Wednesday, May 16, 2012

नेपाल, भारत, बंगलादेश र भुटानबीच अप्टिकल फाइबर


काठमाडौ, जेष्ठ ३ - नेपाल, भारत, बंगलादेश र भुटान अप्टिकल फाइबर लिंकबाट जोडिने भएका छन् । नेपालमा आवश्यक पूर्वाधार निर्माण दुई वर्षभित्र पूरा गर्ने उद्देश्यका साथ सूचना तथा सञ्चार मन्त्रालयले योजना अगाडि बढाएको हो । अप्टिकल फाइबर बिच्छाउनका लागि कम्पनी छनोट गर्न मन्त्रालयले टेन्डर आह्वान गरेको छ । मन्त्रालयले टेन्डर भर्ने समय जेठ १८ सम्म तोकेको छ । दक्षिण एसियाका यी मुलुकलाई उच्च गतिको डाटा र भ्वाइस सेवाबाट जोड्ने उद्देश्यले एसियाली विकास बैंक -एडीबी) को सहयोगमा यो काम हुन लागेको हो । यो योजना दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग -एसएएसईसी) को इन्फरमेसन हाइवे आयोजना अन्तर्गत सञ्चालित छ । 'नेटवर्क निर्माणका लागि सबै देशलाई आआफ्नो पूर्वाधार तयार गर्ने भिन्दाभिन्दै जिम्मा दिइएको छ,' मन्त्रालयका प्रविधिविज्ञ सुरेन्द्रलाल हाडाले भने, 'चार मुलुकबीच सन् २०१४ मा काम सक्ने सहमति भएको छ । हामी सकेसम्म २०१३ भित्र काम सक्ने योजनामा छौं ।' अप्टिकल फाइबर सञ्जाल बनेपछि यी देशबीच डाटा र भ्वाइस सेवा आदानप्रदान गर्न स्याटलाइटमा भएको निर्भरता हट्ने छ । साथै सेवा पनि सस्तो दरमा पाइने छ । 'हामीले टेन्डरको काम अगाडि बढाएका छौं,' हाडाले भने, 'टेन्डरबाट छानिएको कम्पनीले अप्टिकल फाइबर बिच्छाउनुपर्छ ।' एसएएसईसी योजनामा फाइबर बिच्छाउनुका साथै ३० वटा सामुदायिक ई-सेन्टर स्थापन गर्ने कार्यक्रम पनि छ । यस्तै मुलुकमा सूचना प्रविधि विकासका लागि अनुसन्धान तथा प्रशिक्षण केन्द्र पनि स्थापना गर्ने योजना पनि यसमा छ । यी आयोजनाका लागि एडीबीले ९० लाख अमेरिकी डलर -झन्डै ७४ करोड ५० लाख रुपैयाँ) अनुदान दिएको छ ।
यो अनुदान नेपालमा पूर्वाधार निर्माणका लागि मात्र हो । अन्य मुलुकलाई भिन्दाभिन्दै अनुदान सहयोग उपलब्ध गराइएको छ । नेपालको अप्टिकल फाइबर नेटवर्क काठमाडौंबाट भारत हुँदै सिलगुडी पुगी चारै देशको फाइबर लिंक जोडिने उनले बताए । काठमाडौंबाट बीपी राजमार्ग हुँदै बर्दिबासमा फाइबर पुग्ने छ । त्यहाँबाट एउटा फाइबर विराटनगर र अर्को वीरगन्ज लगिने छ । विराटनगरको रानी भन्सारमा हुने केबल लेन्डिङ स्टेसन -सिएलएस) बाट भारत सञ्चार निगम लिमिटेड --बीएसएनएल) को जोगबनीको नेवर्टकमा जोडिने छ । त्यहाँबाट फाइबर लिंक सिलगुडीमा पुग्ने छ । 'सिलगुडीमा सबै देशको लिंक आएको हुन्छ,' उनले भने, 'त्यसबाट सबैसँग सम्पर्क कायम हुन्छ ।' बर्दिबासबाट वीरगन्जको रक्सौलमा पनि यसलाई जोडिने छ । यो आयोजना पूरा भएपछि भारतसँग वैकल्पिक अप्टिकल फाइबर लिंक हुने छ । नेपाल टेलिकमले भारतसँग अप्टिकल फाइबर लिंक गरे पनि त्यसको क्षमता कम छन् । टेन्डर आह्वान गरेपछि अहिलेसम्म २० वटा अन्तर्राष्ट्रिय कम्पनीले टेन्डर कागजात किनेको मन्त्रालयले जनाएको छ । 'आवेदन दिने कम्पनीबाट कात्तिकसम्ममा उत्कृष्ट छनोट गरी कामको जिम्मा दिने योजना बनाएका छौं,' इफरमेसन हाइवे परियोजना व्यवस्थापक शैलजा रेग्मीले भनिन् । उनले टेन्डर मूल्यांकनको काम तीनदेखि पाँच महिनाको अवधिमा पूरा गरिने बताइन् । सरकारले अप्टिकल फाइबर निर्माणको काम पूरा गरेपछि यसको सञ्चालन र मर्मतको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ 

No comments:

Post a Comment