Monday, June 25, 2012

४८ लाख मोबाइलको जिम्मा हुवावेलाई

कान्तिपुर संवाददाताकाठमाडौ, असार १२ - नेपाल टेलिकमले चीनको हुवावे कम्पनीसँग ४८ लाख जीएसएम मोबाइल किन्ने सम्झौता गरेको छ । टेलिकमले ६ अर्ब ७५ करोड रुपैयाँमा हुवावेलाई यो कामको जिम्मा दिएको हो । अब हुवावेले काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा मोबाइल पूर्वाधार निर्माणको काम गर्ने छ । यो कपनीको अहिलेसम्मकै ठूलो आयोजना हो । कम्पनीले सुरु गरेको एक करोड मोबाइल लाइन क्षमता बढाउने आयोजनामा ४८ लाख लाइनको जिम्मा हुवावेलाई दिएको हो । बाँकी रहेको ५२ लाख लाइन क्षमताको पूर्वाधार निर्माणको जिम्मा चीनकै अर्को कम्पनी जेडटीईलाई दिने तयारी टेलिकमको छ । 'हुवावेले ४८ लाख जीएसएम मोबाइलका लागि आवश्यक उपकरण ल्याई जडान र सेवा सुरु गर्ने छ,' कम्पनी प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने, 'उसले दुई वर्षभित्र यो काम पूरा गर्नुपर्ने छ ।' लामो समयदेखि मोबाइल क्षमता बढाउन नसक्दा देखिएको समस्यालाई यसले सम्बोधन गर्ने भएको छ । सिम नभएर वितरण नै रोक्नुपर्ने अवस्थामा पुग्न लागेको कम्पनीलाई आयोजना सञ्चालनमा आए प्रतिस्पर्धामा सहयोग पुग्ने छ । टेलिकमले सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले काठमाडौंको नेटवर्कलाई सुधार गर्ने योजना पनि यसमा छ ।
सोमबार भएको सम्झौतामा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंह र हुवावेका तर्फबाट कमर्सियल म्यानेजर लियानसेङ तथा सेल्स डिपार्टमेन्टका निर्देशक रुभेस झाले संयुक्त रूपमा हस्ताक्षर गरे । उपकरण जडान गरी सेवा सञ्चालन भएको ५ वर्षसम्म सम्पूर्ण मर्मत सम्भारको कार्य पनि हुवावेकै जिम्मामा हुने थिकेले बताए । 'दुई वर्ष आयोजना कार्यान्वयनको समय हो,' उनले भने, 'त्यसको ५ वर्ष मर्मत सम्भार गर्ने जिम्मा पनि हुवावेलाई दिइएको छ ।' यस सम्झौता अनुसार आगामी चार महिनाभित्र हुवावेले पहिलो चरणमा सम्पूर्ण उपकरणहरू जडान गरिसक्नुपर्ने छ ।  सम्झौता गर्न आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक सिंहले उक्त आयोजनाले टेलिकमका लागि ऐतिहासिक महत्त्व राख्ने बताए । यस आयोजनाको निर्माण कार्य पूरा भएपछि माग अनुरूप जीएसएम मोबाइल सेवा उपलब्ध गराउन सकिने उनको भनाइ छ । यसले बजारमा प्रतिस्पर्धा गर्न सहज हुने उनले बताए । 'आयोजना समयमै पूरा हुने विश्वास लिएका छौं,' उनले भने, 'यसले उपभोक्तालाई अझ अत्याधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउन सकिने छ ।' टेलिकमले एक करोड मोबाइल क्षमताको आयोजनाका लागि झन्डै १० महिनाअघि टेन्डर आह्वान गरेको थियो । चार महिनाअघि टेलिकमले ५२ लाख क्षमताको जिम्मा जेडटीई र ४८ लाख क्षमताको पूर्वाधार निर्माणको जिम्मा हुवावेलाई दिने निर्णय गरेको थियो । अब जेडटीईसँग पनि सम्झौताका लागि तयारी भइरहेको टेलिकमले जनाएको छ । टेलिकमले टुजी, थ्रीजी र फोरजी सबै प्रविधिका मोबाइल ल्याउने तयारी गरेको छ । पाँच वटै विकास क्षेत्रका लागि उक्त आयोजना दुई चरणमा सञ्चालन गर्ने तयारी गरेको छ । एक करोड क्षमतामा आधा क्षमता -५० लाख) को टुजी नेटवर्क बनाइने छ । ४५ प्रतिशत थ्रीजी नेटवर्क हुने छ । बाँकी क्षमताको फोरजी नेटवर्क बनाइने छ । जेडटीईले ५२ लाख मोबाइल लाइन मध्यमाञ्चल, पूर्वाञ्चल, सुदू पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलमा विस्तार गर्ने छ । कामको जिम्मा पाएका यी दुई कम्पनीले विराटनगर, वीरगन्ज, पोखरा र नेपालगन्जमा फोरजी सेवाको पूर्वाधार निर्माण गर्ने छ । फोरजी प्रविधिमा उच्च गतिको डाटा सेवा उपलब्ध हुन्छ । यो विश्वको पछिल्लो मोबाइल प्रविधि हो । अहिलेसम्म सरकारले फोरजी पि|mक्वेन्सी बाँडफाँड समेत गर्न सकेको छैन ।

2 comments:

  1. Dear Editor,
    Thanks for all the collection.

    Please update the Topic with 48 instead of 8.

    ReplyDelete
  2. Thanks for your comment, we hope that you will continue such support to improve our collection. Thank You Tirtha Raj Adhikari Jee !!

    ReplyDelete