Monday, June 11, 2012

२ सय रुपैयाँमै सीडीएमए रिमकार्ड

प्रस्तुति: कारोबार संवाददाता काठमाडौं, २९ जेठ - नेपाल टेलिकमले सीडीएमए प्रविधिमा आधारित मोबाइलको रिमकार्डको मूल्य घटाएर २ सय रुपैयाँ बनाउने भएको छ । डाटा र भ्वाइस दुवै चलाउन सकिने यो रिमकार्ड टेलिकमले ६ सय रुपैयाँमा बिक्री गर्दै आएको थियो । जीएसएम र सीडीएमए दुवै प्रविधिको सेवामा सन्तुलन मिलाउँदै कम्पनीले एउटै दरमा सेवा विस्तार गर्न लागेको हो ।  टेलिकमले ग्राहकको चासोअनुसार सीडीएमए रिमको मूल्य घटाएर सेवा वितरण गर्न सञ्चालक समितिसमक्ष प्रस्ताव लगेको छ । “बोर्डमा प्रस्ताव आएको छ, अब बस्ने बैठकमा पारित हुन्छ,” सञ्चालक समितिका एक सदस्यले भने, “प्रतिस्पर्धा र सान्दर्भिकता हेर्दा बोर्डले स्वीकृत गर्ने सम्भावना धेरै छ ।”

बोर्डको निर्णयपछि जीएसएम मोबाइलको सिमकार्ड सरह नै सीडीएमए प्रविधिको रिमकार्ड ग्राहकले किन्न पाउनेछन् । जीएसएम मोबाइलमा ग्राहक बढ्दै गए पनि सीडीएमए प्रविधि पछाडि परेपछि टेलिकमले मूल्य घटाएरै भए पनि सेवा दिने तयारी गरेको हो । कम्पनीको २० लाख आईपी वेस्ड सीडीएमए परियोजनाअन्तर्गत असारको दोस्रो सातादेखि भैरहवामा सीडीएमए कार्ड वितरण सुरु गर्नेछ । भदौदेखि राजधानीमा डाटा र भ्वाइस दुवै प्रयोग गर्न सक्ने यो सिमकार्ड पर्याप्त बाँड्ने कम्पनीको दाबी छ । टेलिकमका ७५ लाखभन्दा धेरै ग्राहकमध्ये साढे ८ लाख मात्रै सीडीएमए प्रविधिका ग्राहक छन् । सीडीएमए सेटका कठिनाइका कारण ग्राहकको चासो बढ्न सकेको छैन । सीडीएमए प्रविधिका स्मार्ट फोन नेपाली बजारमा नआइसकेकाले पनि सीडीएमए प्रविधिको रिमकार्डको माग बढ्न नसकेको टेलिकमले जनाएको छ । पछिल्लो एक वर्षयता स्मार्ट फोन प्रयोग गर्नेको संख्या अत्यधिक वृद्धि भएको छ । ग्राहकको माग तथा आवश्यकता मध्यनजर गर्दै सामसङ र अल्काटेलसँग सम्झौता गर्ने तयारी गरेको छ । यी सेटहरू बजारमा आएपछि रिमकार्डको माग बढ्नेमा टेलिकम आशावादी छ ।  २० लाख सीडीएमए परियोजनाअन्तर्गत सहरी क्षेत्रमा सतप्रतिशत, ग्रामीणका साथै नगरोन्मुख क्षेत्रमध्ये ६० प्रतिशत ईभीडीओ प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध हुनेछ । यसैगरी दोस्रो आयोजनाअन्तर्गत सहरी क्षेत्रमा सतप्रतिशत तथा ग्रामीण एवं नगरोन्मुख क्षेत्रको ५० प्रतिशत क्षेत्रमा ईभीडीओ प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा पनि उपलब्ध गराउने सम्झौता भएको छ । चीनको हुवावे कम्पनीसँग सम्झौता भएको एक अधिकारीले जानकारी दिए 

No comments:

Post a Comment