Saturday, May 31, 2014

असारभित्र ७५ जिल्लामै थ्रिजी पुर्याएर डाटा प्याकेज ल्याउँछाैं(अन्तरवार्ता)

anup ranjan (1)
२०७१ जेठ १८ गते ९:१७ मा प्रकाशित, onlinekhabar.com
अनुपरञ्जन भट्टराई नेपाल टेलिकममा प्रबन्ध निर्देशक भएको ४ महिना बितिसकेको छ । सुरुदेखि नै उनको जोड भ्वाइसभन्दा डाटा सेवातिर बढि देखिएको छ । यो चार महिनाको अबधिमै उनले निःशुल्क वाईफाई सेवा बिस्तार गर्नेदेखि डाटा सेवालाई आक्रामक बनाइरहेका छन् । यसै सन्दर्भमा टेलिकमको डाटा सेवा विस्तार तथा आगामी रणनीतिका बारेमा प्रबन्ध निर्देशक भट्टराईसँग अनलाइनखबरका लागि नविन अर्यालले गरेको कुराकानी:
नेपाल टेलिकममा तपाई प्रबन्ध निर्देशक भएको ४ महिना भइसकेको छ । यस अवधिमा तपाईले विशेष जोड दिएका ग्राहकमुखी योजनाहरु के–के हुन् ?
एक वर्ष अगाडी देखि मैले दूरसञ्चार कम्पनीहरुको फोकस अब इन्टरनेट डाटा बिजनेशमा हुनुपर्छ भन्दै आएको छु । अहिले भ्वाइस सेवाको कभरेज झण्डै देशभर भइसकेको अवस्था छ । अधिकांश नेपालीहरुको हातमा मोबाइल पुगिसकेको छ । त्यसैले हामी अब हामी डाटा सेवाका ग्राहक बढाएर डाटा बिजनेशतर्फ बढी केन्द्रीत हुनुपर्छ । अहिले हाम्रो टिम डाटा सेवालाई प्रभावकारी बनाएर अगाडी बढ्ने कसरतमा लागेको छ । मेरो चार महिनाको उपलब्धी हेर्ने हो भने वाईफाई सेवा ३० जिल्लासम्म पु¥याईसक्यौं । यहि आर्थिक वर्षभित्रमा ७५ वटै जिल्लाका सदरमुकाम र मूख्य मूख्य व्यापारीक केन्द्रहरुमा पु¥याउँछौं । यहि आर्थिक वर्षभित्रमै फाइवर टु होम योजना पनि सुरु गर्छौं । यो चाहीँ काठमाडौंका मूख्यमूख्य स्थानमा पाइलट प्रोजेक्टको रुपमा सुरु गर्दै छौं । हाम्रा ग्राहकहरुको चाहना हाइस्पिड डाटा हो । विकसित मुलुकहरु एउटा वेबसाइट २ सेकेन्डभित्र खुल्नुपर्छ भन्ने स्टान्डर्डमा गइसकेका छन् । हामीले पनि ग्राहकलाई एकदमै द्रुत गतिको डाटा सेवा दिने हो भने फाइवरको विकल्प छैन । हामीले वारलेसबाट त्यति छिटो सेवा दिन सक्दैनौं । हामीले सहरी क्षेत्रमा फाइवरमा जानै पर्छ । तत्काल काठमाडौं उपत्कामा सुरु गरेर आगामी आर्थिक वर्षभित्र देशका मूख्य शहरहरुमा फाइवर सेवा सुरु गर्ने हाम्रो योजना छ ।

नेपालको सन्दर्भमा तत्कालै भ्वाइस सेवाको भविष्य समाप्त हुने अबस्था आइसकेको हो र ?
