Wednesday, May 30, 2012

टेलिकमभन्दा एनसेलका ग्राहक बढी


काठमाडौं, जेष्ठ १७ -कान्तिपुर संवाददाता एनसेल नेपालको सबैभन्दा बढी ग्राहक भएका दूरसञ्चार सेवा कम्पनी भएको छ । गत वर्ष जीएसएम मोबाइलमा सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछाडि पारेको एनसेलले चैतबाट सम्पूर्ण ग्राहकको आधारमा समेत पछाडि पारेको हो । उसका एकै महिना दुई लाख ३५ हजार ग्राहक थपिएका छन् । नेपाल टेलिकमले जीएसएम मोबाइलका साथै सीडीएमए र आधारभूत फोन सेवा दिइरहेको छ । एनसेलले भने जीएसएम मोबाइल सेवा मात्र दिइरहेको छ । दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार टेलिकमका तीनै सेवाका ग्राहकभन्दा एनसेलका जीएसएम मोबाइल ग्राहक धेरै छन् । फागुनसम्म टेलिकमका ग्राहक एनसेलका भन्दा बढी थिए ।
चैतमा एनसेलका मोबाइल प्रयोगकर्ता ७६ लाख ९९ हजार पुगेका छन् । टेलिकमका ग्राहक ७५ लाख ७० हजार छन् । टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ता ५९ लाख ४९ हजार छन् । सीडीएमए मोबाइल प्रयोगकर्ता ८ लाख ५० हजार छन् । आधारभूत फोन प्रयोगकर्ता ६ लाख २३ हजार छन् । ताररहित फोन प्रयोगकर्ता १ लाख ४७ हजार छन् । फागुनसम्म टेलिकमका ग्राहक ७५ लाख २२ हजार थिए । एनसेलका ग्राहक फागुनमा ७४ लाख ७३ हजार मात्र थिए । यस्तै चालू आर्थिक वर्षको पहिलो नौ महिनामा मुलुकको दूरसञ्चार घनत्व झन्डै १५ प्रतिशतले बढेको छ । चैतसम्मको तथ्यांक अनुसार मुलुकमा ६१ दशमलव ४२ प्रतिशत जनताको पहुँचमा दूरसञ्चार सेवा पुगेको छ । चालू आर्थिक वर्षको सुरुमा दूरसञ्चार घनत्व ४६ दशमलव ५ प्रतिशत थियो । प्राधिकरणका अनुसार अहिले १ करोड ६३ लाख ५० हजार नेपालीको पहुँचमा दूरसञ्चार सेवा छ । साउन सुरुमा दूरसञ्चार सेवा लिएका नेपालीको संख्या १ करोड ३१ लाख ६३ हजार थियो । यस अवधिमा सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता बढे । दूरसञ्चार सेवा प्रयोगकर्तामा सबैभन्दा बढी हिस्सा रहेको मोबाइल प्रयोगकर्ता नाै महिनाको अवधिमा १४ प्रतिशतले बढेका छन् । यही कारणले चालू वर्षको सुरुमा मोबाइल घनत्व ४० दशमलव ५९ प्रतिशत थियो । अहिले यो बढेर ५४ दशमलव ४६ प्रतिशत पुगेको छ ।
यो वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कम हो । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको भन्दा वृद्धिदर ५ दशमलव ४१ प्रतिशतले कम छ । चालू वर्षको पहिलो नौ महिनामा २८ लाख ५० हजार मोबाइल प्रयोगकर्ता थपिएका छन् । चालू वर्षको सुरुमा मोबाइल प्रयोगकर्ताको संख्या १ करोड १६ लाख थिए । अहिले बढेर १ करोड ४४ लाख रहेका छन् । गत आवको पहिलो नौ महिनामा मोबाइल प्रयोगकर्ताको संख्या ३० लाख ६० हजारले बढेको थियो । अहिले नेपाल टेलिकम र एनसेलले मोबाइल सेवा दिइरहेका छन् । यी दुवै कम्पनीको वृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटेको छ । प्राधिकरणको प्रतिवेदन अनुसार यस अवधिमा नेपाल टेलिकमका मोबाइल ग्राहक ७ लाख ८० हजार थपिएका छन् । टेलिकमले सीडीएमए र जीएसएम प्रविधिको मोबाइल सेवा दिँदै आएको छ । यस अवधिमा निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका ग्राहक २० लाख ७० हजार थपिएका थिए । गत वर्षको यही अवधिमा एनसेलका ग्राहक २० लाख ९० हजार थप भएका थिए ।
केही वर्षदेखि मोबाइल सेवा प्रदायकको ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा लगातार बढिरहेको छ । मेरो मोबाइलको स्वामित्व टेलिया सोनेराले लिएर यसलाई रिब्रान्डिङ गरी एनसेल बनाएपछि यसको ग्राहक संख्यामा उच्च वृद्धि भएको हो । यसले मोबाइल क्षेत्रमा उच्च प्रतिस्पर्धाको अवस्था सिर्जना गरेको छ । ग्राहक संख्या बढेपछि चालू आवको पहिलो ९ महिनामा वृद्धिदर घट्नुले बजार खुम्चिँदै गएको जानकारहरू बताउँछन् । भ्वाइस सेवाको पहुँच ४० प्रतिशत नाघेपछि वृद्धिदर स्वतः घट्ने विज्ञहरूको भनाइ छ । यसो त दूरसञ्चार कम्पनीहरूले सेवा विस्तारलाई उच्च गतिमा अगाडि बढाइरहेका छन् । नेपाल टेलिकमले धेरै ग्रामीण क्षेत्रमा सेवा विस्तार गरिसकेको छ । एनसेलले आफ्नो सेवा ९० प्रतिशत क्षेत्रमा विस्तार गरेको जनाएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्दा एउटा बीटीएसबाट थोरैले मात्र सेवा पाउने हुँदा वृद्धिदर कम भएको अनुमान अधिकारीहरूको छ । आगामी दिनमा यो वृद्धिदर अझै सुस्त हुने जानकारहरू बताउँछन् । प्राधिकरणका अनुसार चालू आवको नौ महिनामा अन्य सेवाका ग्राहक संख्याको वृद्धि भने न्यून छ ।
प्रकाशित मिति: २०६९ जेष्ठ १७ ०४:१०

No comments:

Post a Comment