Sunday, May 13, 2012

ई-भिडियो रिमकार्ड बेच्न सामसङ र अल्काटेलको प्रस्ताव


काठमाडौं, वैशाख ३१ (नागरिक)- टेलिकमसँग सहकार्य गरेर सिडिएमएको ई-भिडियो रिमकार्ड बेच्न दुई कम्पनीले प्रस्ताव गरेका छन्। ई-भिडियो सिडिएमए प्रविधिमा उच्च गतिमा इन्टरनेट चल्ने प्रविधि हो। सामसङ मोबाइलको बिक्रेता इन्टरनेटसनल मार्केटिङ सर्भिसेस (आइएमएस) र अल्काटेलको बिक्रेता चौधरी ग्रुपअन्तर्गतको फ्युचर प्रोडक्ट सर्भिसले सहकार्य (बन्डलिङ) गरेर सेट बेच्न प्रस्ताव राखेका छन्। 'हामीले सामसङ-वाईलाई टेलिकमसँग मिलेर बेच्न प्रस्ताव गरेका छौं,' आइएमएसका प्रमुख दीपक मलहोत्राले भने।  सामसङको यो सेटलाई कम्पनीले १३ हजार ५ सय रुपैयाँमा ग्राहकलाई रिमकार्ड राखेर दिने प्रस्ताव गरेको छ। ई-भिडियो चल्ने रिमकार्ड राख्न मिल्ने यो सेट किन्दा मासिक निश्चित रकम खर्च गरे महसुलसमेत छुट दिने प्रस्ताव सामसङले गरेको छ। 'हामी टेलिकमले दिएको काउन्टर र स्मार्टफोन क्याफेमार्फत् सेट बेच्ने तयारीमा छौं,' मलहोत्राले भने। सामसङले काठमाडौंमा तीन स्मार्टफोन क्याफे खोल्ने तयारी गरिसकेको छ। टेलिकमको वायरलेस सेवा निर्देशनालयले तीन साताअघि बन्डलिङ गरेर सेट बेच्न इच्छुक कम्पनीसँग प्रस्ताव आह्वान गरेको थियो। टेलिकमसँग मिलेर सिडिएमए सेट बेच्न प्रस्ताव गरेको अल्काटेलले १४ हजार २ सय रुपैयाँ पर्ने सेटलाई प्रवर्द्धन गर्न खोजेको यो सेटमा रिमकार्ड राखेपछि वाइफाई राउटरका रूपमा प्रयोग गर्न मिल्छ। त्यसपछि अरू स्मार्टफोन, आइप्याड, ल्यापटपसँग कनेक्ट गरेर इन्टरनेट चलाउन सकिन्छ। 
अल्काटेलसँग सिडिएमएअन्तर्गत ३ हजार ४ सयदेखि २० हजार रुपैयाँ मूल्य पर्ने सेट छन्।  एक महिनाअघि टेलिकमले गरेको टेन्डरमा कुनै पनि कम्पनीले सहभागिता जनाएका थिएनन्। यसपल्ट दुवै कम्पनीले सिडिएमएको स्मार्टफोन बन्डलिङ गरेर बेच्ने प्रस्ताव गरेका छन्। 'दुवै प्रस्ताव राम्रा छन्, हामी निकै उत्साहित छौं,' वायरलेस सेवा निर्देशनालय प्रमुख अनुपरञ्जन भट्टराईले भने। टेलिकमले मोबाइल सेवा सुरु गरेको १३ वर्षपछि बन्डलिङ गरेर बेच्ने तयारी गरेको हो। संसारका धेरै देशका मोबाइल कम्पनीले ग्राहक बढाउन यो रणनीति लिने गर्छन्। 'बन्डलिङमा छनोट भएका कम्पनीले टेलिकमबाट रिमकार्ड लिन्छन् र सेट किन्न आउने ग्राहकलाई फर्म भराएर रिमकार्ड समेत दिएर पठाउँछन्,' भट्टराईले भने। यो नीतिले रिमकार्ड किन्न ग्राहक टेलिकम काउन्टरसम्म पुग्ने झन्झट हुँदैन। टेलिकमले आफ्नो काउन्टर भएका जावलाखेल, सुन्धाराको नयाँ भवनमा निजी कम्पनीलाई सेटसमेत बेच्ने गरी छुट्टै काउन्टर दिने प्रस्ताव गरेको छ। सामसङ र अल्काटेल दुवै प्रतिष्ठित कम्पनी भएकाले थप वार्ता गरेर सम्झौता गर्ने तयारीमा टेलिकम छ। नेपाली बजारमा चिनियाँ कम्पनी जेडटिइले पनि सिडिएमए स्मार्टफोन बेचिरहेको छ। तर, टेलिकमको प्रस्तावमा जेडटिइ भने सहभागी भएन। यो कम्पनीसँग पर्याप्त स्मार्टफोन नभएपछि प्रस्तावमा सहभागी नभएको अनुमान टेलिकमको छ। डाटा सेवामा सिडिएमए संसारभरि चलेको प्रविधि हो। नेपालमा भने जिएसएमको दाँजोमा यो प्रविधि त्यत्ति चलेको छैन। टेलिकमले ३ सय रुपैयाँमै उच्च गतिमा इन्टरनेट चल्ने ई-भिडियो सिमकार्ड वितरण गरिरहेको छ। सिडिएमएको पुराना सिमकार्डमा इृ-भिडियो चल्ने सेवाको माग उपभोक्ताले गरिरहेका छन्। टेलिकमले प्रयोगमा रहेका पुराना सिमकार्डलाई ई-भिडियोमा परिणत गरिदिने हो भने स्मार्टफोनका प्रयोगकर्ता यसतर्फ आकर्षित हुने निर्देशनालयका अर्का एक अधिकारीले बताए। सिडिएमए सेवाप्रति ग्राहकको आकर्षण बढाउन स्मार्टफोन बिक्रेतासँग मिलेर सुरु गर्न लागेको यो अभियानले ग्राहक बढ्ने अपेक्षासमेत टेलिकमको छ। 

No comments:

Post a Comment