भ्वाईस सेवा पछिल्लो समय झन्डै–झन्डै स्याचुरेशनको अवस्थामा पुगिसकेको छ । भाइबर, स्काईपजस्ता टप प्लेयरहरु बजारमा आउन थालेका छन् । जसबाट भ्वाइस सेवा निःशुल्क उपलब्ध हुन्छ । त्यसैले हामी टेलिकम अपरेटरहरुले पनि भ्वाइस सेवा निःशुल्क दिनेतर्फ सोच्नुपर्ने बेला आएको छ । यो विषयमा मैले तीन चार वर्ष अगाडी नै कुरा उठाएको थिएँ, २०१५ बाट भ्वाइस सेवा निःशुल्क दिने काम सुरु गर्नुपर्छ भनेर । भ्वाइस कललाई निःशुल्क बनाउने क्रममा हामीले सीडीएमएको नाइट कललाई महिनाको २० रुपैयाँ शुल्क तोकेका छौं । यो हामीले भ्वाइस सेवालाई निःशुल्क बनाउने दिशातर्फको एउटा पाइला हो ।
हामीले सन् २०१५ बाट निःशुल्क भ्वाइस सेवा प्रयोग गर्न पाउँछौं ?
यहि वर्षबाट निःशुल्क कल गर्न पाउनुहुन्छ त अहिले भन्न सक्दिन । तर, टेलिकमले केही वर्षभित्रमा भ्वाइस सेवा निःशुल्क बनाउँछ । अब भ्वाइस सेवा निःशुल्क बनाएर डाटा बिजनेशतर्फ केन्द्रीत हुनुको विकल्प पनि छैन । हामी भ्वाइस सेवालाई निःशुल्क बनाउन लागिपरेका छौं । ग्राहकहरुको रेस्पोन्सलाई मध्यनजर गर्दै नेटवर्क सञ्जाल विस्तार गरेर भ्वाइस सेवा निःशुल्क उपलब्ध गराउँछौं ।
तपाईले निकै फोकस गर्दागर्दै पनि टेलिकमको डाटा सेवा प्रभावकारी बन्न सकेको छैन् । यसमा कसरी सुधार ल्याउनुहुन्छ ?
टेलिकमले थ्रिजी सेवा रिङ रोडभित्र सुरु गर्ने वित्तिकै सबैभन्दा बढी डाटाको ग्राहक हुने अपरेटरमा परेको छ । रिङरोड बाहिर पनि सेवा विस्तार गर्न थालेपछि हाम्रो मार्केट शेयर ५२ प्रतिशत पुगेको छ । बाँकी सबै अपरेटर र आइएसपीको जोडेर ४८ प्रतिशत मार्केट हिस्सा छ ।
हामीले यहि आर्थिक वर्षभित्रमा देशभरी थ्रिजी सेवा विस्तार गर्दै छौं । अहिलेलाई हामीले धनगढी, विराटनगर र नेपालगञ्ज र काठमाडौं उपत्यकामा थ्रिजी सेवा विस्तार गरेका छौं । देशभर थ्रिजी सेवा विस्तार भएपछि डाटाको मार्केट शेयर थप बढ्ने मैले विश्वास लिएको छु । हाम्रो लक्ष्य भनेकै थ्रिजी सेवालाई देशभर विस्तार गरी गुणस्तरिय डाटा सेवा ग्राहकलाई उपलब्ध गराउनु रहेको छ ।
डाटा सेवाको गुणस्तरप्रति ग्राहक सन्तुष्ट हुन सकेको अवस्था छैन । ग्राहकहरु द्रुत गतिको सेवा उपभोग गर्न खोज्छन । तर, त्यो अबस्था अहिले छैन् । कसरी सुधार गर्नुहुन्छ ?
हामीले थ्रिजी सेवा सुरु गरेको सात आठ वर्ष भइसक्यो । अहिले हामीले पुरानो नेटवर्क हटाएर नयाँ नेटवर्क विस्तार गरेपछि थ्रिजी सेवा पहिला भन्दा भरपर्दो भएको छ । तै पनि काठमाडौंका केही स्थानहरुमा अझै थ्रिजीको सिग्नल राम्रो देखिएको छैन । उक्त समस्या हटाउन हामीले बिटिएसहरु थप्दैछौं । यो महिना हामीले ३० वटा बिटिएस थप गर्छौं र त्यसपछि सयवटा थप्ने योजना छ । बिटिएस थप गरेपछि काठमाडौं उपत्यकाको थ्रिजी सेवाको गुणस्तरमा सुधार आउँछ ।
कतिपय जिल्लामा अझै राम्रोसँग टावर टिप्दैन । त्यहाँ थ्रिजी सेवा विस्तार गर्न त समस्या हुन्छ होला नी ?
दुर्गम स्थानहरुमा हामीले भ्वाइसका लागि सिडिएमए सेवा विस्तार गरेका छौं । धेरै ठाउँ त्यस्ता छन्, जहाँ टेलिकमको सिडिएमए सेवामात्र पुगेको छ । सिडिएमएले दुर्गम ठाउँमा भ्वाइस सेवा पु¥याएको छ । सोही सिडिएमएबाट हामीले ६५ जिल्लामा ई–भिडियो इन्टरनेट सेवा पु¥याइसकेका छौं । त्यसैले दुर्गम जिल्लामा पनि ई–भिडियोबाट इन्टरनेट चलाउन तथा भिडियो च्याट गर्न सम्भव भइसकेको छ । जिएसएम र सिडिएमए मोबाइलबाट हामीले देशभर इन्टरनेट डाटा सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं ।
अहिले सबै पुरानो उपकरणलाई विस्थापित गरेर नयाँ उपकरण जडान गर्ने क्रममा छौं । अहिले ल्याएको उपकरण झन्डै–झन्डै फोरजी सेवा दिनसक्ने खालको छ ।
फोरजी सेवा चाहिँ कहिलेबाट सुरु हुन्छ ?
नेपाल दूरसञ्चार प्राधिकरणले फोरजी सेवा सञ्चालनका लागि स्वीकृति दिइसकेको छैन । फोरजीको फ्रिक्वेन्सी स्वीकृतिको पर्खाइमा रहेका छौं । स्वीकृति पाएको केही महिनाभित्रमा फोरजी सेवा उपलब्ध गराउन हामी सक्छौं । प्राधिकरणमा नेतृत्व नभएका कारण निर्णयहरु अलि ढिला भइरहेका छन् ।
तपाईले वाईफाई सेवा पनि यसै वर्षभित्र ७५ जिल्लामा पु¥याउने भन्नुभयो । तर, काठमाडौंमा पनि वाईफाईले राम्रोसँग काम गरेको छैन । गुणस्तर सुधार नगरी विस्तार गरेको सेवाबाट ग्राहकले कसरी लाभ लिन सक्छन ?
हाम्रा विभिन्न खालका ग्राहकहरु हुन्छन् । ग्राहकले एकदमै गुणस्तरको इन्टरनेट खोज्छ भने फाइवरमा जानैपर्छ । वाईफाई सेवा हामीले धेरै पैसा खर्च गर्न नसक्ने ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्न लागेका हौं । यो प्रविधि नै धेरै भरपर्दो होइन । विकसित मुलुकहरुमा सञ्चालन गरेको वाईफाई सेवा हेर्नुभयो भने त्यति राम्रो पाउनुहुन्न । नेपालमा पनि अन्य सेवाप्रदायकको वाईफाई सेवा हेर्नुहुन्छ भने पनि त्यति राम्रो छैन ।
हामीले दिएको सेवा विद्यार्थी वर्ग, एक कप चिया नखाई इन्टरनेट चलाउन खोज्ने खालका ग्राहकहरुका लागि हो । वाईफाई सेवा घन्टौंसम्म नेट चलाएर बसिराख्ने वा डाउनलोड गर्न खोज्ने ग्राहकहरुका लागि ल्याएको होइन । थोरै पैसामा मोबाइलबाटै फेसवुक, ट्वीटर वा युट्युव चलाउने, साना नेपाली साइटहरु खोल्ने, अनलाइन न्यूज पोर्टलहरु हेर्ने कामका लागि वाईफाई सेवा उत्तम रहेको छ ।
वाईफाई सेवाप्रति ग्राहकहरुबाट कस्तो फिडब्याक आइरहेको छ ?
ग्राहकहरुबाट राम्रो फिडब्याक आइरहेको छ । यो सेवालाई हामीले ७५ जिल्लामा पु¥याएर व्यापक रुपमा प्रचार गर्छौं । यो सेवा हामीले घरघरमा पुराउन खोजेको होइन । हटस्पट सेवा मूख्य व्यापारिक केन्द्रहरुमा मात्र उपलब्ध हुन्छ ।
गुनासो नगरी टेलिकमको सेवा उपभोग गर्ने दिन कहिले आउला ?
नेपाल टेलिकमप्रति धेरै जनताको आशा तथा भरोषा छ । टेलिकम शत्प्रतिशत जनताकै सम्पत्ती हो । जनताले अपेक्षा गरेअनुसार शस्तो शुल्क लिएर गुणस्तरिय सेवा उपलब्ध गराउन टेलिकम लागिपरेको छ । विगतको ४ महिनालाई हेर्नुभयो भने पनि माघ १ गतेको अवस्था र जेठ १ गतेको अवस्थामा पक्कै सुधार भएको पाउनुहुन्छ । सुधारको क्रम निरन्तर अगाडी बढिरहेको छ । हाम्रो ठेकेदार, विदेशी कन्सल्ट्यान्ट र नेपाल टेलिकमका इञ्जिनियरहरुले त्रिपक्षिय रुपमा निरन्तर नेटवर्कलाई मनिटर गरिरहेका छन् । नेटवर्क सुधारका लागी हामी दिन दिनै लागिरहेका छौं ।
उपभोक्ताहरु कम शुल्कमा अधिकतम सेवा उपभोग गर्न चाहान्छन्, शुल्क घटाउनेतर्फ पनि तपाईहरुले केही सोचिरहनुभएको छ की ?
डाटाको शुल्क घटाउनुपर्छ भनेर उपभोक्ताबाट माग आइरहेको छ । खासगरी जिएसएम मोबाइलको डाटामा एउटै शुल्क भयो, प्याकेजहरु भए हुन्थ्यो भन्ने ग्राहकहरुको गुनासो छ । हामीले जिएसएम डाटाका प्याकेजहरु पनि छिट्टै ल्याउँछौं । यो आर्थिक वर्षभित्रमै विभिन्न प्याकेजहरु उपभोक्तामाझ ल्याउने तयारीमा छौं ।
थ्रिजीको नेटवर्क देशभर विस्तार भएपछि मात्र नयाँ प्याकेज ल्याउँ भनेर कुरिरहेका हौं । यहि आर्थिक वर्षभित्र हामीले ७५ जिल्लामै थ्रिजी सेवा विस्तार गरिसक्छौं, अनि प्याकेजहरु पनि उपभोक्तामाझ पस्कन्छौं । उपत्यका बाहिर पनि हामीले थ्रिजीमार्फत डाटा सेवा उपलब्ध गराउने सोचमा छौं ।
तीस प्रतिशतभन्दा बढीको ग्राहकहरुको हातमा स्मार्टफोन भएको हुँदा थ्रिजी सेवा चलाउन समस्या हुँदैन । स्मार्टफोनमा थ्रिजी सेवा चलिहाल्छ । उपभोक्ताको सिम पुरानो छ भने पनि हामीले निःशुल्क थ्रिजीमा परिणत गरिदिन्छौं ।
तपाईहरुको डाटा सेवाको माग बढाउने भनेको नेपाली कन्टेन्टले हो । कन्टेन्ट उत्पादनमा पनि तपाईहरुले केही योजना बनाउनुभएको छ ?
