Saturday, June 16, 2012

मोबाइल लाइन थप योजनामा ढिलाइ


प्रस्तुति: सरस्वती ढकाल काठमाडौं, २ असार - नेपाल टेलिकमले १ करोड जीएसएम लाइन थप्ने बृहत् योजना अघि बढाउन ढिलाइ गरेको छ । सञ्चालक समितिले योजना अघि बढाउन टेलिकम व्यवस्थापनलाई अनुमति दिइसके पनि प्रक्रिया अघि बढन नसक्दा ढिलाइ भएको हो । मोबाइल लाइन थपसम्बन्धी १५ अर्ब रुपैयाँभन्दा बढीको योजनाका लागि बोलपत्र आह्वान भएको १० महिना बितिसकेको छ । देशभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अगाडि सारिएको यो योजनामा ढिलाइ हुँदा दूरसञ्चार सेवामा टेलिकम दोस्रो स्थानमा धकेलिएको छ । अहिले टेलिकमका ग्राहक ७५ लाखको हाराहारीमा छन् । करिब डेढ वर्षयता टेलिकमले ग्राहक लक्षित गुणस्तरीय सेवा दिन नसकेको आरोप बेहोर्नु परेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष अबनिन्द्रकुमार श्रेष्ठले प्रतिस्पर्धाबाट छनोट भएका सस्तो दर प्रस्ताव गर्ने चीनिया सरकारी स्वामित्वको जेडटीई कर्पाेरेसन र निजी क्षेत्रको हुवावई टेक्नोलोजी लिमिटेडसंग सम्झौता गर्न व्यवस्थापनलाई निर्देशन दिई सकिएको बताए ।  टेलिकमले काठमाडौं उपत्यका, पश्चिमाञ्चल एउटा समूह र त्यसबाहेकका अन्य क्षेत्रलाई अर्काे समूह गरी बोलपत्र आह्वान गरेको थियो । बोलपत्रबमोजिम हुवावईले काठमाडौं उपत्यका र पश्चिमाञ्चल तथा जेडटीईले यसबाहेक देशका अन्य क्षेत्रमा सेवा विस्तार गर्नेछ । छनोट भएका कम्पनीहरूले तीन महिना अगाडि नै सेवा विस्तारको आसय पत्र प्राप्त गरिसकेका छन् । सम्झौता भएको ६ महिनापछि योजनाअन्तर्गतका मोबाइल वितरण कार्य सुरु गर्ने लक्ष्य तोकिएको थियो, तर लक्ष्यबमोजिम सम्झौता हुन नसक्दा टेलिकमको मोबाइल ग्राहकको हातसम्म  पुग्न नसकेको योजनासम्बद्ध अधिकारीहरु बताउँछन् ।  एक अधिकारीका अनुसार योजना कार्यान्वयनमा थप ढीलाइ भए बजारमा प्रिपेड सिमकार्डको पूर्ण अभाव हुनेछ । अहिले पनि टेलिकमले ग्राहकको मागबमोजिम सिमकार्ड वितरण गर्न सकेको छैन । सन् २००७ मे महिनामा तीन वर्षभित्र काम पूरा गर्ने ३५ लाख जीएसएमको बोलपत्र पाएको जेडटीईले हालसम्म काम पूरा नगर्दा टेलिकम मोबाइल सेवाको प्रतिस्पर्धामा पछाडि परिसकेको छ । छनोटमा पुनः जेडटीई भएकाले बृहत् योजना प्रभावित हुन सक्ने आशंका अधिकारीहरू व्यक्त गर्छन ।

1 comment:

  1. संबिधान जस्तै हो Nepal telecom को project.

    ReplyDelete