Monday, May 19, 2014

टेलिकमको नाफा कछुवा गतिमा

सरस्वती ढकाल, कारोबार दैनिक काठमाडौं, ५ जेठ- सरकारी स्वामित्वको नेपाल टेलिकम नाफावृद्धिको अनुपात बर्सेनि
खस्किँदै गएको छ । गत वर्ष (०६९÷७०) सुरुका ९ महिनामा ८ अर्ब ४९ करोड खुद नाफा कमाएको टेलिकमले चालू वर्षको यही अवधिमा ८ अर्ब ६० करोडमात्र नाफा गरेको छ । यो १.२७ प्रतिशतमात्र वृद्धि हो । वार्षिक रूपमा हेर्ने हो भने अवस्था अझै दयनीय छ । आव ०६५÷६६ मा २८.०८ प्रतिशतको वृद्धि देखेको टेलिकम ०६९÷७० सम्म आइपुग्दा –२.६७ प्रतिशतमा सीमित भएको छ । ०६५÷६६ पछि ०६७÷६८ मा मात्रै १२.५३ प्रतिशतको वृद्धि छ । ०६६÷६७ मा ५.८९ प्रतिशतको वृद्धि छ भने ०६८÷६९ मा आउँदासम्म –४.२९ प्रतिशतमा खुम्चिएको छ । चालू आवको तेस्रो त्रैमाससम्म टेलिकमले २९ अर्ब १२ करोड ३४ लाख रुपैयाँ कारोबार गरेको छ । ०६९÷७० का ९ महिनामा २७ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ थियो । यो अवधिमा १७ अर्ब ६१ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिभन्दा यो वर्ष लाइसेन्स नवीकरण शुल्क र कर्मचारीको तलब वृद्धि भएकाले नाफा उल्लेख्य बढ्न नसकेको कम्पनी प्रवक्ता गुणकेसरी प्रधानले बताइन् । “तलबसँगै कार्यसम्पादन, मर्मतसम्भार, नयाँ प्रविधि, उपत्यकाबाहिर बीटीएस जडानमा खर्च बढेको छ, आम्दानीअनुसार फ्रिक्वेन्सी शुल्क र रोयल्टी पनि बढेको छ,” उनले भनिन् ।

दोस्रो त्रैमासमा कम्पनीले १९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ आम्दानी गर्दा ५ अर्ब ५९ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । ३ महिनामा नाफा ३ अर्ब रुपैयाँले बढेको छ । चालू आवमा सरकारलाई २१ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ राजस्व बुझाउने उसको प्रक्षेपण छ । त्यस्तै, करपछिको मुनाफा ११ अर्ब ९६ करोड २५ लाख रुपैयाँ हुने प्रक्षेपण पनि उसको छ । कम्पनीले ९ महिनामा सेवाबाट २६ अर्ब ३२ करोड रुपैयाँ र ब्याज तथा अन्य अम्दानीबाट २ अर्ब आम्दानी गरेको छ । गत वर्षको सोही समयमा यस्तो आम्दानी क्रमशः २५ अर्ब २७ करोड र २ अर्ब रुपैयाँ थियो । कम्पनीले साधारण टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए, एडीएसएल, वाईम्याक्स, ईभीडीओ तथा अन्तर्राष्ट्रिय÷अन्तर्देशीय गरी दर्जनभन्दा धेरै सेवा विस्तार गरेको छ । टेलिकमले चालू आवमा करिब २९ लाख थप टेलिफोन वितरण गर्ने योजना बनाएको छ । जीएसएमतर्फ २० लाख, सीडीएमएतर्फ ८ लाख र साधारण टेलिफोनतर्फ २७ हजार लाइन वितरणको लक्ष्य राखिएको प्रवक्ता प्रधानले बताइन् । टेलिकममा ९१ प्रतिशत सेयर सरकार, ०.०३ प्रतिशत नागरिक लगानी कोष, ३.९७ सर्वसाधारण र ४.५ प्रतिशत टेलिकम कर्मचारीको हिस्सा छ । उसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete