Thursday, May 17, 2012

टेलिकमको १ करोड सिम थप्ने योजना अलपत्र

काठमाडौं, ३ जेठ-सरस्वती ढकाल नेपाल टेलिकमले थप्न लागेको १ करोड जीएसएम मोबाइल सिमको टेन्डर नौ महिनासम्म पनि मूल्यांकन चरणमै रहेपछि योजना अलपत्र परेको छ । दुई महिनाभित्र निर्णय नभए टेलिकमले नयाँ सिमकार्ड बिक्री गर्न सक्नेछैन । टेन्डरमा सस्तो दर प्रस्ताव गरी छनोट भएका चीनका जेडटीई कर्पाेरेसन र हुवावई टेक्नोलोजी लिमिटेडसँगको छलफल लम्बिएपछि टेलिकमको बृहत् परियोजना अन्योलमा परेको हो । यो परियोजनाका लागि टेलिकमले १५ अर्ब रुपैयाँ छुट्ट्याएको छ । सम्झौता भएको ६ महिनापछि मोबाइल वितरण सुरु गर्ने लक्ष्यअनुसार टेलिकमले विश्वव्यापी टेन्डर आह्वान गरेको हो । लक्ष्यबमोजिम दुई कम्पनीसँग सम्झौता भएको भए यतिबेला उसले मोबाइल वितरण सुरु गरिसक्ने थियो । गत असोज पहिलो साता प्रतिस्पर्धी कम्पनीले टेलिकममा प्रस्ताव पेस गरेका थिए । टेलिकमको विश्वव्यापी टेन्डरमा तीन कम्पनीले आवेदन गरेका थिए, जसमध्ये हुवावई र जेडटीईले कम दर प्रस्तुत गरेका थिए । बोलपत्र पेस गर्नेमा स्विडेनको इरिक्सन पनि थियो । परियोजना ठूलो भएकोले छलफलको प्रक्रिया पनि लम्बिएको टेलिकमका उच्च अधिकारी बताउँछन् । “निरन्तर छलफल भए पनि अन्तिम निर्णय हुन सकेको छैन,” एक अधिकारीले कारोबारसँग भने, “थप एक–दुई महिना छलफल लम्बिए बजारमा प्रिपेड सिमकार्ड पूर्ण अभाव हुनेछ ।” अहिले पनि टेलिकमले ग्राहक मागअनुसार सिमकार्ड बाँड्न सकेको छैन । सन् २००७ मेमा तीन वर्षभित्र काम पूरा गर्नेगरी ३५ लाख जीएसएमको ठेक्का पाएको जेडटीईले हालसम्म काम पूरा नगर्दा टेलिकम अन्य प्रतिस्पर्धीको तुलनामा पछाडि परिसकेको छ । परियोजना कार्यान्वयनदेखि अन्त्यसम्म सात चरणमा काम पूरा गर्ने टेलिकमको कार्ययोजना छ । यो परियोजनापछि शतप्रतिशत ग्राहकले इन्टरनेट प्रयोग गर्न सक्नेछन् । जीपीआरएसभन्दा छुट्टै प्याकेज ल्याई सर्वसाधारणसम्म सहज इन्टरनेट पु¥याउने योजना कम्पनीको छ । हाल झन्डै ८० प्रतिशतले भ्वाइसका लागि मोबाइल प्रयोग गर्दै आएका छन् भने २० प्रतिशतले मात्रै डाटा सेवा लिन्छन् । सम्झौता गर्न ढिलाइ हुँदा प्रतिस्पर्धी बजारमा टेलिकम पछाडि पर्ने र बजारमा सिम अभाव हुने कम्पनीका उच्च अधिकारी बताउँछन् । टेलिकमले काठमाडौं उपत्यका र पश्चिमाञ्चल एउटा तथा त्यसबाहेकका अन्य क्षेत्रलाई अर्काे समूह गरी बोलपत्र आह्वान गरेको थियो । टेलिकमस्रोतका अनुसार कुन कम्पनीलाई कुन समूह दिने भन्ने निर्णय भइसकेको छ्रैन । समूह विभाजनमा कुरा नमिलेकोले छलफल लम्बिएको स्रोतले बतायो । टेलिकमका अनुसार समूह ‘ए’ अन्तर्गत राजधानी र पश्चिमाञ्चलबाहेकका क्षेत्रमा थ्रीजी र २.७५ जी मोबाइल विस्तार गरिनेछ । त्यसमध्ये बढी २.७५ जी हुनेछ । कम्पनीले यो परियोजनामा ल्याउन लागेको २.७५ जी मोबाइलमा भ्वाइस र उच्च गतिको इन्टरनेटलगायत मोबाइलका अन्य ‘फिचर’ हुनेछन् । २.७५ जीमा हालकै टुजी मोबाइल सेट प्रयोग गर्न सकिन्छ । “थ्रीजीमा रुपान्तरित हुन नसक्ने तर थ्रीजी ‘फ्लेवर’ चाहेका लागि २.७५ जी उपयुक्त हुन्छ,” टेलिकमका एक उच्च अधिकारीले भने, “सबै थ्रीजी नै ल्याउने हो भने हालको ४० लाखभन्दा धेरैको सेट परिवर्तन गराउनुपर्छ, यो सम्भव छैन ।” समूह ‘बी’ अन्तर्गत काठमाडौं उपत्यका र पश्चिमाञ्चलमा समेत २.७५ जी मोबाइल धेरै वितरण गर्ने लक्ष्य छ । एक÷दुई प्रतिशत हाराहारीमा पछिल्लो प्रविधि फोरजी पनि विस्तार गर्ने योजना छ । फोरजी प्रयोगकर्ता धेरै नहुने भएकाले कम्पनीले टुजीलाई प्राथमिकतामा राखेको छ ।

No comments:

Post a Comment