ग्राहकलाई डाटा सेवामा आकर्षित गर्नका लागि नेपालीपनका डाटा कन्टेन्टहरुको कमी छ । नेपाली समाज, नेपाली संस्कृतिसँग मिल्दो जुल्दो डाटा कन्टेन्टहरु बढाउनुपर्ने आवश्यकता रहेको छ । त्यसो गर्न सकेको खण्डमा सबै ग्राहकहरुलाई डाटामा आकर्षित गर्न सकिन्छ ।
हाम्रो डाटा सेवाका ग्राहकहरु पनि बढ्दैछन् । हाम्रो डाटाको मार्केट शेयर बढ्दैछ । हामीले डाटा सेवालाई मूख्य फोकस गरेर अगाडी बढिरहेका छौं । डाटाका ग्राहकहरु बढाउनका लागि नेपालीपनका कन्टेन्ट ल्याउन हामीले सहायक आईटी कम्पनी स्थापना गर्ने प्रोसेसमा पनि छौं । यो आईटी कम्पनीले डाटाका कन्टेन्टहरु बनाउने काम गर्नेछ ।
आईटी कम्पनी कस्तो हुनेछ र कहिलेसम्म सञ्चालनमा ल्याउने लक्ष्य राख्नुभएको छ ?
टेलिकमको बोर्डबाट निर्णय भएपछि आईटी कम्पनी दर्ता गर्ने र पार्टनर खोज्ने काममा अगाडी बढ्छौं । कम्पनीको मूख्य काम नेपालीपनका डाटा कन्टेन्टहरु होष्ट गर्ने नै हुन्छ । त्यसबाहेक यो कम्पनीले क्लाउड कम्प्युटिङ, विभिन्न एप्सहरु बनाउनेजस्ता धेरै सेवाहरु उपलब्ध गराउने काम गर्छ । त्यसपछि यसले ई–एजुकेशनको सेवा पनि उपलब्ध गराउनेछ । जस्तै, एसएलसीको ट्युसान भिडियोबाट पढ्न पाइनेछ ।
यसका लागि स्वदेशी वा बिदेशी कस्तो साझेदार खोजिरहनुभएको छ ?
साझेदार स्वदेशी वा विदेशी जो पनि हुन सक्छ । साझेदार बन्नका लागि हामीले सबैलाई खुल्ला राख्ने छौं । यसमा मेजोरिटी हिस्सा कसैको पनि हुने छैन । हिस्सा आधा–आधा हुनेछ ।
तपाईहरुले जतिसुकै राम्रा योजना ल्याएपनि उक्त योजना कार्यन्वयनमा ल्याउन निकै समय लाग्छ । यस्तो प्रतिस्पर्धी बजारमा यसरी निर्णय प्रकृयामा ढिलाई गर्दा कसरी टिक्न सकिन्छ ? अब फाष्ट ट्रयाक समात्नुपर्ने बेला आएको होइन ?
यहि फाष्ट ट्रयाकबाट हिँड्नका लागि हामीले रणनीतिक साझेदार भित्राउँदै छौं । साझेदार भित्राएपछि आर्थिक नीतिहरु खुकुलो हुन्छन्, हामीलाई निर्णय गर्न पनि सजिलो हुन्छ । त्यसपछि हामीलाई प्रतिस्पर्धामा उत्रिन थप सहज हुन्छ । साझेदार भित्राएपछि टेलिकम पनि कर्पोरेट संस्थाको रुपमा अगाडी बढ्छ ।
साझेदारको कुरा भलेको पनि निकै भइसक्यो । कहिलेसम्म कस्तो खालको साझेदार ल्याउँदै हुनुहुन्छ ? यसमा केही ठोस प्रगति भएको छ ?
नेपाल सरकारले विदेशी कन्सलट्यान्ट ल्याएर अडिट गराएपछि हामीले साझेदारका लागि बोलपत्र आह्वान गर्ने प्रकृया अगाडी बढाउँछौं । सन् २०१४ भित्रमै सबै प्रकृया पुरा गरेर बोलपत्र आह्वान गर्ने हाम्रो लक्ष्य रहेको छ । हामीले ४÷५ वटा देशमा दूरसञ्चार क्षेत्रमा लगानी गरेको साझेदार ल्याउँछौं । त्यसो गर्दा उसले विभिन्न देशमा संगालेको अनुभव टेलिकमका सेवाहरुमा प्रयोग गर्न सकिन्छ ।
यो निर्णय नेपाल सरकारले गर्ने हो । टेलिकमले गर्दैन । त्यसो हुँदा छिट्टै निर्णय होला र रणनीतिक साझेदार भित्राउने प्रकृया सुरु होला भनेर अपेक्षा गर्न सकिन्छ ।
रणनीतिक साझेदार भित्राएपनि तपाईहरुको काम गर्ने संयन्त्र, शैली र सोंच त यही हो । साझेदारकै कारण व्यवस्थापन र सेवामा व्यापक सुधार आउँछ भन्न सकिन्छ र ?
रणनीतिक साझेदार भित्राएपछि टेलिकमको निर्णय प्रकृया छिटो हुन्छ । त्यसो हुँदा कुनै प्राविधिक समस्या आउँदा पनि तुरुन्त सामान मगाएर मर्मत गर्न सक्छौं । अर्को कुरा उसले अरु देशमा हाँसिल गरेको अनुभव र ज्ञानबाट यहाँ हामीले नयाँ रणनीतिहरु बनाएर प्रतिस्पर्धामा जान सक्छौं । त्यसैले नयाँ साझेदार भित्रिएको ६ महिनाभित्रमै नेपाल टेलिकमको रुप फेरिन्छ भन्ने मलाई विश्वास छ ।
कुनै सयम बजारमा एकछत्र राज गरिरहेको टेलिकमले पछिल्ला वर्षहरुमा निजी क्षेत्रका दूरसञ्चार कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहनुपरेको छ । उनीहरुको आक्रामक मार्केटिङका अघि टेलिकमको उपस्थीति कमजोर देखिन्छ । यसमा कसरी सुधार ल्याउनुहुन्छ ?
अहिलेसम्म हामी मार्केटिङमा अलि पछाडी त छौं । तर, हाम्रो देशभर फैलिएको पूर्वाधारले गर्दा हामी प्रतिस्पर्धामा पछाडी छैनौं । प्रतिस्पर्धीहरु आएर हामीलाई थप उर्जा मिलेको छ । हाम्रो सेवालाई उपभोक्ताले रुचाएका पनि छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्नुहुन्छ भने पनि हाम्रो वृद्धिदर अन्य कम्पनीको तुलनामा उच्च रहेको छ ।
टेलिकमको पछिल्लो रिपोर्ट हेर्ने हो भने त नाफा र ग्राहकसंख्या दुबैको वृद्धिदर घटेको देखिन्छ नी ?
हामीले रोयल्टी तिर्न सुरु गरेपछि हाम्रो नाफाको वृद्धिदर घटेको देखिएको हो । हामीले अढाई अर्ब तिर्नुपर्छ । हाम्रो वृद्धिदर घट्नुको कारण मार्केट बाँडिएर होइन । अर्को प्रतिस्पर्धी आएर हाम्रो ग्रोथमा त्यति असर परेको छैन । उनीहरुले पनि ग्राहक बढाइरहेका छन्, हामीले पनि ग्राहक बढाइरहेका छौं ।
कुनै समय टेलिकमको शेयरले नेप्सेमा पुरै हलचल ल्याउने गथ्र्यो । टेलिकमको शेयरमा थोरै तलमाथी भयो भने पनि नेप्सेमा परिसूचकमा ठूलो प्रभाव पथ्र्यो । तर, पछिल्लो समयमा टेलिकमको शेयर कारोबार घट्दै गइरहेको छ । लगानीकर्ताहरुको आकर्षण घट्दै जान थालेको हो ?
मलाई लाग्छ गत एक वर्षमा टेलिकमको शेयर निकै बढ्यो । केही महिना अगाडी ४ सयको हाराहारीमा रहेको मूल्य अहिले ६ सयको हाराहारीमा रहेको छ । तर पनि टेलिकमको शेयर अपेक्षित रुपमा बढ्न नसकेको पक्कै हो ।
कारण के होला ?
