Sunday, May 6, 2012

चार देशका दूरसञ्चार कम्पनीबीच सम्झौता


काठमाडौं, वैशाख २५ (नागरिक) - दक्षिण एसियाली क्षेत्रका चार देशका प्रमुख दूरसञ्चार सेवा प्रदायकले आफ्नो देशमा टेलिफोन र इन्टरनेट सस्तो बनाउन सम्झौता गरेका छन्। नेपाल, भारत, बंगालदेश र भुटानका प्रमुख दूरसञ्चार सेवा प्रदायकले हालै मनिलामा अन्तरआवद्धता सम्झौता गरेका छन्। एसियाली विकास बैंकको सहयोगमा चार देशलाई जोड्ने 'सासेक सूचना प्रविधि राजमार्ग' निर्माण हुँदैछ। अप्टिकल फाइबरले चार देशलाई जोडेर टेलिफोन र इन्टरनेट अहिलेको भन्दा सस्तो बनाउने परियोजनाको लक्ष्य छ। 'यो प्रोजेक्ट दुई वर्षभित्र सम्पन्न भएपछि अहिलेको भन्दा इन्टरनेट धेरै नै सस्तो हुनेछ,' परियोजना निर्देशक एवं सञ्चार मन्त्रालयका सहसचिव लक्ष्मण पोखरेलले भने। भारतको सिलगुडीमा मुख्य केन्द्र (हब) राखेर त्यहाँबाट चार देशमा इन्टरनेट र टेलिफोनको ब्यान्डविथ पठाउने लक्ष्य एसियाली विकास बैंकको छ। चार देश मिलेर संयुक्त रुपमा सञ्चालन गर्ने यो परियोजनाका लागि नेपालको तर्फबाट सरकारी स्वामित्वको नेपाल टेलिकम, भारतबाट भारत सञ्चार निगम लिमिटेड (बिएसएनएल), बंगलादेशबाट बंगलादेश टेलिकम कम्पनी र भुटानबाट भुटान टेलिकमले सम्झौतामा हस्ताक्षर गरेका छन्। 'सासेक प्रोजेक्ट सम्पन्न भएपछि सामुदायिक कल सेन्टरहरुले ३० प्रतिशत सस्तोमा टेलिफोन र इन्टरनेट प्रयोग गर्न सक्छन्,' नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले भने। सासेक सूचना राजमार्ग प्रयोग सम्झौतामा नेपालको तर्फबाट आचार्यले हस्ताक्षर गरेका थिए। परियोजना पूरा भएपछि भुटान र बंगलादेशमा टेलिफोन कल अहिलेभन्दा निकै घट्नेछ। भारतमा कल गर्दा अहिले नै मिनेटको बढीमा ३ रुपैयाँ छ। सार्क क्षेत्रकै भए पनि बंगलादेश र भुटानसँग भने सिधै सम्पर्क नभएको हुँदा महँगो छ। नेपालले भारत, भुटान र बंगलादेशका सेवा प्रदायकहरुसँग छुट्टाछुट्टै सम्झौता गरेको थियो। सासेक परियोजनाले बनाउने अप्टिकल फाइबर काठमाडौंबाट विपी राजमार्ग हुँदै विराटनगरको रानी भन्सारमा जोडिन्छ। त्यहाँबाट बिएसएनएलको अप्टिकल फाइबरमा जोडिएर सिलगुडी पुग्छ। सिलगुडीबाट कोलकाता हुँदै फाइबरलाई चेन्नईमा रहेको मुख्य केन्द्रमा जाडेर संसारभरि आवद्ध गराउने लक्ष्य परियोजनाको छ। अप्टिकल फाइबर सूचना प्रविधिको सबैभन्दा छिटो र सस्तो माध्यम हो। पहिलेभन्दा अन्तर्राष्टिय कल (आइएसडी) महसुल सस्तो हुनुमा अप्टिकल फाइबरकै योगादन हो। पहिले स्याटेलाइटबाट आइएसडी कल हुने गरेकोमा अप्टिकल फाइबरबाट हुन थालेपछि व्यापक रुपमा महसुल घटेको छ। अहिले देशभित्रै एउटा अञ्चलबाट अर्कोमा कल गर्दा लाग्ने महसुलभन्दा अमेरिका गर्दा कम महसुल लाग्नु अप्टिकल फाइबरकै योगदान हो।
अहिले टेलिकमले भारतीय कम्पनीहरुसँग ब्यान्डविथ लिएर भैरहवा, वीरगन्ज हुँदै इन्टरनेट र टेलिफोनको ट्राफिक विदेशमा पठाउँदै आएको छ। एडिबीको अनुदानमा सासेक परियोजनाले बनाउने सूचना प्रविधि राजमार्ग सञ्चालनमा आएपछि टेलिकमलाई अहिलेको भन्दा महसुल सस्तो पर्नेछ। 'सम्झौताअनुसार यो अप्टिकल फाइबर प्रयोग गरे बापत हुने कारोबारको दुई प्रतिशतमात्र सरकारलाई तिरे पुग्छ,' परियोजनामा कार्यरत प्राविधिक विशेषज्ञ सुरेन्द्रलाल हाडाले भने। यो रकमलाई अलग्गै कोषमा राखेर गाउँमा स्थापना भएका टेलिसेन्टरलाई दिगो बनाउने प्रस्ताव छ। यसबाट टेलिकमलाई मात्र होइन अरु निजी टेलिफोन सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकले समेत अन्तर्राष्ट्रिय सम्पर्कमा सजिलो अनि सस्तो पर्नेछ। यसमा सबैभन्दा बढी ब्यान्डविथ नेपालले लिएको छ। नेपालले १० गिगाबिट प्रतिसेकेन्ड ब्यान्डविथ लिएको छ। जब कि भारतले २.५ जिबीपिएसमात्र लिएको छ। नेपालका लागि १० जिबी ब्यान्डविथ भनेको निकै धेरै हो। अहिले नेपाल टेलिकमले टेलिफोन र इन्टरनेटका लागि चार जिबिपिएसमात्र व्याण्डविथ किनेको छ। सबै इन्टरनेट सेवा प्रदायकले लिएको ब्यान्डविथ नै ८ जिबीभन्दा बढी छैन। सासेक परियोजना अघि बढाउन नेपालबाहेकका देशभरि ढिला भएका छन्। २०१२ जुनभित्रै पूरा गर्ने लक्ष्य लिइएको यो प्रोजेक्टलाई २०१४ को डिसेम्बरसम्मका लागि थपिएको छ। परियोजना अघि बढाउन भारत, बंगलादेश र भुटान निकै पछि परेका छन्। २०१४ डिसेम्बरभित्र म्याद थपिए पनि त्यसको ६ महिनाअघि नै काम सम्पन्न गरेर अप्टिकल फाइबरबाट डाटा आदान प्रदान सुरु गर्ने योजना एडिबीको छ। यो परियोजनाअन्तर्गत नेपालको बजेट एक करोड १२ लाख डलर छ। अहिले अप्टिकल फाइबर आपूर्ति र जमिनमुनि गाड्न ठेक्का खोल्ने तयारी सञ्चार मन्त्रालयले गरिरहेको छ। 

No comments:

Post a Comment