Saturday, June 2, 2012

टेलिकमको डिजिटल कार्ड तयारी

काठमाडौं, जेठ २१ (नागरिक) - नेपाल टेलिकमको सेवा लिएपिच्छे नागरिकता प्रमाणपत्र र फोटो टाँस्नुपर्ने बाध्यता अब हट्ने भएको छ। टेलिकम सञ्चालक समितिले प्रगतिशील कार्यक्रम स्वीकार गरे केही महिनाभित्रै उपभोक्ताले एकपल्ट नागरिकताको प्रतिलिपी (फोटोकपी) बुझाएपछि अरू सेवा लिँदा फर्मसँग राख्नुपर्ने बाध्यता सधैंका लागि हट्ने छ . ग्राहकले टेलिकमको ल्यान्डलाइन, जिएसएम सिमकार्ड, सिडिएमए सिमकार्ड, एडिएसएलमध्ये कुनै पनि एउटा सेवा लिँदा बुझाएको नागरिकता प्रमाणपत्र सधैं काम लाग्ने गरी उपभोक्तालाई डिजिटल कार्ड दिने प्रविधि परीक्षण गरेको छ। 'यो प्रविधिअनुसार एक पटक नागरिकताको फोटोकपी बुझाएपछि त्यही ग्राहकले टेलिकमकै अन्य सेवा लिन पुनः फोटोकपी लगिराख्नु पर्दैन,' टेलिकमका नायब प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले भने। ग्राहक सेवा काउन्टरमा राखिने क्यामेराले ग्राहकको फोटो खिच्ने र त्यसलाई समेत मास्टरकार्ड आकारको कार्डमा डिजिटलाइज गरेर दिने प्रस्ताव टेलिकमले गरेको छ। यसो गर्दा कम्पनीको छवि पनि सुधार हुने र ग्राहकले पटक-पटक नागरिकता एवं फोटो बोकेर जानु पर्दैन।
'ग्राकहले जिएसएम सिमकार्ड लिँदा राखेको नागरिकताको फोटोकपी स्क्यान र फोटो समेत खिचेर कार्डमा राखेर दिन्छौं,' भट्टराईले प्रविधिबारे भने, 'त्यसपछि त्यही व्यक्ति सिडिएमए सिम वा ल्यान्डलाइन लिन जाँदा नागरिकता र फोटोको सट्टा त्यही कार्ड बोकेर गए हुन्छ।' बारकोडमार्फत् ग्राहकको विवरण राखेर दिने गरी प्रस्ताव अघि बढाइएको उनले बताए। यसबाट टेलिकमलाई भविष्यमा ग्राहकका सबै विवरण कागजी फाइलको सट्टा डिजिटल फर्म्याटमा राख्न सजिलो पनि हुनेछ। यो प्रविधिलाई शुक्रबार टेलिकम सञ्चालक समितिको बैठकमा परीक्षण गरिएको थियो। परीक्षण गर्दा एउटा कार्ड जारी गर्न तीन मिनेट लागेको थियो। 'यसलाई एक मिनेटमा झार्नुपर्छ,' उनले भने, 'भविष्यमा टेलिकमका सबै सेवाको एउटै बिल हुन लागेको हुँदा यसले झनै सजिलो बनाउने छ।' परीक्षण सफल भए पनि सञ्चालक समितिले तत्काल अघि बढ्न निर्देशन भने दिएको छैन। समितिले यो सिर्जनात्मक प्रस्ताव स्वीकार गरेको खण्डमा टेलिकम उपभोक्ताले हरेक पटक फर्म भर्दा नागरिकता बोकेर जानुपर्ने छैन। टेलिकमले वेबसाइटमार्फत् फारम भरेर सेवा लिन सकिने सुविधा दिँदा यो प्रविधि झनै प्रभावकारी हुने सुझाव टेलिकमकै अधिकारीहरूको छ। एटिएम कार्ड साइजमा हुने यस्तो कार्ड एक पटक जारी भएपछि सधैं काम लाग्ने गरी बनाउन प्रस्ताव गरिएको छ। ग्राहकको सबै विवरण र हस्ताक्षरसमेत राखेपछि भविष्यमा कुनै सेवा लिनुपर्दा त्यही कार्ड स्वाप गरेर दिन मिल्ने प्रविधि राख्न लागिएको हो। विकसित देशले आफ्ना नागरिकलाई दिने विद्युतीय परिचयपत्रमै डिजिटल फर्म्याटमा विवरण राखिएको हुन्छ। यहाँ सरकारले यस्तो कार्ड जारी गर्न कानुन नभए पनि टेलिकमले आफ्नो डाटाबेसलाई व्यवस्थित गर्न यो प्रविधि ल्याउन लागेको हो। सञ्चालक समितिले स्वीकृति दिए टेन्डर गर्ने प्रस्ताव व्यवस्थापनले बनाएको छ।

No comments:

Post a Comment