’ अफर ल्याएको छ । यो अफरअन्तर्गत १ सय एमबी डेटा लिँदा अर्को १ सय एमबी डेटा निःशुल्क पाइन्छ ।
नेपालमा इन्टरनेटप्रतिको लगाव, स्मार्टफोनको बढ्दो प्रयोग र विभिन्न एप्समार्फत निःशुल्कै कुरा गर्न सकिने भएपछि डेटाका उपभोक्ता बढेका छन् । उपभोक्ताको रुचि पछ्याउँदै सेवाप्रदायक पनि डेटामा केन्द्रित भएका हुन् ।
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले एकीकृत लाइसेन्स लिएपछि डेटामा जोड दिने बताएको छ । सीडीएमए प्रविधिमा सेवा दिइरहेको कम्पनीले जीएसएम सेवाका लागि प्राधिकरणमा आवेदन दिइसकेको छ ।
प्राधिकरणको पछिल्लो ‘म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस)’ रिपोर्टमा कुल जनसंख्यामध्ये २५ प्रतिशतमा डेटा सेवा पुगेको उल्लेख छ । प्राधिकरणले सिमकार्ड र टेलिफोन सेट बिक्रीका आधारमा ग्राहकसम्म सेवा पुगेको घोषणा गर्छ । ६६ लाख ८५ हजार ४ सय २७ प्रयोगकर्ताले डायलअप, वायरलेस, अप्टिकल फाइबर, केबल, एडीएसएल, जीपीआरएस, सीडीएमए, वाईम्याक्स, ईभीडीओमार्फत इन्टनेट सेवा लिएको प्रतिवेदनमा छ ।
टेलिकमले आगामी आर्थिक वर्षको योजनामा उच्च गतिका डेटा सेवा वाईम्याक्स र ईभीडीओलाई उच्च प्राथमिकता दिएको छ । उसले सीडीएमए प्रविधिका सबै बेस्ड ट्रान्समिसन स्टेसन (बीटीएस)लाई ईभीडीओमा रुपान्तरण गर्नेछ । निर्देशक भट्टराईले ३.१ मेगाबाइट प्रतिसेकेन्ड (एमबीपीएस)को गतिमा चल्ने ईभीडीओ सेवालाई आक्रामक योजनाका साथ देशभर विस्तार गरिने बताए । “ईभीडीओ देशभर जहाँबाट पनि चल्ने भएकाले यात्रा गर्ने, घरमै बस्ने, विद्यार्थी, व्यापारीलगायत सबैलाई उत्तिकै उपयोगी हुनेछ,” उनले भने, “मोबाइलमा रिजार्च गरेजस्तै आवश्यकताअनुसार ग्राहकले १–२ सय रुपैयाँ रिचार्ज गरी सेवा लिन सक्नेछन् ।”
ग्राहकको सहजताका लागि सीडीएमए सिमकार्ड प्रयोगकर्तालाई सोही नम्बरमा ईभीडिओ सेवा दिइने उनले बताए । हालसम्म यूएसबी बाहिरी कम्पनीबाट किन्नुपर्ने भए पनि साउनदेखि टेलिकम स्वयंले बिक्री गर्नेछ । टेलिकमले गत चैतदेखि सर्वसाधारणलाई समेत वाईम्याक्स सेवा दिन सुरु गरेको छ । पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कूटनीतिक नियोग, पर्यटन व्यवसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायतलाई लक्षित गरे पनि चैतदेखि सर्वसाधारणमा खुला गरेको हो । आगामी फागुनसम्म गाउँ–गाउँमा इन्टरनेट पु¥याउने लक्ष्यअनुसार उसले गत फागुनमा अमेरिकाको एरिस्पान इंक कम्पनीसँग सम्झौता गरेको थियो । एक वर्षभित्र काम सक्ने सर्तसहित सम्झौता भएको हो । यो परियोजनाका लागि टेलिकमले ७८ करोड रुपैयाँ लगानी गर्दैछ ।

No comments:

Post a Comment