नेपालको शेयर बजारमा कम्पनीको प्रफमेन्सले मात्र सबै कुरा डिसाईड गर्दैन । त्यहाँ अरु खालको चलखेल पनि हुने गर्छ । त्यसैले यहि नै कारण हो भनेर भन्न गाह्रो छ । अहिले त हाम्रो बुक क्लोज हुने बेला पनि आयो । हाम्रो साधारणसभा नजिकिएको छ । त्यसको पनि प्रभाव हुन सक्छ ।
टेलिकमले पुनः लगानीकर्ताको विश्वास जित्न सक्ने अवस्था आउन सक्छ ?
यसका लागी हामीले विशेष गरी आफ्नो बजार विस्तारमा जोड दिनुपर्छ । डाटा सेवाको बजार विस्तारमै हामी केन्द्रीत रहन्छौं । त्यसपछि नयाँ–नयाँ खालका सेवाहरु ल्याउँछौं । मलाई विश्वास छ, वाईफाई सेवा निकै पपुलर भएर जानेछ । यस्तै खालका अरु सेवाहरु पनि ल्याउन सक्यौं भने कम्पनीको बजारमा इमेज अझै राम्रो हुनेछ र शेयरको भाउ पनि बढ्नका लागी बाटो खुल्छ ।
त्यसैगरी, हामीले विस्तारै कर्मचारीहरुको सोंचमा समेत परिवर्तन ल्याउने ध्याउन्नमा लागेका छौं । त्यसका लागी अलिकति समय लाग्छ । कर्मचारीका समस्याहरु टप लेभलले सुन्यो भने उनीहरुलाई काम गर्न पनि हौसला मिल्छ । त्यहि भएर मैले दिनमा डेढ दुई घण्टा कर्मचारीहरुसँग विताउँछु ।
टेलिकमले लगानी विविधिकरण गर्न खोजेको हो ?
लगानी विविधिकरण गर्ने हाम्रो योजना छ । सोही अनुरुप हामीले विद्युतमा लगानी गरिरहेका छौं । अब हामीेले आइटीको सहायक कम्पनी र म्यानेजरियल सर्भिसेज कम्पनी पनि खोल्छौं । इन्फास्ष्ट्रक्चर सेयरिङ कम्पनी पनि खोल्ने योजनामा रहेका छौं । यो चाहीँ नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा खोल्छौं होला ।
मेरो सोँच पहिले सकेसम्म आफ्नै क्षेत्रमा लगानी गर्ने हो । त्यसपछि मात्र बाहिरका क्षेत्रमा लगानी गर्ने हो । तत्कालका लागी हामीले यि तीनवटा क्षेत्रमा लगानी गर्ने सोच बनाएका छौं ।
जीएसएम मोबाइल र डाटामा नयाँ नयाँ कम्पनीले पनि काम सुरु गर्दैछन् । अर्थात् तपाईहरुका प्रतिस्पर्धी बढिरहेका छन् । उनीहरुको उपस्थीतिले मार्केट लिडरका रुपमा तपाईको पोजिसन डगमगाउने अबस्था देखिन्छ नी ?
मैले प्रतिस्पर्धी कम्पनीलाई चुनौतिका रुपमा लिएको छैन । एउटा सहकर्मीको रुपमा लिएको छु । हाम्रो त्यस्तो झगडा पनि छैन र अस्वस्थ प्रतिस्पर्धा पनि छैन । उहाँले ल्याएको रणनीति र हाम्रो रणनीति त्यति जुध्दैन । त्यसैले कुनै समस्या आउने देखिएको छैन । हामी बलियो भएर अगाडी बढ्यौं भने भोलीका दिनमा पनि हामीलाई कुनै चुनौती आउने छैन । त्यसका लागी हामीले पारदर्शी मूल्यलाई कायम नै राख्नुपर्छ । हाम्रो नेटवर्कको पहुँच अरु प्रतिस्पर्धीको भन्दा बढी छ । त्यसलाई थप विस्तार गर्दै लैजान सक्यौं भने हामी दूरसञ्चारको क्षेत्रमा लिडर नै भएर अगाडी बढ्न सक्छौं ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete