Wednesday, June 25, 2014

टेलिकमले पूर्वाधार कम्पनी खोल्ने

प्रकटकुमार शिशिर, नागरिक काठमाडौं- नेपाल टेलिकमले दूरसञ्चार पूर्वाधार निर्माण गर्न २० अर्ब रुपैयाँको पूर्वाधार कम्पनी स्थापना गर्ने भएको छ। टेलिकमले दूरसञ्चार पूर्वाधारका लागि मुख्य रुपमा आवश्यक पर्ने बिटिएस टावर निर्माण गर्ने कम्पनी स्थापना गर्न लागेको हो।  इन्टरनेट सामाग्री निर्माण गर्नै आइटी कम्पनीसमेत स्थापना गर्न लागेको टेलिकमले चाँडै नै करिब २० अर्ब लगानीमा पूर्वाधार कम्पनी स्थापना गर्ने जनाएको छ। टेलिकमले बुधबार पूर्वाधार कम्पनी स्थापनाका लागि अध्ययनसमिति गठन गर्दै छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले पूर्वाधार सेयरिङ र बिटिएस टावर निर्माण गर्ने कम्पनी स्थापना गर्न लागिएको नागरिकलाई बताए। पूर्वाधार कम्पनीमार्फत नेपाल टेलिकमका नयाँ पूर्वाधार अरु कम्पनीसँग सेयरिङ गर्ने सकिने उनले बताए। उनका अनुसार यसले दूरसञ्चार सेवा प्रदायक सबै कम्पनीको लागत घटाउने छ। 'हामीले करिब २० अर्ब रुपैयाँ लगानीमा पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेका छौं। त्यसका लागि भोलि (बुधवार) एक अध्ययन समितिसमेत बन्छ,' उनले भने। प्रबन्ध निर्देशक भट्टराईका अनुसार पूर्वाधार कम्पनीले विशेष गरी बिटिएस टावर निर्माण गर्ने र नेपाल टेलिकमले सञ्चालनमा ल्याउने नयाँ पूर्वाधार साझेदारीको काम गर्ने छ। करिब चार हजार बिटिएस टावरबाट सेवा दिइरहेको टेलिकमले अब त्यत्ति जति थप्ने जनाएको छ। आफ्नै बिटिएस टावर र अरु कम्पनीलाई आवश्यक पर्ने टावर निर्माणमा पूर्वाधार कम्पनीको भूमिका हुने भट्टराईले बताए। 'एउटा टावर खडा गर्न ५० लाख रुपैयाँसम्म खर्च हुन्छ,' उनले भने । टेलिकमले स्थापना गर्ने पूर्वाधार कम्पनीमा टेलिकमकै ५० प्रतिशत सेयर हुने र बाँकी अरु इच्छुक सेवा प्रदायक तथा कर्पाेरेट घरानाको हुने भट्टराईले बताए। टेलिकमले पूर्वाधार साझेदारीसँगै अप्टिकल फाइबर बिछ्याउन पनि साझेदारी गर्ने जनाएको छ। भट्टराईका अनुसार पूर्वाधार कम्पनी आगामी ६ महिनामा स्थापना हुनेछ। 'पूर्वाधारमा लगानी गर्ने निहुँमा अनावश्यक खर्चसमेत भएको छ। पूर्वाधार कम्पनीमार्फत टावर निर्माण गरेर पूर्वाधार साझेदारी गर्दा सेवा प्रदायकको लागतसमेत घट्ने भट्टराईले बताए। उक्त कम्पनी अन्तर्राष्ट्रिय मापदण्ड र उच्चकोटीको हुने भट्टराईको दाबी छ। त्यस्तै टेलिकमले सहायक कम्पनीमार्फत निजी क्षेत्रसँगको साझेदारीमा स्थापना गर्न लागेको अर्काे प्रोजेक्ट आइटी कम्पनी कार्यदलको कार्यालय यसै साता स्थापना हुने भएको छ। प्रारम्भिक काम गरिरहेको कार्यदलले व्यवस्थित रुपमा काम गर्न टेलिकमकै बबरमहलस्थित भवनमा कार्यालय स्थापना गर्न लागेको हो। प्रबन्ध निर्देशक भट्टराईले कार्यदलले कम्पनी दर्ता नभएसम्मका सबै काम गर्न छुट्टै कार्यालय खोल्न लागेको जानकारी दिए। इन्टरनेटमा आधारित हरेक कुरा निर्माण गर्न टेलिकमले नयाँ कम्पनी स्थापना गर्ने घोषणा गरेसँगै कार्यदलले काम सुरु गरेको हो। कार्यदलले अहिले प्रबन्धपत्र बनाउने र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ताको काम गर्ने उनले बताए। प्रबन्धपत्र तयार हुनेबित्तिकै दर्ता प्रक्रियामा जान्छ। त्यसपछि साझेदारी कम्पनीको खोजी हुने उनले बताए। उनका अनुसार कार्यदलले प्रबन्धपत्र बनाउन प्रारम्भिक काम थालिसकेको छ। आइटी कम्पनीका लागि नेपालीसहित विदेशी कम्पनीले रुचि देखाइरहेको उनले जानकारी दिए। 'सायद विदेशी कम्पनीसँग साझेदारी हुन्छ होला,' उनले भने। टेलिकमले साझेदारी गर्न इच्छुक अन्य कम्पनीबाट पनि प्रस्ताव आह्वान गरेको छ। टेलिकमले सुरुमा ४० करोड लगानी गरेर कम्पनी स्थापना गर्ने योजना बनाएको छ। टेलिकमको ५० प्रतिशत र निजी कम्पनीको ५० प्रतिशत सेयर हुने गरी कम्पनी स्थापना हुने छ। कार्यदलले कम्पनी स्थापना गरेपछि सेयर बिक्री गर्ने र नयाँ नेतृत्वलाई जिम्मेवारी दिएर छाड्ने भट्टराईले जानकारी दिए।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete